म सानी थिएँ, काली पातली र लुखुरी।
‘किन आमा जस्ती नभएकी?’ भन्थे आफन्त, छिमेकी र गाउँलेहरू। मलाई बाबा जस्ती भएकोमा गर्व लाग्थ्यो।
त्यो बेला मेरो हिरो बाबा नै हुनुहुन्थ्यो र आज पनि उहाँ नै हो। त्यो बेला राम्रो-नराम्रो र सुन्दरताको परिभाषा थाहा थिएन।
मेरी आमालाई म जहिले हतारमा देख्थें। कहिले घाँस, कहिले दाउरा, कहिले मिटिङ, कहिले के। मलाई पटक्कै मन पर्दैनथ्यो उहाँको यस्तो व्यस्तता। तर म चुप बस्थें।
‘किन हामी सधैं उठ्दा सँगै नउठेको आमा?’ भनेर प्रश्न गर्थें। आमा हाँस्नुहुन्थ्यो मात्रै। पसिनाका धारा पुस/माघको जाडोमा पुछ्दै उहाँ चुलाछेउ पस्नुहुन्थ्यो। हतारमा खाना बनाएर फेरि लुगा फेरेर दौडिहाल्नु हुन्थ्यो।
म दुखी हुन्थें। म कान्छो बच्चा थिएँ, त्यसैले अलि बढी माया खाज्थें सायद बाबा-आमाको। प्रायः स्कुल जाँदा र आउँदा आमालाई कमै भेटिन्थ्यो, कुनै दिन भेटिहाले त्यो दिन वर्षकै उत्कृष्ट दिन हुन्थ्यो।
म फुरूंग हुन्थें आमाको हातले दिएको खाजा खान पाउँदा। आफू केटाकेटी हुँदा त्यस्ता अनमोल दिनहरूको आनन्द सायदै कम लिन पाएँ होला मैले।
एकदिन आमा दुई/चार दिनलाई बाहिर जान तयार हुनुभयो। मैले दुखी हुँदै ‘किन जाने?’ भनेर सोधें।
उहाँको मुहारमा मुस्कुराहट छँदै थियो, सँगै भन्नुभयो- ‘मलाई तिमीहरू छोराछोरीको मात्रै जिम्मेवारी छैन। गाउँ, समाज र जनता, दुखी, गरिबहरूको लागि पनि धेरै गर्नुछ। तिमी दुखी नहोऊ, म छिटै आउँछु। तिमीलाई काठमाडौंबाट लुगा पनि ल्याइदिउँला नि राम्रो।’
आमाले यति नभन्दै मैले सोधें- ‘ती दुखी, गरिब गाउँले हजुरका छोराछोरी हुन् र आमा?’
आमाले सारीको फेर कुनो मिलाउँदै भन्नुभयो, ‘हो, त्यस्तै हुन्। उनीहरूले धेरै आश राखेर मलाई जिताएका, म गाविसको उपाध्यक्ष हो। अस्तिनै म रातो अबिर टीका, धेरै माला लगाएर आएको दिन थियो नि, त्यही दिन म विजय भएको। उनीहरूकै साथ सहयोगमा मैले जितेको, अब मेरो सबैलाई केही गर्नुपर्छ भन्नेमा नै ध्यान जानुपर्छ।’
उहाँले सारी मिलाउँदै दिनुभएको त्यो जवाफ आज पनि मेरो मानसपटलमा ताजै छ। विजय भनेको के हो? गाविस भनेको के हो? उपाध्यक्ष भनेको के हो? त्यसबेला मेरो बाल मस्तिष्कमा सबै थाँती राखेरै मैले प्रश्नमाथि प्रश्न तेर्स्याएको थिएँ- ‘कसरी भ्याउनु हुन्छ? भैंसी छ, बाख्रा छन्, खेतीपाती छ, हामी छौं।’
मैले यस्तो प्रश्न राखें अनभिज्ञतामा, उहाँलाई हतार थियो।
‘मेरो गाडी छुट्छ, ज्ञानी भएर बस। म सकेसम्म चाँडै फर्कन्छु’ भन्दै झोला बोकेर निस्कनुभयो। उहाँको मुहार पनि खुसी त थिएन साएद। म मनैदेखि दुखी भए पनि काठमाडौंबाट आउने लुगा सम्झेर खुसी नै देखिएँ।
आमा जानुभयो र उहाँले भनेअनुसारको हामी सबैलाई राम्रो लुगा लिएर नै फर्कनु भयो। उहाँ आफ्नो वचनको सदा पक्का हुनुहुन्छ। आजसम्म उहाँले गर्छु भनेको काम नगरेको थाहै छैन मलाई। आफूले नसक्ने नभ्याउने जस्तो काम भए उहाँ पहिले नै म सक्दिनँ वा गर्दिनँ होला नै भन्दिनु हुन्थ्यो।
उहाँले कसैलाई भरोसा दिलाएर म गर्छु वा गर्दिन्छु नि भनेर पछि नगरेको वा कसैले पहिले किन गर्छु भन्नुभयो त भनेर प्रश्न राखेको वा उहाँलाई कसैले औँला उठाएको कहिल्यै थाहा भएन।
आमाको जोड जहिले पनि समाजले उहाँबाट राखेका सानातिना आशाहरू पूरा गर्दिनुपर्छ भन्नेमै हुन्थ्यो भने हामी छोराछोरीले पनि कुनै कुरामा कमी महसुस नगरी निराश नभइकनै पढून् भन्नेमै रह्यो।
बाबा जागिरे, उहाँलाई पनि हामीलाई दिने समय थिएन। उहाँ जहिले बाहिर बस्नुहुन्थ्यो। कहिलेकाहीँ बाबा घर आउँदा पाहुना जस्तो लाग्ने। छुट्टै रमाइलो। उहाँलाई दुई/चार दिन मात्रै घर बस्दा संगालिएर बसेका थुप्रै हाम्रा प्रश्नहरूको जवाफ दिइरहन बाध्य पार्थ्यौं हामी।
जति आमासँग नजिक र निडर थियौं, त्यति बाबासँग थिएनौं। थोरै मात्र घर बस्ने भएर हो कि केही दकस मान्थ्यौं। बाबासँग नजिक अलि बढी म नै थिएँ बरु। म सानी छोरी भएर होला उहाँ पनि मसँग जिस्किएर खेल्न खोज्नुहुन्थ्यो। आमा भन्नुहुन्थ्यो, मेरो बसाइँ टाढा हुनाले छोराछोरी टाढा जस्तै भए मसँग भनेर बाबा पीर मान्नुहुन्थ्यो रे।
आमा राजनीति गर्नुहुँदो रहेछ। उहाँ समाजसेवी हो भनेर आफू अलि ठूलो र बुझ्ने भएपछि थाहा पाएँ। उहाँलाई घर-व्यवहार चलाउन सकस हुँदा पनि उहाँको अनुहार दुखी र मलिन कहिल्यै देखिन्थेन। कुनै कारणले रुनु हुन्थ्यो। सायद कहिलेकाहीँ आँखाबाट आँसु बगेको नि कहिल्यै देखिनँ मैले, बरु म अट्कल लगाउँथें।
उहाँ रोएर सुन्निएका आँखा हेरेर म केही भन्दिन थिएँ। थाहा नपाए झैं गर्थें। जब उहाँमा त्यो आँट र हिम्मत छ भने हामीले पनि उहाँलाई साथ दिनुपर्छ जस्तो लाग्थ्यो। थाहा नपाएजस्तै गर्नु पनि त्यो बेलाको उमेरमा हाम्रो बुद्धिमता नै थियो सायद।
उहाँ सधैं संघर्षरत हुनुहुन्थ्यो। सधैं दौडधूप, घरको काम, छोराछोरीको जिम्मेवारी, पढाइ र अनेकन खर्चहरूमा जेलिरहनु हुन्थ्यो। आमाको सुखको दिन कहिले आउला, कहिले ल्याउन सकिएला भनेर हामी पनि पढ्न तल्लीन रहन्थ्यौं।
उहाँले दुःख गरेर एक्लैले घर व्यवहार धानी हामीलाई पढाउनु भयो। उहाँले चाहे जस्तो हामी चारै जना छोराछोरी सबैले अनेकन विषयमा डिग्री हासिल गर्यौं। आमामा त्यसको गर्व अलग चमकका साथ अनुहारमा झल्कन्थ्यो।
कसैले हामी छोराछोरीहरूको अध्ययनको विषयमा सोधिहाले, उहाँ गर्वका साथ बयान चलाउनुहुन्थ्यो। हामी आ–आफ्नो जिन्दगीको गोरेटोमा अघि बढ्यौं। आमालाई जति दुःख भए पनि हामी सबै सुखले नै हुर्कियौं, दुःख केलाई भन्छन् थाहै भएन।
जब आमाको सुखका दिन आउला भनेर औँला भाँच्ने समय आयो अनि फेरि छोराहरू धुमधामसँग बिहे गरेर आमाको थाप्लोमा ऋणको गह्रौं भारी बोकाएर बुहारी लिएर हिँडें। आफ्नो भविष्य बनाउन भन्दै घर बाहिर बस्न थाले।
छोरीहरू ज्वाइँका घर सम्हाल्नतिर तल्लिन, आमाको घर दुःख र व्यवहारको पाहुना जस्तो मात्रै भइयो। आमाको काँधमा अब समाज, जनता र छोराछोरीको भविष्यको लागि खर्चिएको ऋण, अनुभव र पसिनाले खिएको बुढो हाड मात्रै बाँकी रह्यो।
तैपनि कहिलेकाहीँ आमाको घर जाँदा कहिल्यै यति ऋण छ कसरी तिरौं भन्ने चिन्ताको एउटा धर्कोसम्म नदेखाई हामीलाई खुवाइपियाई गरेरै पठाउनु भयो। थाकेको, हारेको, सकिनँ अब भनेर हारगुहार गरेको कहिल्यै देखिएन।
त्यसैले हो कि आजसम्म उहाँले सारा जिम्मेवारी म एक्लैले पूरा गरें, अब म विश्राम लिन्छु भनेर थकाइ मारेको वा लखतरान भएर सुस्केरा हालेको मलाई थाहै छैन।
आफूले चाहेजस्तो संस्कारी, परिवर्तित छोराछोरी र समाज बनाउन जीवनभरको आमाका संघर्षले आज पनि बाटो नछोडेको देख्दा म सधैं अचम्मित हुन्छु। छक्क पर्छु। अनि सोच्छु यहाँको संघर्ष, दौडधूप, सदाको हतारो, एक छाक खाना पनि आरामले गाँसै नटिपी दौडिनुको स्वरुप आज कस्तो छ होला? रुपरंग कसरी बदलेको होला?
सधैं तपाईं धुलो र पसिना पुछ्दै दौडने ती बाटाघाटा, गल्ली-गल्छेडा, चोक-चौतारीहरूले यतिका वर्षसम्म तपाईंलाई के भनेर चिन्छन् होला? कि चिन्दैनन् होला त आमा? कि ती सडकका धुलोका कण-कण, यता र उता बजारिरहने ठूलासाना ढुंगामाटो, गिटीबालुवा, सिमेन्ट-पानीले पनि नतमस्त भएर सलाम गर्छन् होला, तपाईंको सम्मानमा शिर निहुर्याएर। पक्कै प्रणाम त गर्छन् होला तर तपाईं उही सधैंझैं हतारोमा दौडिरहँदा नदेखेरै बाटो त काट्नुहुन्न नि?
आज पनि म आमाकहाँ जाँदा सानी छँदा आमालाई जुन हतारोमा देख्थें बुढी भइसक्नु भयो। चाउरी परेको अनुहार छ। तैपनि हँसिलो, उज्यालो र राम्रैसँग पूरै फुलेको कपाल फुङ्ग उडाएर पनि उस्तै उर्जा, उही जोश र त्यही जाँगरमा दौडिरहेको देख्छु।
सोच्छु, हामी कति भाग्यमानी यस्ती देवी जस्ती आमाका सन्तान! तर आमाको दुःख, दौडधूप र जिम्मेवारीले किचिएको बुढो हाड नझुक्नलाई बल गरिरहेको काँध हेर्दा दुःख लाग्छ। भित्रैदेखि साह्रै माया लागेर आउँछ।
भयो आमा अब तपाईं धेरै थाक्नुभयो, अब पालो हाम्रो भनौं र आमालाई अंगालोमा बेस्सरी बेरेर डाँको छोडेर रोउँ जस्तो हुन्छ। फेरि रोकिन्छु उहाँका नथाकेका आँखा अनि नहारेका हड्डीहरू देख्दा।
अनि सोच्छु, मैले कमजोर बनेर आमा अगाडि रोइदिँदा उहाँको उर्जाशील शरीर एक्कासी लखतरान पो हुने हो कि? उहाँको त्यो यो उमेरको जोश जागरमा निराशाको खिया पो देखिने हो कि? अनि उहाँको आजसम्म नदेखेको रिस पो देख्नुपर्ने हो कि?
मेरा छोराछोरीमा मैले दिएको हिम्मत, आँट र कहिल्यै नथाक्ने जाँगरको संस्कार कसरी यति कमजोर भयो? कसले रुन सिकायो भनेर उल्टै खप्की खानु पर्ने हो कि भन्ने डरले म आज पनि उहाँको अगाडि नतमस्तक भएर आत्मादेखि गर्वले फुली श्रद्धाले झुकेको मन शिर ठाडो पारेर बसिरहन्छु।
जिन्दगीभर आमाले हाम्रो र समाजको लागि गरेको योगदानको प्रतिफल के शून्य मात्रै हो त? तर पनि खै थाकेको हारेको अनुहार कहाँ लुकाएर हिँड्नु हुन्छ? आमा कताबाट ल्याउनु हुन्छ मुस्कुराउने साहस? कसरी आँउछ त्यो दौडिरहने तागत?
पहिले सानी हुँदा आमासँगै सधैं हुन नपाएकोमा दुःखी म आज आमाको लागि चाहे जति गर्न नपाएकोमा पनि उत्तिकै दुःखी नै छु। आमा अहिले पनि पहिले जस्तै सुन्दर, शालिन र मौनताको प्रतिमूर्ति, हँसिली खुसिली राम्री देवी नै देखिनु हुन्छ।
सलाम छ मेरी आमालाई, कोटीकोटी नमन छ। प्यारी आमा, हजुरको ऋण यो जुनीमा त के अरु सात जुनी थपिए पनि हामी छोराछोरीले तिर्न सकिँदैन। तपाईंको महानतालाई सलाम आमा। तपाईंले निःस्वार्थ प्रेम, निश्चल र निष्कपट लगन हामी छोराछोरी, समाज र जनताका लागि आज पनि उही त्याग र बलिदानले तपाईंप्रति अरु केही गर्न नसकेता पनि गर्व गर्न सिकाएको छ आमा।
तपाईंको लागि केही गर्न नसके पनि तपाईंजस्तै बन्ने प्रयासमा छु तर सक्छु सक्दिनँ! तपाईंमा जति आँट, हिम्मत, साहस र धैर्यता हामीमा कहाँबाट ल्याउनु? अब तपाईंले विश्राम लिन पाएको चाँडै देख्न पाउँ र सब छोडी घरमै छु छोरी भनेर मुस्कुराएको दिन देख्न पाउँ।
सवालहरू धेरै छन् आमा। तर जवाफ तपाईंको मुस्कुराहट बाहेक केही पाइने छैन थाहा छ तर अबको भेटमा प्रश्न पक्कै गर्छु है आमा।
तपाईंले चाहे जस्ता तपाईंको छोराछोरी अनि समाज र जनता भए कि भएनन्?
तपाईंले गरेको संघर्षको स्वरुप कस्तो भयो?
र, तपाईं हामीसंग खुसी हुनु भएको छ कि छैन आमा?
हो, हामी छोराछोरीहरू आमाले चाहे जस्ता पक्कै भइयो होला तर आमाका लागि कहीँकतै पनि हुन सकिएन सायद। जवाफ म आफैंलाई थाहा छ तर म तपाईंकै उत्तरको प्रतीक्षामा छु आमा।