ललितपुरको जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलअगाडि केही मानिस सार्वजनिक धारामा पानी पिउँदै थिए।
सेन्सर प्रणाली जडान गरिएको 'उग्रचण्डी जरूं' नामक यो स्वचालित धारामा निःशुल्क पानी पिउन पाइन्छ। तीनवटा धारामा हात राख्नेबित्तिकै पानी झर्न थाल्छ।
अत्याधुनिक प्रणाली जडान गरिएको सार्वजनिक धारा भए पनि यसको बाहिरी स्वरूप पुरानो हो — दाँची अप्पा (परम्परागत इँटा) र पौभाः चित्र भएको।
बाटोमा हिँड्ने बटुवालाई निःशुल्क पानी पिउने सुविधा होस् भनेर स्वयंसेवी ढंगले बनाइएका यस्ता धारा मल्ल र त्यो भन्दाअगाडि लिच्छवि कालमा निकै प्रचलित थिए। बीचमा मासिँदै गएका यस्ता प्राचीन धाराहरू ललितपुर महानगरपालिकाले आधुनिक प्रविधिसहित ब्युँताइरहेको छ।
जावलाखेलको 'उग्रचण्डी जरूं' कै कुरा गर्ने हो भने दुई वर्षअघि ललितपुर महानगर वडा नम्बर ४ ले यसलाई ब्युँताउन पहल गरेको थियो। गत वर्ष असार १५ गते उद्घाटन गरेर सञ्चालनमा ल्याइएको छ।
यो जरूं कसरी ब्युँताइयो भनेर बताउनुअघि म तपाईंहरूलाई जरूं भनेको के हो, त्यसबारे भन्छु है!
संस्कृत भाषाको जलद्रोणी नेवारीकरण हुँदै बनेको शब्द हो, जरूं। यसलाई कतिपयले जरूं हिति वा जरों पनि भन्छन्। नेपाली बोलीचालीको भाषामा धारा पनि भनिन्छ।
काठमाडौं सभ्यताको पानी प्रणाली र सांस्कृतिक परम्परामा गहिरो अध्ययन गरेका पद्मसुन्दर जोशीका अनुसार प्राचीन समयमा बास र आरामका लागि बनाइएको पाटी र सत्तलजस्तै जरूं पनि सार्वजनिक सेवाको उत्कृष्ट उदाहरण हो।
'लिच्छवि कालका कतिपय शिलापत्र जरूं हितिमै लेखिएका छन्। यसबाट जरूंहरू लिच्छवि कालमै व्यापक प्रयोगमा आइसकेको बुझिन्छ। यिनको मर्मतसम्भारका लागि दाताले आर्थिक स्रोतसहित गुथि व्यवस्था गरेको पनि तिनै शिलापत्रहरूबाट थाहा हुन्छ,' लिच्छवि राजा जयदेवको पालामा जैसीदेवलनजिकै बनाइएको जरूंको उल्लेख गर्दै पद्मसुन्दरले आफ्नो किताब हिति प्रणालीमा लेखेका छन्, 'शिलापत्रमा जलद्रोणी व्यवस्थापनका लागि दुई मानिका कुत आउने खेतीसहितको गुथि व्यवस्था गरिदिएको उल्लेख छ।'
नक्साल भगवती बहालअगाडि सन् ६५४ मा राजा नरेन्द्रदेवका पालाको जरूं छ। हाँडीगाउँमा पनि सन् ७४९ को जरूं हामी देख्न सक्छौं।
प्राचीन शैलीका जरूंहरु हेर्ने हो भने ती प्रायः ढुंगाले बनेका हुन्छन्। ठूलो आयाताकार ढुंगालाई भाँडाजस्तो बनाएर त्यसमा पानी जम्मा गरिएको हुन्थ्यो र माथिबाट ढुंगाकै बिर्को लगाइन्थ्यो। खासगरी यस्ता जरूं इनार वा हितिनजिकै हुन्थे। पानी भर्न आउनेले जरूं खाली भएको देख्नेबित्तिकै त्यसमा पानी भरिदिन्थे, ताकि बाटोमा हिँड्ने बटुवाले प्रयोग गर्न सकून्।
त्यो समय अहिलेजस्तो धाराको चलन थिएन। बरू जरूंअगाडि एक वा एकभन्दा बढी प्वाल राखिएका हुन्थे। त्यसलाई दाउराको सानो छेस्कोले बन्द गरिन्थ्यो र चाहिएका बेला प्वाल खोलेर पानी पिउन सकिन्थ्यो।
'जैसीदेवलबाट लगन जाने बाटोमा पाइएको सन् ७२७ को जरूंमा त स्थापना गर्ने दाताले दैनिक पानी भर्न गुथि व्यवस्था गरेको पाइन्छ,' पद्मसुन्दरले आफ्नो किताबमा लेखेका छन्।
यस्ता घटनाबाट पानी वितरणलाई कति ठूलो पुण्य र सामाजिक कामका रूपमा लिइन्थ्यो भन्ने बुझ्न सकिन्छ। यस्ता धाराका स्वरूप तपाईंले काठमाडौं उपत्यका अर्थात् काठमाडौं, भक्तपुर र ललितपुरका धेरै ठाउँमा देख्न सक्नुहुन्छ। तीमध्ये केही जरूंलाई जावलाखेलमा जस्तै पुनर्निर्माण गरेर फेरि सञ्चालनमा ल्याइएको छ।

ललितपुरमा सबभन्दा धेरै १०६ वटा जरूं भएको पद्मसुन्दरले उल्लेख गरेका छन्। कतिपय ठाउँको नाम त जरूंबाटै राखिएको उनको भनाइ छ।
'भक्तपुर दरबारभित्र मूलचोकको दक्षिणमा रहेको चोकलाई जरूंचुक भनिन्छ। राजा जितामित्र मल्लले सन् १६७६ मा सम्भवतः नेपालकै ठूलो जरूं स्थापना गरेका थिए। जमिनबाट करिब १.५ मिटर उचाइमा राखिएको करिब ३.५ मिटर लामो, ११० सेन्टिमिटर चौडा र त्यत्तिकै उचाइ भएको यो जरूं भित्रबाट तामाको पाताले बेरिएको त्यहाँका नाइकेहरू बताउँछन्,' पद्मसुन्दरले लेखेका छन्।
उनका अनुसार ठूलो आकारको यो जरूंमा पानी भर्न स्थानीय भाषामा नाकः (नाको अर्थ पानी, कः को अर्थ कर्मी) भनिने कामदाहरू पनि हुन्थे। योभन्दा केही सानो तर कलात्मक चित्रसहितको जरूं भक्तपुर दरबारको कुमारी चोकमा छ।
'हिति प्रणालीको एउटा संयन्त्र जरूं पानी व्यवस्थापनको अर्को उत्कृष्ट नमूना हो,' हिति प्रणाली किताबमा पद्मसुन्दरले लेखेका छन्, 'युरोपका चुनिएका सहरहरूमा देख्न पाइने बटुवालाई पानी खुवाउने व्यवस्था नेपाल मण्डलमा लिच्छवि कालमै विकसित हुनुले तत्कालीन सभ्यता सुसंस्कृत रहेको जनाउँछ।'
लिच्छवि कालमै विकास भएको यो पानी प्रणाली अहिलेको समय व्यवस्थापनको समस्यामा परेको छ। त्यसैलाई ब्युँताउने प्रयास ललितपुर महानगरले गरिरहेको छ।
हामीले यसबारे ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनसँग कुरा गर्दा उनले भने, 'मैले सानोमा यस्ता धारा प्रयोगमा आएको देखेको थिएँ। समयसँगै ती प्रयोगविहीन बन्दै जीर्ण भए। कति हराए, कति हराउने क्रममा छन्। त्यसैलाई ब्युँताउने प्रयास हामीले गरिरहेका हौं।'
उनका अनुसार जावालाखेलसँगै महानगरले मंगलबजारको टंगालस्थित जरूं पनि पुनः सञ्चालनमा ल्याइसकेको छ। पाटनका अन्य ठाउँ र बुंगमतीमा पनि सञ्चालन गर्ने प्रयास हुँदैछ।
'टंगालको जरूंमा जावलाखेलजस्तो सेन्सर प्रणाली छैन। पानी प्रणाली पनि पुरानै शैलीको छ। अब बन्ने जरूंहरूमा भने सकभर नयाँ प्रविधि जोड्ने प्रयासमा छौं। तर त्यसो गर्न महँगो पर्ने भएकाले सबैमा सम्भव नहुन सक्छ,' मेयर महर्जनले भने, 'पहिलेजस्तो पुरानो प्रविधिमा बनाउने हो भने अहिलेको समयमा यस्ता जरूं शो–पिस मात्र हुनेछन्। त्यसैले हामी सकभर नयाँ र पुराना दुवै फ्युजन गरेर बनाउन खोजिरहेका छौं।'
अब हामी जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलअगाडिको जरूं कसरी ब्युँताइयो र पुनः सञ्चालनमा ल्याइयो भन्नेबारे चर्चा गरौं।
दुई वर्षअघिसम्म यो वडाका अध्यक्षलाई यहाँ जरूं थियो भन्ने जानकारी पनि थिएन। त्यहाँ ताम्राकार समाजको पार्किङ स्थल थियो।
एकदिन वडाध्यक्ष सन्तोष खड्काले यो सार्वजनिक जग्गा भएको थाहा पाए। उनलाई त्यो ठाउँमा पार्क बनाउन पाए गज्जब हुन्थ्यो भन्ने लाग्यो। उनले ताम्राकार समाजसँग यसबारे कुरा गरे र पार्किङ छाड्न ताकेता गर्न थाले।
ताम्राकार समाज भने आफ्नो गुठीको जग्गा हो भन्दै नछाड्ने अडानमा रह्यो। विवाद लामै चर्कियो।
एकदिन उनीहरू सहमतिमा आए। ताम्राकार समाजले त्यो ठाउँ छाड्यो, पार्किङ अब पार्क बन्ने भयो।
त्यसैबीच ताम्राकार समाजका मानिसले त्यो ठाउँको एक कुनामा प्राचीन जरूं पुरिएर बसेको बताए। उनीहरूले संकेत गरेको ठाउँमा वडाले उत्खनन गर्यो। नभन्दै त्यहाँ जरूं फेला पर्यो।
त्यसलाई ताम्राकार समाजले नै मर्मतसम्भार गर्यो। जरूंमा पाइप हाल्नेदेखि पानी प्रणाली व्यवस्था गर्ने काम पनि उनीहरूले नै गरे।
'सुरूमा हामी दुश्मनझैं झगडा गरिरहेका थियौं, अन्त्यमा एकअर्काका हितैषी भयौं,' वडाध्यक्ष सन्तोषले हाँस्दै भने, 'ताम्राकारहरू धातुको काममा पोख्त हुन्छन्। उहाँहरूले पित्तलको धारा पनि आफैले हालिदिनुभयो। हामीले जरूंको स्वरूप बनाएर मात्र राख्ने सोचेका थियौं, उहाँहरूले त त्यसलाई चालू अवस्थामै ल्याइदिनुभयो। हामी दुवैको उद्देश्य सकारात्मक भएकाले नै यो काम सम्भव भएको हो।'

जावलाखेलको यो सार्वजनिक धारा समुदाय र महानगर मिलेर लाग्यो भने कसरी कुनै काम सजिलै फत्ते हुन्छ भन्ने उदाहरण बनेको छ।
यो सफलतापछि वडा नम्बर ४ ले गत वर्षबाट नख्खुस्थित जरूं ब्युताउने प्रयास गरिरहेको छ। टोलवासीको मागपछि त्यहाँको जरूं बनाइन लागेको वडाध्यक्ष सन्तोष बताउँछन्।
'त्यहाँको जरूं फुटिसकेको थियो। ढलेर मान्छे बस्ने मेच बनेको थियो। त्यो थाहा पाएपछि हामीले मर्मतसम्भार गर्न लागेका हौं,' उनले भने।
यो जरूंसँगै नख्खुको फल्चा (पाटी) पनि पुनर्निर्माण भइरहेको छ। यो रातो मच्छिन्द्रनाथको १२ वर्षे मेलामा भजन गर्ने र बत्ती बाल्ने फल्चा थियो। अहिले फल्चाको नामनिसान छैन। एउटा पुरानो फोटो फेला परेपछि वडाले पुनर्निर्माण गर्न लागेको सन्तोषले बताए।
अब दुई वर्षमा हुने रातो मच्छिन्द्रनाथको १२ वर्षे मेलासम्म यो फल्चा ब्युँताउने वडाको योजना छ। जरूं र फल्चाका लागि २५ लाख रूपैयाँ बजेट छुट्याइएको छ।
'यो फल्चासँगै अहिले वडा नम्बर ४ को अफिसनजिकै काट्टे पाटी पनि ब्युँताउने तयारी गरिरहेका छौं। त्यो पाटीमा पहिले राजा बित्दा बाहुन राखेर काजकिरिया गर्ने चलन थियो भन्ने जनविश्वास छ,' उनले भने, 'हामी जरूं मात्र होइन, अन्य पुराना सम्पदा यसरी नै ब्युँताउने अभियानमा छौं।'
काठमाडौं उपत्यकाभरि रहेका जरूं, फल्चा तथा अन्य प्राचीन सार्वजनिक स्थलहरू ब्युँताउन स्थानीय तह सरकारहरूले पहल गर्नुपर्ने सर्वसाधारणको माग छ। अरू स्थानीय तहले पनि यो अभियान सुरू गर्ने हो भने लिच्छवि र मल्ल कालमा निर्माण भएका सार्वजनिक स्थल पुन: प्रयोगमा आउनेछन्।
सायद, बाटो हिँड्ने बटुवाले फल्चामा आराम गर्दै, जरूंको कलकल पानी पिउँदै महानगरलाई धन्यवाद भन्दै जाने छन्!