अचेल म प्रायः नारायणघाट काठमाडौं आवतजावत गरिरहन्छु। यसपालि पनि नारायणघाटबाट काठमाडौं आउने क्रममा पुल्चोकमा एउटा विद्युतीय गाडी चढेँ।
गाडीमा पाँच सात जना मान्छे चढ्न लागिरहेका रहेछन्। तिनीहरूमध्ये एक जना ४५।४६ वर्षकी महिला मेरै छेउको सिटमा आएर बसिन्। तिनी हेर्दा तराईकी जस्ती देखिन्थिन्। तिनको पछिपछि मुखमा पान पराग चपाइरहेका भारतीय जस्तो देखिने एक जना ५०।५५ वर्षका घुम्रे जुङ्गावाला पातला पुरूष गाडी चढे। ती महिलाले ती पुरूषसँग हिन्दी, भोजपुरी, अबधी र नेपाली गरी चार भाषाका शब्द मिलाएर बोलिन्। हेर्दा श्रीमान श्रीमती जस्तो लाग्यो। उनीहरूको पछि पछि एक जना १५/१६ वर्षको किशोर गाडी चढ्यो। ऊसित ती महिलाले नेपाली नमिसाइकन हिन्दी र अबधीमात्र मिसिएको भाषा बोलिन्। त्यो उनीहरूका छोरा रहेछ।
मैले ती महिलालाई उनीहरूको घर कहाँ हो? भनेर सोधेँ।
ती महिलाले जबाफ दिइन् , ‘गोरखपुर, इन्डिया।’
मलाई त्यो जबाफ सुनेर अनौठो लाग्यो, उनीहरूबारे अरू जान्न मन लाग्यो।
आजभन्दा ४५ वर्ष जति अगाडि दक्षिण ललितपुरको पहाडी भू-भाग एकदम विकट थियो। त्यहाँ व्यापक गरिबी थियो। त्यतैको गाउँको यौटा बाहुन परिवारमा ८ वर्ष जतिको केशव नामको एउटा केटा थियो। उसका घरमा बाबुआमा, एक भाइ, दुई दिदी, एक जना काका र हजुरबा थिए। ऊ गाउँमा बसेर कहिलेकाहीँ विद्यालय जाने र धेरैजसो खेतीपातीमा बाबु आमालाई सघाउने गर्थ्यो।
यस्तैमा उसको बुवाको अज्ञात रोगबाट मृत्यु भयो र त्यसको केही दिनमा उसकी आमा पनि घरबाट बेपत्ता भइन्। अब ती चार जना टुहुरा हजुरबुबाको संरक्षण र काकाको रेखदेखमा हुर्किन लागे। दाइ भाउजू नहुनाले काकाले त्यही बेला बिहे गरे।
काकाको बिहे पछि त्यो केटालाई काकाको माया ममता कम हुँदै गएजस्तो लाग्यो, हजुरबा पनि बुढा भएकोले उनको आडभरोसा पनि कम हुन लाग्यो। अब उसलाई घर बस्न मन लागेन।
एकदिन अँध्यारैमा घर छोडेर ऊ काठमाडौंतिर हुइँकियो।
काठमाडौंको सडकमा रूँदै एक्लै लखरलखर हिँडिरहेको बेला एकजना साहुजीले भेटेर उनकै होटलमा भाँडा माझ्ने काममा लगाइदिए। उसलाई होटलमा काम गर्दा अत्यास लाग्न थाल्यो र एकदिन होटलबाट भागेर होटलमै चिनजान भएको गाडीको सहचालकसँग काँकडभित्ता जाने बस चढ्यो। घुस्सा लात्ती खाँदै कुकुर बिरालासित सुत्दै बिभिन्न गाडीको सहचालक भएर ऊ नेपालका विभिन्न ठाउँमा पुग्यो।
बाह्र वर्षको उमेर हुँदा ऊ वीरगञ्ज पुग्यो र त्यहाँको हटेलमा केही समय काम गर्यो। त्यहाँबाट पनि भागेर ऊ रक्सौल पुग्यो र एकदिन त्यहाँबाट रेल चढेर गोरखपुर पुग्यो।
गोरखपुरमा पुगेर केही दिन फ्याँकिएका खाना खाँदै बोरा ओढेर सडकमा सुतेपछि उसले एउटा होटलमा काम पायो। त्यो होटलमा काम गर्दागर्दै एक जना सज्जनले उसलाई एउटा कलेजमा काम लगाइदिए।
ऊ कलेजमा चपरासी काम गर्थ्यो, कलेजका सामान किनमेल गर्न बजार जान्थ्यो, ‘साबजी’हरुलाई ‘चाय पानी’ किनेर लग्थ्यो, राति कलेजकै भर्यांङ मुन्तिर सुत्थ्यो र कलेजको रखवारी गर्थ्यो। बिस्तारै उसले साबजीहरूको विश्वास जित्यो।
ऊ बिस्तारै बढेर नवयुवाको उमेरमा पुग्यो। त्यही कलेजको छेउमा एउटा ढावा थियो। त्यो ढावा चलाउने मान्छे नेपालको गुल्मीतिर जन्मेर बिहेबारी गरेपछि यता आएका मगर रहेछन्। गोरखपुरकै छेउको कुडाघाटमा सानो घर बनाएर बसेका उनका यहीँ आएपछि एउटा छोरा र तीन वटी छोरी जन्मेका रहेछन्। ती ढावावालाकी जेठी छोरीको नाम कोपिला थियो। ऊ गुडिया जस्ती राम्री न राम्री थिई। साबजीहरूलाई खाना लिन केशव बेला बेला त्यो ढावामा जाने गर्थ्यो। उसलाई कोपिला असाध्यै मन पर्थी। उसले पनि केशवलाई कर्के आँखाले हेर्थी। केशबलाई लाग्थ्यो, ‘कतै केटीले पनि उसलाई मन पराएकी पो हो कि!’
तर हेराहेर भए पनि, मनका भावना साटासाट हुन पाएको थिएन।
तर मन परेर के गर्नु , घर न थरको त्यो केटाको मनको कुराको त्यहाँ के अर्थ। जो मन परे पनि सारा दुनियाँबाट हेपिएको चेपिएको र खेदिएको मान्छेको त्यो मनपराइको के मूल्य!
त्यति बेला नेपालमा भर्खर बहुदल आएकोले सिंगो नेपाली समुदायमा राजनीतिक माहोल छाएको थियो। त्यतिबेला नेपालमात्र नभई नेपालीहरू धेरै मात्रामा बस्ने गोरखपुर लगायतका सहरहरूमा नेपाली राजनीतिक गतिविधिहरू व्यापक रूपमा संचालित भैरहेका थिए। भारतमा नेपालीहरूका धेरै राजनीतिक सामाजिक संगठनहरू गठन भएका थिए र तिनिहरूमध्ये एउटा ‘अखिल भारत नेपाली एकता समाज’ नामक संगठन थियो। त्यस संगठनमा अबिनाश नामका एक जना नेता थिए। उनी गोरखपुरमा भएका सबै नेपालीसित नियमित रूपमा सम्पर्क र भेटघाट गर्ने गर्थे, नेपालीहरूसित दु:खसुखका कुरा गर्थे।
त्यही सिलसिलामा केशबको अबिनाशसित पनि चिनजान हुन्छ र उनकै माध्यमबाट केशब पनि बेला बेला एकता समाजका कार्यक्रमहरूमा जान थाल्छ।
तिनै कार्यक्रममका सिलसिलामा जाँदा एकपटक केशबले कोपिलालाई देख्छ र एकटकले हेरिरहन्छ। यो कुरा कोपिलालाई महसुस भयो क्यारे, लाजले अर्कोतिर फर्किई।
यो कुरा अबिनाशले याद गरिरहेका रहेछन्।
त्यहाँबाट फर्केपछि अबिनाशले केशबलाई खुसुक्क भने , ‘केशब, तिम्रो पनि अब बिहे गर्ने बेला भए जस्तो छ।’
‘न घर न थर, बाबुआमा कोही नभएको म जस्तो टुहुरो अभागीलाई कस्ले छोरी दिन्छ र,’ केशबले कपाल कन्यायो।
‘तिमी चिन्ता नगर, म छु नि।’ केशबले ढाडस दिए।
अलि दिनपछि अबिनाशले केशबलाई लिएर गोरखपुर छेउको कुडाघाटमा रहेको कोपिलाको घरमा गए र कोपिलाको बुबासित केशबको लागि कोपिलाको हात मागे।
कोपिलाको बुबाले मुख फाले , ‘कोही पनि आफन्त नभएको यो बाहुनलाई कसरी छोरी दिने!’
तर अबिनाशले भने, ‘यो केशबको अभिभावक मै हुँ। उसको सबै जिम्मा म लिन्छु, ढुक्कले छोरी दिनुस्।’
केशबसित बिहे गर्न कोपिलाले पनि खुसीसाथ सहमति जनाइन्।
गोरखपुरकै गोलघरनेरको अग्रवाल भवनमा सानो जमघट गरी उनीहरूको बिहे सम्पन्न भयो, एकता समाजका सदस्यहरू जन्ती भए।
अचेल एकता समाज कस्तो चल्दै छ त?
‘के हुनु र खै, अबिनाश आफैले बाटो बिराएर गए। अगुवाले नै बाटो बिराएपछि घर कहाँ चल्छ र। एकता समाज पनि उनीसितै सेलाएर गयो। हुन त अहिले गोरखपुरमा नेपाली पनि कति पो छन् र!’ उनले बताए।
दुई छोरा र दुई छोरी गरी केशब र कोपिलाका चार सन्तान जन्मिए। छोरीहरूको नाम माया र गुडिया अनि छोराहरूको नाम गोलु र अहम् राखे।
नेपाल नदेखेका उनीहरू घरमा हिन्दी र भोजपुरी मिसाएर बोल्छन्। तर केशब र कोपिला भने बोल्दा १० प्रतिशत जति नेपाली अरू बाँकी हिन्दी अनि भोजपुरीमा बोल्छन्। जेठी छोरीको भने हालसालै लखनऊमा उनीहरूजस्तै नेपाली मूलको मगर केटासित बिहे भएको छ।
घर छोडेको २५/२६ वर्षमा एक जना नेपालीको सहयोगमा केशब घर गए। दक्षिण ललितपुरमा पनि मजाले विकास भएछ। हजुरबुबाको पनि मृत्यु भएछ अनि काकाले दिदी भाइहरूलाई पाल्ने बढाउने काम गरेछन्। दिदीहरूको बिहे उनैले गरिदिएछन्।
बाबुको सम्पत्तिको कुरा सोध्दा दिदीहरू अनि भाइलाई हुर्काउने गर्दा बाबुको भागको सबै सम्पत्ति सकिएको कुरा काकाले बताएछन्। काकाको कुरा सुन्दा मनमनै चित्त नबुझे पनि बाहिर रिस देखाएनछन्।
‘जे भए पनि दु:खको बेला टुहुरा भतिजा भतिजीलाई संरक्षण गरेकै हुन्।’ यही भनेर उनले चित्त बुझाएछन्।
केशब र कोपिला दुबैसँग भारतको रासन कार्ड छ, उनीहरू गोरखपुरमै भोट हाल्छन्। उनीहरू भारतका नागरिक हुन्। कोपिलालाई आधा आधा र उनका सबै छोराछोरीलाई आफू पक्का भारतीय भएको महसुस हुन्छ। तर केशब अन्योल छन्, आफू भारतीय हो कि नेपाली हो भनेर।
केशबले कोपिलालाई अहिलेसम्म नेपालको जन्मघर लगेका छैनन्। कोपिला एकपटक बुटवल आएकी थिइन् र त्यही बेला सिद्धबाबा गएर पहाड कस्तो रहेछ भन्ने देखेकी थिइन्। त्यसैले पनि होला, उनी आफूलाई नेपालको बाहुनकी बुहारी तर भारतीय मगर्नी हो भन्ने लाग्छ।
छोरा छोरी त नेपाल भनेपछि कताको देश हो भनेझैँ अचम्म मान्छन्।
यसपालि भने कोपिला र छोरा अहमलाई आफ्नो जन्मघर देखाउने हुटहुटी अनि भाइ र दिदीहरूको बारम्बारको बोलावटलाई नकार्न नसकेर केशबले उनीहरूलाई पहिलोपटक जन्मघरको यात्रामा ल्याएका रहेछन्।
मसित नारायणघाटबाट काठमाडौं आउने गाडीमा भेट भएका अघि सुरूमा उल्लेखित तीनजना पात्रहरू तिनै केशब, कोपिला र अहम् रहेछन्।
कोपिलाको लागि बुटवल कटेर जान लागेको यो पहिलो पटक र अहमको लागि नेपाल टेकेको पहिलो पटक रहेछ। बुढाको जन्मघर जान पाउँदा कोपिला र गर्मी बिदाको मनाउन आफ्नो बाबाको जन्मघर पाउँदा अहम् खुसीले मखलेल भएका रहेछन्।
यति कथा सुनिसकेपछि मैले केशबलाई सोधेँ, ‘केशब दाइ, अब तपाईं भविश्यमा कुन देशको नागरिक हुनुहुन्छ? भारतको कि नेपालको?’
उनी अलमलिएको देखेर मैले फेरि सोधेँ, ‘अब बुढेसकालका दिन कहाँ बिताउने? नेपालको ललितपुर कि भारतको गोरखपुर?’
लामो श्वास तानेर केशबले भने, ‘खै मेरो अहिले नेपालमा आफन्त त छन् , तर घर जग्गा केही छैन। गोरखपुरमा परिवार छन्, तर आफ्नो घर बनाउन सकेको छैन। भविश्यको कुरा कसरी भन्नु। यो जीवन तकदिरको खेला रहेछ, तकदिरले जता लैजान्छ, त्यतै जाने त होला।’
कलंकीमा गाडीबाट उत्रेपछि अहमले 'बाई अंकलजी’ भनेर हात हल्लायो। कोपिलाले ‘देवरजी, गोरखपुर आउँदा हाम्रो मकानमा जरूर आउनु होला’ भनिन्।
त्यतिबेला केशबको आँखामा आँसु टिलपिलाई रहेको थियो।