गहुँगोरो वर्णकी, पुक्क परेका गाला, हँसिलो अनुहार, सहयोगी भावना यस्तै कयौँ गुणले भरिपूर्ण भएकी मान्छे हो मिरा। भनिन्छ नि, जसले आफ्नो बारेमा भन्दा बढी अरूको बारेमा सोच्छ उसले ढिलो चाँडो आफै दुःख पाउँछ। हुन पनि हो, अहिलेको यो स्वार्थी संसारमा राम्रो सोचेर अघि बढ्नेकै अहित हुन्छ धेरै।
मिरा पनि यस्तै उल्झनहरूबाट ढाकिएकी थिई। कयौँ प्रयास गर्दा पनि ऊ भित्र-भित्र निसासिएकी थिई तर उसले भनोस् कसलाई? न दिनभरि अरूको भारी बोकेर लखतरान परेर आउने बालाई भन्न सक्थी न त काखामा दूधे बालक झुन्ड्याउँदै अरूको मेलामा काम गरिरहेकी आमालाई नै।
भविष्य के हो? कहाँ पुगेपछि भविष्य सुरु हुन्छ र आखिर भविष्यसम्म पुग्नलाई के गर्नुपर्छ, यस्तै शब्दहरूको अर्थ थाहा नहुँदा नहुँदै पनि मिराले डाक्टर बन्ने सपना बुनेकी थिई। तर सपना बुन्दा बुन्दै मिराका कयौँ रहरहरू यसै गए।
दिनभरि विद्यालय गएर घर फर्किँदा ऊ सधैँ उसलाई मन पर्ने शान्त ठाउँमा गएर बस्थी र आफैसँग एक्लै गुनगुनाउँदै बस्थी। के भएँ? के गरेँ? ऊ बस् आफैले आफैसँग प्रश्न गर्दै उत्तर पनि आफैँ दिँदै घर फर्किन्थी। धेरै नबोल्ने, शान्त स्वभावकी थिई मिरा तर राम्रो गर्दा गर्दै कसैले नराम्रो गरे भने ऊ चुप लागेर बस्ने मध्यकी भने थिइन।
उसलाई लाग्थ्यो, बरु मेरो खेदो खन्ने मसँग नबोलुन् तर अन्याय सहेर म बस्दिनँ। हुन नि हो, एक बारको जीवनमा सके राम्रो गर्ने र नसके अरूको कुभलो पनि नसोच्ने र आफूले पनि नसहने।
सुखभन्दा बढी दुःख सहेर हुर्किएकी थिई मिरा। त्यसैले पनि उसलाई फेसन अनुसारका कपडा, ठुला घरतिर कहिल्यै ध्यान गएनन्। बस् उसले त हरेक रात सुत्नु अघि र हरेक बिहान आँखा खुल्ने बित्तिकै आफू डाक्टर भएर अस्पतालमा बिरामीलाई जाँचेको सम्झन्थी।
उताबाट आमाले विद्यालय जान हतार भयो भनेपछि बल्ल झल्याँस्स भएर छिटो छिटो उठेर हतारिँदै भाग्दै जान्थी। मिरा यस्तै थिई, वास्तविकतामा भन्दा कल्पनामा धेरै हराउने अनि आफ्ना सपना जसरी पनि पूरा गर्छु भन्ने अठोट लिएकी।
हुने बिरुवाको चिल्लो पात भने झैँ, मिरा सानैदेखि प्रथम हुन्थी। उसका बारेमा कहिल्यै पनि विद्यालयबाट नराम्रो गुनासो गएनन् र कसैले नराम्रो भनेको पनि सुनिएन। कल्पनामा धेरै हराउने मिरा आफ्नो वास्तविकता देखेपछि त्यसै अतालिन्थी, अनेकौँ सोच्ने गर्थी अनि आफैसँग प्रश्न गर्थी- के म डाक्टर बन्छु? के मेरा बा-आमाले मलाई डाक्टर बन्ने खर्च जुटाउन सक्छन्? मेरो सपना बिपनामा परिणत त हुन्छ नि? कि म पनि अब १२ पछि अरू जसरी बिहे गरेर जानेमा पर्छु?
यस्तै कयौँ प्रश्नहरूको घेराबन्दीमा थिई मिरा। बिहानबाट बेलुकासम्म पसिना बगाएर खेतमा काम गरी जीविका टार्ने बालाई भने छोरीको सपना पूरा गर्न गाह्रै थियो। गाउँदेखि सहरसम्म पढ्नकै लागि छोरी पठाउनु पर्यो, महिनै पिच्छे खर्च भराउनु पर्यो, सधैँ एकैनास हुँदैन दुख बिमार हुँदा हेर्नै पर्यो इत्यादि यस्तै खालका गुनासा थिए मिराकी आमाको।
हेर्दा हेर्दै मिरा १२ पास पनि भई र समयसँगै उसलाई आफूमा जिम्मेवारी थपिएको महसुस भयो। उसले सानोतिनो भए पनि जागिर खान्छु भन्ने तर्फ लागी। त्यसै क्रममा एक दिन मिराका बासँग सहरबाट आएका मान्छेले छोरीको हात दिनु पर्यो भन्दै बिहेको कुरा गरे। तर उता मिरा बिचरा म त डाक्टर मिरा हो भन्दै गाउँमा हिँड्थी।
एकातिर छोरीको सपना, अर्को तिर बाबाआमा दुःख, खै के गरून्? अब बाआमा दोधारमा परे! छोरीलाई पढाउने हो भनौँ भने सुको पैसा छैन, बिहे गराइदिऊ भने उसका सपना जिउँदै मारे सरह हुन्छ। खै के गर्ने र के नगर्नेको निकै सोचाइपछि तल्ला घरे काकी पनि टुप्लुक्क आइपुग्छिन्।
काकीले आफै कुरा खोतल्नलाई ‘हैन के भयो? किन नुन खाको कुखुरा झैँ झोक्राएर बसेको? ए अँ बरु मैले गाउँमा गाइँगुइँ सुन्या थिएँ के हो हँ?’ भन्दै मिराकी आमातिर हेरेर कुरा धुत्न खोज्छिन्। अनि आफै ‘अब त बिहे गर्ने बेला भयो है नानीको पनि, जति पढ्नु पढिसकी यहाँभन्दा धेरै त पढ्न हुन्न, हामी २ पढे पनि भएकै छ, जाबो सानातिना हिसाब गर्न आइहाल्छ अरू के नै चाहियो र?’ भन्दै एकोहोरो बोलिराख्छिन्।
मिराका बालाई त्यस रात फिटिक्कै निद्रा लागेन। उनी अरू जस्ता छोरीलाई बिहे गरेर पठाइहाल्ने प्रवृत्तिका मान्छे पनि थिएनन्। सकेसम्म छोरी पढेर डाक्टर नै बनोस् भन्ने सपना उनको पनि नभएको हैन तर आर्थिक अवस्था साह्रै कमजोर भएपछि आफ्नै सपनाहरूले आफैलाई नराम्रोसँग थिच्ने रहेछन्।
त्यही बिहेको कुरा फेरि आयो। यस पटक उनीहरूले भने, ‘हामीलाई केही चाहिँदैन, नानी मात्रै भए पुग्छ। ऊ जे पढ्ने भन्छिन् हामी त्यही पढाइदिन्छौँ। बस् हामीलाई एक असल बुहारीको रूपमा छोरी चाहिएको छ।’
यस पटक यी कुराहरू मिराले पनि भित्रबाट सुन्दै थिई र उसको मनमा एउटै कुरा आयो। त्यो थियो ‘नानीले जे पढे पनि पढाइदिन्छौँ।’
के साँच्चै उनीहरूले मलाई डाक्टर पढाइदिन्छन्? मिराका मनमा यो प्रश्न यसरी दौडियो जसरी कुनै घोडा रेसमा दौडिरहेको छ। भोलि नै पल्ट मिराले आफ्ना कुरा बा-आमा माझ राखी र एकै सासमा भनी, ‘बा-आमा, यदि म डाक्टर बन्छु भने म बिहे गर्छु।’
उसका कुरा सुनेर बा-आमा दुवै जना छक्क परे। बालाई पछुतो लाग्यो कि मैले केही गर्न सकिनँ। केही दिनमा नभन्दै मिराको बिहे पनि भयो।
ठुलो गेट, अग्लो घर, गेटभित्र राखिएको गाडी, उताबाट भुकिरहेका दुई कुकुरहरू। यी सबै एकपछि अर्को गर्दै मिरा हेर्दै, सुन्दै अघि पाइला सार्दै थिई। उताबाट ‘ल छिटो आओ, आरती गरेर भित्र प्रवेश गर्न पर्छ’ भनेको आवाज आयो।
मिराले मनमनै सोची, बिहे घरमा त कति धेरै मान्छे हुन्छन्, नाच्छन्, गाउँछन् रमाइलो गर्छन् तर यहाँ त पूरै सुनसान छ।
उनीहरू घरभित्र गएँ। त्यही बेला मिराका बुढाले आफ्नी आमातिर हेर्दै ‘ल अब यति गरेपछि त खुसी हुनुभयो होला नि’ भन्दै फन्किँदै माथि गयो। तर बिचरी मिरा के भइरहेको छ केही थाहा थिएन उसलाई।
त्यस दिन उसलाई देखाइएको कोठामा ऊ सुत्न गई तर त्यहाँ उसका श्रीमान् थिएनन् । भोलिपल्टबाट उसलाई घरको काम सम्झाउन थालियो। कहाँ डाक्टर बन्ने सपना देखेर आएकी मिरा अब दिनहुँ घरको काममा व्यस्त हुन थाली। न उसले श्रीमानको माया पाई न त परिवारको कुनै आधार।
यसरी कयौँ मिराहरू सपना पूरा हुन्छ कि भन्ने आसमा फसिरहेका छन्, आफै भित्र दबिएका छन्, आफ्ना रहरहरूसँग रेटिएका छन्। फसाउने प्रवृत्ति, आर्थिक कमजोरीका कारण सहनु पर्ने पीडा, आखिर कहिलेसम्म?
उदाउँदै गरेको तेजिलो सूर्यका किरण झैँ थिई मिरा तर उसको जीवन आज कालो भएर मडारिएको आकाश जस्तै भएको छ।