भक्तपुर यस्तो ठाउँ हो; जहाँको हरेक चोक, हरेक गल्ली खास छ। त्यसमा पनि खास छ — पोटरी स्क्वायर।
प्रजापति टोल भनेर पनि चिनिने यो ठाउँमा कुमः (कुमाले) हरू वर्षौंदेखि माटोका भाँडा बनाइरहेका छन्। यो उनीहरूको पुर्ख्यौली पेसा नै हो।
यहाँ स्थानीय कुमाले परिवारका आ–आफ्नै पसल छन्। कोही घाममा भाँडा सुकाउँदै गरेका भेटिन्छन्, कोही दुवै हातले कमलो माटोलाई आकार दिँदै पाङ्ग्रा घुमाइरहेका हुन्छन्।
सबभन्दा रोचक कुरा त, तपाईं आफ्नै हातले माटोको भाँडा बनाउने अनुभव पनि गर्न सक्नुहुन्छ।
रूचि हुनेहरूले यो कला सिकून् भनेर यस्तो सुविधा दिएको स्थानीय बताउँछन्।
यो स्टोरीमा म पोटरी स्क्वायरको एउटा प्रजापति परिवारको कुरा गर्दैछु, जसको जीवन पुस्तौं पुस्तादेखि माटोको भाँडा बनाएर चलिरहेको छ।
रामचन्द्र प्रजापति 'पोटरी कल्चर' भन्ने पसलका सञ्चालक हुन्। उनी ५० वर्षका भए। एक छोरा र एक छोरी छन्। दुवै जना भाँडा बनाउन पोख्त छन्। उनको परिवारमा सानैदेखि यो कला सिकाइन्छ।
'यो हाम्रो निम्ति कला मात्र होइन; जीवनशैली हो, संस्कृति हो,' रामचन्द्रले भने, 'हामी आठ पुस्तादेखि यही काम गरिरहेका छौं।'
रामचन्द्र प्रजापति
उनी आफैले पनि सानैमा माटोको भाँडा बनाउन सिकेका थिए। पुर्ख्यौली पेसा भएकाले इच्छा होस् कि नहोस्, यो काम जान्नैपर्छ। लामो समयदेखि एउटै काममा लागेकाले कहिलेकाहीँ गर्न मन नलाग्ने पनि हुन्छ। तर अर्को विकल्प नभएकाले चाहेर पनि छाड्न नसक्ने उनी बताउँछन्।
रामचन्द्रलाई खुसी त्यति खेर लाग्छ, जब भक्तपुर घुम्न आउने पर्यटकदेखि देश–विदेशका ठुल्ठूला मान्छे यो कला सिक्न आउँछन्।
खासमा काठमाडौं उपत्यकामा मनाइने विभिन्न जात्रापर्व जस्तै माटोको भाँडा बनाउने कला पनि यहाँको मूर्त सम्पदा हो। अन्य देशमा पनि माटोको भाँडा बनाउने फरक शैली होला, तर भक्तपुरले आफ्नो संस्कृति जसरी जोगाएर राखेको छ, त्यसलाई राज्य स्तरबाट कदर गरिनुपर्ने स्थानीयको भनाइ छ।
यसको निम्ति स्थानीय माटोको भाँडाको बजार प्रवर्द्धनमा राज्यले भूमिका खेल्न सक्ने रामचन्द्र बताउँछन्।
राज्य स्तरबाट खासै सहयोग नभए पनि बजारले भने आफ्नो काम र कलाप्रति रूचि देखाएकोमा उनी सन्तुष्ट छन्।
'अहिलेको आधुनिक जमानामा माटोको भाँडाको प्रयोग घट्दै गएको छ। पहिले पानी राख्नदेखि खाना पकाउनसम्म यही भाँडा प्रयोग गरिन्थ्यो। हाम्रै बाबुबाजेहरू यस्ता भाँडा बेच्न गाउँ–गाउँ जानुहुन्थ्यो। भाँडा बेचेर दूध, मकैजस्ता खाद्यवस्तु लिएर घर फर्किनुहुन्थ्यो। अहिले गाउँ–गाउँ डुल्ने चलन छैन। यही क्षेत्रका मान्छे र भक्तपुर घुम्न आउने पर्यटकहरू नै हाम्रा ग्राहक हुन्,' उनले भने।
माटोको भाँडा बनाउनु रामचन्द्रको पुस्तैनी व्यवसाय भए पनि उनले यो पसल खोलेको बल्ल एक वर्ष पुग्दैछ। गत वर्ष असारमा गुठीघरको कोठा खाली भएपछि उनले पसल खोलेका हुन्। त्यसअघि बाहिर खुला ठाउँमै भाँडा बनाएर बेच्थे।


उनले यहाँ पोटरीसँगै क्याफे पनि खोलेका छन्। माथिल्लो तलामा रेस्टुरेन्ट पनि चलाउँछन्। दुवै तला गरी महिनाको डेढ लाख रूपैयाँ भाडा तिर्नुपर्छ।
'यहाँ धेरै मान्छे आउने माटोको भाँडा बनाएको हेर्न र आफू सिक्न हो। क्याफे र रेस्टुरेन्ट पनि भएपछि उनीहरूका कारण व्यवसाय बढेको छ,' उनले भने।
पहिले यसरी अरूलाई सिकाउने वा बनाउन दिने चलन थिएन। करिब १५–२० वर्षदेखि यो चलन सुरू भएको उनी बताउँछन्। सुरूमा विदेशीहरूले मात्र रूचि देखाउँथे। अहिले नेपाली युवाहरू पनि धेरै आउन थालेका छन्।
'कतिपय मान्छे राम्ररी सिक्छु भनेरै आउँछन्। धेरै जना भने रहर पूरा गर्न मात्र आउँछन्,' उनले भने, 'अचेल सामाजिक सञ्जालमा देखेर आउनेहरू पनि धेरै छन्। कसैले भिडिओ राखेर भाइरल भयो भने त्यसपछि यहाँ आउनेहरूको संख्या ह्वात्तै बढ्छ।'
यहाँ आफैले माटोको भाँडा बनाउन वा सिक्न पैसा तिर्नुपर्छ। एक घन्टाको १५ सय रूपैयाँ लाग्छ भने आधा घन्टाको आठ सय। कोही त्यति लामो समय बनाउन चाहँदैनन्। उनीहरूका लागि ५ र १५ मिनेटको प्याकेज पनि छ। पन्ध्र मिनेटको चार सय रूपैयाँ पर्छ भने पाँच मिनेटको १५० पर्छ।
पाँच मिनेटको कार्यक्रममा एउटा मात्र भाँडा बनाउन पाइन्छ। आफूले बनाएको भाँडा घर लैजान मन भए थप ५० रूपैयाँ तिर्नुपर्छ।
यहाँ प्रायः दिनको १५–२० जना ग्राहक आफ्नै हातले भाँडा बनाउन आउँछन्। धेरैले पाँच मिनेटको कार्यक्रम रोज्छन्। विदेशीहरूले भने एक वा आधा घन्टाको रोज्छन्। अरू दिनको तुलनामा शनिबार र सार्वजनिक बिदाको दिन ग्राहक धेरै हुन्छन्। स्कुले केटाकेटी पनि ठूलो संख्यामा आउँछन्।
रामचन्द्रसँग अहिले माटोको भाँडा बनाउने १२ वटा मेसिन छन्। यसले धेरै ग्राहक भए पनि मेसिन कम हुँदैन।
पहिले उनी आफ्नै खेत खनेर कालो माटो निकाल्थे। त्यसपछि हात र खुट्टाले माटो मोल्नुपर्थ्यो। माटोमा भएका साना ढुंगा एक–एक गरेर निकाल्नुपर्थ्यो। अहिले मेसिनको प्रयोगले माटो मोल्ने काम सजिलो भएको छ। आफ्नो खेत नरहेपछि बजारबाट किलोका दरमा किन्नुपर्छ।
उनी प्राय: सल्लाघारीबाट ल्याएको माटो प्रयोग गर्छन्। एक किलोको ७–८ रूपैयाँ पर्छ। दिनमा करिब २० किलोजति माटो खपत हुन्छ। कतिपय ग्राहकले भाँडा बनाएर त्यत्तिकै छाडे भने त्यसलाई बिगारेर माटो नै बनाइन्छ।

उनीहरू माटोको दियो, खुत्रुके, विभिन्न जनावरका मूर्तिका साथै थुप्रै भाँडाकुँडा पनि बनाउँछन्। ती सामान अन्य पसलमा पनि बेचिन्छ। यीमध्ये उनीहरूले सबभन्दा धेरै बनाउने खुत्रुके हो। बजारमा यसको व्यापार माटोका अन्य वस्तुभन्दा बढी भएको उनी बताउँछन्।
'दसैं र तिहारमा दियो र पाल्चाहरूको व्यापार धेरै हुन्छ। अरू बेला भने बढी बिक्ने खुत्रुके नै हो,' उनले भने।
हिन्दु धर्मअनुसार जन्मदेखि मृत्युसम्मका संस्कार गर्न माटोको भाँडा नभई नहुने भएकाले पनि आफ्नो व्यवसाय जीवित रहेको उनको भनाइ छ। घरायसी स्तरमा माटोका भाँडाको प्रयोग घट्दै गए पनि सांस्कृतिक रूपमा अझै प्रयोग भइरहेको उनी बताउँछन्।
'त्यसैले पनि हाम्रो पेसाको सांस्कृतिक महत्त्व छ भन्ने मलाई लाग्छ,' उनले भने, 'यसलाई जीवित राख्नु हामी सबैको कर्तव्य हो।'
सबै तस्बिर: आर्या श्रेष्ठ/सेतोपाटी
***

