त्यो सोमबार पनि अरू दिनझैँ थियो। टेक कम्पनीमा शनिबार र आइतबार बिदा हुने, दुई दिनको बिदापछि सधैँ जस्तै म ९ बजे अफिस पुगेँ। सधैँझैँ अफिस पुगेर आफ्नो स्पेस सेटअप गरेँ। म बानेश्वरस्थित टेक्स्पेश प्रालिमा सिनियर डेभ्लपरको रूपमा कार्यरत थिएँ।
एचआरद्वारा तीन जना नयाँ इन्टर्नहरू आजदेखि अफिसमा आबद्ध हुँदै गरेकाले मिटिङ रुममा परिचयात्मक कार्यक्रममा उपस्थित हुन निमन्त्रणा गरियो। सबै जना भेला भइसकेका थियौँ। म ल्यापटप हेर्दै बसिरहेको थिएँ। इन्टर्नहरूलाई रिसेप्सनबाट मिटिङ रुममा ल्याइयो। म अझै ल्यापटपमै केन्द्रित थिएँ किनभने इन्टर्नहरू आउने–जाने क्रम चलिरहन्थ्यो।
त्यसै क्रममा इन्टर्नहरूले परिचय दिन थाले। पहिलो र दोस्रोको पालो सकियो अनि तेस्रो केटी बोली, ‘हाइ, आइ एम स्वान। मेरो घर पोखरा, मैले हालै पिएन क्याम्पस पोखराबाट बिएससी सिएसआइटी विषयमा ब्याचलर उत्तीर्ण गरेको छु।’
अघिसम्म ल्यापटपमा गहिरिएर बसेको म, त्यो आवाजले एकाएक झस्किएँ। त्यो आवाजले मेरा भूतपूर्व स्मृतिका सबै कमिट फाइल्स एकैचोटि अनलक गरिदियो। मेरो सिस्टमको क्याचमा उसको नाम पहिल्यै लोडेड थियो। एकैछिन उसैलाई हेरेँ। हो, त्यो स्वान नै थिई। मेरी स्वान।
एक समय थियो, जब हाम्रो दिनहरू प्रेमले भरिएका थिए। म र स्वान एउटै क्याम्पसका विद्यार्थी थियौँ, आइटी संकायमा। हाम्रो पहिलो भेट कलेज जीवनको दोस्रो वर्षतिर भयो। म बिरौटोमा बस्थेँ, ऊ रत्नचोक। कलेज आउँदा–जाँदाको क्रममा हाम्रो पहिलो भेट बसभित्र भयो। बिरौटोबाट बगरतर्फ जाँदै गरेको बस रत्न चोक पुग्दासम्म सबै सिट भरिइसकेको थियो। म बसेको सिट मात्र खाली थियो।
ऊ आएर सोधी, ‘यहाँ बसौँ है?’
ओहो! कस्तो मिठो आवाज, कति शालीन केटी! म कसरी नाइँ भन्न सक्थेँ र? मैले मुस्कुराउँदै भनेँ, ‘हुन्छ नि।’
दुवै जना केही समय चुपचाप थियौँ। त्यसपछि ऊ फेरि बोली, ‘कहिलेकाहीँ त बस कत्ति प्याक हुन्छ है!’
मैले हाँस्दै भनेँ, ‘कहिलेकाहीँ यस्तै हो।’
बस सिर्जना चोक पार गरिसकेको थियो, उसले फेरि सोधी- ‘हजुर पनि पिएनमा पढ्नुहुन्छ?’
‘हो,’ मैले जवाफ दिएँ।
‘कुन विषय?’ उसले सोधी।
‘बिएससी सिएसआइटी, अहिले पाँचौँ सेमेस्टर। अनि तिमी?’
‘म पनि बिएससी सिएसआइटी, अहिले तेस्रो सेमेस्टर,’ उसले भनी।
अब त क्याम्पस मात्र होइन, भवन पनि एउटै भयो। हामी सँगै कलेज गयौँ। उसको क्लास दोस्रो तलामा पर्थ्यो, मेरो तेस्रो तलामा। भोलिपल्ट पनि हामी बसमै भेट भयौँ, त्यो दिन हामी सामाजिक सञ्जालमा पनि जोडियौँ। त्यसपछि हाम्रो भौतिक भेट नभए पनि अनलाइन कुराकानी बाक्लिँदै गयो।
एक दिन मैले उसलाई कफी पिउन जान अफर गरेँ। उसले सहजै 'हुन्छ' भनी। हाम्रो पहिलो कफी डेट रत्न चोकको हिमालयन जाभामा भयो। उसले ब्ल्याक कफी अर्डर गरी, मैले क्यापाचिनो। कफीको चुस्कीसँगै हामीले एक-अर्काको धेरै कुरा गर्यौँ।
मलाई त्यो क्षण अत्यन्त आत्मीय लाग्यो। ऊ बोलिरहेकी हुन्थी, म सुनिरहन्थेँ। उसको आवाज र मुस्कानमा हराइरहन्थेँ। हिमालयन जाभाबाट सुरु भएको हाम्रो सम्बन्ध अझै प्रगाढ हुँदै गयो। ३ वटा पिरियड पढेर बाँकी २ पिरियड हाँपेर हामी क्याम्पस पछाडिको सेती नदी डिलतिर जान्थ्यौँ। त्यहाँ बसेर माया पिरतीका कुरा गरिन्थ्यो। लाज मानेर पनि हामी आफैँमा हराउँथ्यौँ। समय बितेको पत्तै हुन्थेन। क्याम्पस पछाडिको सेती नदी डिल, क्याम्पस गेटको नेवारी खाजा घर र नदीपुरको कटिङ टी हाम्रो माया मिसाउने जक्सन बन्न थाले। ती सबै ठाउँहरू हाम्रो प्रेमको साक्षी बने।
एक साँझ हामी फेवातालको किनारमै बसेका थियौँ, खुट्टा पानीमा डुबाएर। मैले उसको हात समाउँदै भनेँ, ‘हेर न, हाम्रो सम्बन्ध पनि यो तालको गहिराइभन्दा कम छैन है?’
उसले हल्का मुस्कान दिई तर केही बोलिन। उसको त्यो मौनताले मलाई अलिकति निराश बनायो। मैले फेरि सोधेँ- ‘के सोच्दै छौ?’
ऊ बिस्तारै तालतर्फ हेर्दै बोली, ‘कहिलेकाहीँ डर लाग्छ यदि हामी यत्तिकै गहिराइमा रमाउन थाल्यौँ भने कतै डुब्छौँ कि।’
मैले उसको हात समातेर भनेँ, ‘डुबेछौँ भने पनि सँगै डुबौँला नि एक्लै होइन।’
त्यो बेला उसले गहिरो नजरले मलाई हेरी, केही नबोली टाउको मेरो धाकमा अड्याई। ताल किनारको चिसो हावाले झन् हाम्रो दूरीलाई नजिक ल्याउँदै थियो। अस्ताउन लागेको घामको छायाले ताललाई छोप्दै गर्दा ऊ मेरो काँधमा निदाएकी थिई, म चुपचाप उसको कपालमा हात सुमसुम्याउँदै थिएँ। त्यो पल शान्त थियो तर मनभित्र थोरै तुफानहरू थिए।
ती दिनहरूमा कोडसँगै कफी पनि कोडको भाग जस्तै बनिसकेको थियो। हामीले सँगै गरेको डिबगिङ नै जीवन जस्तो भयो। उसले ‘युआई’ बनाउँथी, म लोजिक। उसले कलर कम्बिनेसन मिलाउँथी, म ‘फङ्सनालिटी’। हामी एउटै प्रोजेक्ट जस्तै थियौँ। साँझमा सराङकोटको गोल्डेन आवर सँगै हामी घाम अस्ताउने क्षणमा एकअर्कालाई हेर्दै बस्थ्यौँ।
म फोटो खिच्न खोज्थेँ, उसले भने ‘क्यामेराभन्दा पनि अहिलेको पल महसुस गर न’ भन्दै मलाई सम्झाउँथी। ती पलहरूमा ऊ मलाई यति नजिक लाग्थी, मानौँ समय नै रोकिएको जस्तो। हामीले पोखराको कुनै ठाउँ बाँकी राखेनौँ, जताततै घुम्यौँ, एउटा ठाउँ खास थियो हिमालयन जाभा रत्न चोक। त्यो हाम्रो भावनात्मक केन्द्र थियो। उही टेबल, उही कफी, उसको ब्ल्याक अनि मेरो क्यापाचिनो।
एक दिन कलेजमा कार्यक्रम थियो। हामी दुवैको १ पिरियडभन्दा भएन। उसलाई फोन गरेँ, ‘आज भीडभन्दा टाढा, कतै शान्त ठाउँ जाऊँ न।’
ऊ खुसी हुँदै भनी, ‘पुम्दीकोट जाऊँ है, मन शिवजीतिर तानिएको छ।’
क्याम्पस गेटबाट हामी बाइकमा निस्क्यौँ। उसले हात मेरो कम्मरमा राखी, सुगन्ध उसैको, समय पनि त्यही हराइरहेको थियो। शिवजीको मूर्ति अगाडि पुग्दा ऊ केही क्षण मौन भएर आँखा चिम्लेर प्रार्थना गर्न थाली। म चुपचाप उसको अनुहार हेरिरहेको थिएँ, जहाँ गहिरो माया र एक किसिमको शान्ति देखिन्थ्यो।
मैले जिस्कँदै सोधेँ, ‘के माग्दै छ्यौ यति भावुक भएर?’
ऊ हाँस्दै भनी, ‘हाम्रो माया सधैँ आज जस्तै रहोस् भनेर।’
मैले हाँस्दै भनेँ, ‘शिवजीसँग म धेरै रिसाउँछु, साना-साना कुरामा झगडा गर्छु, यो बानी हटाइदिनु न भनेर किन नमागेको नि।’
ऊ चुप लागी अनि हल्का मुख खुम्चाएर भनी, ‘रिसाउँछु, झगडा गर्छु तर फर्किन जान्छु, तिमी छौ भनेर त रिसाउँछु नि, तिमीले फकाउँछौ भनेर त हो। तर तिमी फकाउन नआएर टाढा भयौ भने, म त आफैँलाई रोक्न सक्दिनँ।’
त्यो एक वाक्यमा रिस, भरोसा र अव्यक्त माया लुकेको थियो। मैले उसको हात समाएँ। शिवजीको मौन मूर्ति साक्षी थियो, हामी शब्द बिना नै एकअर्कासँग गहिरिँदै थियौँ। त्यो दिन पुम्दीकोट हाम्रो प्रेमको अर्को अध्याय बनेको थियो, शान्त, गहिरो र अविस्मरणीय।
समय राम्रै चलिरहेको थियो। कलेजभित्र अनि बाहिर धेरै आइटी सम्बन्धी कार्यक्रम हामीले सँगै सहभागी जनाउँथ्यौँ तर कहिलेकाहीँ फ्रेमवर्क मिसम्याच हुन्छ, त्यस्तै हाम्रो सम्बन्धमा पनि ‘टाइमिङ कन्फ्लिक्ट’ आयो। उसले समर्पणको कुरा उठाउँथी, म करियरको। म भविष्य सुरक्षित गर्न चाहन्थेँ, ऊ वर्तमान सम्हाल्न। जब प्रोजेक्ट चित्त बुझ्दैन, तब त्यहाँको डिजाइन दोष लगाइन्छ। यही दोषको खेलले ‘कोडिङ’ रोकायो अनि हाम्रो सम्बन्ध पनि।
धेरै दिन भइसकेको थियो राम्रोसँग कुराकानी नभएको। मेरो ब्याज र कलेजको अन्तिम सेमेस्टरको नि अन्तिम महिना चलिरहेको थियो। उसले फोन गरी, उठाएँ।
ऊ बोली- ‘बसुन्धारा पार्क आउनु न, यो हाम्रो सम्बन्धको अन्तिम भेट हुनेछ।’
म झस्किएँ। उसले फोनमा भनेको कुरा सम्झँदै म बसुन्धारा पार्क पुगेँ। ऊ त्यहाँ आइसकेकी थिई। थोरै अघि तालको छेउमा गयौँ। स्वान एकोहोरो बोलिरहेकी थिई। म त्यही तालको छालमा हामीले सँगै बिताएका पल, सपनाहरू सम्झँदै हराइरहेको थिएँ। आँखाभरि आँसु भए पनि उसको अगाडि ठिक भएको देखाउँथेँ।
त्यो दिन ऊ गई, एक पटक पनि फर्केर हेरिन। मन भारी बनाएर रुम फर्किँदै थिएँ। बैदाम चौकी र जिल्ला अदालत अगाडि आउँदा उसको दिलको हिरासत भित्र एउटा फैसला नहुन्जेल आजसम्म म्याद थप्दै राखेकी रहेछन् भन्ने लाग्यो। त्यो रात खाना बनाउन मन लागेन। त्यही बिच मोबाइलमा नोटिफिकेसन बज्यो। हेरेँ, मेल आएको रहेछ स्वानबाट। ओपन गरेँ।
‘तिमीले दिएको माया, समय र निःस्वार्थ समर्पण म सधैँ कदर गर्छु। त्यो हरेक पल साँचो थियो, झूट होइन। तर कहिलेकाहीँ जीवनले हामीलाई त्यो बाटोमा लैजान्छ जहाँ भावना र यथार्थ एकै हुँदैनन्। मैले आफैलाई पनि बुझ्न नसकेका धेरै कुरा छन् र त्यो द्विविधामा म गलत निर्णयहरूमा पुगेँ। त्यसले तिमीलाई तोड्यो भन्ने म जान्दछु। त्योभन्दा पहिले म आफूलाई हराएको महसुस गरिरहेकी थिएँ र तिमीले दिएको प्रेमप्रति पूर्ण कदर गर्न नसकेको महसुस भइरहेको छ। तिमीले भनेजस्तै; माया केवल शब्द होइन, त्यसमा लडाइँ, समर्पण र निरन्तरता चाहिन्छ। तिमी लड्दै थियौँ, म भित्रभित्रै पछि हट्दै थिएँ, जुन अनुचित थियो।
म तिमीलाई फेरि पर्खन भन्दिनँ। म तिमीलाई बाँध्न पनि चाहन्नँ। तर एउटा कुरा चाहिँ भन्छु- जुन शक्ति, इमानदारी र आत्मसम्मान तिमीले देखायौ, त्यो दुर्लभ छ। भविष्यमा जहाँ पुग्दछौ, त्यो आत्मा कहिल्यै नहराओस्। जीवनले दुवैलाई सिकाइरहेको छ। म पनि आफैलाई बुझ्न सिक्दै छु, सुधार्दै छु। सायद एक दिन फेरि बाटो जुरोस्, फरक मानिस भएर। त्यति बेला म खुसी हुनेछु, तिमीलाई अघि बढेको र सम्पूर्ण भएको देखेर।
शुभकामना, सदैव।’
आँखाबाट आँसु झरेको पत्तो पाइनँ। मन भारी भयो। झ्याल बाहिर पानी परिरहेको थियो, जस्तो मेरो मन। मेल पठाएपछि उसले जहाँतहीँ ब्लक गरिछे। म त्यही मेल हेरेर आफैँमा हराएँ। भएको के हो मैले मेसो पाइनँ।
ब्याचलर सकिएपछि म काठमाडौँ आएँ। नयाँ सहर, नयाँ सपना। कलंकीमा डेरा गरेर बस्न थालेँ। एक्लो लाग्थ्यो तर कोडिङमा जिउन सिकेँ। फ्लटर, रिएक्ट, फायर बेस, साइबर सेक्युरिटी जुनसुकै क्षेत्रमा आफूलाई अपडेट गर्न थालेँ।
हामीले सँगै बनाएको एउटा टु-डु एप थियो। म ‘ब्याकेएण्ड’ ऊ ‘फ्रन्टएण्ड’। कहिलेकाहीँ त्यो कोड खोल्थेँ, देखिन्थ्यो: if (me.feels === ‘missing’ && swan.status === ‘Left’) { console.log(‘Error 404: She took the heart with her.’);}
‘विशाल सर! हेल्लो विशाल सर!’
आडमै बस्नुभएको सुनिल सरले मेरो काँधमा हातले झकझकाए, म बिउँझिए। म त पूरै विगतमा हराइरहेको रहेछु! सबै जना मिटिङ रुमबाट बाहिर निस्किरहेका थिए। इन्टर्नका लागि आएका पनि निस्किसकेका थिए।
‘अनि विशाल सर, एचआरले एक जना इन्टर्न गर्न आएकी बहिनीलाई तपाईंको प्रोजेक्टमा र एक जनालाई मेरो प्रोजेक्टमा असाइन गर्दिनु भएको छ, आफ्नो प्रोजेक्टमा सँगै राख्ने रे।’
‘ए हो र! को रहेछ मेरोमा?’ मैले सोधेँ।
स्वान पोखराबाट आएकी बहिनी हुन् सायद,’ म फेरि हराउन थालेँ। यो कस्तो संयोग!
हामी एउटै प्रोजेक्टमा असाइन भयौँ— स्मार्ट ट्राभल प्लानर। ऊ फ्रन्टएण्ड गर्थी रिएक्टमा, म ब्याकेएण्ड गर्थे नोड.जेएस र फायरबेसमा। हामी सँगै काम गर्थ्यौँ तर सन्नाटा थियो। कहिलेकाहीँ कोड कन्फ्लिक्ट हुन्थ्यो तर हामी मर्ज गर्थ्यौँ। गिटमा कन्फ्लिक्ट रिसोल्व जस्तै हाम्रो दूरी मर्ज हुँदै थियो।
त्यसको ३-४ दिनपछि अफिस सकिनै लाग्दा ऊ बोली- ‘विशाल सर, क्यान वि गो फर कफी टुँडे?’
मैले उसको आवाजमा केही फरक पाएँ, व्यावसायिकता धेरै तर उस्तै मिठास र शालीनता।
हुन्छ भनेँ अनि अफिसबाट सँगै निस्क्यौँ। उसलाई बाइक पछाडि बस्न आग्रह गरेँ र सोधेँ, ‘कहाँ जाने?’
उसले भनी, ‘ हिमालयन जाभा कलंकी।’
फेरि उही नाम तर फरक सहर अनि फरक सम्बन्ध। तर मान्छे उही। उसले उही ब्ल्याक कफी मगाइन् अनि मलाई क्यापाचिनो अर्डर गरिदिइन्।
कफीको पहिलो चुस्की लादै ऊ बोली, ‘पछिल्लो एक वर्ष कस्तो बित्यो?’
‘डिबग गर्दै बित्यो,’ मैले भनेँ, ‘तर तिमी नै नल पोइन्टर बनिरह्यौ।’
ऊ हाँसी। त्यो हाँसो पहिले जस्तो चर्को थिएन तर गहिरो थियो। कफीको त्यो चुस्कीभन्दा पनि ती शब्द गहिरा थिए।
उनी पनि कलंकीमै बस्ने रहेछिन् दिदीसँग। त्यस दिनदेखि हामी सँगै अफिस जाने आउने गर्यौँ। दिन कोडले भरिए, साँझ सम्झनाले। हामीबिच अझै सन्नाटा थियो। प्रोजेक्ट सकियो, स्मार्ट ट्राभल प्लानर बनायौँ। अफिसमा सोकेस गर्ने दिन आयो। त्यसको ‘डोमे’मा एआई आधारित स्थान सिफारिसकर्ता थियो जसले प्रयोगकर्ताको स्मृति/तस्बिरबाट विगतका स्थान सिफारिस गर्थ्यो।
जब स्क्रिनमा रिकमेन्डेसन आउँथ्यो ‘क्याम्पस सेती भ्यु पोइन्ट, फुट ट्र्याक लेकसाइड, हिमालयन जाभा रत्नचोक, सराङकोट भ्यु पोइन्ट’ अफिसका सबै साथीहरूले ताली बजाइरहेका थिए तर स्वान मेरो आँखाबाट आँसु लुकाउँदै थिई। त्यो सोकेसले हाम्रा भावनाहरू देखाइरहेको थियो।
सोकेसपछि साँझ हामी दुवैले थकित मुहारमा मुस्कान बोकेर फेरि क्याफे गयौँ। ऊ एकछिन चुप बसी अनि बोली- ‘लाइफमा कमिट गर्दा केही लाइन छुटेछन्, आज लाग्यो ती फेरि एड गर्नुपर्छ।’
उसको त्यो वाक्यपछि म चुपचाप रहेँ। कप खाली थियो, मन भरिएको। बिना शब्द उसलाई बाइकमा ड्रप गरेँ र अन्तिम मोडमा सोचेँ, सायद कमिट फेरि हुनेछ तर यसपालि कन्फ्लिक्ट 'रिसोल्व' भएर!