काश, म अक्षरासँग 'कतार एयरवेज'को फ्लाइटमा सँगै नपर्नु पर्थ्यो। त्यति ठुलो 'बोइङ’ विमानमा अक्षरा र मेरो सिट कुन प्रारब्धले सँगै पर्न गयो। अथवा प्रारब्ध नठान्ने हो भने एउटा मिठो संयोग मान्दा पनि हुन्थ्यो।
अक्षरा र म जम्मा चार घण्टा ३५ मिनेट सँगै उड्यौँ। उसको पहिलो नजरियामा त मलाई लागिरा थ्यो 'कुनै युरोपियन सुन्दरी’ होली।
अक्षरालाई महा सुन्दरीको उपाधि दिन मेरो मनले कन्जुस्याइँ गरेन। कालो ठुलो 'गगल्स' आँखामा लगाएकी थिई। कालो लामो कपाल नदी बगेकै जसरी शिरबाट सलल बगिरहेको थ्यो। सेतो टि-सर्टमा कालो मसीले इङ्लिसमा 'राइटर' लेखिएको थियो।
'आकाशको फल आँखा तरी मर्' उखान त्यत्ति बेला मेरै लागि बनाइएको जस्तो लाग्यो। ऊ प्लेन भित्रका 'एयर होस्टेस' भन्दा राम्री थिई।
मलाई प्लेनको बेल्ट बाँध्न आएन। म कतार आउनु अगाडि बसको यात्रा पनि अक्सर गर्दैन थिएँ। बी.पी राजमार्ग त जापान सरकारको सहयोगमा निर्माण हुँदै थियो। गाउँमा माइते ठुल्दाइले मजफ्फरपुरबाट आउँदा साइकल लिएर आएका थिए। मैले साइकल त्यही बेला नजिकैबाट देखेँ। अनि साइकल चढ्ने मेरो ठुलो सपना पूरा भयो। त्यसै दिन मलाई एकाएक प्लेन चढ्ने रहर जागेको थियो।
अक्षराले मेरो सिट बेल्ट बाँधिदिएकी थिई र अंग्रेजीमा केही भनेकी थिई जुन शब्द मैले सम्झन होइन बुझ्नै सकिनँ। उसले एयर होस्टेसलाई बोलाई र अंग्रेजीमै केही भनी। मैले बियर अनि भोड्का भनेको चाहिँ बुझेँ। अक्षराले फेरि मलाई अंग्रेजीमै केही भनी।
'आई डन्ट अन्डरस्ट्यान्ड इङ्लिस,' मैले जानेसम्मको अंग्रेजी जवाफ फर्काएँ।
अक्षरा हाँसी।
‘तिमीलाई पनि भोड्का भन्या छु। पिउँछौ नि?’
अचम्म, अक्षराले नेपाली बोली।
तिमी पनि नेपाली हौ र?
अक्षरा मन्द मुस्कानका साथ मुस्कुराई। तर मलाई अक्षरालाई 'तिमी' भनेकोमा 'अड' लागिरह्यो। एयर होस्टेसले भोड्का बाडी। मैले बियर पिए पनि भोड्का पिएको अनुभव थिएन।
‘अक्षरा राणा, म नेपाली भाषी अमेरिकन हुँ।’
मैले पनि परिचय दिएँ। हाम्रो परिचय सकियो।
अक्षराले पुनः एक 'पेग' भोड्का मगाई। एयर होस्टेसले अक्षरालाई गौर गरेर हेरी। हामीले दोस्रो पेग भोड्का 'चेयर्स' गऱ्यौँ। मलाई त भोड्का बेस्मारी लाग्यो। अक्षराले तेस्रो पेग भोड्का मगाउँदा म होसमै थिएँ। म ब्युँझिँदा अक्षराको काँधमा टाउको थियो।
‘जाऊ, फ्रेस भएर आऊ।’
म आज्ञाकारी विद्यार्थी जसरी ट्वाइलेट गएँ। मज्जाले मुख धोएँ। ट्वाइलेट फ्लश गर्दा यो पटक आएको हावाले फेरि पनि नराम्ररी डराएँ।
मुख बेस्मारी सुक्यो। अक्षराले कोक मगाइदिई। ऊ अझै भोड्का पिउँदै थिई।
मनमनै लाग्यो- ‘यो पार्टी जाँडको घ्याम्पो रहिछ।’
मलाई सुतौँ सुतौँ लागिरह्यो। तर अचम्म अक्षराले काखमा सुताई। सायद भोड्काको कमाल होला भन्ने लाग्यो। तर उसका खुट्टा नलरबराई ट्वाइलेट पुगेर आई। मलाई पुनः काखमै सुताई।
प्लेनका यात्रुहरू सबै आफ्नै धुनमा थिए। म अक्षरको काखमा सुतेकोमा कसैलाई सामान्य चासो पनि थिएन। हुन पनि त्यो प्लेन मंगलटारबाट बनेपासम्म चल्ने 'काभ्रे मिनिबस सेवा' थिएन।
म अक्षराको काखमा थिएँ। घरी लाग्थ्यो, म सपनामा छु। फेरि बिपनामै आफूलाई पाउँथेँ।
अबको पैँतालिस मिनेटमा प्लेन आफ्नै देशको 'जमिन' मा उत्रनेछ। आजको रात काठमाडौँमा बिताउने छु र भोलि सिकरकटेरी पुग्नेछु। जहाँ आमोई मेरै 'इन्तजार'मा बसिराखेकी छिन्।
कतार चानचुन दुई वर्ष बसे नि आमोईलाई एक तोलाको सुनको सिक्री बनाइदिने पैसा जुटाउन सकिनँ। साहुको ऋण तिरिसकेकै दिन कम्पनीसँग 'फिसफिस' मागेँ।
‘तिमीलाई लिन एयरपोर्टमा को आउँछ?’ अक्षराले आफ्नो लामो कपाललाई डल्लो पार्दै सोधेकी थिई।
‘कोही आउँदैनन्।’
मेरो जवाफले अक्षरालाई खासै फरक परेन। ऊ ल्यापटपमा अंग्रेजी फिल्म हेर्दै थिई।
‘आज मलाई कम्पनी देऊ।’
मैले अक्षराको कुरा बुझिनँ। प्लेन विमानस्थल उत्रियो। मेरो जस्तै अक्षराको पनि कुनै सुटकेसहरू रहेनछन्। म अक्षरासँगै ट्याक्सीमा बसेँ।
अक्षराले ट्याक्सी चालकसँग पनि अंग्रेजी शब्दहरू उराली। तर नबुझे पनि चालकले 'एस म्याम' भनिरह्यो।
अक्षराले फलामको ढोका खोली। एक रोपनी जति क्षेत्रफलमा फैलिएको एउटा ठुलो बङ्गला चारै दिशाबाट अग्लो 'वाल' उठाइएको थियो। व्यस्त कोलाहल काठमाडौँभित्र अक्षराको बङ्गलो सिकरकटेरीभन्दा शान्त थियो।
अमेरिका देखिको हवाई यात्राले अक्षरा खुब थाकेकी हुनुपर्ने थियो। तर उसले 'माल्बोरो सिगरेट' सल्काई। दुई वटा गिलास झिकी र बोतलमा अंग्रेजीमा 'ब्लु लेभल' लेखिएको मालपानी खन्याई।
ब्लु लेभल बारे कतारको 'सनैया' गल्लीमा मेरा मजदुर साथीहरू अनगिन्ती गफ गर्थे। ब्लु लेभलको कुरा झिक्दा रेड लेभल र ब्ल्याक लेभलको गफ मज्जैले सुन्थेँ।
तर आफ्नो औकातभन्दा निकै माथिको रक्सीको ब्रान्ड अक्षराले गिलासमा पस्किसकेकी थिई। अक्षराले फेरि ब्लु लेभलको सिसी र दुई गिलास फ्रिजभित्र कोची।
उसको घर लाजिम्पाटमा रहेछ।
हामी ब्लु लेभलको सितनको खोजीमा बाहिर निस्किएका थियौँ। पसलमाथि टाँगिएका होडिङ बोर्डहरूमा लाजिम्पाट लेखिएको थियो।
'क्वान्टम वार, लाजिम्पाट' लेखिएको सानो सटरको आँखी झ्याल खुल्लै थियो। अक्षराले आफूले पिउने ब्रान्ड खोजी। भेट्टाइन। पसलेलाई सोधी। उसले अर्को ब्रान्डको रक्सीको पूरै एक मिनेट स-प्रसङ्ग व्याख्या गऱ्यो। अक्षराले पसलेलाई केही भनिदिई। पसले वाल्ल पऱ्यो।
हामीले दरबार मार्ग पुगेर 'पोर्क'को ‘डीप फ्रिज’मा राखेको मासु किन्यौँ। तिमीलाई बंगुर चल्छ नि भनेर सोध्दा मैले सहमतिको टाउको हल्लाइदिएँ।
मैले पोर्क र बियरको स्वाद कतार उड्नु अगाडि काठमाडौँको छोटो बसाइमा खाएको थिएँ। सँगै कतार उड्ने साथीले भन्या थ्यो- 'ओरिजिनल धराने बंगुरको सेकुवा र चिसो बियर पिउन पाउँदा मित्र म चाहिँ घनघोर सन्तुष्ट हुन्छु।'
उसले भनेको कुराले मेरो पनि मुख रसाएको भने थियो तर खल्तीमा जेथो थिएन। तर आज करिब दुई वर्षपछि अक्षरासँग त्यो अवसर प्राप्त हुँदै थियो।
पोर्क जेनतेन मैले बनाएँ। अक्षराले ब्लु लेभल हालेको गिलासमा आइसका डल्लाहरू राखी। घरको ल्याण्डलाइन फोनमा टिरटिर फोन करायो। अक्षराले रिसिभर उठाउनुको सट्टा टेलिफोनको तार थुतिदिई। म आफ्नै पाराले पोर्क पकाउँदै थिएँ, अक्षराले हेरी र हाँसी।
मसला पिँध्ने सिलौटो र लोहोरो मात्रै होइन, जिरा र धनियाँका दानाहरू थिएनन्। केही हरिया खुर्सानी, प्याज र लसुनका हरिया पातहरू किनेको फाइदै भयो। मज्जैले मसलाको रूपमा प्रयोग गरेँ।
पोर्क रेडी बनाएँ।
दोस्रो तलामा नुहाउन गएकी अक्षरा मात्रै तौली बेरेर निस्किई। लाज आफै लजायो। तर अक्षरालाई कुनै फरक पारेन। सानोमा गँगटे खोलामा नाङ्गै पौडी खेलेको सम्झना आयो। अक्षराले साना कपडाले लाजका गहनाहरू छोपी। म लजाइरहेँ।
ब्लु लेभलसँग मज्जैले पोर्क खायौँ।
‘तिमी कतारमा रेष्टुराको कुक थियौ र?’
हाँस्ने पालो मेरो थियो। मैले ‘होइन’ भन्ने शैलीमा टाउको हल्लाइदिएँ।
अक्षरा घ्याम्पो न थिई, ब्लु लेभलको चौथो बोतल फोडी। म छिनछिनमै सपना र बिपनाको अलमलमा परिरहन्थेँ।
अक्षराको शयनकक्ष सानदार थियो। उसको दायाँ हातमा ब्लु लेभलको बोतल थियो भने बायाँ हातमा ब्लु लेभल हालिएको गिलास थियो। भित्तामा 'लियोनार्दो दा भिञ्ची' र उनको सुप्रसिद्ध चित्रकला 'मोनालिसा'को तस्बिर ठुलो सिसाको फ्रेममा झुन्डिएको थियो। मैले कक्षा ७ को नेपालीमा लियोनार्दो र मोनालिसाको 'ब्ल्याक एन्ड ह्वाइट' तस्बिर देखेको थिएँ।
लियोनार्दोले चराजस्तै उड्न सक्ने यान बनाउन सकिन्छ भन्ने परिकल्पना गरेपछि मात्रै अमेरिकी 'राइट दाजुभाइ'ले प्लेन उडाएका थिए भन्ने थाहा पाएको थिएँ।
मैले लियोनार्दो र मोनालिसा चिनेको देखेर अक्षराले गालामा म्वाइँ खाई। भर्खरै नुहाएकी उसको शरीरबाट मगमगी वासना आइरहेको थ्यो। कोठाको वातावरण उत्तेजित हुँदै गयो।
म नेपाल फिसफिस जाने भन्ने बित्तिकै सँगैका रुममेट साथीहरू निराश भएका थिए। हामी लगातार तीन दिन राति अबेलासम्म गफिएका थ्यौँ।म कतारकै निद्राले चुर भइसक्या थिएँ तर अक्षरा आइलागी।
म सरासर सिकरकटेरी हिँडिहाल्नु पर्ने थियो। अक्षराको जवानीको पछि नलाग्नु पर्ने थियो।
ऊ ल्यापटपमा एकाग्र संगीत सुन्दै थिई। मैले बुझेसम्म त्यो 'फ्रेन्च' म्युजिक थियो। मैले अनुमान मात्र गरेँ। तर अक्षराले 'ओपेरा' सुन्दै गरेको बताई।
‘तिमीलाई गीत/संगीत कत्तिको मन पर्छ?’ माल्बोरो सिगरेटको धुवाँ नाकबाट फाली।
‘मलाई त नारायण गोपाल पो मन पर्छ।’
उसको पुरानै बानी थियो, फिस्स हाँसिदिने।
मेरा आँखाहरू अक्षराको छातीमा पर्थे। अक्षरा पनि मलाई नियाल्थी तर आँखा ल्यापटपमा र मुख गिलासमै गाड्थी।
कोठामा सजाएका सबै फोटाहरू मैले चिन्न सकिनँ। अनौठो त अक्षराले आफ्नै 'हट' फोटाहरू पनि भित्तामा टँगाएकी थिई। अमेरिका बसे पनि, पुरापुर अंग्रेजी बोले पनि अक्षराले महाकवि देवकोटा, पारिजात र बिपी कोइरालाका फोटा फ्रेमहरू पनि थिए।
लिङ्कन, मण्डेला र गान्धीका फोटाहरू पनि थिए। जंगबहादुर,देव शमशेर र चन्द्र शमशेरका फोटाहरू मात्रै चिन्न सकेँ। गौतम बुद्ध, पृथ्वीनारायण शाह र राजा महेन्द्रलाई चिनेँ।
अरू फोटाहरू प्रायः विदेशी थिए। फ्लोरेन्स नाइटिङ्गेललाई पनि चिनेँ।
म बिहान एघार बजेसम्म निदाएछु। अक्षरा पनि मसँगै खुट्टा बोकाएर पो सुतिछे। तर थाहा पाएर पनि मैले के गर्न सक्नु? ठुलो भूतबंगला छ। त्यहाँ हामी दुई प्राणीहरू मात्रै छौँ।
झ्याल खोल्दा बाहिर बगैँचाका चराहरूको चिरबिर आवाज चर्को सुनिन्थ्यो। भित्र हेर्दा अक्षराको शरीरले मन तुरुन्तै बरालिदिन्थ्यो।
म सिककटेरी जाने तरखरमा लागेँ। अक्षरालाई नभनी हिँड्न मनले मान्दैन थ्यो। निद्राकै सुरुमा अक्षरा बोली, 'रतन, म पनि तिम्रै सिकरकटेरी जान्छु, तिम्रो सिकरकटेरीमा मलाई अवश्य शान्ति मिल्छ।'
मनमा अनेकौँ सवालहरू उब्जिए।
के अक्षरा मानसिक बिमारी थिई?
मैले नुहाएँ।
अक्षराले दराजबाट एउटा राम्रो टि-सर्ट निकालिदिई। कपालमा उसले लगाउने तेल लगाइदिई। ज्यानको भित्र अत्तर छर्किदिई। उसले गाडी निकाली। मैले गेट लगाएँ। गाडी कता जाँदै थियो मलाई मात्रै होइन, गाडी हाँक्ने स्वयं अक्षरालाई पनि थाहा थिएन पक्कै।
हामी घले गाउँ पुग्यौँ। त्यहाँ पुग्नुअघि पोखरामा अक्षराले एउटी महिला मनोरोग विशेषज्ञसँग छलफल गरी। उनीहरूले असरल्ल अंग्रेजी गफ गरेको मैले साह्रै थोरै बुझेँ। अक्षराले आफू 'अल्कोहल' र 'स्लिपिङ ट्याब्लेट' बिना सुत्न नसकेको बताई। विशेषज्ञबाट बाहिर निस्कँदा अक्षरा साह्रै निराश देखिई।
'अक्षरा, तिमी चिन्ता नलेऊ, म छु नि' भन्दा मेरो काँधमा टाउको राखेर रोई।
घले गाउँको होमस्टेमा बस्दा अक्षराले अल्कोहलको मात्रा घटाएकी थिई। उसलाई निद्रा कसरी लगाउने भन्ने उपाय मसँग थिएन।
मेरी आमोई भन्थिन्- 'रतन, गँगटे खोलामा भैँसी चराउँदा चराउँदै निदाएछु। मलाई कामको बोझ बढी भयो बाबै।'
म पनि आमोईले भनेजस्तै भुसुक्कै निदाउँथेँ। तर निद्रा नलाग्ने अक्षराको रोग हामी सिकरकटेरी वालालाई के पत्तो?
अक्षरासँग कालो सिसा भएको गाडीमा सिकरकटेरी पुग्दा आमोई अक्क न बक्क भइन्। श्यामु दाइ हस्याङफस्याङ गर्दै आइपुगे। तुल्सी दिदी र ढल्की भाउजू आइपुगे।
माइते ठुलाको चेहरा हँसिलो थियो। सबैलाई अक्षरासँग बिहे गरेको होइन भनेर फर्स्याउँदाको सास्ती भयो।
अक्षरा, श्यामु दाइ र म मिलेर गँगटे खोलामा माछा मार्यौँ। माछालाई सितन बनाएर 'रेड लेभल' पियौँ। सुनकोसीमा पौडी खेल्यौँ।
अक्षराले कुँडो पकाउन जानी। दाउराबाट भात पकाउन निकै चाँडै सिकी। बेथुको साग र जलुकोको तरकारी ऊ मिठो पकाउँथी। तिजमा सारी लगाउँदा मोडल जस्ती देखिई। दसैँमा श्यामु दाइले खसी मार हान्दा भने ननिको मानी।
तिहार आयो। अक्षराले 'द्यौसी रे' भनेर लय मिसाएकी मात्रै होइन, लय हालेर 'भन मेरा भाइ हो' भट्ट्याएकी थिई।
अक्षरालाई आमोईले निद्रा जाग्ने अनेकौँ ओखती गरिन्। हिजोआज ऊ दिउँसै भुसुक्क निदाउँछे। ऊ अक्सर ढिँडो र बेथुको साग खान मन पराउँछे।
एक रात दोस्रो तलाको बरन्डामा म मकै छोडाउँदै थिएँ। आमोई र अक्षरा भुइँ तलामै थिए।
आमाले ‘नानी, अब तिमी ठिक भयौ। मेरो लाठे छोरो छ। तिमी द्रौपदीभन्दा सुन्दरी छ्यौ। फूल र भँवरा सँगै भएपछि, आगो र नौनी सँगसँगै भएपछि मन बिच्किन्छ नानी’ भन्नुभयो।
अक्षराले केही जवाफ फर्काइन।
‘छोराको बिहे गर्ने समय भएन र आमोई?’
आमोईले लामो खुइय गरिन्।
‘नानी, रतनले बाबुको माया पाएन। गाउँमै चोरचार गरेर बाह्र पास गर्यो। पढ्न मन गरेन भनम् वा पढ्ने दिमाग थिएन, मैले जानिनँ नानी। गाउँमै खेती किसानी गर्थ्यो। विदेश जान्छु भनेर हैरान पार्यो। गयो पनि। म त बौलाही जस्ती पो भएँ। जेनतेन साहु सकारो। तिमीलाई दुई तोलाको सिक्री बनाउने पैसो कमाउँछु भन्थ्यो। भो परेन भनेर मैले नै फिनिस बोलाएँ। यो सोझो गोठालोलाई कसले छोरी देलान् नानी?’
आमोईले लामो भूमिका बाँधेर मेरो बिहेको चिन्ता गरिन्।
‘आमोई, तपाईंकी बुहारी बन्न सकुँला त?’
अक्षराको प्रश्नले आमोई रोइन्। उसले आमोईलाई अँगालो हाली।
‘नानी गाडी, ल्यापटप चलाउने र युगअनुसार चल्ने तिमी, कताको गाई गोठालो मेरो रतन। के विचार मिल्छ र नानी?’
‘म त अहिल्यै सिउँदो भर्न तयार छु।’
अक्षरालाई बिहे गर्न हतार रहेछ। आमोईले मलाई तल छिँडीमा बोलाइन्। तर म जग्गेको बेहुलोभन्दा बढी लजाइसकेको थिएँ।