एकपटक त आए हुन्थ्यो भनेर छिमेकी र गाउँलेले पनि फोन गरेर भन्न थालिसकेका थिए। त्यो बिहान नाता नपर्ने तर काका साइनोले मैले बालकैदेखि सम्बोधन गर्दै आएका राई थरका छिमेकीले फोन गरेका थिए- ‘भतिज, हामीलाई बिर्सेकै होस् त?’
उनले खासमा यो प्रश्न होइन, आग्रह, आदेश, न्यास्रो र प्रेम सबैथोक घोलेर एक वाक्यमा बोलेका थिए। पोहोरसाल काकी परलोक भएको खबर सुन्दा म पोखरामा थिएँ। कामै त्यस्तै। यो ट्राभल्स एजेन्सीमा विदेशीलाई ठाउँ चिनाउँदै मध्य र पश्चिम नेपालका पहाड चहार्दै चारो जुटाइरहेको मेरा लागि राईनी काकीले दम तोडेको खबरले ठूलो भूकम्प ल्यायो।
पिठ्युँको भारी नबिसाइ धेरैबेर रोएँ। सम्झिएँ, एकफेरा यस्तो समय थियो कि यी काकाकाकीको कोठेबारीमा फलेका केरा र अम्बामा उनका छोराछोरी सरह करिब-करिब मेरो पनि हक चल्थ्यो। स्कुल छुट्टी भएपछिको करिब एकघण्टा घर नपुगी काकाको कोठेबारी पुग्थें।
घर मास्तिरको चोकबाट थोरै देब्रे लागेपछि पहिले काकाको कोठेबारी आउँथ्यो, अनि मात्र हामी केटाकेटी खेल्ने चहुर। मैले थाहा पाउँदा हट्टाकट्टा ज्यानका काका गोरु व्यापार गर्दथे। गोरु खरिद गर्न गाउँ चहार्थे। कहिलेकाहीँ पश्चिममा मधुमल्लाहुँदै जाँते खेरुवासम्म पुग्थे। दक्षिणतिर गौरादह, दामुनादेखि खजुरगाछीसम्ममा गाउँ पुग्थे।
कुनै दिन उनको गोठमा दर्जन जति गोरु र बाछाबाछी हुन्थे, कुनैदिन दाम्ला रित्तै। अनेक बानी विशेषता भएका चौपाया उनको गोठमा छोटो दिनका पाहुना बनेर आउँथे। कुनै देख्दै डरलाग्दा हनुवा त कुनै टाङ मुनिबाट छिर्दा पनि हलचल नगर्ने सोझा। यी मान्छे पनि गाउँमा कोही मिलनसार त कोही दृष्ट स्वभावका हुन्छन् नि, ठिक त्यस्तै हुने चौपाया पनि।
काकाको त्यो फोनले उनका र उनले खरिद गरेर बेच्न ल्याएका चौपायाको एकसाथ सम्झना गराए। काकी चिया बगानमा पसेर चौकीदारका आँखा छल्दै घाँस काट्थिन्। बिक्रीको लागि ल्याएका चौपाया कथं मरे काका रक्सी पिउँथे र काकीसँग ठाकठुक गर्दथे। मातको मात्राको बिगार भनौं कि के हो, काकाको पिटाइबाट बेलाबेला काकी घाइते हुन्थिन्।
मेरी आमाले उनको टुटुल्को उठेको ठाउँमा तोरीको तेलले मालिस गरेको म सम्झिन्छु। चौपाया राम्रो भाउमा बिकेको बेलामा काकाको खल्तीमा हात घुसार्न पाइछन् भने उनले पोल्टामा लुकाएर दिएको मालभोग केरा र मिस्रीको टुक्रो मैले पनि भेट्टाउथें।
यसपालिको फेनमा मैले हिँडेको वा भनौं बिराएको बाटो बारे एकवचन पनि सोधेनन् काकाले। अनेक गन्थनपछि फोन टुङ्ग्याउने बेलामा लामो सुस्केरा हाल्दै ‘काकीलाई मट्टी दिन पनि नआएको मान्छे, के आउलास् र!’ भने।
उनको पछिल्लो वाक्यले धेरैबेर मेरो दिमाग हल्लायो। गह भरिए। पूरा वाक्यमा बिदा भन्न पनि सकिनँ। फोन राखें। दुवै हत्केलाले आँखा छोपें र बाथरुम भित्र पसें। राति खान मन लागेन। दिँउसो सँगै हिँडेको पर्यटकले छुट्टिने बेलामा हातमा थमाएको एउटा बर्गर र कोकाकोलाको बोतल बाँधिएको प्लास्टिकको झोलासम्म हात पुर्याउने जाँगर आएन।
गन्हाउने मोजा खुट्टैमा थिए। जुत्ता मात्र खोलेर खाटमा पल्टिएँ। बिहान ४ बजेको अलार्म लगाएको थिएँ।
आफूलाई गइहालौं जस्तो त लागेको थिएन। तैपनि जानु एउटा कर्तव्य झैं बनेको हो। धेरै ठूलो उत्साह बिनै गह्रौं पाइला चाल्दै त्यो बिहान मडिखाटार मुन्तिर सुकेधाराको चौतारोमा उभिँदा मेरो मनमा अनेक कुरा खेलिरहेका थिए।
गएको रात जति नै कोसिस गर्दा पनि आँखामा निद्रा आएन। मन अनेकथरी भावले बिथोलिएपछि आओस पनि कसरी? निद्राले बाटो बिराएपछि एकपटक भोलि साथै जाने झोला फेरि खोतलेर हेरें। दुई जोडी कपडा र रक्तचाप बढ्दा खाने औषधिको एउटा बट्टा थिए।
छोडेर हिँडेको त पटक्क्कै होइन। ठाउँको माया नभएको पन होइन। आफ्नो नाभी गाडीएको ठेगाना त्यही हो। मनमा लागेको पनि त हो, त्यति कुराले मलाई पिठ फर्काएर हिँड्नु पर्ने गरी त्यो ठाउँले केही गरेको थिएन। त्यो साँझ फिल्म हलमा नपसेको र उनीहरूले नदेखेको भए म पक्का पनि यसरी छरिने थिइनँ।
खलासी भाइले झोला सिटमाथिको खापामा घुसाइदिएपछि मैले झ्यालपट्टिको सिटमा शरीर बिसाएँ। एउटा पानीको बोतल साथमै छ। यात्रा हो, छेउमा कस्तो साथी पर्ला, सजिलो होला कि नहोला भन्ने त लागिहाल्छ।
एउटा भारतीय मूलको जस्तो देखिने हल्का कालो वर्णको ठिटो कोटेश्वरदेखि उक्लियो। सरासर मेरो छेउमा आएर बस्यो। नयाँ मानिससँग छिट्टै घुलमिल हुने मेरो बानी छैन। कम्तीमा दमक पुगुन्जेलको अबको १२ घण्टा मैले ऊसँग यात्रा गर्नुपर्नेछ।
ऊ भने मभन्दा बिल्कुल फरक स्वभावको रहेछ। बस अघि बढ्न थालेको केही मिनट नबित्दै उसले मलाई उसका बारेमा धेरैथोक बताइसकेको थियो।
ऊ बर्माबाट आएको रोहिंग्या शरणार्थी हो। उसकी आमा, एउटा भाइ र बहिनी भारतको पश्चिम बंगालमा मजदुरी गरेर पेट पालिरहेका छन्। ऊ पनि छ महिनाअघि नेपाल पस्नुपूर्व पश्चिम बंगालको सिलिगढीमा राजमिस्त्रीको काम गर्दथ्यो।
त्यो २१ वर्षको तन्नेरीको मनमा असुरक्षाबाट उम्किएर बचाएको प्राण साथैमा छ। र, प्राण जतिकै प्याराहरूलाई दुई छाक जुटाउनु उसको जीवनको सबभन्दा ठूलो उद्देश्य। उसको प्रयास पनि त्यसैमा लक्षित थियो। हरेक दिन जुत्ता कारखानामा पसेर मान्छेका खुट्टाका नापमा छाला काट्नु उसको काम थियो। यो कामबाट जुटेको आयस्ताले उ पालिनु र आमा, भाइ र बहिनीका लागि पनि छुट्याउने गर्दछ।
मुस्किलले नेपाली शब्दहरू बोल्न सिकेको सब्बिरले भन्यो, ‘जिन्दगीमा ज्यान बच्यो भने बाँकी त देखाजाएगा, सरजी।’
उसको आफ्नै निजी कथाका पोया फुकाँउदै गयो। सुनिरहें। बर्मामा उसको जातिलाई भएको दमनको कहर सम्झिँदा आज पनि उसका आँखा डबडबाउँछन्। खेतमा लहलह झुलिरहेको बाली हेर्दै ऊ गाउँबाट आमा, बहिनी र भाइलाई अघि लगाएर बाँच्न बिरानो ठेगानामा हानिएको थियो।
धेरै पढालिखा होइन ऊ तर उसले गज्जबसँग बुझेको रहेछ, मान्छेमा भएको स्मरणशक्तिका कारण पीडाहरू सम्झनामा रहन्छन् र बेलाबखत तिनले हृदयमा चलाउने हुण्डरीले रुवाइरहन्छ।
ऊ समय उबारेर बेलाबेला रुन्छ। हकभोग नलाग्ने परदेशमा उसका आँसुका थोपा झरिरहन्छन्।
‘किन रुन्छौ?’ मैले जान्ने पल्टिएर उसलाई सम्झाउँदै भनेँ।
उसको जवाफ आयो, ‘रोएपछि थोरै भए पनि सुकुन मिल्छ।’
उसले जति उधिने पनि पिँधमा नपुगिने, जति बिस्कुन लगाए पनि नरित्तिने पीडाको पन्तुरो बोकेर काठमाडौंमा पोखेको पसिनाले उसलाई पालेको छ।
उसको कुरा सुनिरहँदा म धेरै पटक अवाक् भएँ। आफू पनि अलिक फरक पाराको बिछोडलाई मनमा बोकेर हिँडिरहेको परें। गिजोलिएको छु म। जसै भोलि बिहान म घर पुग्छु। घर पनि के भन्नु र! जहाँ शरीर मात्र होइन, मन पनि बस्यो, त्यो पो घर।
हिँड्नु अघिल्लो दसैंमा रहरले निक्खर सेतो रंगले घर पोतेको थिएँ। मेरो साथी थियो भुन्टे धिमाल। सानैदेखिको मिल्ने साथी। गाउँभरिका मेरो उमेरका केटाहरूमध्ये सबैभन्दा छिटो दौडिन्थ्यो। गुडिरहेको ट्र्याक्टरलाई दौडेरै उछिन्थ्यो।
बटारिएका छेपारी पाखुरी भएको भुन्टे गाउँकै कमकरी र सहयोगी थियो। उसैलाई साथी लिएर बाँसको अखेटा हालेको सिँढीमा चढेर घरका सबै बाहिरी भित्तामा रंग दलेको थिएँ।
साँझ हिँड्ने बेलामा आमाले दिएको पचासको नोट समाउन नमानेको उसले घर मास्तिरको चियादोकान चोकको दाँयापट्टिको हरि दाइको भट्टी पसलमा पिएको रक्सी-मासु र तानेको याक चुरोटको एक सय दश रुपैंया उसले थाहै नपाई मैले तिरिदिएको थिएँ।
पछि थाह पाएर मलाई धन्यवाद भन्नुको साटो उल्टै रिसायो। ‘तिमीले मलाई ज्याला दिनु पर्दैनथ्यो’ अर्को साँझ हल्का नसाको तालमा उसले झोक्किँदै मसँग भनेको यति नै हो।
भुन्टेसँग मेरा कहिल्यै नभुलिने अनेक सम्झना छन्। झरी परेको एउटा साँझ चिया बगानबाट घाँसको भरी लिएर फर्किँदा हाम्रा अघिअघि भारीले थिचेका र वर्षले रुझेका युवतीहरूको एक हुल थियो। तिनका वदनमा टाँसिएका कपडा र नितम्बबाट चुहिरहेको पानी हेरेर पछिल्तिरको केटा समूह निकै छिल्लिएको थियो।
ऊ स्कुल गएन। बिहान घाँस-दाउराका लागि चिया बगान पस्थ्यो। दिउँसो बल्छी लिएर गाउँको पूर्वपट्टिको खोल्सोमा माछा मार्न जान्थ्यो। साँझ हिले, मुङ्ग्री र पोथी माछाको सिल हल्लाउँदै घर लाग्थ्यो।
धेरै पछिको एकदिन ऊ कामको खोजीमा कसैको साथ लागेर भारतको पञ्जाब लाग्यो। घरबाट जिन्सको पाइन्ट र वैरियर जुत्तामा ठाँटिएको ऊ दोस्रो दिन बिहारको कटिहार कटेपछिको अर्को रेल स्टेशन नपुगी गुडिरहेको रेलको ढोकाबाट झरेर परलोक भएको खबर गाउँमा आइपुग्यो।
उसले पोतिदिएको रंग मेरो घरको भित्ताका अझै चम्किरहेको छ। त्यो दिन उसले र मैले पिएका फिका चियाका गिलास र खाएका मकै भाग लागेका थाल अझै मेरो घरको भान्सामा चलनमै छन्। गाउँ नै खिन्न बनाउने खबर दिएर मेरो बालसखा फेरि कहिल्यै नआउने बाटोमा गएको थियो।
मथिंगलमा बसेका यस्ता अनेक सम्झना तँछाड मछाड गर्दै मडारिएर अगाडि आइरहे। गाडी एकसुरमा अघि बढिरहेको छ। गाढा बन्दै एउटा प्रश्न मेरो नजिक आइरहेको छ। तीन वर्षपछिको भेटमा मैले उनीसँग अनुहार जुधाउन निकै साहस बटुल्नु पर्ला। लाज पचाउनु पर्ला।
शरमले जलेको मेरो अनुहारलाई उनले सहज मान्लिन् कि नमान्लिन्? अकमकिँदै माफी मागौंला। उनी नबोली अर्कैतिर फर्किएर बस्लिन्। टाढा रहे पनि भरथेग र कर्तव्य निर्वाह गरिरहेको भनेर एक ढंगले बयान दिने प्रयास गरुँला। उनी अझै मौन बस्लिन। अन्धकारले गाँज्दै जाने एउटा कठोर साँझको सामना गर्ने ताकत म कसरी जुटाउँला?
यो प्रश्नको कुनै उत्तर मसँग छैन। न्यास्रो जिन्दगीको घोर विरक्तीमा उनीएकी उनले मलाई नसुन्लिन्। म मेरो कथा सुनिदिने कोही नभेटौंला।
करिब-करिब भयो पनि त्यस्तै। निकै नजिक पुगेपछि मात्र मान्छे चिनिने छिप्पिँदो साँझमा उक्लिएको लिस्नोका अखेटा केही हल्लिएका थिए। तिनका काँटी मक्किएका र खुस्किन लागेका थिए। मूल ढोकाबाट भित्र हेर्दा घरको एउटा कोठामा मात्र हल्का उज्यालो थियो। सायद त्यो पूजा कोठा थियो। बाँकी कोठा निष्प्राण थिए।
मैले खोकेको आवाज सुन्ने कोही त घरभित्र पक्कै थियो। झोला बिसाएँ। मोबाइलको लाइट बालेर चर्पी गएँ। म चर्पी गएको बुझेर कसैले जिरो भोल्टको बत्ती बालिदियो। हातगोडा धोएर चापकलमा एकैछिन उभिएँ। कोठेबारीमा लट्टेको सागका केही छिप्पिन लागेका पोथ्रा, बिस वटा जति मकैका बोट उभिएका र बोडीका लहरा ठम्याएँ।
सानो लाछी गाँसेर बनाएको कटेरोमा बाछी बसेर उघ्राइरहेको। नयाँ मान्छे देखेर होला, उठ्यो र दुई चोटि करायो। माथि चढें। पुरानो खाटमा नयाँ दरी बिच्छ्याएको रहेछ। सम्वाद नगरे पनि तातो दूध भरिएको गिलास, तीन वटा सुक्खा रोटी, एक कचौरो दाल र अलिकति चनाको तरकारी भएको थाल छेउमा राखेर उनी भान्सामा फर्किइन्।
अझै सञ्चो बिसञ्चो केही सोधेकी छैनन्। भित्र भाँडाकुँडा बजेको मधुरो आवाज कानले ठम्याइरहेका छन्। खाएर चुठेपछि त्यही बिच्छ्यौनामा पल्टिएँ जहाँ १६ वर्षअघिको हिउँदमा हामी सँगै पल्टिएका थियौं। अनेक सपनाको पोयो सँगै बाटेका थियौं। यो निर्जीव भित्तो, भुइँ, खटिया, खम्बा आदि हाम्रा सबै प्रेम जीवन सपनाका साक्षी हुन्।
चित्र कोर्न रहर लाग्थ्यो तर भाँती पुग्दैनथ्यो। दश कक्षा पढ्दा ताकाको कुरो हो, भित्तोमा एकदिन मैले मेक्सिम गोर्कीको आमा उपन्यास पढिसकेपछि बसिरहेकी आमालाई र अर्को कुनै दिन पाठ्यपुस्तकमा भएकी मोनालिसालाई उतार्न खोजेर बेढंगका महिला आकृति बनाएको थिएँ। यही सुत्ने कोठाको सेतो भित्तोमा ती आकृति ठम्याउन सकिने गरी अझै बाँकी थिए।
आँखा झकाउन थालिसकेका रहेछन्।
‘सबै सञ्चै छन् नि?’ एउटा परिचित तर क्लान्त स्वरमा आएको यो प्रश्नको उत्तर दिनपर्ने भयो।
मैले एकै शब्दमा ‘अँ’ मात्र भनें। सायद म आउनाले उनको तालिका बिग्रिएको छ आज। कटेराको बाछी करायो। उनी उठिन् र डुँडमा पराल हालिदिएर फर्किइन्।
‘म जोगिनीको हालतमा रहेकीलाई यसरी बिथोल्न नआएको भए हुन्थ्यो’ उनको मुखबाट लामो मौनतापछि निकै शक्तिशाली वाक्य निस्कियो।
त्यसपछि उनी लामो समयसम्म बोलिरहिन्। स्वरमा आरोह-अवरोह थिएन। संवेदना थिएन। न आग्रह थियो न स्विकारोक्ती नै। पश्चाताप र पीडा सुनाइनन्। म सुनिरहें। बत्ती निभाएर पूजा कोठामा रहेको खटियामा जानुअघि उनले एक गिलास मनतातो पानी मेरो नजिक राखिदिइन् र अगाडि भनिन्, ‘मलाई पुग्यो अब, उतैकालाई सम्हाल्नू।’
बोली बनेर निस्कन नसकेका शब्दहरूले फुलेको छातीमाथि हात राख्दै लामो सास फेरें। मनमनै गफिनका लागि धेरै टाढाका जून-तारा र अँध्यारो आकाश मात्र मेरो भागमा बाँकी थिए।
दमकबाट काठमाडौं फर्किने बस बिहान ४ बजेदेखि नै लाग्थ्यो। त्यही बस समात्ने निधोमा पुगेको मैले वर्षौंअघि सुहागरातमा उनीसँगै सुतेको खाटमा देब्रेपट्टि कोल्टे फर्किएर त्यो लामो रात एक्लै बिताएँ।