पोखरा, लेकसाइडबाट पामे जाने बाटोतर्फ खहरे नजिकै एउटा सानो सटरमा बस्छन् कृष्णप्रसाद पोखरेल र लक्ष्मी गुरूङ।
८५ वर्षीय कृष्ण र ८४ वर्षीया लक्ष्मी दम्पती हुन्।
सटरभित्र दुइटा स–साना टेबल छन्, दुइटा टेबलमा दुई–दुई वटा कुर्सी। एककोठे सटर पनि पर्दाले दुई भागमा छुट्ट्याइएको छ। पर्दाको भित्रपट्टि एउटा खाट छ। खाटै अगाडि चुह्लोचौका र ठूलो ओभन छ।
त्यो ओभनमा कृष्ण 'एप्पल पाई' बनाउँछन्। यो एप्पल पाईका पारखीहरू थुप्रै छन्।
यो सटर कृष्ण र लक्ष्मीको आवास मात्र होइन, रोजीरोटीको माध्यम पनि हो। पर्दाभित्र उनीहरू बस्छन्, बाहिर रेस्टुरेन्ट चलाएका छन्।
उनीहरूको 'सन वेलकम रेस्टुरेन्ट' मा धेरै विदेशी नागरिक ब्रेकफास्ट खान पुग्छन्। नेपालीहरू पनि सादा दालभात, तरकारी खान आउँछन्।
रेस्टुरेन्ट कृष्ण एक्लैले धानेका छन्। लक्ष्मी विगत डेढ वर्षदेखि पक्षघातको बिरामी छिन्। करिब सात महिना अस्पताल बसाइपछि उनको देब्रे हात बिस्तारै चल्न थालेको छ। ओछ्यानबाट उठ्न भने सकेकी छैनन्।
'उठेर काम गर्न सके हुन्थ्यो भन्ने मात्र आश छ,' लक्ष्मीले कृष्णलाई हेर्दै भनिन्।
कृष्ण र लक्ष्मीको जोडी यो सानो सटरमा खुम्चिएको धेरै भएको छैन।
कोरोनाअघि उनीहरूको ठिकठाक रेस्टुरेन्ट थियो। व्यापार कम हुँदै गएपछि अहिलेकै ठाउँमा दुइटा सटर लिएका थिए। लक्ष्मी थलिएपछि भने कृष्णलाई त्यो पनि एक्लै धान्न मुस्किल भयो।
'व्यापार गर्न म एक्लै भएँ। दुइटा सटरको भाडा पनि धेरै भयो। अनि घरबेटीसँग सल्लाह गरेर एउटा मात्र सटरमा बस्यौं,' उनले भने।
६० वर्षअघि काठमाडौंबाट भागी बिहे गरेर पोखरा आएका लक्ष्मी र कृष्णको जीवन सधैं यस्तो थिएन। रित्तो हात आएका उनीहरूले निकै प्रगति गरेका थिए।
लेकसाइडमा उनीहरूको रेस्टुरेन्ट थियो। आफ्नै जमिनमा 'सन वेलकम लज' चलाएका थिए। विदेशी पाहुना थुप्रै आउँथे। उनीहरूले पोखरामा जमेर राम्रै पैसा कमाए। अरू ठाउँमा पनि जमिन किने। तर अहिले भएभरको सम्पत्ति सकिएर उनीहरू फेरि रित्तिएका छन्।
उनीहरूसँग अब आफ्नो धन छैन, आफन्त पनि छैनन्। केही व्यक्तिहरूले धेरथोर सहयोग भने गरिरहेको लक्ष्मीले बताइन्।
'हाम्रो सन्तान भएन, आफन्त कोही छैन। तर उहिल्यैदेखि चिनेका विदेशी र केही बाबुनानीहरू आउँछन्, सकेको सहयोग गर्छन्,' उनले भनिन्, 'छोराछोरी नभए पनि भगवानले कसैलाई छोराछोरी बनाएर पठाउँदा रहेछन्।'
६० वर्षदेखि दम्पती भए पनि कृष्ण र लक्ष्मीको भेट भएको योभन्दा धेरै समय भइसक्यो।
यी दुवै काठमाडौंका हुन्।

कृष्ण चार–पाँच वर्षका हुँदै उनका आमाबुबाको मृत्यु भएको थियो। उनका आमाबुबा लगायत अरू आफन्त भारतको चारधाम यात्रा गएका थिए। दुर्घटनामा परेर सबैको मृत्यु भयो।
एक्लिएका कृष्णलाई मावली हजुरआमाले दार्जिलिङको सेन्ट जोसेफ स्कुल भर्ना गरिदिइन्। त्यही स्कुलमा लक्ष्मीका जेठा दाजु कृष्णबहादुर गुरूङ काठमाडौंबाट पढ्न गएका थिए।
स्कुलमा भेट भएका कृष्ण पोखरेल र कृष्ण गुरूङ साथी बने। कृष्ण पोखरेलको सबै कथा सुनेपछि कृष्ण गुरूङले उनलाई आफ्नै घरमा बस्न भन्दै काठमाडौं लगे।
कृष्ण गुरूङका तीन भाइ र दुई बहिनीमध्ये लक्ष्मी कान्छी थिइन्।
'उहाँलाई मेरो ठूलो दाइले दार्जिलिङबाट ल्याउनुभएको हो। बाहुनको बच्चा, साह्रै सोझो छ, उसको आमाबुबा कोही छैन भनेर ल्याउनुभएको थियो,' लक्ष्मीले सम्झिँदै भनिन्, 'उसको चित्त दुख्ने कुरा नभन भन्नुहुन्थ्यो। हाम्रो घरमा सबैले एकदम माया गर्नुहुन्थ्यो उहाँलाई।'
एकै घरमा बसिरहेका कृष्ण पोखरेल र लक्ष्मीबीच समयसँगै प्रेम अंकुरायो।
त्यति बेला लक्ष्मीका आमाका मामाका छोरा धीरबहादुर गुरूङ पोखरामा कल्पना सिनेमा हल चलाउँथे। उनै धीरबहादुरले लक्ष्मी र कृष्ण पोखरेललाई पोखरा घुम्न आउनू भनेका रहेछन्।
त्यही आडमा एक दिन कोही नभएको मौकामा कृष्ण र लक्ष्मीले घर छाडे। सुटुक्क पोखरा जाने बस चढे। सिधै गएर धीरबहादुरलाई भेटे।
'बाहुन र गुरूङको बिहे हुँदैन नि, त्यसैले हामी भागेर आएको,' प्यारालाइसिस भएको खुट्टा तन्काउँदै, अनि हाँस्दै लक्ष्मीले भनिन्, 'हामीलाई पोखरा मनपर्यो। यहीँ काम गर्ने, अब काठमाडौं नजाने भनेर बस्यौं।'
नवजोडीसँग गुजारा चलाउने सम्पत्ति थिएन। सधैं धीरबहादुरको घरमा बस्ने कुरा पनि भएन। कृष्णले काम खोजे।
उता लक्ष्मीका दाजु उनीहरूलाई खोज्दै एक दिन पोखरा पुगे। दुवैलाई भेटे।
फेरि पनि कृष्ण गुरूङले बहिनीलाई कृष्ण पोखरेलको चित्त नदुखाउन भने।
'दाइले हामीलाई केही भन्नुभएन। दाइले उहाँ (कृष्ण पोखरेल) लाई धेरै माया गर्नुहुन्थ्यो। बिहेपछि पनि बाहुनको बच्चा, सोझो छ, मन नदुखाउनू भनेर जानुभयो।'
उनीहरू पोखरा आउँदा तनहुँको आँबुखैरेनीमा ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत आयोजना बनाउन थालिएको थियो। आयोजनामा जर्मनीको सहयोग थियो। त्यहाँ काम गर्न आएका जर्मन अधिकारीहरू पोखरामा क्याम्प बनाएर बसेका थिए।
कृष्ण र लक्ष्मीले त्यहीँ काम गर्ने रोबर्ट नाम गरेका जर्मन नागरिकका परिवारको रेखदेख गर्ने काम पाए। उनीहरूका बालबच्चा गण्डकी बोर्डिङ स्कुल पढ्थे। कृष्ण बच्चाहरूलाई स्कुल पुर्याउँथे, ल्याउँथे। उनीहरूलाई खाना, खाजा बनाएर खुवाउने काम पनि उनीहरूकै थियो।
रोबर्ट दम्पतीले कृष्ण–लक्ष्मीको काम मन पराए। जर्मनी घर जाँदा कहिलेकाहीँ ६ महिनासम्म फर्केनन्। बालबच्चा कृष्ण–लक्ष्मीकै भरमा छाडिदिन्थे। बालबच्चा पनि उनीहरूसँग रत्तिएर बस्थे।
आयोजना बनिसकेपछि रोबर्टको काम सकियो, सँगै कृष्ण–लक्ष्मीको पनि।
रोबर्ट दम्पतीले उनीहरूलाई आफूसँगै जर्मनी जान कर गरेका थिए। तर उनीहरू मानेनन्।
'सबै कागजपत्र हामी मिलाउँछौं, जाऔं भनेका थिए। बालबच्चा पनि हामीलाई छाडेर जाँदा बेस्सरी रोए,' लक्ष्मीले भनिन्, 'तर हामीलाई पोखरा छोड्न मनै लागेन।'
क्याम्प छाडेपछि कृष्ण–लक्ष्मीले लेकसाइडमा कोठा भाडामा लिए। रोबर्टले जाने बेलामा उनीहरूलाई तलबबाहेक तीन हजार रूपैयाँ दिएका थिए। त्यही पैसाले गौरीघाटमा रेस्टुरेन्ट चलाउने निर्णय गरे।
'अहिले जस्तो धेरै होटल र रेस्टुरेन्ट थिएनन्। हामीले बारीमा टेन्ट टाँगेर भकारीले बार्यौं। बाँसका दुइटा टेबल र दुइटा कुर्सी बनायौं। त्यहीँबाट रेस्टुरेन्ट सुरू गर्यौं,' कृष्णले भने।
त्यति बेला पोखराको पर्यटन फैलिइसकेको थिएन। बजार भनेको विन्ध्यावासिनी मन्दिर वरिपरि मात्र थियो। लेकसाइडबाट सामान किन्न पोखरा जाने भनेर स्थानीयहरू विन्ध्यावासिनी आसपासका बजार पुग्थे।
पक्की घरमा बनेका होटल एकाध मात्र थिए, अरू सबै झुप्रामा। लेकसाइडका अधिकांश बासिन्दा खरले छाएको झुप्रामै बस्थे। पर्यटकहरू पनि खुला ठाउँ र चउरमा टेन्ट टाँगेर बस्थे।
यसरी बस्ने पर्यटकहरू कृष्ण–लक्ष्मीको खुला रेस्टुरेन्ट आउन थाले। कृष्ण पाककलाको किताब हेर्दै खाजा बनाउँथे। बिहानको घाममा बसेर तातो ब्रेकफास्ट खाने पर्यटक बढ्दै गए।
'उनीहरू घाम ताप्दै खान एकदम मन पराउँथे,' कृष्णले भने, 'घाम प्यारो हुने भएकैले रेस्टुरेन्टको नाम सन वेलकम राखियो।'

त्यही समयतिर तत्कालीन राजा महेन्द्र शाहले पोखरामा रत्नमन्दिर नाम राखेर दरबार बनाउन थाले। त्यहाँ काम गर्नेले दिनको एक मोहर ज्याला पाउँथे। बिहान–बेलुका रेस्टुरेन्टमा पर्यटकलाई खानेकुरा बनाउने कृष्ण कहिलेकाहीँ दरबार बनाउने काम गर्न पनि गए।
बिस्तारै लक्ष्मी–कृष्णको रेस्टुरेन्टबाट कमाइ राम्रो हुन थाल्यो। उनीहरूले यसलाई विस्तार गरे। सामानहरू काठमाडौं पुगेर ल्याए। त्यति बेलै कृष्णले एप्पल पाई बनाउन पनि सिके।
'यहाँ आउने अधिकांशले मैले बनाएको एप्पल पाई मनपराउँछन्,' कृष्णले भने, 'अहिले पनि म दिनकै बनाइरहेको छु।'
कमाइ बढ्दै गएपछि उनीहरूले टेन्टमा चलिरहेको रेस्टुरेन्ट पक्की घरमा सार्ने निधो गरे। गौरीघाटको सन वेलकम बाराहीघाटस्थित हिक्मत कार्कीको घरमा पुग्यो। त्यहाँ पनि खुब चल्यो।
पोखरामा त्यति बेला पर्यटक आएर बस्ने ठाउँ ड्यामसाइड थियो। बिस्तारै पर्यटकहरू ड्यामसाइडबाट गौरीघाट हुँदै बाराहीघाटतिरै सर्न थाले। होटल, रेस्टुरेन्ट लगायत व्यवसाय पनि बाराहीघाटमै केन्द्रित भए। कृष्णको सन वेलकम रेस्टुरेन्ट भएको ठाउँ पर्यटनको केन्द्र बन्यो।
केही समयपछि लक्ष्मी–कृष्ण खहरेततर्फ लागे। त्यहाँ उनीहरूले आफै जग्गा किनेर सन वेलकम लज बनाए। रेस्टुरेन्ट चलाए।
'हामीले निकै पैसा कमायौं। पोखराका विभिन्न ठाउँमा जग्गा किन्यौं। आफ्नै रेस्टुरेन्ट र लज त छँदै थियो,' लक्ष्मीले सुनाइन्।
त्यति बेला लजमा काठमाडौंबाट लक्ष्मीका दिदीका छोराछोरी पनि आउँथे। कृष्ण–लक्ष्मीले उनीहरूलाई खुब माया गर्थे।
उनीहरूलाई डाक्टरले सन्तान हुँदैन भनिदिएकी थिइन्। खासमा लक्ष्मीको मिर्गौला फेल भएको थियो। एक जना विदेशी महिला डाक्टरले उनको उपचारमा सहयोग गरिन्। ती डाक्टरको नाम र देश लक्ष्मीलाई थाहा छैन। 'कान्छी डाक्टरनी' भनेर सम्बोधन गर्छिन्।
'म २५ वर्षकी हुँदा मेरो किड्नी फेल भयो। त्यही कारण बच्चा पनि भएन,' लक्ष्मीले भनिन्, 'कान्छी डाक्टरनीले जाँचिदिएपछि मेरो किड्नी फेरियो। त्यो किड्नीले पनि काम गर्न छाडेपछि फेरि अर्को हालेको छ।'
सन्तान नहुने भएपछि कृष्ण–लक्ष्मीले थुप्रै गरिब, अनाथ र असहाय केटाकेटीलाई पढाए। तीमध्ये अधिकांश अहिले विदेश पुगिसके।
'हामीले धेरै जनालाई पढायौं। विदेश जान पैसा हालिदियौं। छोराछोरी भनेर पढाएका सबै विदेश गएका छन्,' लक्ष्मीले भनिन्।
तीमध्ये केही व्यक्ति अहिले पनि उनीहरूलाई भेट्न आउँछन्। खानेकुरा ल्याइदिन्छन्। तर उनीहरू 'आफ्ना आमाबुबालाई हेर, हामीलाई केही ल्याउनुपर्दैन' भनेर पठाउँछन्।
उनीहरूले पोखरामा रेस्टुरेन्ट चलाएको पचास वर्ष भइसक्यो। तर अहिलेसम्म कृष्ण पोखरा घुमेका छैनन्। सराङकोट समेत उक्लिएका छैनन्। अरूले जाऔं भन्दा पनि गएनन्।
'बिहान उठ्यो, काम गर्यो। काम गर्दा नै आनन्द आउँछ मलाई त,' कृष्णले भने।
लक्ष्मी भने अरूले घुम्न जाऔं भन्दा अघि सर्थिन्। पोखरा आसपासका सबै डाँडाकाँडा र गाउँहरू पुगेकी छन्।
२०६९ वैशाख १२ गते अन्नपूर्ण चौथो हिमालबाट उर्लिएको हिमनदीले सेती नदीमा बाढी ल्याउँदा लक्ष्मी कास्कीकै खारापानीमा थिइन्। खारापानीमा पहाडबाट तातो पानीको मूल निस्किन्थ्यो। स्थानीयले तातो पानीको पोखरी बनाएर पर्यटन प्रवर्द्धन गरेका थिए। लक्ष्मी पोखरीमा खुट्टा डुबाएर बसेकी थिइन्।
'मेरो खुट्टा दुख्ने भएकाले तातो पानीमा डुबाएर बस्न स्विट्जरल्यान्डका महिलाहरूसँग गएकी थिएँ,' उनले भनिन्, 'एक्कासि आवाज आएको थियो। माथि हेर्दा ठूलो बाढी देखेर भाग्यौं।'
त्यो बाढीले खारापानी बजार बगायो। लक्ष्मी भागेपछि उनीसँगै गएका पर्यटकले पनि भागेर ज्यान जोगाए। भाग्न नसकेकाहरू बाढीसँगै बगे। ७२ जनाले ज्यान गुमाए।
नेपालमा माओवादी द्वन्द्वले संकटकाल बढ्दा कृष्ण बेलायत गए। काठमाडौंस्थित बेलायती राजदूतावासमा फारम भरेर काम गर्न बेलायत गएको उनी बताउँछन्। बेलायतमा उनले कुकको काम गरे।
लक्ष्मीका दाजु कृष्ण गुरूङ नेपाली कांग्रेसको राजनीतिमा थिए। माओवादीले उनीसँग चन्दा मागे। यो खबर लक्ष्मीका श्रीमान कृष्णले थाहा पाए। उनले ६ लाख रूपैयाँ बेलायतबाट दाजु कृष्णलाई पठाइदिए।
'चन्दा दिँदा पनि माओवादीले चित्त बुझाएनन्। दाइलाई माओवादी पार्टीमै आऊ भने। दाइले नमान्दा उहाँको हत्या नै गरिदिए,' लक्ष्मीले भनिन्, 'अनि मेरा अरू दाइदिदी कोरोनाले बित्नुभयो। अहिले हाम्रो कोही आफन्त छैन।'
बेलायतमा सात वर्ष बिताएर फर्केपछि कृष्णले लक्ष्मीलाई पनि उतै जाऔं भने। लक्ष्मीले पोखरा छाडेर कहीँ जान्नँ भनिन्।
'अनि तिमी जान्नौ भने त म पनि जान्नँ भनेर यतै बसेँ,' कृष्णले सुनाए।
युवा उमेरमै मिर्गौला रोग भएपछि लक्ष्मीलाई अरू विभिन्न समस्या देखा पर्न थालेका थिए। उनका खुट्टा सुन्निए। डाक्टरले भारत गएर खुट्टा काटेर उपचार गर्न सुझाव दिए।
त्यही बेला पोखरामा प्याराग्लाइडिङ गर्न आएका टम नाम गरेका विदेशीले उनको खुट्टा हेरे। उपचारमा सहयोग गरे। खुट्टा काट्नु परेन।
त्यस्तै 'कान्छी डाक्टरनी' ले लक्ष्मीको मुटुमा जुका परेको र आन्द्रामा अल्सर भएको बताइदिइन्। एकपछि अर्को रोगको शिकार बनेकी लक्ष्मीको उपचार भारतमा गर्नुपर्ने भयो। जग्गा र लज बेचेर उपचार गरेको कृष्ण बताउँछन्।
'धेरै पैसा लाग्ने रहेछ, उपचार नगरौं, यति धेरै दुःख गरेको पैसा सकिन्छ भनेकी थिएँ,' लक्ष्मीले मलिनो अनुहार बनाएर भनिन्, 'उहाँले मान्नुभएन। तिमी भए मलाई पुग्छ, सम्पत्ति त फेरि जोडौंला भन्नुभयो।'
तर उनीहरूले फेरि सम्पत्ति जोड्न सकेनन्।
कृष्ण–लक्ष्मीलाई चिनेका पुराना व्यवसायीहरू उनीहरूको अधिकांश सम्पत्ति आफन्तले लगेको दाबी गर्छन्।
अहिले लक्ष्मी बिरामले थला परेकी छिन्। कृष्णको खुट्टामा समस्या छ। दुवैलाई उच्च रक्तचाप पनि छ। यस्तो अवस्था हुँदा पनि उनीहरूसँग पैसा लिएर जानेहरू फर्केर नआएको ती व्यवसायी बताउँछन्।
कृष्णले पनि आफूसँग पैसा लैजानेहरूले फिर्ता नगरेको बताए।
'पैसा कतिलाई दिइयो कतिलाई। कोही फिर्ता गर्न आएनन्। अब कहाँ माग्नु,' उनले भने।
लक्ष्मीले थपिन्, 'सम्पत्ति सकिएकोमा कुनै चिन्ता छैन। कहिलेकाहीँ यसो बोलाउने आफ्नो मान्छे भइदिए हुन्थ्यो जस्तो लाग्छ।'


लजसहित सबै जमिन बेचे पनि उनीहरूले रेस्टुरेन्ट छाडेनन्। लेकसाइडको खहरेमा जग्गा भाडा लिएर रेस्टुरेन्ट खोले। त्यो बाढीले बगाइदियो।
त्यसपछि खहरेमै खोलेको अर्को रेस्टुरेन्ट कोभिड महामारीका कारण बन्द भयो। अहिले एउटा सटरमा उनीहरूको साँघुरो बसाइ र रेस्टुरेन्ट चलिरहेको छ।
यो सटरका घरबेटी भोजराजले उनीहरूलाई निकै सहयोग गरेका छन्।
लक्ष्मी प्यारालाइसिस भएर उपचार गर्न सात महिना अस्पताल बस्दा भोजराज दम्पतीले हरेक दिन टिफिनमा अस्पतालसम्म खाना लगिदिए।
'हाम्रो घरबेटी एकदम राम्रो हुनुहुन्छ। के छ, कस्तो छ भनेर सधैं चासो दिनुहुन्छ। धेरै सहयोग गर्नुहुन्छ,' लक्ष्मीले सुनाइन्।
उच्च रक्तचापका बिरामी कृष्ण पनि एक रात ढलेका थिए। छिमेकीले 'बाजे ढल्नुभयो' भनेर घरबेटीसँगै गुहार मागे। घरबेटीले नै उनको पनि उपचार गरिदिए।
'हामीले राती नै गाडी खोजेर अस्पताल लग्यौं। अहिले पनि औषधि, उपचारमा सहयोग गरिरहेका छौं। औषधि सकिए भन्नुस्, म ल्याइदिन्छु, मेरो चार, पाँच हजार रूपैयाँ गएर केही हुँदैन बा भन्छु। तर उहाँहरू अप्ठ्यारो मान्नुहुन्छ,' ७९ वर्षीय घरबेटी भोजराजले भने, 'घरभाडा सकेका बेला दिनू, नसकेको बेला पर्दैन भनेको छु।'
भोजराजका अनुसार कृष्ण–लक्ष्मी आफै सहयोग माग्ने स्वाभावका छैनन्। अरूले दिएको हत्तपत्त लिन पनि मान्दैनन्। आफै काम गरेर खानुपर्छ भन्ने मान्यता राख्छन्।
कृष्णको खुट्टा दुख्ने र सुन्निने भइरहन्छ। तैपनि काम गर्न छाड्दैनन्। दिनभर उभिएर खाना र खाजा बनाउँछन्। पक्षघातले थलिएकी लक्ष्मीको खानपिनदेखि दिसापिसाब उनैले व्यवस्थापन गर्छन्।
यो दम्पतीलाई काममा सघाउन घरबेटी भोजराजले मान्छे खोजिरहेका छन्। अहिलेसम्म पाएका छैनन्।
'एक जना काम गर्ने मान्छे भइदिए उहाँलाई सजिलो हुन्थ्यो,' उनले भने।
आफ्नो सटरमा बाससँगै व्यवसाय गर्न आएका कृष्ण–लक्ष्मीलाई यति माया र सम्मान दिनुका पछाडि भोजराजको आफ्नै सम्झना छ।
कृष्ण–लक्ष्मी पोखरा आउँदा भोजराज सानै थिए। लेकसाइडकै तालबाराही माध्यमिक विद्यालयमा पढ्थे। उनलाई कृष्ण–लक्ष्मी दुवैले निकै माया गर्थे। अहिलेसम्म पनि त्यो माया मरेको छैन।
'छोराछोरी जस्तै माया गर्नुहुन्छ, उहाँहरूको बिजोग देखेर साह्रै मन दुख्छ,' भोजराजले भने।
उनकी श्रीमती शोभा बिहे गरेर आउँदा लक्ष्मी ढिकी–जाँतो गर्न आएको देखेर चिनेको बताउँछिन्।
'उहाँहरू एकदम असल र मेहनती हुनुहुन्थ्यो। पैसा पनि प्रशस्त कमाउनुभयो,' शोभाले भनिन्, 'आफ्ना सन्तान नभए पनि धेरैको उद्धार गर्नुभएको छ।'
कृष्ण–लक्ष्मीलाई अरूले पनि बेलाबखत सहयोग गर्छन्। गत चैतमा पोखरा आएका एक अमेरिकी पर्यटकले दुई महिना उनीहरूको सेवा गरे। बसुन्जेल ती अमेरिकी नागरिकले हरेक दिन बिहान सटर खोलिदिए। रेस्टुरेन्टका जुठा भाँडा माझिदिए। कृष्णले पकाएको खाना र खाजा खाए। खाएको पैसा पनि तिरे।
कृष्ण–लक्ष्मीलाई ती व्यक्तिको नाम थाहा छैन, तर उनले दुःखमा दिएको साथ सम्झिरहन्छन्।
उनीहरूको सेवा गर्ने अर्का व्यक्ति हुन् प्यासन नेपाल इको लजका सञ्चालक दीपक गुरूङ र उनका साथीहरू।
दीपककी बहिनी शान्ति गुरूङ फेवासिटी हस्पिटल नर्सिङ कलेजकी प्रमुख हुन्। उनीसँग सल्लाह गरेर दीपकले कृष्णलाई अस्पताल लगिदिए। खुट्टाको शल्यक्रिया गराइदिए।
उनीहरूको बस्ने छुट्टै कोठा होस् भन्ने दीपकले चाहेका छन्। तर पक्षघातले थलिएकी लक्ष्मी उठेर हिँड्न सक्ने नहुँदासम्म अर्को कोठामा जाने अवस्था छैन।
'लक्ष्मीलाई एक्लै कोठामा राखेर म यहाँ आउन त भएन नि,' कृष्ण भन्छन्।
उनीहरूको रेस्टुरेन्टमा खाजा, खाना खाइदिएर सहयोग गर्नेहरू पनि छन्। एक सटरमा खुम्चिएको भए पनि सन वेलकम रेस्टुरेन्ट विदेशीमाझ चर्चित नै छ। पुराना पर्यटक फर्केर आइरहन्छन्। जापानी र अंग्रेजी भाषाको ट्राभल बुकमा यो रेस्टुरेन्टको नाम छ। गाइडबुक हेर्ने पर्यटक पनि खोजी खोजी आउँछन्।
कृष्ण–लक्ष्मीको हँसिलो बोली र सरलपन सबैले मन पराउँछन्। कति पर्यटकले उनीहरूलाई आफूसँगै विदेश जान कर गरेका छन्।
'धेरै विदेशीले हामीलाई जाऔं, सबै व्यवस्था हामी मिलाउँछौं भनेका थिए,' लक्ष्मीले भनिन्, 'तर मलाई यही ठाउँ मनपर्छ। काठमाडौं जान पनि मन लाग्दैन।'
६० वर्षअगाडि एकअर्काको हुन काठमाडौंबाट पोखरा आएको यो जोडीको जीवनमा धेरै उतारचढाव आयो। तर उनीहरूको प्रेम अहिले पनि स्थिर छ।
'हामीले जीवनमा कहिल्यै झगडा गरेनौं। चर्को स्वर पनि गरेनौं। मैले खाना खाइनँ भने उहाँ पनि खानुहुन्न। म मात्रै खान्नँ भन्नुहुन्छ,' मुस्कुराइरहेका कृष्णलाई हेर्दै ओछ्यानबाटै लक्ष्मीले भनिन्, 'अहिले पनि त्यस्तै हुनुहुन्छ।'