बन्चरो बोकेर
जंगलतर्फ हिँडेको दाउरेले
दिनभर पसिना बगाएर
गरेको परिश्रमपछि
खोलेर हेर्थ्यो झोला
अनि खोलाको
पानीसँगै खान्थ्यो
मकैका ठेट्ना।
दही चामलको टीका लगाएर
कम्मरमा खुकुरी भिरेर
रिपुमर्दन गर्दै मगध झरेको
सिपाही
ओरालो झर्दै
छाम्थ्यो झोला
प्रफुल्ल मनले भन्थ्यो-
आमाले पोको पारेको
सिरिम्ला रहेछ।
ज्ञानीको ज्ञान र
विद्वानको दर्शनका
ठेली अटाउँथ्यो
झोलामा।
जब
झोलामा
खुकुरी लुकाइयो
कोतको पटाङ्गिनीमा
रगतको खोलो बग्यो र
देशै बगाउने गरेर
रावल पिण्डीको
सैनिक परेडमा
देखाउने पेस्तोल
झोलामा लुकाउँदा
रणोद्विपले
राम राम
लेखेका पात
भुरुरु उडेथे रे
देशै हल्लाउने गरी।
झोला भित्रको
राजा-रानीको फोटो
देखाउँदै
झोला भरिने गरी
धन कुम्लाए कसैले
खोला जति सबै
झोलामा बोकेर हिँडे
कुनै बेला।
आखिर
लोकतन्त्र, समाजवाद र स्वतन्त्रताको
बीउ पनि त
झोलामा नै थियो
खै कसरी चुहिएछ
झोलाबाट
थाहा नै पाइएन।
कसले भरेछ
झोलामा
बेइमान, छलकपट र खुरापाती
विचार
पत्तो नै पाइएन।
देशद्रोहको योजना,
मान्छे बेच्ने बुद्धि,
हाम्रा धरोहर भत्काउने बल,
विदेशी पारितोषित
अनि धेरै धेरै
सबै अटाउँदा रहेछन्
झोलामा।
झोला त केवल
झोला न हो
कसैले केही न केही
बोक्छन्।
भन न मेरा झोले साथी
तिमीले के बोकेका छौ झोलामा?