भनिन्छ, प्रेम वसन्त बहार हो। प्रेम गर्न कुनै खास दिन चाहिँदैन। यो त हरेक दिन, हरेक पल नदीजस्तै कलकल बगिरहन्छ। प्रेम मुस्कानबाट सुरु भएर चुम्बनमा फुल्दै आँसुमा गएर अन्त्य हुँदो रहेछ, सन्त अगस्टाइनले भनेजस्तै।
कहिलेकाहीँ राम्रो गर्न खोज्दा खोज्दै पनि नराम्रो भइदिन्छ, एउटा कुरा सोच्यो अर्को भइदिन्छ, एकातिर सिलायो अर्को तिर च्यातिन्छ। दुखान्त बिछोडको यतिका वर्षपछि तिम्रो कुशल मङ्गलको कामना गर्दै मेरो अन्तिम कोसेली स्वरूप सकिनसकी तिमीलाई पठाउने गरी एउटा पत्र लेख्दै छु।
कथा पसिनाले अनि व्यथा आँसुले लेखिन्छ भन्ने कुरा त तिमीलाई थाहा नै होला। यो पत्र कलमले हैन, आँसुले लेख्दै छु। दाउराबाट खरानी बन्न पर्खिरहेका अगुल्टा (कोइला) जसरी तिमीबाट छुटिएको म एक मुठी सासको अस्तित्व बोकेर यही माटोमा खरानी बन्ने दिन पर्खिरहेको छु। क्षण प्रतिक्षण तिम्रो यादले सताइरहेको छ। हुन त समयको खेल न हो, सम्बन्ध सधैँ बनिरहँदैनन्; क्षण प्रतिक्षणमै बदलिरहन्छन्। आज केबल मेरो सम्बन्ध फेरिएको छ, तिमी केबल मेरो सम्झनामा छौ।
दुखी अनि गरिबको जिन्दगीमा सुनाउन र पठाउनलाई दुःखका खबर बाहेक अरू के नै हुन्छन् र? तैपनि मेरो हृदयको आधा अंशलाई जे छ त्यही सुनाऊँ भनेर हातहरू कपाउँदै कपाउँदै एक पत्र पठाउँदै छु।
मान्छेहरू सुख पाउन हजार प्रयत्न गर्छन् तर तिमीले त मलाई रुवाउँदैमा सुख पायौ। यो तिमीसँग भएको अद्भुत कला हो। तिमीसँग भएको यो कलामा तिमी आफै रमाउन सक्छ्यौ। मैले रोदनका भेल बगाउँदा तिमीले हाँसोको मूल फुटाएकी छौ। त्यसैले तिमी त्यति धेरै खुसी भएको देखेर म पनि आज खुसी भएको छु। भारी मुटु बोकेर बाँच्ने कोसिस गरेको छु।
तिमीसँग देखेका सपनाले आज मलाई निदाउन दिँदैनन्, घोच्न थाल्छ मुटु अनि पोल्न थाल्छ पीडाले छाती। अनि लाग्छ कहाँ छ यो समुद्र, जसको बहावले मेरो मनभित्रका पीडा बगाएर लान सकोस्।
धेरै प्रश्न उथलपुथल हुन्छ मनभित्र, उत्तर खोज्न कहाँ जाऊँ? उत्तरको बदलामा बस् यी निर्दोष नयनले भारी वर्षा गराइदिन्छन् अनि आँसु सँगसँगै म पनि मौन हुन्छु। तिमीबाट यस्तो उपहार पाएर म आज धेरै खुसी भएको छु। यसबाट पाएको नयाँ शिक्षाले आज मैले नयाँ बाटो भेट्टाएको छु।
भन्न त भनिन्छ नि समयले आफ्नो गतिसँगै परिपक्व बनाएर लैजान्छ भनेर। तर तिम्रो प्रेममा मेरो समय त कहिल्यै परिपक्व भएन मेरो दूधे बालक समयले तिम्रो ममता छोड्न जानेन। वर्षा यामको भेलले जमिनको धुलो सबै पखालेर लगे पनि मेरो आँसुको गङ्गाले न त तिम्रो बैँसको उन्मादलाई पखाल्न सक्यो न त त्यो कसिलो अङ्गालोको रापलाई निभाउन नै। सोच्थेँ, तिमीले छाडेर गएपछि तिमीले मेरो दिलमा ठड्याएका हिमशिखरहरू गौँथलीको गुँडजस्तै सर्लक्क सरेर जानेछन्, हिउँदमा झरेका हिउँ पग्लिएझैँ तरल भएर पग्लिनेछन्। तर साँचो मायाका यादहरू न त गौँथलीका बथानहरू कतै सरे न त महासागरका हिमशिखरहरू जसरी पग्लिए।
आँखा हेरेर सुरु भएको हाम्रो यात्रा आँसु बनेर जिन्दगी भर बगिरह्यो। जीवनमा खुसी जसरी आए फेरि त्यसरी नै पखालिँदै गए। खुसी पगालिनुमा गल्ती मेरै भयो कि तिम्रो थाहा पाउन सकिनँ।
प्रिय, आजकल त म आँसुलाई नै साथी बनाई बाँच्न विवश भएको छु तर पनि तिम्रो कुशलताको कामना गर्न यो २१ औँ शताब्दीमा पनि पत्रको सारमार्फत सन्देश पठाउने गरेको छु। कतै तिम्रा ती निर्दोष आँखाहरू मेरो शब्द परे भने अतीतकै प्रेम सम्झेर मलाई माफ गरिदिनू।
हुन त एक दुखी अनि गरिबको जीवनमा आँसु, पीडा, रोदन, बिछोड अनि धोका बाहेक अरू के नै त हुँदो रहेछ र! तर पनि केही छैन, तिम्रो जीवनमा हाँसो, खुसी, मिलन, उल्लास सधैँभरि छाइरहोस्। म त अझै पनि आँसु पिएर बाँचेको छु, तिमी जस्तो विश्वासघाती, धोकेबाज नारीलाई शुभकामना दिन पाइरहेको छु। आफू सफल हुन नसके पनि सबैलाई सफलताको शिखर चुम्न सफल हुन आशीर्वाद दिएकै छु।
जिन्दगी न हो- समय बित्दै जाँदा तिमीलाई समय निर्मित बाछिटाले नै हिर्काए, तिमी हिँड्दा हिँड्दै जम्यौ र कठोर भयौ। तर मलाई पनि समयले कति मुड्कायो होला, कति हिर्कायो होला! त्यसैले तिमी मात्र कठोर, म सरल अथवा ममा बाल सुलभ कोमलता छ भन्ने भुल म गर्न सक्दिनँ।
तिमीलाई पत्र लेख्दै गर्दा मसँग शब्दहरू धेरै भएर उकुसमुकुस भए या शब्दहरू हराए म ठ्याक्कै भन्न सक्दिनँ तर म अस्तव्यस्त भएँ, मौन बसेँ। केही लेख्नै सकिनँ। फेरि सोचेँ, यो त एउटा पत्र मात्र होइन। तिमीलाई पनि थाहा छ मलाई पनि थाहा छ, यो त एउटा राजमार्ग हो जुन भएर तिम्रो मन मसम्म अनि मेरो मन तिमीसम्म यात्रा गर्छ
प्रिय, तिमीलाई मैले गर्ने सम्बोधनमा कुनै परिवर्तन आएको छैन। परिवर्तन आवश्यक छ जस्तो पनि लाग्दैन। तिमी मबाट छुटिएर गए पनि हिजो नि मेरो लागि प्रिय थियौ, आज पनि प्रिय छ्यौ अनि भोलि पनि प्रिय हुन्छ्यौ। एक पटक माया गरिसकेको, मन मुटु साटिसकेको मान्छे उति नै प्यारो र प्रिय हुँदो रहेछ हजारौँ चोट दिएको आखिर किन नहोस्।
बडो अचम्मको छ यो मानव मस्तिष्क पनि, नसम्झनु पर्ने कुरा सजिलै सम्झन्छ, नबिर्सनु पर्ने कुरा छिट्टै बिर्सन्छ। सायद यही दिमाग र मुटुको जिद्दीले नै त हो प्रिय तिमीले दिएको माया होस या अचानक दिएको धोका, सबै उत्तिकै ताजा छ।
हामीबिचको यात्रा सँगै नभए पनि एउटै आकाशमुनि छौँ। टाढाबाट भए पनि तिमीलाई अनुभूति गरेकै छु। सायद यो पत्र अन्तिम हुन सक्छ, तिम्रो ओठको हाँसो अन्तिम नहोस्। यी बितिसकेका केही प्रेम भावना लेख्दै गर्दै कुनै ठाउँमा चित्त दुखेमा म माफी चाहन्छु।
झरनाले नदीसँग, पहाडले चट्याङसँग, नवजात शिशुले आमासँग प्रेम गरे जसरी म अझै पनि तिमीलाई त्यस्तै निःस्वार्थ प्रेम गर्छु। तिमीले मेरो प्रेम लत्त्याएर, अपवित्र बनाएर गयौ। तिमी गएदेखि पानी बिनाको माछो जसरी छटपटाउन थालेको छु। आजसम्म त मेरो प्रेम बिर्सिसक्यौ होला तर पनि मैले तिमीप्रतिको प्रेम बिर्सिएको छैन।
तिमी जहाँ पुगे पनि, जस्तो अवस्थामा भए पनि खुसी हुनू, जीवनदेखि नथाक्नू, हरेक पाइलाले शिखर चुमोस्। छोडी जानेलाई अरू त म के भन्न सक्छु र? तिम्रो उपस्थिति नहुँदा खल्लो लागेको मात्र हो तर पनि केही छैन, तिम्रो लागि भोलिका दिनमा पनि उत्तिकै प्रेम र श्रद्धा मेरो हृदयभरि जीवित रहने छ। तिमी विश्वास गर या नगर, मेरो माया समुद्र जस्तो निश्चल र पवित्र, बादलजस्तै शीतल, वसन्त ऋतुको सौन्दर्य जस्तो सुन्दर, गुलेली साँझ जस्तै शान्त अनि सुधासागर जस्तै अमर छ।
विगतमा तिमीसँग हाँस्दा बोल्दा कुनै बेला चित्त दुखाउन पुगेको भए क्षमा प्रार्थी छु। यहाँ मनका भावनाहरू उकुसमुकुस भएर निस्कन खोज्छन्। कोरा कागजमा कोरिएका यी फुस्रा शब्दहरूले तिमीलाई अप्ठ्यारो लाग्न बनाइदिए फेरि पनि माफ गरिदिनू।
प्रिय, अरू त के भनूँ, तिम्रा ती सुमधुर आवाज अनि तिम्रा मिठा मुस्कानका लहरहरू आलै भएर अझै मेरो कानमा गुन्जिने गर्छन् अनि धारिलो काँडाले मुटुमा च्वास्स च्वास्स घोचेको महसुस हुन्छ। यत्तिकैमा असार साउनको जस्तो मुसलधारे वर्षा वर्षेझैँ मेरो आँखाबाट आँसु या विष्णुमतीका धारा बगिरहन्छन्। सायद मेरो जिन्दगीमा नै यस्तै लेखेको थियो होला। जीवन न हो, सधैँ एकरूपले कहाँ चल्दो रहेछ र? आँसु, हाँसो, मिलन, बिछोड त सङ्गम र सम्मिश्रण रहेछ।
सधैँ म तिम्रो यादहरूलाई त्याग गर्न खोज्थेँ तर तिम्रा ती यादहरू नै मेरा साथी रहेछन् जसलाई म न छाड्न सक्छु, न, त्याग्न नै। बस् मेरो मुटुमा विषालु सर्पले झैँ तिम्रा याद र मायाले डसिरहेको छ। अनि आगोको ज्वालासरि यो मन जलिरहेको छ। जे होस मैले जस्तोसुकै दुःख, कष्ट, पिर चिन्ताको सामना गर्नुपरे पनि तिमी सधैँ हाँसेर बाँच्नू। मलाई जस्तै अरूलाई कहिल्यै साथ नछोड्नू। सधैँ खुसी हुनू, रम्नू, रमाउनू, नाच्नू, नचाउनू अनि जीवनलाई फुलैफूलको बगैँचामा फुलाउनू। तिम्रो सुस्वास्थ्य तथा दीर्घायु साथै तिम्रो हर पाइलामा उत्तरोत्तर प्रगतिको कामना।
सन्त अगस्टाइनले भनेजस्तै हाम्रो प्रेम मुस्कानबाट सुरु भएर चुम्बनमार्फत फुल्दै आँसुमा गएर अन्त्य भयो। त्यसैले यो पत्रलाई स्वीकार गर या नगर, तिम्रो इच्छा भयो। बस् मेरा यी शब्दहरूले तिमीलाई कुनै आघात नपुगोस्।