चुह्लोको आगो निभिसकेको थियो। रात ढल्किसकेको थियो। त्यो अबेर साँझ मेरी बहिनी पुनम र रेनु अगेनोको छेउमा चुपचाप गफिँदै थिए — रेनुको विवाहको कुरा गर्दै।
म भर्याङमा उभिएर धेरै बेर उनीहरूको कुरा सुन्दै बसेँ। केही बोलिनँ। तर त्यो क्षण मेरो स्मृतिबाट अहिलेसम्म हट्न सकेको छैन।
अहिले पनि रेनुलाई देख्दा म त्यही क्षण सम्झन्छु। म केही गर्न सक्ने उमेर र अवस्थामा थिइनँ। तर केही गर्ने प्रयत्नसमेत नगरेको दोषबाट मलाई अहिलेसम्म मेरै मनले दोषी देखिरहेको छ।
रेनु र मेरी बहिनी पुनम मिल्ने साथी थिए। १६-१७ वर्षकी ती केटीका आँखामा नाचिरहेका अनेक सपनामध्ये कुनै पनि पूरा हुन पाएनन्।
सात कक्षा नसकिँदै उनको विवाह भयो। उनका आमाबाबुको सोच फरक थियो, छोरीको पढाइलाई भन्दा चाँडचाँडै हुने विवाह नै 'सुरक्षा' ठाने उनीहरूले। त्यसपछि रेनुकी बहिनी रिनाको पनि सानै उमेरमा विवाह भयो। अनि दाइ सुरेन्द्रको पनि, एसएलसी नसकिँदै।
अहिले पनि रेनुसँग भेट भइरहन्छ। दुःख–सुखका कुरा हुन्छन्। यसपटक आमाबुबालाई भेट्न गाउँ बेलका गएको थिएँ। यसपटक पनि उनीसँग भेट भयो।
अब रेनु परिपक्व भइसकेकी छन्। दुई छोरी र एक छोरा छन्। माहिली छोरी अलिकति कडा स्वभावकी छे। क्लासको मोनिटर केटालाई जिस्काएको भन्दै कुटेकी रहिछे। हामी हाँस्यौं। एउटी मधेसी केटीले पहाडे वर्चस्व भएको गाउँमा केटा कुट्छ भन्ने कल्पना गर्न पनि गाह्रो! त्यसैले अचम्म मान्दै हाँस्यौं होला।
त्यसमाथि उसले जसरी सुनाई, हामी नहाँसी रहन सकेनौं। हाँस्ने कुरा होइन भन्ने थाहा हुँदाहुँदै पनि।
रेनुकी बहिनी रिना अहिले कुवेत पुगेकी रहिछन्। श्रीमानसँग छुट्टिएर बच्चासँगै गाउँमै व्यापार गर्दै थिइन्। तर त्यो व्यापारले न छोरालाई पढाउन पुग्यो, न त भविष्य बनाउन। त्यसैले रोजगारीको खोजीमा विदेश गइन्।
उनीहरूका दाइ सुरेन्द्र अहिले तीनपांग्रे ट्याम्पो चलाउँछन्। हामी गाउँ जाँदा प्रायः सुरेन्द्रकै ट्याम्पो चढ्छौं। सुरेन्द्रले विवाहपछि पनि पढाइ छाडेनन्। प्लस–टू पास गरे, शिक्षक बन्न तालिम लिए, लाइसेन्स पनि। तर जागिर पाएनन्।
यसपटक पनि हामी सुरेन्द्रसँग ट्याम्पोमा घुम्यौं। कुराकानी क्रममा सुरेन्द्रले भने, 'अचेल व्यापार कम छ। घरमै बसिरहेको छु।'
केही बेरपछि उनले थपे, 'छोरीको अन्तर्वार्ताका लागि मान्छेहरू आइरहेका छन्, त्यसैले पनि।'
'किन अन्तर्वार्ता?' मैले सोधेँ।
उनी अलिक लजाउँदै मुस्काए, 'रेखाले ४.० जिपिए ल्याएर एसइई पास गरी। बेलकामै एउटी मात्र रहिछे ४.० ल्याउने। मेयरदेखि पत्रकारसम्म सबै आइरहेका छन्।'
सुरेन्द्रको अनुहारमा मैले गर्व मात्र होइन, विगतको पीडा पनि देखेँ — महावीर सिंह फोगटजस्तो अनुहार — जसले आफ्ना अधुरा सपना छोरीमा रोपेको छ।
रेखाले गाउँकै स्कुलबाट ४.० जिपिए ल्याई। त्यो स्कुलमा मैले दुई वर्ष पढाएको छु। मलाई थाहा छ, त्यहाँ पढेर ४.० ल्याउनु सजिलो छैन र रेखाले त्यो उपलब्धि हासिल गरेको कक्षाको पढाइका भरमा मात्र होइन।
'ऊ घरमै पढिरहन्थी,' सुरेन्द्रले भने, 'इन्टरनेटमा खोज्थी। पाँच वर्षका एसइई प्रश्नहरू सबै पढेकी थिई। ऊ धेरै ट्यालेन्टेड छे।'
रेखा डाक्टर बन्न चाहन्छे। एमबिबिएस पढ्ने सपना देखेकी छे।
'सकिन्छ त?' मैले फेरि सोधेँ।
'सकिन्छ नि! कतैबाट मिल्ला कि!'
सुरेन्द्रको स्वरमा दृढता थियो — त्यो दृढता, जुन मैले मेरो बुबाको आँखामा देखेको थिएँ। बुबाले पनि चार कक्षाभन्दा बढी पढ्न पाउनु भएन। तर हामीलाई पढाउन उहाँले जति सकिन्छ त्यति गर्नुभयो। हामीले काम गर्दै पनि पढ्यौं।
आज सुरेन्द्र पनि त्यही सपना बोकेर हिँडिरहेका छन्, रेखाको आँखामा भविष्य खोज्दै। अरूले उनलाई 'मास्टर' को जागिर दिएनन्, तर आफ्नै सन्तानले उनलाई साँच्चिकै गुरू माने। र, आफ्ना सन्तानको शिक्षामा सुरेन्द्रले साँच्चिकै मास्टरी गरे।
तर यसपछिको सुरेन्द्र र रेखाको यात्रा सहज छैन। सुरेन्द्रको कमाइले रेखालाई एमबिबिएस पढाउन पक्कै पुग्दैन।
बुबाको अवस्था बुझेकी रेखा अहिले घरै बसेर पढिरहेकी छे। नजिकैको एउटा सरकारी विद्यालयले निःशुल्क प्लस–टू पढाइदिने भनेको छ। तर घरको काम, आर्थिक अभाव र सामाजिक दबाबबीच एमबिबिएसको सपना सजिलो छैन।
यो त्यही परिवार र समाज हो, जहाँ रेनु र रिनाहरूले आफ्नो सपना छाड्नु पर्यो। जहाँ छोरीको जात 'बोझ' हो भन्ने बुझाइ अझै गढिएको छ। 'नाक काटियो भने हाम्रो त सर्वस्व जान्छ,' यो मधेसी समुदायमा छोरीलाई लिएर गढिएको डर हो।
तर रेखा त्यो डरभन्दा ठूलो सपना देखिरहेकी छे।
रेखाको सपना केवल उसको मात्र पनि होइन। त्यो सपना सुरेन्द्रको अधुरो पढाइको हो, रिना र रेनुहरूको साहसको हो।
रेखाहरूको सपना उसकै आँखामा मात्र होइन, हामी सबैको आँखा र आत्मामा पनि बाँच्न थालोस्।
सलाम रेखा र सुरेन्द्रलाई!
(लेखक दिपक रौनियार फिल्म निर्देशक हुन्।)
***