नेपाल क्रिकेट संघ (क्यान) ले आइसिसी टी-२० विश्वकप २०२६ अन्तर्गत छनोट प्रतियोगिताका लागि बन्द प्रशिक्षणमा ३२ खेलाडी बोलाएको छ।
प्रशिक्षक स्टुअर्ट लले आगामी अक्टोबरमा ओमानमा हुने छनोटका लागि पहिलो चरणमा ३२ खेलाडी बोलाउँदा आदिल अन्सारीलाई पनि टोलीमा स्थान दिएका छन्।
यसअघि वैशाखमा क्रिकेटर मोहमद उनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी लगाएको प्रतिबन्ध फुकुवा भएको थियो। क्यानको इन्टीग्रिटी समितिले आवश्यक प्रक्रिया पूरा गरी उनको प्रतिबन्ध फुकुवा गर्ने निर्णय गर्दै प्रतिवेदन दिएको थियो। समितिको प्रतिवेदनपछि क्यानले उनको प्रतिबन्ध फुकुवा गरेको हो।
यसअघि क्यानको आयोजना र भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सको व्यवस्थापनमा गत २०७९ को पुसमा भएको नेपाल टी-२० क्रिकेट लिगका दौरान अन्सारीलाई स्पट फिक्सिङको आरोप लागेको थियो।
त्यसपछि उनलाई कुनै पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन नपाउने गरी प्रतिबन्ध लगाइएको थियो। क्यानले प्रतिबन्ध लगाए पनि अन्सारी र मेहबुब आलमसहित पाँच जनालाई जिल्ला अदालत काठमाडौंले २०८० को चैतमा सफाइ दिएको थियो।
न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले स्पट फिक्सिङको दाबी नपुगेको भन्दै सफाइ दिएको थियो। उनीहरु लिगका दौरान पक्राउ परेका थिए भने पछि धरौटीमा छुटेका थिए।
अन्सारीले नेपाली टोलीबाट ६ वटा एकदिवसीय र ८ टी-२० खेल खेलेका थिए। अन्सारीले २०७८ को चैतमा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए।
नेपाली टोली
१ रोहित कुमार पौडेल
२ दीपेन्द्र सिंह ऐरि
३ कुशल भुर्तेल
४ अनिल साह
५ आसिफ सेख
६ लोकेस बम
७ भीम सार्की
८ कुशल मल्ल
९ आरिफ सेख
१० नन्दन यादव
११ करण के सी
१२ सोमपाल कामी
१३ रिजन ढकाल
१४ सन्दीप लामिछाने
१५ प्रतिस जीसी
१६ ललित नारायण राजवंशी
१७ गुलशन कुमार झा
१८ रुपेश कुमार सिंह
१९ बसिर अहमद
२० साहब आलम
२१ युवराज खत्री
२२ किरण ठगुन्ना
२३ सागर ढकाल
२४ आकाश चन्द
२५ विवेक कुमार यादव
२६ आदील अन्सारी
२७ पवन सर्राफ
२८ सन्दीप जोरा
२९ शेर मल्ल
३० सुभ कंसकार
३१ अर्जुन घर्ति
३२ कमल सिंह ऐरि
विश्वकप छनोटअघि नेपालले अगस्ट दोस्रो साता अस्ट्रेलियामा तयारी गर्नेछ। नेपाली टिमले अस्ट्रेलियामा हुने टप इन्ड टी-२० सिरिजमा ६ टोलीसँग खेल्न लागेको हो।
टी-२० विश्वकप लगातार दोस्रोपटक खेल्ने लक्ष्य लिएको नेपालले सेप्टेम्बरमा वेस्ट इन्डिजसँग तीन खेलको टी-२० सिरिज खेल्ने तयारी छ।
वेस्ट इन्डिजसँग खेलेपछि नेपाल विश्वकप छनोट खेल्न ओमान जानेछ।
ओमानले यस वर्षको अक्टोबरमा हुने आइसिसी पुरुष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिता आयोजना गर्दैछ। यस प्रतियोगितामा नौ टोलीले सहभागिता जनाउनेछन्।
सन् २०२४ को उप-क्षेत्रीय छनोटबाट आएका कुवेत, मलेसिया, यूएई, कतार, जापान र सामोआले आयोजक ओमान, नेपाल र पपुवा न्यू गिनीसँगै आगामी वर्षको आईसीसी पुरुष टी-२० विश्वकपका तीन स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्।
यो प्रतियोगिता १० दिनसम्म चल्नेछ, जसको समूह चरण अक्टोबर ८ देखि १० सम्म हुनेछ।
नौ टोलीलाई तीन-तीन टोलीको तीन समूहमा विभाजन गरिएको छ। प्रत्येक समूहका शीर्ष दुई टोली सुपर सिक्स चरणमा प्रवेश गर्नेछन्।
सुपर सिक्स चरणका खेलहरू अक्टोबर १२ देखि १७ सम्म चल्नेछ।
सुपर सिक्स चरणका शीर्ष तीन टोलीले भारत र श्रीलंकामा आयोजना हुने पुरुष टी-२० विश्वकप २०२६ मा आफ्नो स्थान पक्का गर्नेछन्।
समूह विभाजन
• समूह १: यूएई, मलेसिया र कतार
• समूह २: नेपाल, कुवेत र जापान
• समूह ३: ओमान, पपुवा न्यू गिनी र सामोआ
नेपालको खेल तालिका
८ अक्टोबर – नेपाल भर्सेस कुवेत – राति ८:४५ नेपाली समय
१० अक्टोबर – नेपाल भर्सेस जापान – दिउँसो पौने ४ बजे
टी-२० विश्वकप २०२६ मा १२ टोली भने सिधा छनोट भइसकेका छन्। जसमा आयोजक भारत र श्रीलंकासहित अफगानिस्तान, अस्ट्रेलिया, बंगलादेश, इंग्ल्यान्ड, अमेरिका र वेस्ट इन्डिज छन्। आयोजकबाहेक अरू टोली टी-२० विश्वकप २०२४ को सुपर-८ मा पुगेका कारण छनोट भएका हुन्। वरीयताका आधारमा आयरल्यान्ड, न्युजिल्यान्ड र पाकिस्तान छनोट भएका छन्।
बाँकी आठ टोली क्षेत्रीय छनोटबाट विश्वकपमा पुग्नेछन्। एसिया र इस्ट एसिया प्यासिफिबाट तीन टोली, युरोप र अफ्रिकाबाट दुई दुई टोली तथा अमेरिकन क्षेत्रबाट एक टोली विश्वकप २०२४ मा पुग्नेछन्।