अविरल त्रिशूली बगिरहेछ, त्यही गतिमा सुसाइरहेछ। मानिसको जीवन पनि त नदीभन्दा कहाँ कम छ र! जति ढुंगाहरूमा बज्रिए पनि बग्नु छ। यही नदीको किनारमा केही मानिसहरू बस्छन्। उनीहरू पनि न बग्न छोडेका छन्, न सुसाउनै।
म यही नदी किनारको एउटा ढुंगा जस्तै भएको छु आजभोलि। हिउँदमा सुक्खा हुन्छु। पानी मबाट निकै पर पुग्छ, मेरा पैतालासम्म पनि आइपुग्दैन। छिटपुटमा परेका आकाशे पानी बाहेक अरू भेट्न पनि मुस्किल हुन्छ तर जब बर्खा लाग्छ नदीको पानी यसरी बढ्छ कि आधाआधि आफैं डुब्न पुग्छु। त्यसमा पनि नभिजेको पल हुँदैन।
ढुंगा हुनुको पनि आफैंमा फाइदा रहेछ जबकि मानिसको जसरी निर्दयी बन्न नपर्ने, बगरको बगरै। ढुंगालाई के नै छ र तर अभिशापमा मानिसले मेरो नै नाम लिन्छन्- कस्तो ढुंगा जस्तो भएको भनेर। अनाहकमा मलाई मानिसहरूले निकृष्ट कुरासँग तुलना गर्छन्। मानिस आफैं तुच्छ उसले अरूसँग किन तुलना गर्छ? मलाई मन्दिरमा राख्छ, पूज्छ, आफ्नो त्यो थाकेको शिर मेरै छेउमा झुकाउँछ। कहिले मैले नै सहनु पर्छ घन र छिनोको चोट अनि ढाल्दछ मलाई एउटा निश्चित आकारमा। जब म उसको आकारमा ढालिन्छु तब सबैतिर योग्य हुन्छु, अन्यथा बेवारिसे।
मानिसहरू भन्छन् म निर्जीव छु। तर होइन, म तटस्थ छु। म देखिरहेछु मभन्दा त मानिसहरू धेरै निर्जीव छन्। मानिसले मानिसलाई गरेको विभेद, अन्याय र शोषणको लामै कथा यही नदीको किनारमा बसेर धेरै देखेको छु मैले। कुरा धेरै परबाट सुरू गर्दिनँ, नजिकैबाट गर्छु।
विगतमा कहिल्यै नदेखेका मानिसहरू आज मेरो छेउछाउमै छन्, जोसँग जिवन जिउनलाई कुनै रस छैन, न त छ ठूला-ठूला सपनाहरू। उनीहरूका सपना भनेकै रोग लाग्दा ओखती, दुई छाक खाना अनि ओत लाग्न बस्ने ठाँउ। यसकै लागि उनीहरू निरन्तर रगडिन्छन् जसरी अविरल बगिरहेको त्रिशूली भित्रका ढुंगाहरू रगडिरहेका छन्। हेरक दिनको झिसमिसेसँगै उनीहरू लामबद्ध हुन्छन् एउटा त्यही निरन्तरको यात्रामा जसको कुनै गन्तव्य छैन।
थाह छैन आज त्यो लाममा खडा भएको मानिस भोलि नरहन पनि सक्छ। यही लाममा समाहीत एउटा नाम हो, हल्दार काका। हुन त उनको वास्तविक नाम के हो अरू कसैलाई थाह होला तर आफ्नै परिचय लुप्त भएका उनलाई सबैले प्रिय नाम दिएका छन्। घामलाई उमेरसँग तुलना गर्ने हो भने उनी डाँडा माथिको घाम भैसके।
कसैले उमेर सोधिहाल्यो भने उनी हतपती भन्दैनन्, भन्नै परे एक तिहाई उमेर घटाउँछन्। यो उनको बाध्यता हो। किनकि उनको उमेरले उनी अझै बलिया छन् भन्ने देखाउनु थियो अनि बलियो हुनु नै उनको आर्जन। कपाल फुलेका उनी आफैंलाई ढाँटेर भन्छन्- सुरूङ भित्रको त्यो केमिकलले फुल्यो। उनी डराउँछन् सत्य कुरा कतै असत्यहरूका कानसम्म पुग्याे भने!
डरलाग्दो सुरूङमा पानीका थोपाहरू निरन्तर चुहिन्छन्। सुरूङ यति तातो भैदिन्छ कि उनलाई त्यो पानीका थोपाहरूले पूरै भिजाउँदासम्म पनि भिजेको भान हुन्न। पसिना पानीभन्दा धेरै शरीरमा बग्दा पानीको के नै वास्ता हुन्छ र! पसिना र पानीले उनका त्यो लामो बुट भरिन्छ र उनी त्यही सुरूङ भित्रको पानीमा मिसाइदिन्छन् जुन बग्दै बग्दै मेरै छेउ आउँछ र मलाई छुँदै त्रिशूली झन् गाडा निलो भएर बग्छ।
जब अँध्यारो गाढा हुँदै जान्छ उनको दिनभरिको काम अनि बुढ्यौलीले खिइएका हड्डीहरू दुख्न थाल्छन्। तर उनी क्षणभरमै बिर्सन्छन किनकि उनी आफ्नी प्याउलीसँग बोल्छन्।
उनी सानै थिए, गाउँमा मुग्लानेहरू आउने जाने गरिरहन्थे। उनलाई अलिअलि मात्र याद छ, त्यो साल गाउँमा धेरैको ठूलो बाढी र पहिरोले गरिखाने खेत र बारीहरू बगाएको थियो। अरू त अरू गाउँका मुखियाका पनि सिङ्गै खेत बाढीले स्वात्तै पारेको थियो। गाउँमा परदेशिएकाहरू आए, बाढी र पहिरोको मारलाई बिर्सिएर एक साँझ उनीहरू रोधीको लागि तयार भए। त्यो साँझ प्याउली र उनकी आमा पनि आए। रोधी जम्दै थियो। सर्लक्क कपाल, बाटुलो आँखा, मिलेको जीउ अनि भर्खर-भर्खर वयस्क पालुवा पलाउँदै गरेकी प्याउलीलाई देखेर हल्दार काका हेरेको हेर्यै भए। सबै रोधीको तालमा रम्दै थिए तर हल्दार काकाले प्याउलीलाई निरन्तर हेरिरहे। त्यत्तिकैमा प्याउलीका आँखा पनि जुध्यो।
भोलिपल्ट सधैं झैं सेउला लिन प्याउली र उसकी एक मात्र साथी झुम्की सँगै वन गए। बाटोमा जाँदै थर्दा प्याउलीले झुम्कीलाई भन्छे- 'त्यो हल्दारे किन हो किन मलाई हेरिरहन्छ, तँलाई कस्तो लाग्छ त्यो हल्दारे भन न ओई?'
हल्का हाँसोमा बोली मिसाउँदै झुम्की भन्छे- 'किन र लब पर्यो कि क्या हो तेरो? हल्दारे त्यस्तै हो। त्यो मलाई नि हेरिरहन्थ्यो। केटी देख्यो कि त्यस्तै हो त्यो।'
यो कुराले प्याउलीलाई च्वाँस्स बिज्यो। उसलाई झुम्कीको कुरा विश्वास लागेन। त्यो साँझको रोधीमा झुम्की, कमली अनि सुनमायाहरू पनि त थिए, किन उसले एकनासले मलाई नै हेरिरह्यो? फेरि सोच्छे, भाडाकुटी खेल्दादेखिको मिल्ने साथी यसले किन गलत भन्थी र?
प्याउलीले हल्दारेलाई मन पराइसकिछ। गाउँलेका आँखा छलेर उनीहरू एकाद समय भेटिन्थे, कहिले पौवाका पछाडि त कहिले खरबारीका कान्लाहरूमा। प्याउली भन्थी- 'म त तुमीसँगै मुर्ने हुँ कसम खाइछु, छोडेर जाने छुइनँ भन् त छिटो।'
नचाहँदा नचाहँदै पनि समय र विवशताका अगाडि कसैसँग खाएका मिठा वाचाहरू तोड्नु पर्दो रहेछ। यस्तै भयो हल्दार काकाको जीवनमा। उनी भाले नबास्दै अनि प्याउली सपनाबाट नबिउझँदै मुग्लान पसे। यता प्याउली अतीतका ती दिनहरूमा हल्दार काकासँग साटेका वाचाहरू सम्झँदै मुग्लाने फर्किने बाटो हेर्दै टोलाउँथी।
दिन, महिना र साल बिते। अरु सबै मुग्लाने फर्किए तर हल्दार काका फर्किएनन्। कतिले भने हल्दारे मुग्लानमै मर्यो। कतिले भने, ऊ जेलमा छ रे। कतिले भने, ऊ काममै छ रे। तर प्याउलीका ती सजीव यादहरूले उसलाई पर्खाइराख्यो।
उता हल्दार काका मुग्लानका होटलमा भाँडा र सडक चम्काइरहेथे। समयले धेरै कुराएन, गाउँ फर्किए। प्याउलीसँग विवाह गरे। तर उहाँका बाध्यताहरू उस्तै थिए। प्रेमले जित मारे पनि भोकले कहिलै हार्दैन रहेछ। त्यही आफ्नो र परिवारको भोक मेटाउन उनी फेरि मुग्लान पसे। त्यही मुग्लान जहाँ उनीहरू जस्तै मुग्लानेहरूको पसिनाले होटल र सडकहरू चम्कन्थे।
जवान समय उनले मुग्लानका होटलहरूमा बिताए जब उमेरले नेटो काट्दै गयो उनका दुःखहरू झन् धेरै बढ्दै गए। खरको छानो चुहिएर पानी थाप्दा प्याउली भन्छे, जस्ता किन्न पाए...। पोहोर दशैंमा ऋण दिने साहुले कराउँदा ऊ भन्छे, त्यति तिर्न पाए…। हराएको जेठो छोरो खोज्न कुन्नी केमा दिन पर्छ रे! त्यसको लागि अलि पैसा भए…।
यस्तै भए र पाएको दोसाँधहरूले हल्दार काका बुढेसकालमा पनि जमिनमुनि अझै गह्रुंगो मेसिन उठाउँछन् र प्वाल छेड्छन् अनि हरेक साँझ प्याउलीको आवाज सुन्दै निदाउँछन्। झिसमिसेमै उनका आँखाहरू खुल्छन् र फेरि त्यही अँध्यारो सुरूङ तयार हुन्छ उनीहरूलाई निल्न। उनीहरू चाहँदैनन् छिर्न तर विवश छन्।
घरमा थुप्रैका प्याउलीहरू कुरिरहेछन्। सपना देखिरहेछन्। एउटा सुन्दर घर, एक छाक मिठो खाना अनि कठ्यांग्रिदो चिसोमा लगाउने एक जोर तातो लुगाको आशमा जुन वर्षौंदेखि सपनामामै सीमित छ।