भर्खर झ्यालको लेन्टिल हालेर सकिएको के थियो, एक्कासि आकाशलाई कालो बादलले घेर्यो। पानी छिटाउन थाल्यो।
कालो बादलले मेरो त्यसै सातो लान्छ। मन एकतमासको भएर आउँछ।
मैले आकाशतिर हेरेँ अनि छेउमा उभेका ठेकदारतिर फर्किएँ। आकाशमा भन्दा कालो बादल त उनको अनुहारमा लागेको रहेछ। गोजीबाट सूर्य चुरोटको बट्टा निकालेर एक खिल्ली सल्काउँदै उनी पनि आकाशतिर फर्किए।
‘आज नि काम गर्न नदिने भयो,’ उनले भने। चैत महिनामै परेको पानीले धेरै दिनदेखि काम रोकिसकेको थियो।
अनि उनी मतिर फर्किए। मैले उनको अनुहारमा हेरिरहेपछि सायद उनले मेरो अनुहारको भाका बुझे। सर्टको खल्तीबाट चुरोट र पाइन्टको खल्तीबाट लाइटर निकालेर मलाई दिए। हामी एकैछिन भर्खरै ढलान गरेको भर्याङ्गमुनि बसेर चुरोटको धुवाँ उडायौँ। पानी रोकिन्छ कि भनेर पर्खिरह्यौँ।
पानी रोकिने छाँटकाँट नभएपछि ठेकदारले पाइन्टको अर्को गोजीबाट हजारको बिटो निकाले। थोरै पैसा दिए। मैले पैसा समाउँदै फेरि ठेकदारको अनुहारमा हेरेँ। उनले पनि मलाई हेरे। उनको अनुहारले ‘के त ?’ भन्ने प्रश्न गरेको थियो। उनले बुझ्न त बुझे होलान् तर यसपालि मैले नबोलि भएन।
मैले आँट बटुलेँ र विस्तारै भनेँ, ‘घरमा पैसा पठाउनुपर्ने।’
चिम्सो आँखालाई सकेसम्म ठूलो पारें र कठोर आवाजमा उनले भने, ‘तिमीहरूलाई जति पैसा दिए पनि पुग्दैन।’
खल्तीबाट फेरि पैसा झिके, ‘ल अब यो महिना मलाई माग्ने होइन।’
नयाँजस्तो देखिने सेतो जुत्तामा लागेको फोहोर पुछेर उनले वर्षाती लगाए अनि मोटरसाइकल स्टार्ट हानेर हुँइकिहाले।
पैसा लिएको देखेर होला बाँकी केटाहरू मेरो वरिपरि झुम्मिए। मैले रासन किन्ने खर्च है भन्दै केही पैसा दिएँ। उनीहरूका आँखा धपक्क बले। दिउँसै काम सकिएको बेला उनीहरू प्राय: भट्टी पुगिहाल्थे। साँझ खुट्टा नभए हात टेकेर बस्ने टहरामा आइपुग्थे।
म भने छेउमा राखेको ढलान छोप्ने प्लाष्टिक ओढेर निस्किएँ। लखरलखर चिया पसल लागेँ।
नजिकैको चोकमा सिन्धुपाल्चोकतिरकी एक जना दिदीको चिया पसल थियो। घर पहिरोले बगाएपछि उनी काठमाडौं आएकी रहिछन्।
मजस्ता काम गर्नेदेखि कताकता जागिर खाने सर-मिसहरू उनीकहाँ चिया खान आउँथे। बोली जति छुच्चो भए पनि दिदीको चिया साह्रै मिठो थियो।
‘दिदी, चिया’ भनेर टेबुलमा राखेको चुरोटको बट्टाबाट एक खिल्ली पाइलट निकालेर म भित्रको कोठामा गएँ।
छेउको टेबलमा केही केटाकेटी आएर बसिसकेका रहेछन्। मैले उनीहरूलाई पहिला पनि यहाँ देखेको थिएँ। उनीहरूका गफ सुन्न निकै मजा लाग्थ्यो मलाई।
कहिले एक अर्कासँग मजाक गर्थे त कहिले देशका गम्भीर समस्याको चिरफार। जे होस् उनीहरूको कुरा सुन्दा मेरा छोराछोरी पनि पछि यस्तै सरमिस हुन्छन् जस्तो लाग्थ्यो।
उनीहरूजस्तै भएको कल्पना गर्दा छोराछोरीले चुरोट तानेको सम्झेर म झस्किएँ।
‘मेरा छोराछोरीले चुरोट चाहिँ नखाइदिए हुन्थ्यो,’ मैले आफ्नै मनसँग भनेँ।
‘लौ चिया’ भन्दै दिदी पनि आइन्।
मैले चिया लिन पाएको थिइनँ उनी आफैं पड्किइन्, ‘के जाति फोहोर हौ तिम्रो लुगा पनि। अलि सफा हुनु, बेला बेला नयाँ किन्नु। यति पैसा कमाएर यसले कता राख्ने रैछ।’
मलाई के भनुँ भनुँ भयो।
‘मलाई काठमाडौंमा कसले नै चिन्न पर्ने छ र! लुगा किन्ने पैसा बचाए त मेरो छोरीको स्कुलको मासिक शुल्क तिर्न पुग्छ,’ उनको सवालको जवाफ मैले मनमनै दिएँ।
एकजना बहिनी रेनकोट खोल्दै भित्र छिरिन्। छोटो छोटो काटेकी बहिनीको ओँठमा सेतो चुरोट च्यापिएको थियो। ढोकामा रबरले बानेर झुन्ड्याएको लाइटरले चुरोट सल्काएर लामो सर्को तानिन् अनि धुवाँको मुस्लो फू गरेर उडाइन्।
छेउको साथीलाई अलिकति धकेल्दै उनी बेन्चमा बसिन्।
‘आज क्या मज्जा आयो यार,’ उनले आफैं कुरा झिकिन्। तर उनका साथीहरू अर्कै गफमा थिए।
‘सुन न,’ अरूका गफ कहाँ कता थियो भन्ने कुराको वास्तै नगरे जसो गरी उनले आफ्नै कुरा जोतिन्, ‘तिमीहरूलाई मैले भनेको थिएँ नि मेरो कोठा बाहिर एउटा चराको गुँड छ भनेर। त्यो भान्साको बाहिरपट्टि के!’
‘कुरै भन् न, एकादेश भने जसरी सुनाउनुपर्छ त?’ उनको साथी झर्कियो। उनले उसलाई आँखा तरिन्।
अनि सुरू गरिन्, ‘बिहान उठेर बरण्डामा घाम ताप्दै पत्रिका पढ्दै कफी खाउँला सोचेर ढोका खोल्दा त चराले फूल पारिसकेछ। फोहोर पनि अति नै गरेछ! तीन दिन अगाडि बल्ल तल्ल गुँड भत्काएर सफा गरेकी थिएँ। त्यसको बेलुका कोठामा जाँदा फेरि बनाइसकेछ। भोलिपल्ट फेरि सफा गरेँ, साँझ जाँदा फेरि चारपाँच वटा रूखको हाँगाको ठुटा ल्याइसकेको रहेछ। आज चाहिँ फेरि सफा गरेँ अनि त्यो ठाउँमा बाल्टिन राखिदिएँ।
उनको अर्को साथीले भन्यो- तैट पापीनी!
उनले फेरि भनिन्- आज बिहान गुँड फालिवरी त्यही ढोकाबाट बाहिर हेर्दै बसिराथेँ। चरा उडेर आफ्नो गुँड हेर्न आइपुग्यो। सफा देखेर क्या झुक्कियो भने नि। अब त नआउला नि। हाहाहा’।
यति भनेर उनी आफै हाँसिन्। उनका साथीहरू पनि सबै हाँसे। कथा सुनेर म पनि यता मुस्कुराएँ।
तर मुस्कुराइनसक्दै मेरा ओठ खुम्चिए। कथाको सार सम्झिसक्दा त्यसले मलाई भित्रै हान्यो।
मलाई त एक्कासि अप्ठ्यारो लागेर आयो। उनको बरण्डाको चरालाई सम्झेर म दु:खी भएँ।
किनभने यो प्रकृतिमा म त्यही चरा जस्तो थिएँ। निरीह!
ममात्र किन बर्दियामा रहेका मेरो परिवार र मेरा गाउँलेहरू सबैको कथा त्यही परेवाको जस्तो छ।
परेवाको कथाले आहत भएको मैले चियाको सुर्की लगाएँ। मेरो मनमा नौ वर्षअघिको आफ्नै गुँड भत्केको घटना झलझली भयो।
त्यो दिन कर्णाली नदीमा बाढी आउन लाग्यो भन्ने सूचना गाउँमा हुरी झै आइपुग्यो। हुन पनि त्यो वर्ष कर्णाली निकै गर्जेर आएको थियो। मेरो बुढियाको पेटमा छोरी थिई। खबर सुन्ने बित्तिकै उसलाई अल्ली अग्लो ठाउँमा रहेको फुपूको घरमा पठाइदिएँ।
बुवा, आमा र म घरमा भएको अन्न र सामान जोगाउनतिर लाग्यौं। त्यत्तिमै कता बाँध भत्केर हाम्रो गाउँमा ठूलो पानी छिर्यो। एक्कासि डुबान सुरू भयो। पुलिसहरू आएर गाउँमा डोरी बान्दै मान्छे तान्न थालिसकेका थिए। पानी घुँडाभन्दा अलि माथिसम्म आइपुग्दा मैले वस्तुहरूलाई फुस्काइदिएँ र आमाबुवालाई लिएर निस्किने तरखर गरेँ।
आमा सबैभन्दा अगाडि, त्यसपछि बुवा अनि सबैभन्दा पछाडि म थिएँ। डोरी समातेर निस्कँदै गर्दा कताबाट हाम्रो भैँसी करायो। सायद त्यो कतै अल्झिएको थियो। आमाले फरक्क फर्केर हेर्नुभयो र भैँसीलाई फुकाउन जाउँला जस्तो गर्नुभयो। बुवाले आत्तिँदै आमालाई गाली पनि गर्नुभयो अनि भन्नुभयो, ‘रूक रूक। म जान्छु।’
मैले बुवालाई रोक्नु अघि नै बुवा भैँसीतिर अघि बढिसक्नु भएको थियो। रूखमा अल्झेको किल्ला फुत्काएर बुवाले पानीमाथि टाउको के निकाल्नु भएको थियो, बगेर आएको मुडाले बुवाको टाउकैमा लाग्यो र बुवा बिस्तारै पानीमा ढल्नुभयो।
मैले र आमाले हेरेर चिच्याउने बाहेक केही गर्न सकेनौँ। आमा आत्तिँदै डोरी छोड्न खोज्नुभयो तर मैले उहाँलाई रोकेँ। बुवा हो या मुडा परसम्म बगेको हेरेर हामीले हारगुहार गर्यौं तर कसैले गर्न सक्ने केही थिएन। त्यो रात आमा धेरै रूनुभयो, म पनि रोएँ। तर मलाई आमालाई सम्हाल्न थियो र मैले मुटु दरो बनाएँ।
बिहान झिसमिस उज्यालो हुँदै गर्दा एउटा कुनामा गएर मैले आँसु पुछ्न खोजें। आँखा घुमेर घर भएको ठाउँतिर पुग्यो। त्यहाँ घरको एउटा खम्बामात्रै बाँकी रहेछ। मेरो जीवनको खम्बा हुनुहुन्थ्यो मेरो बुवा त्यसैले त्यो घरको खम्बाले मलाई खासै तान्न सकेन। त्यो वर्ष त्यस्तै भयो।
एक महिना जति पछि होला आमाले नाक र कानमा लाउने सुन दिएर, ‘ल यो बेचेर घर बनाऊ, मलाई अब यसको के काम’ भन्नुभयो।
मसँग त्यो गर्ने बाहेक उपाय नै थिएन। अलिकति भएको बचत बुढियालाई अस्पताल लान राखेको थिएँ। त्यसैले आमाको सुन बेचेर त्यो वर्ष आफ्नो 'गुँड' बनाइयो।
पाँच सालजति अगाडि फेरि हाम्रो गाउँमा बाढी आयो। त्यसबेला चाहिँ म घरमा थिइनँ। म बाटोको ठेकेदारको काम गर्न चितवन पुगेको थिएँ।
उतिखेरै गाउँमा नदी छिरेछ। तर बुवालाई गुमाइसकेपछि सबैको मनमा चिसो पसेर होला, अलमल नगरी सबै समयमा सुरक्षित स्थानमा पुगेछन्।
तर घर भने त्यसबेला पनि बगायो।
मलाई त्यसको केही दिनपछि बुढीले फोन गरेर भनेको कुरा अझै याद छ, ‘तपाईं घर आउँदा फेरि छोरीलाई त्यो बोल्ने गुडिया ल्याइदिनुस् ल, अस्ती बाढीले उसको गुडिया पनि बगाइदिएछ। सम्झी-सम्झी रून्छे।’
त्यो साल मैले कसैको सुन बेच्न परेन तर बच्चाहरूको भविष्यलाई भनेर बचत गरेको पैसा सबै फेरि घर बनाउनमै गयो। त्यहाँबाट कतै पर सरौँ न भन्दा पनि नहुने रहेछ। आफ्नो गाउँ समाज, त्यसमाथि कमाइ गर्ने जग्गा र जग्गाको महँगीले गर्दा बाहिर गएर जग्गा किन्न नै सम्भव नहुने!
मलाई वर्षाको समयमा आज पनि कसैले फोन गरिहाले झस्किहाल्छु। घर सम्झेँ भने चैत महिनामा पनि भावनाको बाढीले मलाई बगाइरहन्छ। आज त्यो बहिनीको परेवाको कथाले मलाई निकै गाह्रो पो बनायो। म गह्रौ मन लिएर चिया पसलबाट निस्केँ।
हामी बस्ने टहरा बाहिर पानीले निथ्रुक्कै भिजेको ढलान गर्न झारेको गिट्टीको चाङ थियो। म त्यतै गएर लडेँ तर ती सम्झनाहरूले मलाई गिट्टीभन्दा बढी बिझाइ नै रहे।
सँगै काम गर्ने भाइले खाना पाक्यो भनेपछि म उठ्दै थिएँ।
म उठ्दै गर्दा ठ्याक्कै फोन पनि बज्यो, यसो हेरेको बुढीको रहेछ।
‘भन्, के भयो?’ सोधेँ।
फोनमा बुढीको आवाज निकै चर्को थियो। मैले उसले के बोलेको बुझिनँ।
फोन काटेर फेरि आफैं गरेँ, ‘के भयो? कहाँ छस्?’
बुढीले आत्तिँदै रून्चे आवाजमा भनि 'छोरालाई बोर्डर नजिक पुलिसले समात्यो रे। नसा खाएर आफैं धुत थियो, ज्यानभरी छाम्दा लागु बोकेर हिँडेको थियो भन्छन्….'