नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा नेपाल तरूण दलका अध्यक्ष जितजंग बस्नेत र नेविसंघ अध्यक्ष राजिव ढुंगाना निर्वाचित भएसँगै तरूण दल र नेविसंघ नेतृत्वविहीन भएको छ।
आइतबार सकिएको मतगणनामा जितजंगले २५५७ र ढुंगानाले १८९६ मत ल्याएर कांग्रेस केन्द्रीय सदस्य खुलातर्फ निर्वाचित भएका थिए।
कांग्रेसका यी दुई भातृ संगठनले समयमै महाधिवेशन गर्न सकेका थिएनन्। पार्टीले छ महिनाका लागि म्याद थप गरिदिएको थियो।
तरूण दल र नेविसंघका अध्यक्ष पार्टी राजनीतिमा क्रियाशील हुँदै केन्द्रीय सदस्य निर्वाचित भएपछि भातृ संस्थाको अध्यक्षबाट स्वत: हटेका छन्।
कांग्रेसको विधानले पार्टीको कुनै पनि तहको पदाधिकारी वा सदस्य भातृ संस्थाको पदाधिकारी वा सदस्य नहुने उल्लेख गरेको छ।
साथै भातृ संस्थाको कार्यसमितिका पदाधिकारी वा सदस्य पार्टीको कुनै पनि तहको कार्यसमितिमा निर्वाचित वा मनोनित भए पनि निजको भातृ संस्थाको पद स्वत: रिक्त हुने विधानको व्यवस्था छ।
विधानको यही व्यवस्थाअनुसार तरूण दलका अध्यक्ष बस्नेत र नेविसंघ अध्यक्ष ढुंगाना स्वत: भातृ संस्थाको नेतृत्वबाट पदमुक्त भएका छन्।
जितजंग र राजिवले पार्टी केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदा आफूले नेतृत्व गरिरहेको भातृ संस्थाबाट राजीनामा दिएका थिएनन्।