पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गएको बिहीबार विराटनगर विमानस्थलमा ओर्लँदै गर्दा पत्रकारहरूले सोधेका थिए, 'तपाईंका पछिल्ला यात्राहरू धेरै चर्चामा रहन थालेका छन्, यसपटक चाहिँ के होला?'
प्रश्न सुनेर मुसुक्क हाँस्दै भण्डारीले भनेकी थिइन्, 'यसपटक झनै धेरै चर्चा हुन्छ।'
जता पुग्दा पनि क्यामरा र माइक तेर्स्याएर घेरिहाल्ने सञ्चारकर्मीहरूका अप्ठ्यारा र सजिला प्रश्न सामना गरिरहेकी भण्डारीको त्यस दिनको जबाफ व्यंग्य थियो वा आफ्नो भ्रमणले ल्याउने प्रतिक्रियाबारे संकेत थियो, त्यो उनैले जानून्!
तर यसपटक उनको ६ दिने कोशी प्रदेश बसाइका पछिल्ला तीन दिन उनकै शब्दमा भन्दा 'झनै चर्चायोग्य' रहे।
उनको कोशी भ्रमणलाई चर्चाको चुलीमा पुर्याउने काम चाहिँ प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए। उनले जेठ २५ गते आइतबार पार्टीको भ्रातृ संस्था अनेरास्ववियुको अधिवेशन उद्घाटन क्रममा भण्डारीको नाम नलिई उनीतिर निशाना साँधेर चेतावनीकै शैलीमा अभिव्यक्ति दिएका थिए।
'अर्को खेल हुन खोजेको छ यहाँ! अब फलाना आउने रे! ढिस्काना आउने रे! यस्तो, उस्तो! पार्टीमा कुनै छलफल भएको छैन। को महासचिव, को अध्यक्ष, को उपाध्यक्ष! अहिले महाधिवेशन घोषणा नै भएको छैन,' ओलीले भनेका थिए, 'महाधिवेशनमा के गर्ने सरसल्लाह भएको छैन। छलफल भएको छैन। अनि बाहिर बाहिर हल्ला चलाएर, पार्टीलाई कमजोर पार्न खोज्ने? पार्टी कार्यकर्ताको मनस्थिति बिथोल्न खोज्ने?'
माधवकुमार नेपाल, झलनाथ खनालहरू पार्टी विभाजन गरेर हिँडेपछि अध्यक्ष ओली एमालेभित्र निर्विकल्पझैं खडा थिए, अहिलेसम्म पनि छन्। यसबीच भीम रावल जस्ता कटु आलोचकहरू कारबाहीमा परेर निकालिएका छन्। धनश्याम भुसालले त्योभन्दा अगाडि नै पार्टी छाडेका छन्। पार्टीबाट निकालिने क्रम प्रदेश र जिल्लासम्मै विस्तार भइसकेको छ।
यस्तो बेला ओलीको कार्यशैलीसँग असन्तुष्ट कतिपय नेता–कार्यकर्ताले विद्या भण्डारीलाई भावी नेतृत्व भन्दै अघि सार्न सुरू गरिसकेका छन्। भण्डारी आफैमा पनि यसको तीव्र इच्छा देखिन्छ। उनको देश दौडाहा सायद त्यसैको प्रतिविम्ब हो!
भण्डारीलाई अघि सार्ने प्रयत्नप्रति आक्रोशको भावमा ओलीले कार्यकर्ताहरूलाई आह्वानै गरे, 'यस्ता दुष्प्रयासहरूलाई तपाईंहरूले सोझै इन्कार गर्नुस्।'
ओलीले यति भनेपछि भण्डारीको पूर्वी प्रदेश भ्रमणमा चर्चाको ग्राउन्ड त्यसै तयार भयो। उता काठमाडौंमा ओलीले यस्तो अभिव्यक्ति दिइरहेका बेला भण्डारी भने पूर्वमा कार्यकर्ता भेट्न व्यस्त थिइन्। अध्यक्षले आफूविरूद्ध दिएको अभिव्यक्तिप्रति उनले निकटस्थहरूसँग कुराकानी पनि गरेकी थिइन्।
पूर्व बसाइ क्रममा लगभग सँगसँगै रहेका एक एमाले नेताका अनुसार भण्डारीले ओलीको अभिव्यक्तिमा टिप्पणी गर्दै भनेकी थिइन्, 'अब मैले हिँडडुल गर्ने कि नगर्ने, कसैलाई भेट्ने कि नभेट्ने भन्ने पनि कतैबाट अनुमोदन गराउनुपर्ने भयो कि के हो?'
आफू निकटस्थसामु दिएको यस्तो प्रतिक्रिया भण्डारीले मंगलबार काठमाडौं फर्कने बेला विराटनगर विमानस्थलमा सार्वजनिक रूपमै दोहोर्याइन्।
काठमाडौं उड्नुअघि पत्रकारहरूसँग कुरा गर्दै भण्डारीले यसअघि विरलै प्रयोग गर्ने भाषा प्रयोग गरेकी थिइन्। जसरी ओलीले उनको नाम लिएका थिएनन्, भण्डारीले पनि ओलीको नाम नलिई नरम लवजमा पहिलेभन्दा कडा कुरा गरिन्।
आफू राष्ट्रपति भइसकेको र पार्टीमा लामो समय काम गरेको प्रसंग झिक्दै भण्डारीले भनिन्, 'मेरो चिनजान ठूलो छ, देशैभरिका कार्यक्रममा मलाई खोज्नुहुन्छ। मैले पनि समाजसँग साक्षात्कार गर्नुपर्यो, नयाँ पुस्ताको कुरा बुझ्नुपर्यो। त्यस हिसाबले मैले कतै जाँदा एमालेको कमिटी वा कसैसँग अनुमति लिइराख्नु पर्दैन।'
यति भन्दाभन्दै उनले ओलीको भनाइ आफूतिर लक्षित होइन होला भन्दै त्यसलाई पन्छाइन् पनि।
'एमालेका अध्यक्षले मैतिर ताकेर भन्नुभएको जस्तो लाग्दैन। किनभने, मेरो व्यक्तिगत आकांक्षा केही छैन। म पार्टीको गुटबन्दीमा पनि छैन। सधैं मूलधारमै रहेकाले अध्यक्षले मलाई भन्ने कुरै हुँदैन,' भण्डारीले भनिन्, 'अध्यक्षले बरू कार्यकर्ताहरूलाई महाधिवेशनअघि नेतृत्वको चिन्ता नगर, हामी मिलाउँछौं भन्नुभएको होला।'
उनले विराटनगरबाट ओलीलाई दिएको जबाफपछि सेतोपाटीले भण्डारीनिकट केही एमाले नेताहरूसँग कुराकानी गरेको छ।
कुनै बेला एकअर्काका ठूला र खुला सहयोगी मानिने ओली र भण्डारी आमने–सामने हुने अवस्था आइसकेको हो?
हाम्रो यो प्रश्नमा पछिल्लो समय भण्डारीनिकट रहेका एक एमाले नेताले भने, 'अहिले नै आमने–सामने हुने अवस्था आयो भन्दा हतारो होला। तर दुरी चाहिँ बढेकै हो। पहिलेजस्तो हार्दिक सम्बन्ध छैन।'
उनले अगाडि भने, 'अध्यक्ष ओली विद्या भण्डारीसँग फायर भएको स्थिति छ।'
पार्टीमा आफ्नो एकछत्र शक्ति भएको मौका छोपेर अध्यक्ष ओलीले भण्डारीलाई दुईपटक राष्ट्रपति बनाउन भूमिका खेलेको तथ्य कसैबाट छिपेको छैन। पार्टीभित्रका धेरै वरिष्ठ नेताहरूलाई पछि पार्दै भण्डारीले दुई–दुईपटक मुलुकको राष्ट्रपति बन्ने दुर्लभ अवसर पाउनुमा ओलीको सहयोगले ठूलो भूमिका खेलेको थियो।
ओलीले आफूलाई गरेको त्यही सहयोगको गुन तिर्न भण्डारीले पनि राष्ट्रपति पदको दोस्रो कार्यकालमा ठूलो बदनामी खेप्नुपर्यो।
खासगरी प्रधानमन्त्रीका रूपमा ओलीले २०७७ पुस ५ र जेठ ७ गते प्रतिनिधिसभा विघटन गर्दा भण्डारीले निःशर्त साथ दिएकी थिइन्। यो उनलाई आलोचनाको केन्द्रमा पार्ने कारण बनेको थियो।
त्यति बेला कांग्रेससहितका विपक्षी मात्र होइन, नेकपाभित्रकै माधव–प्रचण्ड समूहका नेता पनि भण्डारीलाई 'ओलीको रबरस्ट्याम्प' भएको आरोप लगाउँथे। शितल निवासमा बसेर पार्टीभित्र तीव्र गुटबन्दी गरेको आरोप पनि भण्डारीले झेलेकै हुन्। ती सबै आरोपबीच पनि भण्डारी अध्यक्ष ओलीका पक्षमा उभिइरहेकी थिइन्।
राष्ट्रपति पदबाट बाहिरिएको लामो समयसम्म 'ओली–भण्डारी एकै हुन्' भन्ने भाष्यले काम गरिरहेकै थियो। तर जब भण्डारीले एमाले अध्यक्ष बन्ने इच्छा गर्दै आफूलाई सक्रिय तुल्याउन थालिन्, त्यसले ओलीलाई संशकित पार्दै लगेको एमाले नेताहरू बताउँछन्।
'अर्को पाँच वर्ष पनि आफै अध्यक्ष बन्ने उहाँ (ओली) को इच्छा लुकेको छैन,' भण्डारीनिकट एमालेका एक पोलिटब्युरो सदस्यले भने, 'पूर्वराष्ट्रपतिको पनि त्यो तयारी र इच्छा प्रस्टै देखिइसकेको छ। त्यसैले पार्टीमा आफ्नै कुर्सी भण्डारीले ताकेको कुरा ओलीलाई मन परेको छैन।'
आफूले पार्टीभित्र आलोचना खेपेर दुई–दुई पटक राष्ट्रपति बनाएको मानिस अहिले आफ्नैविरूद्ध उभिएकोमा ओली क्रुद्ध छन्।
भण्डारीले एमालेका नेता–कार्यकर्तासँग भेटघाट गरेको, निकटस्थहरूसँगको भेटमा पार्टीबारे कुराकानी गरेको विषयलाई ओलीले सुरूमा ननिको मानेका थिएनन्। भण्डारीले शितल निवासमा हुँदै नेकपाको विवादमा मध्यस्थतामा गर्ने प्रयास गरेकी थिइन्। तर जब उनले सार्वजनिक रूपमा ओलीको स्वास्थ्य र उमेरबारे कुरा निकालिन्, त्यसपछि ओली उनीसँग 'फायर' भएको एमाले नेताहरू बताउँछन्।
'अध्यक्षज्यूले भण्डारीको घरैमा गएर अब सक्रिय राजनीतिमा आउने कुरा नगर्न सम्झाएको' भन्दै ती पोलिटब्युरो सदस्यले भने, 'त्यसपछि पनि आफ्नो स्वास्थ्य र उमेरको कुरा निकालेपछि चाहिँ अध्यक्ष उहाँसँग फायर हुनुभएको हो।'
भण्डारीसँग ओली आक्रोशित हुने निहुँ बनेको थियो, 'नेपालखबर' मा केही समयअघि प्रकाशित भण्डारीको अन्तर्वार्ता। २०८१ चैत ३१ गते सीताराम बराललाई दिएको अन्तर्वार्तामा भण्डारीले पार्टीको भावी नेतृत्व गर्ने सन्दर्भमा ओलीको उमेर र स्वास्थ्यबारे बोलेकी थिइन्।
'एमालेको भावी नेतृत्वबारे छलफल भएको मैले पनि सुनिरहेको छु। तर पार्टीको नेतृत्व चयन गर्ने मुख्य निकाय महाधिवेशन हो। महाधिवेशनले अहिलेको नेतृत्वलाई नै निरन्तरता दिनसक्छ, नयाँ नेतृत्व चयन गर्न पनि सक्छ,' भण्डारीले भनेकी थिइन्, 'अहिले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली एमालेका अध्यक्ष हुनुहुन्छ। उहाँले के सोचिरहनुभएको छ, त्यसबारे मैले कुरा गरेको छैन। तर उहाँको उमेर र कतिपय स्वास्थ्य अवस्थाका कारण उहाँलाई माया, सम्मान गर्ने नेता–कार्यकर्ताहरू अबको नेतृत्व को हुने भन्ने कुराले चिन्तित छन्। यस हिसाबले एमाले पंक्ति भावी नेतृत्वको विषयमा गम्भीर छ भन्ने मलाई लाग्छ।'
त्यही अन्तर्वार्तामा भण्डारीले 'कार्यकर्ताले चाहे आफू जिम्मेवारी लिन (पार्टी नेतृत्व) रेडी रहेको' समेत बताएकी थिइन्।
उनले भनेकी थिइन्, 'देशको सार्वभौमिकता, देशको सर्वोपरि हितमा कसले बढी चिन्तन गर्न सक्छ, देशको पक्षमा कसले लड्न सक्छ भन्ने कुरा सार्वजनिक छलफलको विषय हो। यस सन्दर्भमा मेरो नाम उठ्नुलाई म अस्वाभाविक पनि मान्दिनँ।'
भण्डारीले एमालेमा आफ्नो पनि लामो 'लिगेसी' रहेको अन्तर्वार्तामा उल्लेख गरेकी थिइन्।
'पारिवारिक हिसाबले मदन भण्डारीसँग मेरो विवाह भयो। नेकपा एमालेले अहिलेसम्म जनताको बहुदलीय जनवाद (जबज) लाई क्रान्तिको कार्यक्रम मात्र होइन, मार्गदर्शक सिद्धान्तसमेत मानेर हिँडेको छ। यस हिसाबले मेरो सम्बन्ध पार्टी पंक्तिमा मात्र होइन, सिंगो देशसँग छ,' भण्डारीले अगाडि भनेकी थिइन्, 'न्यायपूर्ण नेपाली जनताले मदन भण्डारीलाई सम्झन्छन्, माया गर्छन्, यो 'लिगेसी' का अलावा म प्रत्यक्ष राजनीतिमा भएको कुरा उहाँहरूले ३०–३१ वर्षदेखि देखिरहनुभएको छ। यस हिसाबले उहाँहरूको मप्रति चासो र आकर्षण हुनुलाई गौरवका रूपमा लिएकी छु। उहाँहरूको माया र सम्मान मप्रति रहेछ। उहाँहरूको माया र सम्मानअनुसार निर्वाह गर्नुपर्ने दायित्वप्रति म पनि रेडी छु।'
भण्डारीले ओलीको स्वास्थ्य र उमेरबारे त्यस बेला टिप्पणी गरेकी थिइन्, जति बेला एमालेभित्र कोही कसैले यो विषय उठाउने हिम्मत गरिरहेका थिएनन्। एमालेले राजनीतिबाट अवकाश लिन पहिले तोकेको ७० वर्षे उमेर हद पनि खारेज गरिसकेको थियो।
भण्डारीले त्यसो भनेपछि बिस्तारै एमालेभित्र उमेर हद र दुई कार्यकालको प्रश्न फेरि उठ्न थालेको छ। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भर्खरै 'हिमालय टिभी' लाई दिएको अन्तर्वार्तामा आफू पार्टीभित्र ७० वर्षे उमेर र दुई कार्यकालको हदमा कायम रहेको बताएका छन्।
पढ्नुहोस्: ओलीलाई काउन्टर दिँदै ईश्वर पोखरेल उभिए ७० वर्षे उमेर हद र दुई कार्यकालको पक्षमा
भण्डारीनिकट नेताहरूका अनुसार नयाँ वर्ष २०८२ को सन्दर्भमा उनले दिएको शुभकामनाले पनि ओलीसँग मनमुटाव बढाएको थियो।
भण्डारीले नयाँ वर्षको शुभकामना सन्देशमा 'कामना' मात्र प्रकट गरेकी थिइनन्, एमालेको वर्तमान नेतृत्वप्रति कसिलो प्रश्न पनि गरेकी थिइन्। उनले कसैको नाम नलिइकन वर्तमान सत्ताप्रति पनि प्रश्न उठाएकी थिइन्, जसलाई एमाले अध्यक्ष ओलीले पटक्कै रूचाएनन्।
'संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछि देशको कायापलट हुने विश्वास हामीले जनतालाई दिलाएका हौं,' भण्डारीले शुभकामना सन्देशमा भनेकी थिइन्, 'खोजेको व्यवस्था प्राप्त भएपछि पनि जनताको जीवन स्तरमा महत्त्वपूर्ण परिवर्तन किन हुन सकिरहेको छैन? यस्ता प्रश्नमा अब चिन्ता मात्र प्रकट गरेर जनताको सहानुभूति बटुल्न खोज्नुभन्दा निर्मम आत्मसमीक्षा गर्दै फेरि पनि निरन्तर इमानदार प्रयास गर्नुको विकल्प छैन।'
त्यही शुभकामना सन्देशमै हो, भण्डारीले आफू 'समस्या टुलुटुलु हेरेर नबस्ने' बताउँदै सक्रिय राजनीतिमा फर्कने स्पष्ट संकेत गरेकी।
'नयाँ वर्षको आगमनसँगै हामी सबैले जनताका समस्या टुलुटुलु हेरिरहने र समाधानका प्रयासबाट आफूलाई अलग राख्ने प्रवृत्ति त्याग्नैपर्छ,' उनले भनेकी थिइन्, 'यो नयाँ वर्ष नवीन आशा र विश्वासको दियो बाल्ने वर्ष बन्नुपर्छ, समृद्धिको द्वार खुल्ने ऐतिहासिक वर्ष बन्नुपर्छ।'
भण्डारीले मदन भण्डारीको सन्दर्भ जोडेर एमालेको वर्तमान नेतृत्वप्रति पनि प्रश्न गरेकी थिइन्।
उनले भनेकी थिइन्, 'देशको सामाजिक–आर्थिक रूपान्तरणको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादका प्रणेता जननेता मदन भण्डारीको सपना आफ्ना सहकर्मी–सहयात्रीहरूलाई राज्यसत्तासम्म पुर्याउने इच्छामा मात्र सीमित थिएन। बरू यो सिद्धान्त कार्यान्वयन गर्दै जनताको जीवनस्तर बदल्ने र राष्ट्रको गौरव बढाउने थियो। बहुदलीयता र बहुलवादलाई आत्मसात् गरी सक्रियता, पहलकदमी, जनसेवा र प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्दै अरू राजीतिक शक्तिहरूलाई समेत मुलुकका साझा विषयमा अग्रसर र गतिशील बनाउने नै जननेताको चाहना हो।'
उनले प्रश्न गरेकी थिइन्, 'मदनको विचार र भावनाअनुरूप अगाडि बढ्न हामीलाई कसैले कतैबाट अवरोध त पैदा गरिरहेको छैन? हामी सबैले जननेताको सपना पूरा गर्ने अठोट फेरि एकपटक दोहोर्याउनुपर्ने बेला भएको छ।'
यसो भनेर भण्डारीले एमालेले अहिले मदनको पथ राम्रोसँग नपछ्याएको र त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्ने संकेत गरेकी थिइन्।
पार्टीको भावी अध्यक्ष बन्ने तयारीसहित देशव्यापी अभियानमा रहेकी भण्डारीका गतिविधि मन नपराइरहेका ओलीका लागि अन्तर्वार्ता र शुभकामना सन्देशमा प्रकट भएका विचार सह्य नभएको नेताहरू बताउँछन्।
'अखिलको भेलामा अध्यक्ष आक्रोशित हुनु र उहाँलाई विराटनगरबाट पूर्वराष्ट्रपतिले जबाफ दिनु उहाँहरूबीच दुरी बढेको देखाउन पर्याप्त छ,' ती नेताले भने, 'महाधिवेशन आउँदै गर्दा उहाँहरू आमने–सामने हुने स्थितिमा पुग्छ।'
केही समयअघि चीन भ्रमण गरेर फर्केकी भण्डारीले त्यहाँ ठूलो सम्मान पाएकी थिइन्। चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले नेपालमा वाम एकता गर्न सुझाएको खबर पनि बाहिरिएका थिए।
लामो समयदेखि एमाले राजनीतिलाई नजिकबाट नियालिरहेका राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल पछिल्ला घटनाक्रमले ओली र भण्डारी अब आमने–सामने हुने अवस्था देखिएको बताउँछन्।
'विद्या भण्डारीले आफ्नो राजनीतिक जमिन अझै फराकिलो पार्दै जान खोजेको देखिन्छ। यसै पनि उनको सम्पर्क पहिलेबाटै फराकिलो छ; देशभित्र र बाहिर,' उनले भने, 'नेपालमा वाम एकता तत्कालै सम्भव नभए पनि कम्तिमा वाम सहकार्य भएर जानुपर्छ भन्ने सोच उनको देखिन्छ। चीनमा पनि यसबारे पक्कै केही कुरा भएको हुनुपर्छ भन्ने मलाई लाग्छ। वाम सहकार्यका लागि ओलीभन्दा मै बेटर हुन सक्छु भन्ने उनलाई लागेको हुनसक्छ।'
मुलुकको राजनीतिलाई सुग्घर बाटोमा अग्रसर तुल्याउन 'केन्द्रबाट देब्रेतिर रहेकाहरूको एउटा र केन्द्रबाट दाहिनेतिर रहेकाहरूको अर्को गठबन्धन बनाउनुपर्ने' धारणा राख्ने प्राध्यापक पोखरेल यही सोचका साथ भण्डारी अघि बढेको अनुमान लगाउँछन्।
भण्डारीले अध्यक्ष बन्न गरिरहेको कसरत ओलीको नजरबाट छिप्न नसकेको भन्दै पोखरेलले थपे, 'आफैलाई चुनौती दिने गरी अघि बढेको थाहा पाएपछि अहिले ओली र भण्डारीको टकराव बढेको देखिन्छ। मेरो विचारमा उनीहरू आमने–सामने हुने सम्भावना देख्छु म।'
उनले एमालेभित्र उमेर हदको विषय पनि चर्किने बताए।
'उमेर हदको कुरा अहिले होल्ड भएको हो, फ्यालिएको होइन,' उनले थपे, 'त्यस्तो बेला उमेरका हिसाबले पनि विद्याले आफ्ना लागि सहज महसुस गरेको हुनसक्छ।'
***