अनेरास्ववियुको २४ औं राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा मन्तव्य दिँदै प्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुख्यतः दुईवटा सन्देश दिएका छन्।
करिब ५३ मिनेट बोलेका प्रधानमन्त्री ओलीले पार्टीका गुटबन्दी बढेको र जनसंगठनका अधिवेशनमा आफ्नो निर्देशनविपरीत चुनाव गर्दै प्यानल खडा गरिएको प्रति उनले रोष प्रकट गरे।
राष्ट्रिय युवा संघको दसौं राष्ट्रिय महाधिवेशनमा उनको इच्छाविपरीत प्रतिष्पर्धा भएको थियो। क्षितिज थेवे र सुमन पुरीले प्यानल नै बनाएर प्रतिस्पर्धा गरेका थिए। अध्यक्षमा क्षितिज थेवे नै दोहोरिए। पदाधिकारीतर्फ अधिकांश पदमा थेवेकै प्यानल निर्वाचित भयो।
त्यसको केही समयपछि पुरी प्यानलसहित आफूलाई बालुवाटारमा भेट्न आएको भन्दै उनले रोष प्रकट गरेका थिए। चुनावपछि पनि समूहबन्दी स्वीकार्य नहुने उनको टिप्पणी थियो।
त्योभन्दा ठूलो चिन्ता प्रधानमन्त्री ओलीको एमालेभित्र आफूलाई चुनौती दिने पात्रको खोजी हुन थालेकोतर्फ थियो।
पूर्वराष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा फर्कन लागेको चर्चा छ। केही समयअघि चीनको भ्रमण गरेर फर्किएकी भण्डारी अहिले कोशी प्रदेशमा कार्यकर्ता भेटघाटमा छिन्। सामाजिक गतिविधिमा पनि जोडिएकी छिन्।
चीन भ्रमण जानुपूर्व पनि उनी गण्डकी, कोशी, लुम्बिनीलगायत प्रदेशहरू भ्रमण गरेर राजनीतिक भेटघाट गरेकी थिइन्।
विगतमा केपी ओली समूहमै रहेका र अहिले असन्तुष्ट बनेका नेताहरूस कर्ण थापा, गोकुल बास्कोटा, कृष्ण राई, विनोद ढकाल, कृष्ण दाहाल लगायत स्थायी कमिटी र पोलिटब्युरो र केन्द्रीय सदस्यहरू खुलेरै भण्डारी एमालेको सक्रिय राजनीतिमा फर्कनुपर्ने र नेतृत्वमै आउनुपर्ने बताइरहेका छन्।
यसलाई चुनौती ठानेका अध्यक्ष ओलीले अनेरास्ववियुको महाधिवेशन उद्घाटन सत्रमा मुखै खोलेर टिप्पणी गरे।
त्यसो त केही समयअघि पार्टी सचिवालय बैठकमा उनले विद्या भण्डारीको सक्रियताबारे बोलको थिए।
आइतबार अनेरास्ववियुको महाधिवेशनमा उनले विद्या भण्डारीको नाम त लिएनन्। तर ओलीको अभिव्यक्ति उनैतर्फ लक्षित रहेको अनुमान गर्न भने गाह्रो थिएन।
‘अर्को खेल हुन खोजेको छ यहाँ! अब फलाना आउने रे! फलाना आउने रे! यस्तो, यस्तो!,’ उनले भने।
उनले पार्टीमा नेतृत्वमा को आउने, कसले निरन्तरता पाउने भनेर कुनै छलफल नै नभएको जिकिर गरे। महाधिवेशन कहिले गर्ने भनेर टुंगो नलागेको, मिति घोषणा नभएको अवस्थामा यस्ता अभिव्यक्ति एमाले कमजोर पार्ने उद्देश्यबाट प्रेरित रहेको बताए।
‘पार्टीमा कुनै छलफल नै भएको छैन, को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष! अहिले महाधिवेशन घोषणा नै भएको छैन।
महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन। छलफल भएको छैन। अनि बाहिर, बाहिरका हल्ला चलाएर, पार्टीलाई कमजोर पार्न खोज्नेरु पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने?,’ उनले प्रतिप्रश्न गर्दै भने।
उनले यस्ता गतिविधिलाई दुष्प्रयासको संज्ञा पनि दिए। र, इन्कार गर्न आग्रह पनि गरे।
‘यस्ता दुष्प्रयासहरूलाई तपाईंहरूले सोझै इन्कार गर्नुस्। यस्ता खालका कुरा नगर्नुस् भनेर त्यस्ताहरूलाई जवाफ दिनुस्। स्ट्याटस, सिस्ट्याटसलाई पनि जवाफ दिएहुन्छ,’ उनले भने।
उनले पार्टीका आन्तरिक कुरा छन् भने पार्टीभित्र राख्न पनि भने। पार्टीलाई खुइल्याउने, होच्याउने गतिविधि सह्य नहुने पनि बताए।
‘पार्टीभन्दा बाहिर गएर फेसबुकबाट अथवा अरू सामाजिक सञ्जालबाट अथवा अरू कुनै इन्टरभ्यु सिन्टरभ्युबाट पार्टीलाई खुइल्याउने, होच्याउने, अपमान गर्ने, त्यस्ता खालका कुरा हुन्छन् भने त्यो पार्टीको आन्तरिक मामिला रहँदैन। बाहिर गएर गरेको हमला पार्टीले त्यसै गरी जवाफ दिन्छ भनेर म जवाफ दिन चाहन्छु। आन्तरिक कुरा आन्तरिक हुन्छ। बाहिर गएर ढुंगा हानेपछि त्यो आन्तरिक रहँदैन। सहँदासहँदा हामी हैरान भएका छौं,’ उनले भने।
अनेरास्ववियुको अधिवेशनमा उनले ७० वर्षे प्रावधान अब नराखिने पनि बताए। उनले उमेरहदको प्रबन्ध नेपालमा मात्र नभई अन्यत्र पनि फेल खाइसकेकाले यसलाई विधानमा कायम राख्नुनपर्ने तर्क गरे।
२०७८ असोजमा भएको पहिलो विधान अधिवेशनले एमालेमा ७० वर्षे उमेरहदको प्रबन्ध गरेको थियो। विधानको धारा ६४ मा पार्टीको कार्यकारी कमिटीमा रहन ७० वर्ष उमेर पूरा नभएको हुनुपर्ने व्यवस्था थियो।
तर २०८० जेठमा बसेको सचिवालय बैठकले विधान महाधिवेशनले गरेको र दसौं महाधिवेशनले अनुमोदन गरेको वैधानिक व्यवस्था निलम्बन गर्ने निर्णय गर्यो। एकीकृत समाजवादीबाट आएका मुकुन्द न्यौपानेसहितलाई जिम्मेवारी दिन विधानको व्यस्था तत्कालका लागि निलम्बन गरिएको भने पनि हालसम्म पनि प्रावधान निष्क्रिय नै छ।
तर एमालेभित्र उमेरहदको बहस भने छ। प्रधानमन्त्री ओलीले यसलाई निरर्थक बहसको संज्ञा दिएका हुन्।
‘७० वर्ष उमेर फेल खाइसक्यो। अहिले म ७४ चल्दैछु। ७० वर्षमा रिटायर्ड हुने भन्ने कुरा फेल खाएनरु अहिले म ७४ चलिराखेको छु। ७० वर्षमा रिटार्यड हुन उमेर चार वर्ष घटाउन भएन क्यारे! उमेरले होइन, स्वास्थ्यले साथ दिन्छ दिँदैन? यी कुराहरू मुख्य हुन्। कार्यक्षमता हुन्छ कि हुँदैन मुख्य कुरा यी हुन्,’ अनेरास्ववियुको महाधिवेशनमा उनले भने।

उनले चीनको उदाहरण दिए। त्यहाँ दुईपटक राष्ट्रपति, पार्टी महासचिव हुन पाउने प्रबन्ध राखेर पनि हटाएको उनले तर्क गरे।
‘चीनमा दुईपल्ट मात्रै महासचिव हुन पाउने नियम बनाएको थियो। राष्ट्रपति दुईपटक मात्रै हुन पाउने बनाएको थियो। सी चिनफिङको निरन्तरताको आवश्यकता देखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले ७० वर्ष पनि हुँदैन, ६५ वर्ष पनि हुँदैन भन्यो। उहाँहरूले ६५ लगाउनुभएको थियो। अहिले राष्ट्रपति सी चिनफिङ ७२ पुगिसक्नुभएको छ। साइप्रसको कम्युनिस्ट पार्टीले ६५ तोकेको थियो, छोड्नुभयो। अरू विभिन्न पार्टीले उमेरहद तोकेका थिए। सबैले छाडे। किनकि उमेरले होइन थुप्रै फ्याक्टर हुँदा रहेछन्। आवश्यकताहरू थुप्रै पर्दा रहेछन्,’ उनले भने।
उनले आफू दोहोरिन्छु भनेर उमेरहद फुकुवा नगरेको बताए। तर जडसूत्रको रूपमा उमेरहद समात्न नहुने उनको जोड थियो। उनले सिपी मैनालीदेखि झलनाथ खनालसम्मको उदाहरण थिए। मैनाली र खनाल क्रमशः ३१ र ४१ वर्षकै उमेरमा महासचिवबाट निवृत्त भइसकेको बताउँदै ‘कामै गर्न नसकेपछि उमेर हुँदाहुँदै बिदा हुनुपर्ने’ तर्क प्रस्तुत गरे।
‘मै हुन्छु भन्ने छैन। कुरा के हो भने, कुनै एउटा जडसूत्रको रूपमा समाउने होइन हामीले। आवश्यकता पर्यो भने हामीले माधव नेपाललाई ७० पुगेर हटाएको होइन? झलनाथ खनालजीलाई ७० पुगेर हटाएको होइन? हटाउनुपर्ने हुँदो रहेछ। हामीले नै हटाइका हौं। ७० नपुग्दै हटाएका हौं। ७० पुगेर पनि हटाउन मिल्दो रहेनछ। मनमोहनजीलाई ७८ वर्षसम्म पनि हामीले हटाएनौं। आफै बितेर जानुभयो। अर्थात् झलनाथजीलाई हामीले उहिले नै अवकास दिएका थियौं। सिपी मैनालीलाई २०३९ सालमै अवकास दिएका थियौं। २०३९ सालमा उहाँ त्यतिबेला ३१ वर्षको हुनुहुन्थ्यो। त्यतिबेलै हटाएको हो नेतृत्वबाट। उहाँबाट काम नहुने भएपछि। उहाँ २००८ सालको मानिस हो। ३१–३२ को मानिसलाई उमेर सानै छ भनेर राख्न मिल्ने रहेनछ। हटाएका हौं। झलनाथ खनाललाई ४१ वर्षको उमेरमा हटाएका हौं। पर्दो रहेछ। ११ सालका माधव नेपालजीलाई हामीले २०६५ को सुरूमै राजीनामा दिन लगायौं,’ उनले भने।
उनले उमेरहदको कुरामा बहकाउमा नआउन कार्यकर्तालाई आग्रह गरे। ‘यस्ता कुरामा बहकाउमा आउनुपर्दैन। पार्टीले विचार गरेर निर्णय गर्छ,’ उनले भने।