बर्खायाम सकिएको थिएन। भदौको आधाउधी महिना अझै बाँकी थियो। पोखरा र आसपास अन्तभन्दा पानी धेरै पर्ने ठाउँ। तर हप्तादिन भो, राम्रोसँग पानी नपरेको। दिनमा चरक्क चर्किने घाम सहिनसक्नु हुन थालेको थियो। जमिनै आरनमा तताएको फलामझैं तातेको भान हुन्थ्यो। पहाडमै खपिनसक्नु गर्मी थियो। तराईमा त पक्कै आगै बलेको हुँदो हो यतिखेर। कसरी खप्दा हुन् त्यहाँका मुन्छे।
स्कुल बिदा भएर घर आइपुग्दा, साँझ पर्नै लागेको थियो। आँगनमा निस्केर आकाशतिर हेरें। परपरसम्म बादलका छिटा कतै देखिएनन्। आकाश पूरै सफा थियो। पानी पर्ने संकेत आकाशले देखाएन। बर्खायाम हो, अचानक बादल जम्मा भएर राति पानी पर्छ कि। मेरोजस्तै आश सबैले राखेका हुँदा हुन्।
गर्मी जति नै भए पनि चिया खाने बानी नहट्दो रैच। फेरि यहाँको गर्मीको टुङ्गो भए पो! दुई दिन लगातार झरी परेपछि जाडो महसुस भैहाल्थ्यो। सुस्माले चिया ल्याएर दिँदै भनिन् 'छिटोछिटो खानु, साँझ पर्न थाल्यो।' श्रीमतीका कुरा नमान्नु पर्ने कुनै कारण थिएन।
'हस्' मैले मुसुक्क मुस्कुराएर भनें। उनी मख्ख परिन्।
घरमा हामी बुढाबुढी र स्यानी छोरी थियौं। ठूली छोरी र छोरा पोखरातिरै बसेर क्याम्पस पढ्थे। सुस्मा साँझबत्ती बाल्ने तरखर गर्न थालिन्। गाउँका अरू घरमा झल्याकझुलुक बत्तीको उज्यालो देखिन थाल्यो। केहीबेर अघि तल्तिर आँगनमा देखिएका गोबिन्द दाइ अहिले देखिएनन्। उनी पनि साँझको दीयो बाल्न भित्र पसे कि!
हिजो बेलुकी तिन्का लोग्ने स्वास्नीको भनाभन हाम्रो घरसम्म सुनिएको थियो। एउटा कान्लो तल्तिर गोबिन्द दाइको घर। मात्थेर हाम्रो। लोग्ने स्वास्नीको झगडा परालको आगो। हत्तपत्त अगाडि पर्नु उचित थिएन। त्यसैले म र सुस्मा नचाहेरै उनीहरूको भनाभन सुन्न बाध्य थियौं।
जानै नपर्ने ठाउँमा अन्तत जानैपर्यो। रिसको झोंकमा भाउजूमाथि हात उठाउन भ्याएछन् दाइले। भाउजू चिच्याएर गुहार मागेपछि वरिपरिका छिमेकी जम्मा भएका थियौं। दाइलाई सम्झाइ बुझाइ गरेर फर्कियौं।
आज बिहानैदेखि भाउजू देखिइनन्। छोराछोरी पनि स्कुल गएनन्।
'केटाकेटी लिएर माइत गइछन्, तल्तिर दिदी।' म घर आउनेबित्तिकै सुस्माले सुनाएकी थिई। मैले केही सोधेकै थिइनँ। उसैलाई हतार थियो सायद, सुनाइहाली। तर मलाई चासो भने थियो उनीहरूको।
बिचरी गोमा भाउजू! कहिलेकाहीँ मेरोसामु रुदै आफ्नो दुखेसो पोख्थिन्।
'के गर्नु बाबु। आफ्नो भागमा यस्तै लेख्यौ रच। म त के जान्थे र। स्यानै थिए। बाउआमाले केही नबुझी अरूको विश्वासमा दिए। जस्तो भए नि घरगरी खानैपर्ने। खराबै भएनि लोग्ने व्यहोर्न पर्दोरैच।'
उनका यस्ता कुराले मेरो मुटु छेडिन्थ्यो। साँच्चै उनको र गोबिन्द दाइको कुनै मेल थिएन। उनी कति बुझकी, दाइ अबुझ। उनी कति व्यवहारिक, दाइ काँचा। उनी कति शितल, दाइ रिसको भुग्रो। उनी कति सरल, सोझी, दाइ घमण्डी। उनी गुणैगुणले भरिपूर्ण। दाइ अवगुणका खानी लाग्थे।
दाइको एउटै राम्रो बानी थियो। उनमा कुलतको नसा थिएन। बलिया थिए। बलको काम जे पनि गर्थे। हली भएर खेत जोत्नुबाहेक अरू सीप थिएन उनीसँग। धेरै पढे लेखेका थिएनन्। सात कक्षा भन्दा माथि चढ्न सकेनन्।
सबैले भन्थे, 'गोबिन्दलाई पढ्नै आएन त के अरोस्। दिमाखले टिपे न पढ्नी हो।'
उनका दुबै दाइहरू पढेर जागिरे छन्। बहिनीले पढी, अहिले अफिसर भएकी छे। उनैले सकेनन्।
गरिखान खेतबारी प्रशस्त थियो। दाजुहरूको अंश पनि उनैले कमाएका थिए। आर्थिक अवस्था भने पहिल्यैदेखि कमजोर नै थियो। एकताका धेरैजसो युवा खाडी मुलुक जाने लहर सुरू भएको थियो।
धेरैले आर्थिक रूपमा लोभलाग्दो प्रगति गरेको पनि देखिन्थ्यो। अझै यो क्रम रोकिएकै छैन, बरू बढ्दो छ। तर गोबिन्द दाइ कतै गएनन्।
उनमा खराबी थियो उनकै स्वभाव। सोझा त थिए तर कुरा बुझ्दैनथे। मान्छेहरू उनलाई अकडो भन्थे। झनक्क झनक्क रिसाउथे। एकसुरे, आफ्नो सुर मरिगए छोड्दैनथे। खै किन हो मेरो कुरा भने हत्तपत्त काट्दैनथे। उनलाई केही सम्झाउन पर्यो कि सबैले मलाई गुहार्थे।
मेरो दिमागमा अल्लि पहिलेका घटना सलबलाउन थाले। जतिबेला गोबिन्द दाइको बिहे हुन अलि सकस परेको थियो। उमेरले तीस टेक्दै थिएँ उनी। जबकी मेरो बिहे बीसै वर्षमा भयो। ठूलो छोरी र छोरा स्कुल जान थालिसकेका थिएँ।
दुई दुई पटक बिहे आँटेर ठिक्क पार्दा समेत बिहे हुन सकेन गोबिन्द दाइको। अन्तिम समयमा माइती पक्षले बिहे भाँचिदिए। दुई पटक बिहे भाँचिएसी अर्को ठाउँमा बिहे गर्न झनै मुस्किल पर्न थाल्यो। केटामा खराबी भएर बिहे भाँचिएको अर्थ लाग्यो। तर मैले थाहा पाए अनुसार उनमा त्यस्तो कुनै खराबी थिएन, खाली उनको एकसुरे स्वभावबाहेक।
'शत्रु लागेर, गाउँकै मुन्छेले गोबिन्दको बिहे भाँचिदिएका हुन्। असत्तिहरू।' गोबिन्द दाइकी आमा यस्तै भन्नुहुन्थ्यो।
जेठा र माइला दाजु बिहेवारी गरेर छुट्टिभिन्दा भैसकेका थिए। बहिनीले आफ्नो बिहे आफैं गरी। ठूला बा बितेको उहिल्यै हो। ठूली आमा कान्छो छोरा गोबिन्द सँगै हुनुन्थ्यो। उहाँलाई एउटै पिर थियो।
'कान्छा छोराको बिहे नभइ बुढो हुनि भो।'
हाम्रा बा भन्नुहुन्थ्यो, 'गोबिन्दे अल्लि सोझो छ। एउटी टाठी केटी पार्दिन पाए घरगरी खान्थे। धर्मै हुन्थ्यो।'
टाठी केटीको जोडा टाठै केटासँग पो मिलाउनु पर्ने हो! यदि सोच मिल्छ भने, बरू धनी र गरिबबीच जोडा मिलाउँदा फरक पर्दैइन्तो। ढाँँटेर, छलेर विचार र मन नमिल्नेको जबरजस्ती जोडा मिलाउँदा धर्म हुन्थ्यो कि पाप, अहिले स्वर्गे भैसक्नु भएका मेरा बालाई त्यतिखेर सायद चेत थिएन।
गोमा भाउजूका माइती हाम्रा बाका बुढामावली पर्थे। उनीहरूका दिदी बहिनी धेरै थिएँ। आर्थिक अवस्था कमजोर। उनी सत्र अठार वर्षकी हुँदी हुन् त्यतिखेर। दुई पटक एसएलसी फेल भएसी उनको बिहे गर्न हतारिएका थिएँ उनका बाउआमा। बिहेको लागि गोमा भाउजू माग्न जाने मेरै बुवा हुनुथ्यो। जीवन बिताउनु गोबिन्द दाइसँग थियो तर हाम्रो बाको विश्वासमा छोरी सुम्पिए उनका बाउआमाले। यसरी गोबिन्द दाइको बिहे भएको थियो।
साँझ झमक्कै पर्यो। म पिँढीमा अघि नै उक्लिसकेको थिएँ। जुनेली रात भएकोले तल्तिर घरमा धुवाँ निस्केको देखियो। सायद गोबिन्द दाइ भान्सातिर पसेछन् क्यारे।
मलाई अरूको घरव्यवहारमा टाउको दुखाउनु थिएन। तर गोबिन्द दाइकी आमा म उहाँलाई ठूलीआमा भन्थें। उहाँलाई मृत्युको नजिक पुगेर चेतना नगुम्दासम्म पनि गोबिन्द दाइको मात्र चिन्ता थियो। त्यस्तोबेला पटकपटक मलाई भनेको सम्झिन्छु। 'नानी' मलाई गाउँमा सबैले नानी भन्थे।
'नानी, यो गोबिन्द साह्रै सोझो छ। आफ्नै दाइहरूले त हेप्छन्, झन् गाउँलेको के कुरा। यसले पनि कुरो नबुझी मुख्र्याइ मात्र अर्च। बुहारी साह्रै लक्षिनकी छे। यसकै कारण बुहारीले दुख पाउली। गोबिन्देलाई सम्झाइ बुझाइ अरेस है।'
ठूली आमा रहनुभएन। तर उहाँले भनेका प्रत्येक शब्दले मलाई बेलाबेलामा घचघचाइ रहन्थे।
सँगै खाइखेलेका दामली हौं हामी। दाइ भन्नुमात्र महिना दिनले मात्र जेठा हुन् उनी। व्यवहारले अल्ली काँचा छन्। म उनलाई राम्रोसँग जान्दछु। नियतै खराब भएका मुन्छे होइनन् उनी। स्वभावै त्यस्तो भैदियो त के गरून्। उनीप्रति म सदा उदार छु। बेला बखत सानोतिनो व्यवहार पर्दा मसँग सरसल्हाह लिन आउँथे । अनि लेनदेनको विषयमा पनि म धेरै पटक उनीहरूलाई काम आएको थिएँ।
उनीहरूको घरझगडा यो पहिलोपटक भने थिएन। झगडाको आगो सल्किन्थ्यो। कहिल्यै छिट्टै, कहिले अलि दिनपछि आगो मत्थर भएर निभ्थ्यो।
सुस्मा र मबीच पनि भनाभन नहुने होइन। दैनिक जसो ससाना कुरामा भनाभन भैरहेको हुन्छ। कहिले अलि गम्भीरै हुन्छ। बोलचाल समेत हुँदैन। तर हाम्रो झगडा बाहिर सतहमा देखिँदैन। अरूका लोग्ने स्वास्नीबीच पनि झगडा हुँदो हो, तर बाहिर हत्तपत्त थाहा हुँदैनथ्यो। गोबिन्द दाइका बुढाबुढीको झगडा सबैले थाहा पाउथे।
अरूले थाहा पाउन नपाउन मैले थाहा पाउँथें। गोमा भाउजू रुदै आउँथिन्, 'बाबु तपाईंको दाइलाई सम्झाइदिनु न।'
अनि म जानुपथ्र्यो उनीहरूका लोग्ने स्वास्नीको झगडा मिलाउन। दाइ मान्थे पनि मैले सम्झाउँदा। अलि दिनपछि उही ताल....। यसपटकको झगडाको आगो अलि फरक देखियो। भाउजू झगडाको निहुँमा घरै छोडेर पहिलो पटक थियो होला। छोराछोरी समेत लिएर गएको घटनाले कतै आगो सल्केर दन्केको दन्कै मत्थर नहुने त होइन। मेरो मनमा शंका उब्जिएको थियो। त्यही शंकाले बेचैनी सुरू भयो। भित्रभित्रै उकुसमुकुस भए। अनि सुस्मालाई केही नभनी बेलुकी खानपिन अरेर जुनको उज्यालोमा तल्तिर फुत्त झरें।
धुवाँले भान्सा कोठा कुहिरोमन्डल जस्तै देखिएको थियो। आकाशमा नदेखिएको बादल जम्मै गोबिन्द दाइको भान्सा कोठामा थुप्रिएको जस्तो। धुवाँमा बत्तीको उज्यालो कतै हराएको थियो। दाइ फू...फू.. गर्दै ढुम्रीले आगो बाल्ने कोसिस गरेको आवाज बाहिर पिँढीसम्मै आएको थियो।
'के भाँती धुवाँ हो। यस्तो धुवाँमा क्यार्दै छौ दाइ?' मैले बाहिरबाटै बोलें।
'काउराका दाउरा। मरिकाट्टे बल्दैनन्। धुवाँ मात्र पुत्ताम्दारान्।' दाइ भित्रैबाट बोले। हुर्र आगो बलेको देखियो। अब बिस्तारै धुवाँ
कम होला। उनी फेरि बोले। 'भित्रै आइजा। बसेसी धुवाँ हुन्न।' म नि धुवाँसँगै खाइखेलेकै मुन्छे। धुवाँमाथि उड्दा उभिएको मान्छेको आँखामा पिरो हुन्थ्यो, बस्दा अलि कम।
भित्र पसेर अँगेनाभन्दा अलिपरै पिर्कामाथि बसे। कसौडीमा खिर पाक्दै रैछ। उनी भन्दै थिए, 'तरकारी पकाम्नको अल्छीले अलिकति दुधआँ चामल हालेको।'
'अनि केटाकेटी।' म अन्जान बनेर सोधें।
'उनीहरू छैनन् रत भान्से भओछु। त्यै चर्तिकलाले लिएर गई।' दाइ अलि जर्किएर बोले। उनी आजमात्र होइन सधैं यस्तै हुन्। अलि ठाट्ठाडै बोल्चन्।
'तिम्लाई नसोधी गका हुन् र?' मलाइ जे जान्नु थियो त्यही सोधें।
'किन सोध्थी। हिजो बेलुकीदेखि मसँग झन्केर भातै नखाइ सुती। बिहान सबेरै छोरछोरी लिएर हिँडी।' दाइको रिस अझै मरेको थिएन।
उनले बोल्दै गर्दा अँगेनाबाट कसौडी उतारेर भुइँमा राखे।
उनले बल्दै गरेको आगो निभाएर दाउरा ओझाए। बिस्तारै धुवाँ कम हुँदै गयो।
'खासमा हिजो बेलुका के भको थियो?' हिजो बेलुकी हामी छिमेकी जम्मा भका थिएम्। तर झगडाको कारण बुझ्न लागिएन। बुढाबुढीको झगडा जे पनि हुनसक्थ्यो। दाइले भाउजूमाथि हात हालेको कुरा काफी थियो। अनि दाइलाई सम्झाएर हामी गएका थिएम्।
'के हुन्थ्यो, म दिनभरी कोदो गोडेर थाकेर आको थिएँ। चिया खान तलतल लाग्यो। एक गिलास चिया बनान गोमा भनेको। ऊ भने चिनी छैन, चियापत्ती छैन। यो छैन ऊ छैन भन्दै गनगनाउन थाली।'
दाइले गर्मीको प्रवाह नगरी तात्तातो खिर निकालेर खान लागे। हुन त खिर तातै मिठो हुन्छ। म भर्खर भात खाएर आको भए पनि दाइको करले सानो कचौरीभरि खिर दिए। मिठै बनाका रैचन्। अन्तिममा फेरि एक पन्यूँ थपेरै खाएँ।
खाँदै जाँदा कुरा भने रोकिएनन्। झगडाको बिउ ठूलो नरैछ। चिया नपकाएको निहुँमा भनाभन चल्दाचल्दै दाइलाई रिसले जितेछ अनि हात बज्रिएछ भाउजूमाथि। उनले स्वीकारे चार थप्पड लगाएको हुम् भनेर। तर त्यसलाई गल्ती भयो भनेर मान्नेमा उनी पर्दैनथे। गल्ती मानेनन् पनि।
'एक्लो मुन्छे। गोठ, घर, मेलापात कसरी अर्चौ त।' मैले भनें।
'सके जति अर्चु। नसके एउटा भैंसी र बाख्रा बेचिदिन्छु' उनी ढुक्क थिए। बुढी र छोरछोरी नभए पनि चल्छ भन्ने मनशाय बनाएका हुँदा हुन्।
'उसोभए भाउजूलाई लिन जान्नौ त?'
'आए आफैं आउँछे। नआए मरिगए लिन जान्नँ।' उनी एक कदम पछाडि हट्न चाहेनन्।
'सुन दाइ। यत्रो छोरछोरीको बाउ भएर यस्तो कुरा अर्न स्वाम्च? अब त छोरछोरीको लाज पनि मान्नुपर्च। उनीहरूको पढाइ बिग्रिन्छ। तिमीहरूको झगडाले उनीहरूलाई असर गर्नु त भएन नि।'
म शिक्षक भएको नाताले यसरी सम्झाउन अलि उचित लाग्यो। सायद मेरो कुराले उनलाई छोएछ। यसपालि कुनै जवाफ फर्काएनन्। बरू एक ठाउँमा हेरेर टोलाए। नत्र भए 'छोराछोरी मेरा मात्र हुन् र ? उस्का पनि हुन्। उस्ले सोच्नुपर्दइथ्यो' भन्न भ्याउथे। तर भनेनन्।
उनी शान्त हुनाले मलाई बल पुग्यो। फेरि थप्दै बोलें, 'समस्या तिमीहरूको हो, आफैं समधान अर्ने हो। अर्को मुन्छे आएर अर्दिँदैन। यस्ता सानातिना ठाकठुक सबैकाँ हुन्च। मेरो पनि बुढी सँग नोंकझोक भैरहन्छ। तर कति सम्म बढाउने आफू पनि जिम्मेवार बन्नुपर्छ।
कतिले त क्यार्न पिर अर्चस् गोबिन्दे, मर्दका दशवटी हुन्चन्। तेरो उमेर कति नै भओ छ र। एउटी गए अर्की आम्चे भनेर तिम्लाइ उचाल्न सौचन। कसैका कुरा नसुन। मलाई भाइ भन्छौ र मैले भनेको मान्चौ भने, भोलि नै भाउजूलाई लिन गैहाल। बरू भाउजूसँग माफी माग। झुकेर सानो भइँदैन बुझ्यौ।'
'केरे मैले गल्ती अरेको हुँम् र। छोरछोरीको पढाइ बिगारेर उसैले लगेकी हो। मैले किन माफी माग्ने। जोइटिंग्रे भन्ठान्वायोछस् मलाई।' दाइ फेरि जङ्गिए। उनलाई केटाकेटीको पढाइ बिग्रियो भन्दा मात्र छोएको रैच। भाउजूमाथि हात उठाएकोमा र उनी माइत गएकोमा उनलाई कुनै पछुतो थिएन।
'माफी मागेर कोही जोइटिंग्रे हुन्च? नहुनी कुरा। भाउजू आफैं बुझक्की छिन्। छोरछोरीको भविष्यप्रति उनी आफैं सचेत छिन्। भोलि वा पर्सिमा उनी आफैं आउलिन्। तर दुई चार दिनसम्म आइनन् भने तिमी आफैं लिन जानु।'
'......' उनी फेरि केही बोलेनन्।
उनी यस्तै हुन् जहिल्यै। मेरा कुरा एकोहोरी सुनिरहन्छन्। कहिलेकाहीँ म सोच्ने गर्छु 'कतै मैले सम्झाउने नाउँमा उनीमाथि अन्याय त गरेको छैन। मेरो कुरा मान्न लगाएर उनको स्वविवेकमाथि आघात त पुर्याएको छैन।'
उनले कहिल्यै मेरो विरोध पनि त गरेका छैनन्। फेरि मैले त सम्झाएको मात्र हुँ, मान्ने नमान्ने उनको विवेकको कुरा। जबरजस्ती गरेको भए पो!
उनी केही नबोलेसी मै बोल्नपर्यो।
'जसरी तिम्लाई रिस उठ्यो उसैगरी भाउजूलाई पनि रिस उठ्दो हो कहिलेकाहीँ। कि तिम्लाई मात्र रिस उठ्ने अरूलाई रिस नउठ्ने भन्ने केही छ र? ल भन त।' नाताले उनको भाइ थिएँ। तर व्यवहारले अभिभावक। अनि अभिभावक जसरी सम्झाउने कोसिस गरें।
उनी अझै केही बोलेनन्। कुरो बुझे होलान् भन्ठानें। रात धेरै छिप्पिएजस्तो लाग्यो। घडी बाँध्न भुलेछु। निन्द्रा लाम्न थाल्यो। दाइ पनि हिजो राम्रोसँग ननिदाएर होला हाइ काढ्न थाले। म निस्किएँ। उनी पनि खिर खाएका झुटा भाँडा लिएर बाहिर निस्किए।
घरमा फेरि सुस्मा गनगन गर्दै थिइन्। 'रातिबिख अर्काको घरआँ किन जानपर्या होला। आफ्नो मास्टरी स्कुलमा मात्र देखाए हुन्न? अर्काको घरघर शिक्षा दिँदै हिँड्न पर्च?' म केही नबोली चुपचाप सुतें।
भोलिपल्ट बिहानै चराहरू कराएको आवाज मेरो कानमा ठोक्किन थाल्यो। उठ्न मन लागेन। बाहिरको आवाज नसुन्ने गरी सिरकले कान थुनेर सुतिरहेको थिएँ। जस्तै गर्मी भए पनि ओढ्ने सिरक भने बिहानीपख चाहिन्थ्यो।
सुस्मा कराउँदै भित्र आएको मेसो पाएँ 'ए सुगमको बाबा उठ्नु तो।' मैले ओढेको सिरक तान्दै भनिन्।
'हिजो बेलुका के भन्दिनु भो। कोही मुन्छेले तपाईं अबेलासम्म गोबिन्द दाइको घरआँ थियो भन्दियो भने। कसैले देखेको रैच भने...।' उनी आत्तिएर बोलिरहेकी थिइन्। तर किन मलाई थाहा भएन।
'के भो त देखेर?' म अल्छी गर्दै बोलें।
'दाइले दलिनमा डोरी लाएचन्।' उनको कुराले मेरो होसै उड्यो। उठ्न अल्छी गरेको मुन्छे जुरूक्क उठें।
'तिम्ले हेरेर आकी हौ र?' मलाई पत्यार नलागेर सोधें।
'आँगनबाट यसो चिहाएकी, डर लागेर भागेर आँए म त।'
अब मैले पत्याएर नपत्याएर फरक पर्ने केही भएन। म उठेर हतारहतार कपडा लगाउन थालें। सुस्मा बेलिबिस्तार लगाउन थालिन्।
'सिरानघर काकीले नातिलाई भैंसीको दूध लिन आकी रैचन्। यताउति कसैको आवाज नपाएपछि गोबिन्द दाइलाई उठाउन ढोका हानिछिन्। दाइले आवाज नदिएसी डराइडराइ झ्यालबाट हेर्दा त तर्लग्ग झुन्डिराखेको देखेर हल्लाखल्ला अरेर मुन्छे जम्मा भका छन्। तपाईंलाई खोज्दै छन्। पुलिसलाई खबर अर्नुपर्यो भनेर। तेत्रो हल्ला हुँदा पनि थाहा नपाउने तपाईंको निन्द्रा पनि कुम्भकरण जस्तो।'
'ल ल अब जान्चु। किन यस्तो काम अरेछन् कुन्नी ती मूर्खले पनि।'
'धेरै जान्नी भएर बोल्नी होइन त्यहाँ। उसै पनि बेल्का के भन्द्या हो ?' सुस्माले मलाई सर्तक गराइन्। तर मलाई झनक्क रिस उठ्यो उनले बारम्बार एउटै कुरा दोहोर्याउँदा।
'तिम्ले के भन्न खोजेकी। मैले तिन्लाई उल्टोसुल्टो भनेर भड्काएर यस्तो भयो भनेकी। म त उनलाई राम्ररी सम्झाउँदै थिएँ। उनैको कुबुद्धिले यस्तो अरे त मेरो के दोष।' म यसै चर्को बोलेछु। सुस्मा बिस्तारै बोल्नु भन्दै बाहिर निस्किइन्।
बुढीलाई त थर्काएँ तर मलाई अनायसै डर लाग्न थाल्यो। यदि कसैले हामी अबेरसम्म सँगै भएको देखेको रैच भने। नदेखेको भए पनि प्रहरीले सोधपुछ अर्दा मैले आफैं बताउनु पर्नेछ। बेल्का हामी अबेरसम्म सँगै भएको कुरा। तब प्रहरीको मात्र होइन सारा समाजले नै मलाई शंका गरेर हेर्न थाल्नेछन्।
मेरा हातखुट्टा यसै लल्याङलुलुङ भए। आफैंभित्र ढुक्क हुने कोसिस असफल भैरहेको थियो। गल्ती गरेर दोषी हुनेलाई फरक नपर्ला। तर गल्ती नगरेको मुन्छेको इज्जत चौकी वा अदालत जाँदैमा धुलोपिठो पारिदिँदा के हुन्छ! अनुसन्धान प्रक्रियामा सघाउनु मेरो कर्तव्य हो। तर मुन्छेहरू मलाई दोषी करार दिएर सजाय सुनाउन बेर गर्दैनन्। उनीहरू यति हतार गर्छन् कि अनुसन्धान प्रक्रिया कुर्ने सम्म धैर्य गर्दैनन्। त्यही बेला मलाई दोषी भनिरहँदा सुस्मा र छोरछोरीको मनमा कत्रो चोट पर्छ होला। उनीहरूको मानसिक अवस्था के हुन्छ होला। म सोच्दासोच्दै त्यही खाटमा थचक्क बसें। तल्तिर जान गोडै चलेनन्।
म दोषी छैन र निर्दोष साबित हुनेछु भन्नेमा ढुक्क थिएँ। तर प्रहरीले मलाई निर्दोष भनेर छाड्दा पनि कसैले पत्याउने छैनन्। पक्कै लेनदेन गरेर कुरा मिलायो होला भन्ठानेछन्। सबैले शंकाको आँखाले हेर्नेछन्।
दोषी नभएरै कसैलाई जिन्दगी भर दोषीको बिल्ला लगाइदिने दोषी त हामी हौं। हाम्रो प्रवृत्ति हो। समाज हो। हाम्रो मानसिकता हो।
तर यो घटनाको म दोषी होइन।
(लेखकका अन्य लेख पढ्न यहाँ क्लिक गर्नुस्।)