शकुन्तला महतोको घरमा पानी तान्ने चापाकल थियो। त्यसबाट पानी त आउँथ्यो तर पिउन लायक हुन्थेन। चापाकलबाट आउने गन्धसहितको पानी पिउनै पर्ने बाध्यता थियो।
उनको खेत थियो तर सिँचाइको सुविधा थिएन। वर्खे धान रोप्न पनि आकाशको पानीको भर पर्नुपर्थ्यो। व्यावसायिक तरकारी खेतीको त कल्पना पनि गर्थिनन्।
उनको घर चितवनको माडी–४ अम्रौलीमा हो।
करिब दुई वर्षयता अम्रौली गाउँका बासिन्दाले राम्रो पिउने पानी पाउन थालेका छन्। केही महिनादेखि सिँचाइको सुविधा पनि थपिएको छ। सोलार पम्पबाट तानिएको पानी अम्रौली, विरेन्ची गाउँका १५० घरको धारमा पुगेको छ। ४ वटा बोरिङ र ६ वटा पम्प (भूमिगत सिँचाइ प्रविधि) मार्फत ६६ विघा जमिनमा सिँचाइ हुन थालेको छ।
'चापाकलको पानी राख्दा भाँडो नै पहेँलो हुन्थ्यो। त्यो पानी पिएर स्वास्थ्य खराब भइरहेको थियो। धारोमा पानी आउन थालेपछि समस्या कम भएको छ,' शकुन्तलाले भनिन्, 'सिँचाइको सुविधा थपिँदा कृषिमार्फत आयआर्जनका लागि सजिलो भएको छ।'
शकुन्तलाको परिवारलाई पहिले आफ्नो ६ कट्ठा जमिनमा वर्खे धान रोप्न पनि हम्मे हुन्थ्यो।
अचेल यो परिवारले थप जमिन बन्धकीमा लिएर चैते धान पनि रोप्न थालेको छ। सिँचाइको सहज सुविधा भएपछि हाइब्रिड मकै र तरकारी खेती पनि गर्न थालेको उनले बताइन्।


मगुई खोलाको पानी कुलोबाट गाउँसम्म ल्याइएको छ। तर त्यो पानीले सबैलाई पुग्दैन। टाँडी खेतहरूमा कुलो लाग्दैन। हिउँदमा त झनै समस्या थियो। अब बाह्रै महिना सिँचाइको सुविधा हुन थालेको उनले बताइन्।
सुस्मा महतोको परिवारले १० कट्ठा जमिनमा माछा पालन गरेको छ। पानी अभावमा पहिले राम्रो आम्दानी भएको थिएन।
'कुनै वर्ष त खडेरी लागेर सबै माछा मर्थे। पानीको सुविधा भएपछि माछा पाल्न सजिलो भएको छ। यसपालिको आम्दानी हेरेर क्षेत्र थप्ने सोचेका छौं,' सुस्माले भनिन्।
गाउँमा सबैभन्दा ठूलो समस्या नै पानीको रहेको उनले बताइन्।
काकाकुल गाउँमा यी सुविधा रोटरी क्लब अफ नारायणगढको सहयोगबाट सम्भव भएको हो। विभिन्न विदेशी क्लबहरूको सहयोगमा रोटरी क्लब अफ नारायणगढले माडी–४ का गाउँलाई 'नमूना गाउँ' का रूपमा विकास गर्न प्रयास गरिरहेको छ। सोही अभियान अन्तर्गत पिउने पानी, सिँचाइ, कृषि, पशुपालनमार्फत महिला सशक्तीकरणको प्रयास गरिएको क्लबका अध्यक्ष तारानाथ पाठकले जानकारी दिए।
उनका अनुसार यस क्षेत्रका १७० परिवारले सिँचाइको सुविधा प्राप्त गर्न थालेका छन्। सिँचाइका लागि मात्रै एक करोड ३५ लाख रूपैयाँ खर्च गरिएको जानकारी उनले दिए।
क्लबका पूर्वअध्यक्ष रमेश श्रेष्ठले पिउने पानी, सिँचाइ तथा आयआर्जनका विभिन्न कार्यक्रमहरूका लागि अम्रौली, विरेन्ची, सिदुवा, गर्दी लगायतका ठाउँमा गरेर चार करोड ५० लाख रूपैयाँ खर्च गरिएको जानकारी दिए।
'हामीले दुई वर्षअघि देखेको सपना साकार हुन थालेको छ। पिउने पानीजस्तो आधारभूत सुविधा पनि नपाएका बासिन्दाहरुले सिँचाइका लागि समेत पानी पाएका छन्। कृषि, पशुपालन व्यवसायमार्फत आयआर्जन गर्न थालेका छन्,' श्रेष्ठले भने, 'नमूना गाउँ बनाउने हाम्रो अभियान सफल बन्दैछ।'


क्लबले महिलाहरूको समूह बनाएर नेतृत्व विकास गर्दै आयआर्जनसँग जोडिदिएको सचिव सेवन पन्तले जानकारी दिए। समूहहरूलाई हाँस, कुखुरा, बंगुर, माछा पालन, हस्तकलाका सामग्री, जैविक प्याड उत्पादन जस्ता कामहरूमा प्रोत्साहन गरेको उनले बताए।
इन्दिरा महतो विरेन्ची महिला कृषक समूहकी अध्यक्ष हुन्। उनको समूहले ६ कट्ठा जमिनमा माछा पालन गरेको छ। व्यावसायिक रूपमा ब्रोइलर कुखुरा पनि पालेको छ।
'दुवै व्यवसायबाट राम्रो भइरहेको छ। आम्दानीलाई कोषमा जम्मा गरेर समूहका सदस्यलाई सस्तो ब्याजमा ऋण दिन्छौं,' इन्दिराले भनिन्, 'सस्तो ब्याजको ऋणले व्यक्तिगत रूपमा व्यवसाय गर्न, घरायसी समस्या आइपर्दा टार्न सहयोग पुगेको छ।'
व्यवसायका लागि संरचना निर्माण, माछाका भुरा, कुखुराका चल्ला, दानामा क्लबले सहयोग गरेको थियो। उनको परिवारले ५ कट्ठा जमिनमा छुट्टै माछा पालन पनि गरिरहेको छ।
अम्रौली, विरेन्ची र गर्दीका महिलाहरूले महिनावारी हुँदा प्रयोग गर्ने जैविक प्याड बनाउन पनि बनाउँछन्। २८ वर्षीया चन्द्रकला महतोले घरदैलो अभियान चलाएर प्याड बिक्री गर्ने गरिएको बताइन्।
'घर, खेतको काम सकेपछि फुर्सदमा दिदी, बहिनीहरूयहाँ आउँछौं। सकेजति प्याड तयार गर्छौं। अनि घरघरमा पुगेर जैविक प्याडको महत्व बुझाउँदै बेच्छौं,' उनले भनिन्, 'गफ गरेर खेर गइरहेको समय सदुपयोग भएको छ। आम्दानीबाट समूहमा आवद्ध भएका हामी सबैले लाभ लिन थालेका छौं।'
क्लबले अम्रौलीमा रहेको खैरहनी माविमा इन्टरनेट र 'सोलार ब्याकअप' सहितको कम्प्युटर ल्याब सञ्चालन गर्न पनि सहयोग गरेको अध्यक्ष पाठकले जानकारी दिए। यसका लागि शिक्षकहरूलाई तालिम पनि दिइएको थियो।
'बच्चाहरूले कम्प्युटर देख्नसम्म पाएका थिएनन्। अहिले चलाउन जानेका छन्। चापाकलको पानीले सधैं बिरामी पर्थे, अचेल शुद्ध पानी पिउन पाएका छन्। खेतमा राम्रो उत्पादन हुन थालेको छ। हाम्रो गाउँ शून्यमा थियो, सयमै पुगेको जस्तो भएको छ,' स्थानीय चन्द्रिका महतोले भनिन्, 'छोटो समयमै यति काम होला भन्ने कल्पना गरेका थिएनौं।'
क्लबका परियोजनाहरु सञ्चालनको काम गर्दै आएकी सामाजिक परिचालक हेमा महतोका अनुसार उक्त क्षेत्रका १७ जना महिलालाई हस्तकलाका सामग्री बनाउने तालिम दिइएको छ।


उनीहरूलाई वनमा पाइने वरूवा, काँस, पात, पटेरबाट म्याट, चकटी, टोपी, झोला, पेन होल्डर, डस्टबिन, सजावट सामग्रीहरु बनाउने तालिम दिइएको हो। साथै केराको थम्बाबाट रेसा निकालेर विभिन्न सामग्री बनाउने पनि सिकाइएको छ। यसरी सिकेकाहरूले सामान बनाएर बेच्न पनि थालिसकेका छन्।
माडीमा यी काम गर्न क्लबका गुणेश्वर महतो र विनोदबहादुर कर्माचार्यले पहल गरेका थिए। सोही गाउँमा जन्मिकएका गुणेश्वर पेसाले इन्जिनियर हुन्। त्यस्तै लन्डन बस्दै आएका विनोदले यहाँको अवस्थाबारे जानकारी गराउँदै आयरल्यान्डका रोटरी क्लबहरूसँग सहयोगको आग्रह गरेका थिए।
क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधानले गाउँको आवश्यकता पहिचान गरेर परियोजना सञ्चालन गरेको बताए।
'परियोजना सफल बनाउन यहाँका बासिन्दाको भूमिका महत्त्वपूर्ण हुन्छ। उहाँहरूका लागि अवसर छ, चुनौती पनि छ। सदुपयोग गरेर दिगो बनाउन सके समुदायलाई प्रत्यक्ष लाभ हुनेछ,' उनले भने, 'आगामी दिनमा पनि आवश्यकता हेरेर सहयोग गर्छौं।'
माडी नगरपालिकाकी मेयर ताराकुमारी काजी महतोले स्थानीयबासीले स्वच्छ पानी पिएको देख्न पाउँदा खुसी लागेको बताइन्।
विरेन्ची गाउँमै जन्मेहुर्केकी उनले भनिन्, 'स्थानीयको सेवा, सुविधाका लागि नगरपालिकाले पनि काम गरिरहेको छ। नगरपालिकासँग स्रोत, साधन कम हुँदा सबैतिर काम गर्न सकेको थिएन। क्लबको सहयोगमा गाउँमा धेरै राम्रा काम भएका छन्।'
