नेपाली कांग्रेसको खुल्लातर्फका केन्द्रीय सदस्यको मतगणना सकिएको छ। शनिबारदेखि थालिएको मतगणना आइतबार साँझ सकिएको हो।
३५ जना निर्वाचित हुने खुला केन्द्रीय सदस्यका लागि ९९ जनाले चुनाव लडेका थिए।
खुला केन्द्रीय सदस्यमा सबभन्दा बढी डा. शशांक कोइरालाले मत पाएका छन्। दोस्रो नम्बरमा एनपी साउद, तेस्रोमा बालकृष्ण खाँण, चौथोमा उदयशमशेर राणा र पाँचौमा रामहरि खतिवडा छन्।
३५ खुला केन्द्रीय सदस्यमा सभापति शेरबहादुर देउवा पक्षका अधिकांश उम्मेदवार विजयी भएका छन्। विजयीमध्ये २५ जना देउवा पक्षबाट छन् भने सभापतिमा पराजित शेखर कोइराला पक्षबाट ९ जनाले जित हात पारेका छन्। शशांक कोइराला भने देउवा र शेखर दुवै पक्षमा थिए।
देउवा पक्षबाट निर्माण व्यवसायी महासंघका पूर्वअध्यक्षसमेत रहेका व्यवसायी जीपछिरिङ लामा र गणेश लामासमेत निर्वाचित भएका छन्। लामा विजयकुमार गच्छदार निकट हुन्। गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भए।
शनिबारबाट थालिएको मतगणना आइतबार साँझ सकिएको हो।
गत सोमबार कांग्रेसको सभापतिसहित १३४ पदका लागि मतदान भएको थियो। निर्वाचन समितिले हालसम्म सभापतिसहित १३ पदाधिकारीको मतगणना सम्पन्न गरेसकेको छ।
हेर्नुहोस् विजयी केन्द्रीय सदस्य कसले कति मत पाए?