मिङ्मा त्यो केटोको नाम थियो। पुतलिसडकको कन्सल्टेन्सी धाउन लागेको दुई वर्षभन्दा बढी भइसकेको थियो तर अझै अमेरिकाको भिसा लाग्न सकेको थिएन।
‘अमेरिका जाने सपना पूरा हुँदैन जस्तो छ’ ऊ मनमनै दोहोर्याउन थाल्यो। उसलाई आफ्नो सपना पूरा नहुने डरले निकै कमजोर बनाएको थियो। ‘भाग्यमा नै छैन भने कसको के लाग्छ र?’ ऊ मनका कुरा खेलाउन थाल्यो।
संसारमा कति म जस्ता मान्छे छन् जो भाग्यको सहारामा बाँचेका छन् वा भनौँ भाग्यलाई दोष दिएर बाँचेका छन्। उसको दिमागको नशा सलबलाउन थाले, आखिर ऊ निराश थियो। सात अर्ब मान्छे भएको यो संसारमा सबैको भाग्य लेख्दै हिँड्ने फुर्सद कसलाई होला र? अनि अरू प्राणीको भाग्य? जंगलमा डुल्ने मृगको भाग्य के हो? बाघको आहारा बन्नु नै उसको नियति हो?
यदि यस्तो भाग्य लेख्ने कोही छ भने उसको हृदय कति कठोर होला? मृग आफ्नो भाग्य सम्झिएर दुखेसो गर्छ होला? मलाई लाग्दैन गर्छ भनेर। उसलाई यसबारे कुनै चिन्ता छैन भने म किन उसको चिन्ता गरिराखेको? केटो आफ्नो विचारप्रति नै छक्क पर्यो।
मान्छे भाग्यको कल्पना किन गर्छ थाहा छ? यो प्रश्न ऊ आफैप्रति लक्षित थियो। यसको जवाफ उसले आफैँले खोज्नु थियो। ऊ भित्रबाट एउटा जवाफ आयो किनकि मान्छे आफ्नो कमजोरीलाई लुकाउन चाहन्छ। आफूले गर्न नसकेको कामले उसलाई भारी पीडा दिन्छ। यो पीडाबाट उम्किन ऊ भाग्यको सहारा लिन्छ। उसलाई यो उत्तरले केही भए पनि राहत दियो। तर ऊ यो रहस्यको भुमरी भित्र पर्दै गएको थियो।
संसारका कायर मान्छेहरूले भाग्यको कुरा गर्छन्। म एक्काइसौँ शताब्दीको साहसी व्यक्ति उसले आफैँलाई भन्यो, उसले अब आफ्नो जीवनमा हुने प्रत्येक घटनाको जिम्मेवारी आफूले लिने निर्णय गर्यो। यदि अमेरिकाको भिसा लागेन भने म अमेरिका जान अयोग्य रहेछु, उसले मनमनै भन्यो। यो कुराले उसलाई पहिले भन्दा अलि बलियो बनायो। उसले दुई वर्षदेखि नपाएको प्रश्नको जवाफ पाएको थियो।
आफ्नो जीवनमा आउने हरेक परिस्थितिको जिम्मेवारी लिने अठोट गरेको व्यक्तिको जीवन थप जटिल पक्कै पनि हुने वाला थियो। उसले आफ्नो घरपरिवार सम्झ्यो। आफ्नो आमा-बुबा सम्झियो। के मैले आफ्नो आमा बुबा मैले रोजेको हो? ऊ अलमलमा पर्यो। यसको जवाफ ऊसँग थिएन। ऊ भन्न चाहन्थ्यो यसमा मेरो कुनै भूमिका छैन। त्यसो भए यसलाई के भन्ने? ऊ एकछिन घोरियो। उसले भाग्य र नियति जस्ता शब्द आफ्नो शब्दकोशबाट निकालेको थियो।
बाटोमा हिँड्दै गर्दा उसले एउटा दृष्टिविहीनलाई देख्यो। उसको मनमा तत्काल प्रश्न उब्जियो। के यस्तो जीवन उसले राजेको हो? कोही आफू जन्मँदै आँखा नदेखूँ भनेर किन चाहन्छ? अवश्य पनि चाहँदैन। त्यसो भए उसको यो दुःखको पछाडि को लुकेको छ? को उसले आँखा नदेखोस् भन्ने चाहन्छ? के हो जो यी सबै कुराको निर्णय गरी रहेको छ?
उसको मनमा प्रश्नको पहिरो जान थाल्यो। जुन कुराबाट ऊ जति टाढा भाग्न खोज्दै थियो झन् त्यसकै भुमरीमा पर्दै गएको थियो। ऊ चिच्याउन चाहन्थ्यो। ऊ सोध्न चाहन्थ्यो कसले बनायो यो संसार? कसले बनायो मलाई? र यतिले नपुगेर मेरो कर्मको नियति कोर्दै छ। उसका यी प्रश्न अनौठो सुनिए पनि ऊ भित्रको भाव गहिरो थियो।
अहिलेसम्म आफ्नो जीवनको दुःखमा अल्झेको केटो विश्वमा रहेको अरू दुःखको उसलाई बोध भयो। भोकमरीले गर्दा ढुङ्गा, बालुवा खाएर बाँचेका अफ्रिकी महादेशका भर्खर बोली फुटेका ती केटाकेटी सम्झियो। आतंककारीले आफ्नो छोराछोरीको लागि रोटी कमाउन संघर्ष गर्दै गरेको बुबाको हत्या गरेको घटना सम्झियो। छोरी जसले आफ्नो बुबा संसारकै सबैभन्दा असल व्यक्ति ठानेकी हुन्छे, जसको अँगालो उसको लागि संसारको सबैभन्दा सुरक्षित स्थान हुन्छ, उही बुबाबाट बलात्कृत भएकी त्यो छोरीको जीवन सम्झियो।
यी विचारले उसको अघिको अठोटलाई कुनै सुकेको पातलाई हावाले उडाए झैँ उडायो। केटोले आफूलाई निकै नै असहाय महसुस गर्यो। उसको मन भक्कानियो र ऊ चिच्याएर रोयो। ऊ रोयो, किनकि जीवनले व्यक्तिहरू प्रति प्रतिशोध लिइरहेको छ भन्ने उसले ठान्यो। उसले जीवनको क्रूरतालाई पहिलो पटक नजिकबाट नियालेको थियो। अनेक कुरा मनमा खेले पनि एउटा प्रश्न उसको मनमा उस्तै थियो।
‘आखिर को छ यो सबको पछाडि?’
केटोसँग आफ्नो प्रश्नको जवाफ नभए पनि उसलाई जीवनको निरर्थकता बोध भयो। गौतम बुद्धको वाणी पहिलो पटक उसलाई सत्य लाग्यो कि ‘जीवन दुःख हो।’ संसारको अनेक कालखण्डमा विभिन्न महापुरुषले भनेको वाणी सम्झियो। उनीहरूले मुक्तिको लागि गरेको त्याग र तपस्याको महत्त्व उसलाई अहिले आभास भयो।
उसलाई अब अमेरिका जाने कुराले उत्साहित बनाउन छोडिसकेको थियो। उसले त्यस कुराको व्यर्थता बुझेको थियो। आफ्नो जीवनमा आएको यो परिवर्तनले उसको मनमा एउटा प्रश्न उब्जियो, ‘आखिर यो परिवर्तनमा मेरो भूमिका कति छ?