ए मनचरी,
वर्षौंअघि तिमीले छाडेर गएपछि गर्दागर्दैको बाँकी सम्बोधन गर्दैछु। आज खाँदाखाँदैको अन्तिम टुक्रो रोटी भुइँमा झरेपछि, हिँड्दाहिँड्दैको बाटो टुंगिएपछि, तर्दातर्दैको पुल भत्किएपछि यो भौतिक जीवनको अन्तिम श्वास लिनुअघि तिमीलाई बाँकी सम्बोधन पूरा गर्दैछु। अपेक्षा छ तिमीले यो सम्बोधन स्वीकार्छौ।
वीर अस्पताल, बेड नम्बर १२२। यता एउटा आकृति पुलुक्क हेर्छ। उता अर्को मानवाकृति पुलुक्क हेर्छ। दुवै पल्टिएका निरीह प्राणी छन्। मानौं ती दुवै आकृति अनन्त यात्राको तयारीमा छन्।
जीवनभर बुझ्ने असफल प्रयास गरेको एउटै आदर्श एउटै मान्यतामा यतिबेला पनि म अल्झिरहेको छु कि- जे भयो राम्रो भयो, जे हुन्छ राम्रोको लागि हुन्छ। मैले यो भनाइ बुझेर पनि बुझ्न सकेको छैन। तर यदि यो भनाइ सत्य हो भने अस्पतालको यो मृत्युशय्याको यो भेट पनि राम्रै भयो र राम्रैका लागि हुँदैछ।
प्रिय मनचरी, म तिमीजस्तै एक आकृति मात्रै छु। बोल्न सक्दिनँ, शरीरले साथ दिदैनँ तर यतिका वर्षपछि मृत्युशय्यामै सही, कम्तीमा हाम्रो भेट त भएको छ। तिमीलाई तिम्रो जन्मगतेकै नम्बरको बेडमा भेट्टाएको छु र तिमीले मलाई पनि। अझ त्यो पनि जीवनका सारा उपलब्धिसहित।
‘उपलब्धि!’ यो शब्दले नझस्क तिमी। यहाँ मैले भोगिरहेको दिग्दारी र पीडा अनि तिमीले एकपटक मात्रै भए पनि आफ्ना सन्ततिको मुख हेर्ने र थर्थराएका हातहरूले उनीहरूका हात सुमसुम्याउने यो घिड्घिडो हाम्रो उपलब्धि हो, जीवनभरको कमाइ हो। यो हाम्रो जीवनफल, कर्मफल हो। हिजोको हाम्रो निर्णयको परिणाम, कर्मको प्रतिफल हो। यसलाई हामीले स्वीकार्नै पर्छ।
मलाई थाहा छ यो हाम्रो अन्तिम भेट हो र अब पनि छुट्टिनै पर्छ। जसरी वर्षौं पहिले प्राथमिक शिक्षालयमा भेटिएका थियौँ र माध्यमिक शिक्षालयबाट छुट्टिएका थियौँ।
सहरको रहर बोकेर उच्च शिक्षाको कामनाको तेल हालेर उज्ज्वल भविष्यको सपनाको गाडीमा तिम्रा पिताश्रीले पैसाको टायरभित्र एक-एक श्वासले हावा भरेर तिमीले मभन्दा पृथक यात्रा सुरु गर्यौ। बाँकी अगाडिका घुमाउरा मोडहरू, हिलाम्मे खाल्डाखुल्डी बाटाहरू, जिन्दगीका गल्ली-गल्छेडा र खोँचहरू, भञ्ज्याङहरू, जीवनपहाडका उकालाका उत्कट उत्कर्षहरू र ओरालाका अनगिन्ती अवरोहहरूमा कसरी निर्णय गर्यौ र अवतरण गर्यौ, त्यो तिमीलाई नै थाहा छ।
अभावका हुलहज्जतहरूलाई घर बनाएर, दबाबका जब्बर जत्थाहरूलाई पहिरिएर, प्रभावका पहाडी प्रवाह बाढीहरूमा भोकहरू खाएर, प्यासहरू पिएर, खडेरीका ताँतीहरूमा मौलाएर, गरिबीका गह्रुंगा गाँठाहरूसँग पौठेजोरी खेल्दै सिङ्गै तारामण्डलको छानो भएको धर्तीमा सुतेर भीमकाय गगन ओढेर आलीसान जीवन यहाँसम्म डोर्याएको मेरो कथा सुनाएर अहिले तिमीलाई दिक्क लाउन मन छैन।
तिम्रो त्यो असमानता र हैसियतवाला तिम्रो पूरानो प्रश्नको उत्तर अहिले दिएर तिमीलाई दुखी देख्न सक्दिनँ। किनकि तिमीलाई थाहा छ यतिबेला मृत्युशय्यामा तिम्रो र मेरो हैसियत समान छ। भलै हिजो तिम्रो नामको प्रसिद्धि थियो, आज पनि तिमीसँग अर्बौंको महल, गाडी, भौतिक सम्पत्ति छ, सन्तति विदेश छन्- छोरो अमेरिका होला, छोरी युरोपमा जागिरे होली।
तर खै! तिमीलाई यतिबेला तातोपानी दिनेसम्म कोही छैन। यसबेला तिम्रो सन्तति, सम्पत्ति, नामको 'खौफ' को के काम? के अर्थ? तिमीलाई तिनको के महत्त्व? अर्बौं सम्पत्तिले तिमीलाई बचाउन सक्दैन, जाँदा सँगै लग्न सक्दैनौ, बैंकमा थुप्रिएको रकम तिम्रो लाठी बन्न सक्दैन।
मेरो पनि हालत उस्तै हो। हिजोसम्म सम्पत्ति थियो, सन्तति थिए तर आज छैनन्। कम्तीमा मेरा लागि छैनन्। डाक्टर सुमन जसको नाम मात्रैले पनि लाखौंको शिर श्रद्धाले झुक्छ। तर यदि उसकै पिता मृत्युशय्यामा छट्पटाइरहँदा उसलाई पिताका लागि समय छैन, फुर्सद छैन भने त्यो सन्तति भएको के अर्थ? के काम? यसैले आज तिम्रो र मेरो अवस्था समान छ।
हामीले फरक-फरक जीवन बाँच्यौं, भिन्न तरिकाले जीवन भोग्यौं तर उहीँ एउटै गल्ती गर्यौं। शिक्षा लियौं, शिक्षित भयौं तर संस्कार सिकेनौं, भयौं पङ्गु। सन्ततिलाई शिक्षा दियौं, धन दियौं तर संस्कार दिएनौं। जीवनमा शिक्षाभन्दा ठूलो त संस्कार पो रहेछ त! बल्ल बुझ्यौं, धेरै ढिलो भइसक्यो।
इष्ट इन्डिया कम्पनीलाई सोझा, इमान्दार, तर्कहीन, जे अह्रायो त्यही गर्ने बुद्धु कर्मचारी र नोकर चाहिएको थियो। तर पूर्विय दर्शन र गुरुकुलीय शिक्षा प्रणालीका कारण भारतीय नागरिक उनीहरूले खोजेभन्दा विपरीत थिए। संस्कृत र गुरुकुलीय प्रणाली ध्वस्त नपारेसम्म साम्राज्य विस्तारको सम्भावना शून्य थियो। यसैले इष्ट इन्डिया कम्पनीले आफ्नो अनुकूल शिक्षा प्रणाली लागू गर्यो र भारतलाई खोक्रो बनाइयो।
तर्कहीन, बुद्धिहीन र घोकन्तेलाई सम्मानित गरियो तथा क्लर्क, खरदार, सुब्बा जस्ता पदमा कर्मचारीको रुपमा राखियो। जसले गर्दा विश्वको ज्ञानगञ्ज, विश्वगुरु पूरा भारतवर्ष अधोगतिमा गयो। यसैको प्रभाव स्वरुप नेपालमा आज उप्रान्त यही घोकन्ते शिक्षा प्रणालीको मोलमोलाइ छ। ऊबेला नैतिक शिक्षा, संस्कृत तथा पूर्वीय दर्शनको पठनपाठन अमुक समूहद्वारा मुलुकभर वर्जित गरियो। आज पर्यन्त यो अथाह ज्ञान सागर उपर अघोषित बन्देज छ।
शिक्षा सम्बद्ध सबै सरोकारित पक्षहरूलाई मृत्युशय्याबाट मेरो प्रश्न- ‘आधुनिक शिक्षा प्रणालीको मुख्य उद्देश्य के हो? आफ्नो भाषा, संस्कार, संस्कृति र परम्परालाई लात मारेको छ। सदाचारिता र नैतिकता भन्ने छँदै छैन। चरित्रता विहीन, नैतिकताहीन, स्वार्थी शिक्षा प्रणालीले हामीलाई कता डोर्याउँदैछ?
हाम्रा मौलिक परम्परा, भाषा, संस्कृति र मान्यताहरू, तिनका धरोहरहरू आधुनिकताको नाममा ध्वस्त पारिँदैछन्। बढ्दो मानसिक अपाङ्गता, भ्रष्टाचार, बेरोजगारी, सामाजिक विभेद, वर्गीय खाडल, श्रोत साधनको असमान वितरणले समाज ध्वस्त हुँदैछ। यसको मुख्य जिम्मेवार आधुनिक शिक्षा प्रणाली नै हो। यदि भ्रष्टाचार मात्रै न्यूनीकरण गर्न सकेमा पनि श्रोतको असमान वितरण र वर्गीय खाडल घट्छ र रोजगारीका अवसर बढ्छन् र अनेक बहानामा विदेशिनु पर्ने कारण कम हुन्छ।
निजीदेखि सार्वजनिक प्रशासनमा अधिकांश (सबै त होइन) टिमुर्केका भ्रष्ट कर्मचारी तथा सरोकारवाला छन्। शिक्षा-श्वास्थ्य जस्तो विशुद्ध सेवामूलक क्षेत्रमा व्यापारीकरण भएको छ। उदाहरण मैले भनिरहन नपर्ला, शैक्षिक सत्र सुरु भइरहँदा निजी विद्यालयको लुटतन्त्र हेरे हुन्छ। निजी अस्पतालको दादागिरी हेरे हुन्छ।
जहाँ गुणस्तरीयता नाममा व्यापार छ, सबै त नभनौं अधिकांश अवस्थामा सन्ततिलाई ट्यालेन्ट बनाउने नाममा होस्टल राख्ने र बोर्डिङ पठाउने देखासिखीले शिक्षाको नाममा आफ्नो भाषा, संस्कृति, संस्कार र परम्परा भुलेका छन् र हासिल गरेका छन् जम्मा खराब संस्कार, स्वार्थ, झुट र लाखौं खर्चको भौचर- प्रमाणपत्रको खोस्टो।
उच्च शिक्षाको नाममा पनि उस्तै बिजोग छ अदूरदर्शी पङ्गु शिक्षा प्रणालीका कारण पढाइ पूरा गरेका लाखौं युवाहरू बेरोजगार छन्। दुई छाक खानाको लागि पराई भूमिमा जीवन बेच्न बाध्य छन्, गुलाम गर्न विवश छन्। प्रतिभा पलायनको डरलाग्दो अवस्था छ। सुसंस्कृत भएर पनि बाध्यताको कसिमा छन्।
उच्च शिक्षाको नाममा सन्ततिलाई विदेश पठाएर नाक फुलाउनेहरूको हालत पनि उस्तै छ। उनीहरू जन्मभूमि फर्कन चाहँदैनन्, मातृ र मातृभूमि भुलेका छन्। सहर या त परायाभूमिमा सन्तति हुँदा एक्ला बाआमाले कति कष्टप्रद समय कसरी बिताएका छन् भन्ने प्रमाण प्रिय मनचरी तिमी आफैं छौ र म पनि छु।
यसैले मेरो यो अन्तिम चाहना छ कि, यदि उन्नत र सु-संस्कृत समाज बनाउने हो भने हामीले हाम्रो अस्तित्व, सभ्यता जोगाउने हो भने, सन्ततिलाई हात समातेर तातेताते गर्न सिकाए जसरी नै बुढेसकालमा सन्ततिले हात समाउन् वा बाआमाको ऋण तिर्न सकियोस् भन्ने लाग्छ भने, हामीले हाम्रो संस्कृति, परम्परा जोगाउनु पर्छ।
हामीले तत्कालै हाम्रो बुङ्गो र अदूरदर्शी शिक्षा प्रणाली परिवर्तन गर्न आवश्यक छ। जहाँ हाम्रा सन्ततिले कसरी पैसा कमाउने, कसरी जीवन निर्वाह गर्ने समस्या होइन कसरी खुसी कमाउने, सम्बन्ध जोगाउने र उन्नत समाज बनाउने सिकून्।
स्वार्थ छलकपट र हठभन्दा पनि परिवारसँगै रहेर इमान्दारिता, सदाचारिता, मानवता, सभ्यता, परोपकार र आउँदो सन्ततिलाई उज्ज्वल सभ्यताका साँझेदार कसरी बनाउने भन्ने सिकून्। आधुनिक विज्ञान र अध्यात्म विज्ञानलाई सँगसँगै लिएर अघि बढ्न सिकून्।
अँ त मनचरी, गनथन गर्दागर्दै निकैबेर भएछ। थर्थराएका हातहरू, बर्बराएका आँखा र लर्खराएको मस्तिष्कको उपज यो गनगन दिक्कलाग्दो भयो होला। वर्षौंपछि बल्ल भेटेको बोल्न त कति मन छ कति। तर के गर्ने? बोल्न गाह्रो भइरहेको छ।
ल त अबको बाँकी भेट सायदै परलोकमा होला, नहोला! अतः अहिलेलाई यो जीवनकालबाट अस्तु।