जब शब्दहरूको सामर्थ्य शून्य हुन्छ
मौनताले जरा उमार्दछ
अनुभूतिको सगरमाथा यो
केवल शब्दको अभाव मात्र नभई
जीवनको संगीत बन्दछ
र
सुनिन्छ हृदयका स्पष्ट धड्कनहरू-
भिड, कोलाहल, अपेक्षा र असफलताहरूको
विश्राम स्थल बनेर।
चेतनाको चरम जागरणमा ऋषिहरू
मौनतामै चरम सत्य बोल्दछन्-
बुद्धको मौनता, वशिष्ठको ध्यान,
वाल्मीकि र व्यासको समाधिले
वेद, उपनिषद् र महाकाव्यहरू जन्मायो
आध्यात्मिक उज्यालो यो
त्याग, एकाग्रता, र आत्मशुद्धिको संवाहक हो।
मौनता कहिले प्रेम बनेर अङ्कुरण हुन्छ
त कहिले नजरहरूको संवाद र
हृदयको धड्कनमा फक्रन्छ-
शब्दहरूले यसलाई फिक्का तुल्याइदिन्छन्
त्यसैले त ताजमहल मौन श्रद्धाञ्जली नबनी
मौनतामै प्रेमका कथाहरू भनिरहेको छ।
लौकिक कोलाहलमा हराउने सत्यको स्वर
मौनतामा टिलपिल साधना बनेर टल्किन्छ
सत्य कहिलेकाहीँ यति कठोर हुन्छ कि
शब्दहरूले यसका सामु थचक्क घुँडा टेक्दछन्-
जसरी जूनको ज्योतिको सामु
छलकपटका बादलहरू छियाछिया हुन्छन्।