दैनिक १०-५ को जागिर, घरदेखि अफिस अनि अफिसदेखि घरसम्म पुग्दा गर्नुपर्ने अपत्यारिलो अनुभव। साथै निर्माण हुँदै गरेको बाटो।
प्रिय साथी लक्ष्मी, तिमीसँगको सामीप्यता र हाम्रो सम्बन्ध धेरै समययता निकै घनिष्ठ बनिसकेको थियो। तिमी अनि म फरक फरक स्थानमा काम गर्ने भए पनि समय पाबन्दी र आउने जाने बाटो एउटै थियो, पृथ्वी राजमार्ग हुँदै। प्रायः हामी सँगसँगै आउने जाने गर्दथ्यौँ।
तिमी स्कुटर र मोटरसाइकल पनि बडो कन्फिडेन्सका साथ चलाउँथ्यौ। म भने अलि डराउँथेँ। त्यैले विस्तार-विस्तार चलाउँदै पछि-पछि लाग्थेँ। पृथ्वी राजमार्गको कास्कीमा पर्ने विजयपुर खण्डमा भएका खाल्टाले मलाई जहिले पनि जिस्क्याएझैँ लाग्थ्यो। तर तिमी कुनै प्रवाह नै नगरी कुदाउँथ्यौ।
एक हिसाबले भन्ने हो भने तिमीसँग भेट भएको लगभग वर्ष दिनमा मलाई पनि कन्फिडेन्ट बनाइसकेकी थियौ तिमीले। म पनि तिम्रै शैलीमा पोखरा र लेखनाथका सडकमा स्कुटर कुदाउने भइसकेकी थिएँ। तिम्रै अनुरोधमा कुदाउँदा एक दिन नमज्जासँग खाल्डोमा परी स्कुटरमा घुँडा ठोकिएको अनि तिमी एकतमासले मलाई र मेरो घाइते घुँडालाई हेर्दै हाँसेको यादहरू दिमागमा ताजै छ।
केही समयपछि तिम्रो सरुवा भयो। हामी दुईको अफिसको दूरी छोटो भयो। हामी सँगै एउटै साधनमा आउन जान थाल्यौँ। प्रायः आउने समय तिमीले त जाने समय मैले चलाउने गर्थ्यौँ। हाम्रो सुरुआती यात्रा पोखरा- ३१ आसपास र गन्तव्य पोखरा- १७ आसपास। एउटै सवारी साधनमा आवतजावत गर्न थालेपछि हामी बिचको घनिष्ठता झनै गहिरिएर गएको थियो। प्रायः हाम्रा विचार, सोचाइ तथा कार्य पद्धति मिल्थे।
तिमी अन्याय, अत्याचार पटक्कै सहन नसक्ने। आवाज उठाइहाल्ने, नियमानुसार चल्नुपर्ने, मितव्ययी तथा भविष्यमा अझ बढी प्रभावकारी कार्य गर्न उत्साहित प्रकृतिको थियौ। तिमीमा भएका हरेक राम्रा गुणहरू मैलै आफूमा पनि ढाल्दै गइरहेको हुन्थेँ। अन्य कुराभन्दा पनि दैनिक अफिसियल कार्य पद्धतिका, नियम, विनियमका तथा पढाइका विषयमा निकै कुरा हुन्थे हाम्रो।
पारिवारिक रूपमा पनि हामी नजिक थियौँ। समय समयमा एक अर्काको घरमा खाजा खाने, खाना खाने तथा रमाइलो गर्ने गर्थ्यौँ। लगभग ५ वर्षपछि तिम्रो पदोन्नतिका साथै सरुवा भयो र मेरो अन्यत्र नाम निस्कियो। हामी दुई दिशातर्फ मोडिने भयौँ। जहाँ भए पनि साथीत्व भावलाई सदा कायम गर्ने भनी एक अर्कालाई बधाई दिँदै करिब १ घण्टा विजयपुरको टाइगर टप क्याफेको बसाइँपछि हामी छुटियौँ।
त्यसपछिका केही दिन निकै खल्लो लाग्यो। घरबाट हिँड्ने बेला भयो कि केही छुटे जस्तो, केही बिर्सिए जस्तो, केही गुमाए तथा हराए जस्तो भान भइरह्यो। तिमीसँग भिडिओ कल तथा म्यासेजमा कुरा त भई नै राख्थ्यो तर साथी साथमा नभएपछि गफले भए पनि चित्त बुझाउनै पर्ने बाध्यता आइलाग्यो।
तिमी सँगसँगै हिँड्ने बानी परेको म तिनै हिँडिरहेका बाटाहरू पनि दूरी लामो लाग्न थाल्यो। त्यसपछि सुरु भयो सडक निर्माण कार्य। हुन त यसै पनि सडक कुनै पनि ठाउँमा सरर यात्राको योग्य थिएन। झन् त्यसमाथि भत्काउँदै नयाँ निर्माण कार्य गर्दा हिँड्न निकै असहज परिस्थिति बन्यो। तिमी हिँड्ने बाटो त झन् बिजोग नै छ भन्थ्यौ। सरकारको नुन-पानी खाएपछि सेवामा हाजिर जसरी पनि हुनु नै पर्यो, जोगिएर हिँड्नु बाहेक अर्को उपाय थिएन।
दैनिक बाटोमा आँखै अगाडि हुने गरेका सडक दुर्घटना, घाइते तथा मृत्युको खबरले जीउ नै सिरिङ्ग हुन्थ्यो। कतिपय आफ्नै आफन्त साथीभाइहरूको खबरले त्रसित हुन्थेँ म। मेरो ममीले पनि भन्नु हुन्थ्यो- घरबाट हिँडेपछि मन पोल्छ, समयमा फर्किने हो वा होइन, सकुशल फर्किने हो वा होइन, बाटो यस्तो छ, दिनदिनै घटना घटिरहेका छन्।
एक दिन बिहानै अकस्मात् नयाँ नम्बरबाट फोन आयो। फोन उठाएँ, उनै प्यारी साथीको थियो। हामी एक अर्कालाई 'माया माया' भन्थ्यौँ। त्यसै गरी उनले भनिन्, 'माया सन्चै छौ? आज हामी भेट्न सकिन्छ है। म तनहुँबाट पोखरा आउँदै छु।'
म खुसी हुँदै 'हुन्छ, आऊ। बरु सँगै जाने गरी आऊ' भनेँ। तर उनी विशेष कामले आएकाले बेलुका फर्किने बेला भेट्ने भनिन्। म खुसी हुँदै आफ्नो दैनिकीमा लागेँ र अफिस हिँड्ने बेला घरमा खबर गरेँ, 'म ढिला आउँछु, आज लक्ष्मी आएकी छन्, एक छिन भुल्छौँ होला।'
उनको असल बानी तथा व्यक्तित्वको राम्रो प्रभाव मेरो घरमा पनि परेको थियो। झन् ममीले त 'आज यही बस्ने गरी लिएर आऊ' पनि भन्नुभयो। हुन्छ भन्दै बाटो लागेँ। धेरै समयपछिको भेट हुने उत्साहले मन तरङ्गित भएको थियो। म नढाँटेरै भन्दा अफिसको काममा मैले त्यति ध्यान लगाउन सकेको थिइनँ। कति बेला अफिस समय सकिएला भने जस्तो भइरहेको थियो।
५ बज्यो, उनलाई फोन गरेँ तर फोन रिसिभ भएन। अफिसको बाहिरपट्टि बसेर उनको फोनको प्रतीक्षा गरिरहेँ। लगभग आधा घण्टापछि उनको फोन आयो- 'तिमी जाँदै गर, ढिला होला जस्तो भयो, म तिम्रै घरमा आउँछु, मैले अर्को साथीको स्कुटर मागेको छु।'
म बिस्तारै बाटो लागेँ। असारको महिना, पानी एकतमासले परिरहेको थियो। उसै त बाटो गाह्रो झन् पानी परेपछि खाल्डाहरू टिलपिल पानीले भरिने। कहाँनिर खाल्डोमा परिन्छ थाहा नै नहुने। बिस्तारै बिस्तारै घर पुगेँ।
धेरै बेरसम्म पनि उनी आइनन्, न उनको फोन आयो। मन सशङ्कित बन्यो। फोन डायल गर्दा रिसिभ नै भएन। सायद बाटोमै भएर होला सोचेँ। २/३ घण्टासम्म पनि कुनै खबर नआएपछि फेरि फोन गरेँ। फोनबाट आवाज आयो, 'उहाँको सडक दुर्घटना भएर अहिले हस्पिटलमा हुनुहुन्छ, अवस्था गम्भीर छ।'
म आत्तिँदै 'कुन हस्पिटल? म आउँछु' भन्दा नभन्दै पछाडिबाट आएको आवाज सुने, उनलाई मृत घोषणा गरिसकेछ डाक्टरको समूहले। फोनमा बोल्ने व्यक्तिले 'सुन्नु भयो होला पक्कै, को हुनुहुन्छ हजुर? उहाँको परिवारमा खबर गरिदिनु होला।'
म स्तब्ध भएँ। केही बोल्न नै सकिनँ। पाकेको खाना परिवारमा सबैलाई खान लगाई म र मेरो श्रीमान् हिँड्यौँ। मुसलधारे पानी अनि त्यही बाटो, जहाँ हामी सँगै रमाइला गफ गर्दै हाँस्दै हिँड्थ्यौँ, तर आज पाइला गह्रौँ भए, मन ढक्क फुलेर आयो, तिनै बाटोमा।
हस्पिटल पुगेपछि विस्तृत कुरा थाहा भयो। विजयपुर पुलको नजिकै टिप्परले ठक्कर दिँदा उक्त घटना भएको रहेछ, जुन ठाउँबाट अलिकति अगाडि हामी अन्तिम पल्ट कफी खाएर छुट्टिएका थियौँ। उनको मोबाइल लिएर परिवारलाई खबर गरिदिन सहयोग गर्दै थिए एक भाइले, उनको वालपेपरमा भएको फोटो मजस्तै देखेर मलाई देखाउन ल्याए। हेरे, उनको र मेरो बेगनास तालमा खिचिएको हँसिलो तस्बिर! अब उनको यो हँसिलो अनुहार यही फोटोमै सीमित भयो।
पानी बाहिर दर्किरहेको थियो, मन भक्कानिएर रोइरहेको थियो। त्यति नै बेला उनको श्रीमान् र छोरी पनि आइपुगे। उनीहरूलाई देखेपछि झन् म थामिनै सकिनँ, डाँको छोडेर रोएँ। उनको लास पोस्टमार्टम गरेर निकालियो। उनको नबोल्ने मुख, नहेर्ने आँखा, नसुन्ने कान तथा नचल्ने शरीरलाई अँगालोमा कसेर धेरै बेर रोएँ। सबै जनाले आँखाभरि आँसु पारिरहे।
जीवनमा एउटा असल साथी जोसँग म मेरा खुसी तथा दुःख साट्न सक्थेँ, आँखा चिम्लेर उसको विश्वास गर्न सक्थेँ, उहीँ साथीको वियोगमा परेँ। अब दुःख साट्ने त कुरै छाडौँ खुसीका पल पहिलो सेयर गर्ने तिमी पनि छोडेर गयौ। अब उप्रान्त जीवनमा यति घनिष्ठ साथी बन्न अनि बनाउन डर लाग्ने बनाएर गयौ। किनकि एकदमै आत्मीय व्यक्तिले संसार छोड्दा ज्यादै पीडा हुँदो रहेछ। एउटा व्यक्तिको जीवनसाथी बनेकी तिमी जीवनभरि साथ निभाउन असमर्थ भयौ, एउटा छोरीलाई तिम्रो मातृत्व अभाव बनाएर गयौ।
तिम्रो आत्माले शान्ति पाओस्, वैकुण्ठमा बास होस्, परिवारमा धैर्य धारण गर्ने शक्ति ईश्वरले प्रदान गरून्। सदा सर्वदा मेरो मनमा उही स्थान तिमीले पाइरहने छौ। जीवनमा जन्मेपछि मृत्यु अवश्य छ, तर कहिले? कहाँ? कसरी? कसैलाई थाहा नै छैन।
आज ठिक एक वर्ष भयो, तिमीले यो संसार छोडेको। मेरो हरेक पाइलाहरूमा, खुसीका तथा दुःखका क्षणहरूमा तथा यात्राका कठिनाइहरूमा तिमीलाई नै सम्झन्छु। खाल्डा छल्दा छल्दै गरिएको यात्रामा छलिएको तिम्रो जीवन सम्झन्छु। त्यही बाटो, त्यही समय अनि त्यही गन्तव्य, मनभरि तिमीले भरिदिएको आँट तथा साहस बोकेर म निरन्तर यात्रामा छु।
त्यही विजयपुरमा अहिले पनि उस्तै खाडल छन्। निर्माण कार्य जारी नै छ। निकै ढिलासुस्तीले काम भएको महसुस हुन्छ, कहिले सकिने थाहा छैन। यसमा भएको ढिलासुस्तीको कारण वर्षौँसम्म बाटो बिग्रिरहँदा त्यसबाट हुन सक्ने दुर्घटनाको जिम्मेवारी कसले बहन गर्ने? मानवीय क्षतिको जवाफ कसले दिने?
आफू पनि जब पानी पर्छ, हिलो बाटो उनै खाल्डाको कारणले कतै त्यही स्थितिमा त पुग्ने होइन, जागिरभन्दा पनि बाँकी जीवन अपाङ्ग नै भएर बाँच्नु पर्ने त होइन भन्दै यिनै कुरा सोच्दै अफिस आउँछु र घर फर्कन्छु। यो समस्या केवल एक जनाको मात्र नभई यो हिले, धुले, ढुङ्गे, खोले, खाल्डे पिचको नाम मात्रै भएको, निर्माण कार्य जारी रहेको तथा नरहेको बाटो हुँदै हिँड्ने हजारौँ यात्रीहरूको हो।
सवारी साधन भएर पनि नहुने, नभएर पनि नहुने। कुनै काममा गएर फर्कँदा सकुशल घर परिवारलाई भेट्न सकिने हो होइन भन्दै तनावमा कति दिन पिल्सने? यो प्रश्नको उत्तर कोसँग माग्ने? सडक विभाग, सरोकारवाला, स्थानीय निकाय, जनप्रतिनिधि ठेकेदार, समाज, महानगर?
निर्माण कार्यमा दैनिक ५/७ जना लगाएर महिनौँ लम्ब्याउनभन्दा दक्ष जनशक्तिको सङ्ख्या वृद्धि गरी तथा सरोकारवाला स्थानीय निकाय उपभोक्ता समिति सबैसँग समन्वय गरी छिट्टै काम सम्पन्न गरे हुँदैन थियो होला? आखिर किन हुन्छ काममा ढिलासुस्ती? त्यसबाट जनतामा पर्न गएको नकारात्मक असरको जिम्मेवारी कसले लिने?