बाले छोरोलाई जसरी भए पनि पढाउँछु भन्ने अठोटका साथ राजधानी पठाउने निर्णय गरे।
यसबाट म खुसी कम दुखी धेरै थिएँ। मेरा आमा, बा, दिदी, बहिनी, साथीसङ्गी अनि मेरो प्रिय गाउँ सबैलाई छोडेर कहिल्यै नगएको अन्जान सहर जाँदैछु। तर मैले केही गर्नुछ जीवनमा भन्ने पनि खुब थियो मनमा।
मलाई मेरा आमा र बाले तल्लो बजारसम्म गाडीमा चडाउन आएको कहाँ बिर्सन्छु र म! तीन घण्टाको ओरालो बाटो पैदल हिँडेपछि बल्ल गाडी लाग्ने बजारसम्म पुगिन्छ।
ओरालो बाटो हिँड्दै गर्दा म र मेरी आमा मलिन भएर खुब रोएका थियौँ। आमालाई छोरो मबाट टाढा जाँदैछ भन्ने पीर। मलाई आमाको न्यानो काख र बाको संस्कारी पाठ छोड्दैछु भन्ने पीर। मेरा बाले भने आँसु लुकाएका थिए।
जब म राजधानी जाने बसमा सबै सामान राखेर चढ्न लागेँ, आमा झम्टिएर रोइन्। मेरी आमा कहिल्यै त्यसरी रोएको देखेको थिइनँ। जिन्दगीमा पहिलो पटक मैले आमालाई अंकमाल गरेर रोएको थिएँ।
छोरामान्छे रुन्नन् र रुनु हुँदैन भन्नेहरू मलाई पटक्कै मन पर्दैन। मेरा बाले आँखाका डिलसम्म आएका ती आँसुलाइ दाँतले ओठलाई टोक्दै आँसु लुकाउन खोजेका थिए। बाआमाले ‘राम्रोसँग पढ्नू, सधैँ समयमा खाना पकाएर खानू, पैसा चाहिएमा खबर पठाउनू है!’ यति भन्दै हामी छुट्एिको कहाँ बिर्सन्छु र म!
पहिलो पटक थियो म मेरो घरबाट मेरो आमाबाबाट एक्लै कतै टाढा हिँडेको। मेरा आँसु रोक्न खोज्दा पनि रोकिएका थिएनन्। कसैले नदेखून् भनी आँखामा कसिड्गर परेको निहुँमा घरीघरी रुमालले पुछ्थेँ मेरा बगिरहेका आँसु।
लामो यात्रापछि गाडीको स्टाफले ‘काठमाडौं! कलंकी-कलंकी!’ भनेको आवाज मेरो कानमा गुन्जियो। आएछु क्यार म सबैको अवसर र सपनाको सहर भन्ने लाग्यो।
म सानै हुँदा सामाजिक पढाउने सरले नेपालको राजधानी काठमाडौं हो भन्दा र सरले काठमाडौंको बरेमा थप स्पस्ट पार्दा खुब कोतूहलता थियो मनमा। आज म मेरा र मेरा बाआमाले मबाट देखेका हजार सपना साकार पार्न त्यही सहर आएको थिए।
मेरा लागि सहर नयाँ।
यो सहरका हरेक मान्छे नयाँ।
यो सहरका हरेक गल्ली नयाँ।
यी नयाँ गल्लीहरूमा म कयौँपटक हराएँ। क्याम्पस जान लागेँ, सबैसँग अन्जान म। सबै फरक-फरक जातजाति र भाषिक लवज बोल्ने भएकाले मेरा भाषिक लवज उनीहरूलाइ बुझ्न गाह्रो अनि मलाई उनीहरूको।
सुरुका दिनहरूमा घरको निकै न्यास्रो लाग्थो। घर बा, आमा, दिदी, बहिनी, साथीहरूको यादले खुब सताउँथ्यो। एउटा सानो कोठा जुन कोठामा म एक्लै पकाउने, खाने, पढ्ने गर्थें। कहिलेकाहीँ त साह्रै अल्छी लाग्थो, चाउचाउ खाएर पनि सुत्थेँ। आमाले खाना जहिले पकाएर खानू है बाबू भनेको खुब याद आउथ्यो।
बानी पर्दै गयो, सजिलै साथीहरूसँग घुलमिल भएँ। दुई/चार जना मिल्ने साथी भए। मलाई राजधानीमा राजनीति गर्ने इच्छा जाग्यो। मैले सत्य कुरामा सधैँ साथ दिएँ। आफ्नो देशमै केही गर्छु र केही बन्छु भन्ने मेरा सपना पूरा हुन्छन् भन्ने सपना देखेँ।
विद्यार्थी राजनीतिमा खुब सक्रिय भएर लागेँ। अन्य विद्यार्थी नेताहरूसँग कहिले पार्टी कार्यालय त कहिले बालुवाटार जान थालेँ। म विस्तारै रमाइसकेको थिएँ यही सहरमा अनि हरेक दिन कल्पना गर्थें मैले बनाउन चाहेको मेरो देश नेपाल।
विद्यार्थीका हकहितका लागि खुब आन्दोलन गरियो। माग पूरा नहुँदा साथीभाइसँग मेलेर कलेजमै तालाचाबी लगाइयो। म विद्यार्थी राजनीतिमा यति सक्रिय भएँ कि कलेजको सभापतिमा चुनिएँ।
आमाबाले गाउँबाट पठाएको सामान लिन मैले चिनेको चालक दाइको फोन आउँथ्यो। ‘भाइ सामान लिन आऊ’ भन्दा म हतार-हतार जान्थेँ। बाले चालक दाइसँग कोठाभाडा, कलेज फीका लागि पैसा छुट्टाएर पठाइदिनु हुन्थ्यो।
चालक दाइले बाले भनेजसरी पैसा यो-यो यसरी-यसरी चलाऊ रे है भाइ भनी दिन्थे। म खुसी हुँदै लिन्थेँ। अनि आमाबाले पठाएको बोराभरिको सामान लिएर आफ्नो कोठा र जान्थेँ र हतार-हतार कोठामा पुगिसकेपछि त्यो बोरा खोल्न तिर लाग्थेँ।
बोराभरि चामल, तरकारी, घिउ, मुलाको चाना, गुन्द्रुक, मस्यौरा हुन्थ्यो चामल खनाउँदा आमाले आफ्नो गुनियो च्यातेर पैसा पोको पारेर चामलको बीचमा हालेर पठाएको हुन्थिन्। मलाई पोल्यो।
आमा, आज मलाई बाले अड्कलेर दिएको पैसाले पुग्दैन भनेर बाले थाहा नपाउने गरी चामलको बीचमा तिमीले जोगाइ-जोगाइ राखेको पैसा पोको पारेर पठाएर छोरोलाई केही कुराको कमी नहोस् भनी कसरी जानेकी मेरी ममताकी खानी!
यही पारिवारिक मायाले हिँडेँ साथीभाइसँग, गरेँ राजनीति। नेपालमै केही गर्छु भन्ने भयो। यसरी नै कति छिटो चार वर्ष बित्यो पत्तै भएन। मैले राम्रो नतिजामा ब्याचलर कटाएँ भन्दा मभन्दा धेरै खुसी मेरा बाआमा भएका थिए।
मास्टर पनि भर्ना भएँ। राजनीतिमा अझै बढी सकृय भएँ। मैले हरेक दिन आफूलाई भन्दा बढी समय देशको राजनीतिलाई दिन्थेँ। नेताको पछि नेताज्यू दाइ, बा, अंकल भन्दै कति हिँडेँ। त्यो मैले गनेर सक्दिनँ।
बुझ्दै गएँ। देश बनाउँछु, देश परिवर्तन गर्छु, जनताका माग पूरा गर्छु भनेर राजनीति गर्ने भन्दा धेरै राजनीति गरेर घर बनाउँछु, घुस खान्छु, सम्पत्ति जोड्छु, जनताको माग हैन परिवारको माग पूरा गर्छु भन्नेहरू भेटेँ। बढो अचम्म लाग्यो।
सत्यको लागि बोल्ने, सत्यको राजनीति गर्न साह्रै गाह्रो रहेछ। दुनियाँ नै स्वार्थमा चल्दो रहेछ। चुनाव आउने बेला मात्र खोजी र प्रिय हुँदारहेछन् युवा। अरु बेला त नेता ज्युहरूलाई आफ्नै परिवार र आफन्तको राजनीतिक पाटो सफल बनाउन व्यस्त हुनुपर्ने रे।
पार्टी भित्रको आन्तरिक लोकतन्त्र त कता छ कता थाहा नै छैन। हामीजस्ता साधारण, गरिब तर देशको लागि केही गर्छु, देश परिवर्तन गर्न सक्ने जोश र होस छ भन्नेहरूलाई पार्टीमा चाहिँदा कुनै न कुनै प्रलोभनमा पारेर काम लिने तर अरुबेला वास्ता नगर्ने परिपाटी हाबी भयो।
यहाँ पैसाको मूल्यांकन गरेर सत्ता र पावरमा पठाउने काम हुने रहेछ। काम, इमान, खुबीको अपमान भएको छ। सत्यताको मूल्यांकन कहाँ भएको छ र?
नेपालको राजनीति र राजनीतिज्ञ देखेर बढो गाह्रो हुन्छ। विस्तारै मैले राजनीति गर्ने इच्छालाई पर धकेल्दै गएँ। मास्टरको पढाइ पनि सकियो। अब त मलाई त्यो चालक दाइले ‘गाउँबाट सामान र पैसा आएको छ लिन आऊ भाइ’ भनेर बोलाउँदा पनि लाज लाग्थ्यो। मेरा बाआमाले किसानी काम गरेर पठाएको पैसा थियो। म कमाउने उमेर भइसकेर पनि आमाबाकै आशमा बाँचिरहेछु भन्ने हुन्थ्यो।
राजनीतिबाट पूर्णबिराम लिने सोचेँ। अब लोक सेवा तयार गर्छु भनी खुब पढ्न थालेँ। लिखितमा नाम निस्किन्थ्यो, बाआमालाई हत्तपत्त खबर पुर्याउँथेँ। बाआमा सबै खुसी हुन्थे मेरो छोरोले सरकारी जागीर खान्छ अब भन्थे। खुब सपना देख्थे।
म बारम्बार इन्टरभ्युमा फालिन्थेँ। कयौं प्रयास गर्दा पनि फेल भएँ। योपालि त सियोर निस्किन्छ इन्टरभ्युमा पनि नाम भन्ने लाग्थ्यो। मेरो क्षमतामा कमी भएको हो कि भाग्य नभएर हो या भनौँ त्यहाँ पनि पावर पुगेन क्यारे भन्ने लाग्न थाल्यो। हरेक पटक हार भयो।
लोक सेवाबाट पनि हार खाएँ। बाआमा बुढा भइसकेका थिए। पैसा कमाएर बाआमालाई खुसी राख्ने, बहिनीलाई राम्रो पढाउने मेरो भाग्यमा नै छैन कि जस्तो लाग्न थाल्यो। दिदीको बिहे गर्दा लागेको ऋण पनि त तिर्नुछ। मैले सबै अन्धकार देख्दै थिएँ, सबैकुरा विस्तारै बुझ्दै थिएँ मेरो कर्तव्यहरूलाई।
अब प्राइभेट जागीर खाने सोच बनाएँ र भ्याकेन्सी खुलेको ठाउँमा सिभी बुझाइयो। इन्टरभ्युमा ‘ओहो! मार्क्स पनि कस्तो राम्रो रैछ सबै एकदमै राम्रो छ, तपाईंलाई नै राख्छौँ’ भनेर आश देखाउँछन्। खुसी भयो। अब त केही होला सोच्यो, फेरि त्यहाँ पनि आफ्नैलाई हाल्छन्।
किन बेकारमा अरुलाई दुख दिनु?
किन फर्म भर्न लगाउनु? किन इन्टरभ्यु लिएको जस्तो नाटक गर्नु?
सिधैँ दिनु नि बरु आफ्नालाई र पावर भएकाहरूलाई जागीर। किन गरिबलाई आश मात्र देखाउँछन्? यो मेरो सर्टिफिकेट पनि पावरबिना बिकेन आमा यो सहरमा। मैले बुझ्दै गएँ यो सहर सपनाको आकारसाकार पार्ने हैन, बरु बेकार पार्ने ठाँउ रहेछ।
मैले नेपालमा केही गर्न सक्दिनँ भन्ने भयो। कसै भएन भनी कसैलाई थाहा नदिई कोरियन भाषा पढेँ। परीक्षा पनि दिएँ, नाम पनि निस्क्यो। थोरै आश भए पनि पलायो मनमा।
अब नेपालमा सकिनँ कोरिया नै गएर भए पनि पैसा कमाएर आउँछु भन्ने भयो। त्यहाँ पनि म कुर्दाकुर्दा थाकिसकेको थिएँ। नाम आएन, सँगैका साथीहरूले गएर कमाएर पठाउन थालिसकेका थिए।
मलाई कोरियाको भिसा आउने आश पनि हराइसकेको थियो। जिन्दगी बेकार सम्झेर निकै गाह्रो हुन्थ्यो मलाई हरेक रात। बाआमाका फुटेका कुर्कुचा, चाउरी परेको अनुहार अनि अझै पनि छोराछोरीको लागि भनेर गरेको त्यो सङ्घर्ष आफैलाई धिकार्थें।
दिन त जसोतसो कटाउथेँ, रात कटाउन निकै गाह्रो हुन्थ्यो। रात नै नपरोस् जस्तो लाग्थ्यो। म बसेको कोठा छेउमा पनि अरु भाडामा बस्थे। मेरो कोठाको आवाज सजिलै उनीहरूको कोठामै सुनिथ्यो। दिन प्रतिदिन मलाई निकै गाह्रो हुन थाल्यो।
मेरो सिरानी हरेक दिन, हरेक रात भिज्थ्यो। कहिलेकाहीँ डाँको छोडेर रुन मन लाग्थ्यो। चिच्याएर रुन मन लाग्थ्यो। रुन पनि कहाँ सक्थेँ र? कि बाथरुम गएर पानी खोलेर मुखलाई हातले थुनेर रुन्थेँ, कि त ठूलो आवाजमा गीत बजाएर रुन्थेँ।
तँलाई के भयो भन्ने पनि त कोही थिएनन् यो सहरमा। सबै आआफ्नो स्वार्थको पछि लाग्ने सहरमा को आफ्नो हुँदो रहेछ र? अस्तिसम्म खुब मिल्ने साथी आज बाटोमा भेटिँदा पनि अन्जान बन्थे।
तँलाई के भयो छोरा भनी सोध्ने बाआमा, दाइ के भयो हजुरलाई भन्ने बहिनी सबै गाउँमा थिए। यो सहरमा मेरो मबाहेक कोही थिएन।
अझै म र मेरा गन्तव्यहरू सबै जालमा थिए। मेरा यी सर्टिफिकेटले केही दिएनन्। जसरी सुरुवाती दिनमा यी काठमाडौंका गल्लीहरूमा म कयौंपटक हराएँ, त्यसैगरी आज यी नै गल्लीहरूमा मेरा हरेक सपना हराए। म डिप्रेसन र एन्जाइटीको शिकार भएको थिएँ।आत्महत्या गर्छु भन्ने सोच पनि कयौं पटक आयो। आँखा चिम्म गर्दा बाल्यकाल याद आयो। बाआमाले मेरा लागि गरेको दुःख याद आयो।
म कसरी घात गरुँ ती निर्दोष बाआमामाथि? बाआमाको निःस्वार्थ प्रेमलाई कसरी रुवाउँ जसले मेरा लागि हजार सपना बुनेका छन्। आँखा चिम्म गरेर मेरो मृत्युपछिको बाआमाको अवस्था परिकल्पना गर्दा त म आफै हक्कानिएँ।
मेरा बाआमाको बिचल्ली देखेर दिदी र बहिनीको नामले नै भए पनि दाइभाइ खोसिन्थ्यो। तिहारको टीका खोसिन्थ्यो। समाज र आफन्तले कुरा काट्ने दिन आउथ्यो। त्यो ऋण पनि कसले तिर्छ?
मेरो हैसियत थिएन महँगो देश गएर कमाउने। धेरै सोच विचार गरेर बाआमालाई एउटा कुरा भन्छु भनेर गाउँ जाने भएँ। बाआमाले नै पठाएको पैसा जम्मा गरेर साधारण फोन पनि किनेर लागिदिएँ। म आएको देखेर बाआमा, बहिनी खुसी थिए।
बहिनीलाई फोन उठाउन र गर्न सबै सिकाइदिएँ। भन्न त मन थियो बा मैले सकिनँ, मैले हार खाएँ जिन्दगीसँग तर पनि भनिनँ।
‘कोरियामा नाम निस्के पनि भिसा निस्केन, अब म खाडी जान्छु,’ मुटुमा ढुङ्गा राखेरै भनेँ।
बाले ‘के भन्छस् बाबु यतिको पढेर, यही केही गर्न’ भनेर भने।
मसँग फर्काउने जवाफ भेटिनँ। हरेक कुरामा हार खाएको छु। के गरौँ, के भनौँ बालाई। बा जसरी पनि जान्छु तपाईंसँग पैसा छैन, ऋण पहिलाकै छ। कोसँग मागेर जाने होला भन्ने पीर रह्यो। मैले जसरी नि जान्छु-जान्छु भनेपछि बाको नि के लाग्यो र?
ल त नि खोज्छु केही ऋण भने बाले। जसोतसो ऋण खोजेर ल्याइदिएपछि म घरमा बिदा मागेर काठमाडौं फर्किएँ। मेरा बाआमा निरास थिए। मेरा कदमहरूले म मेनपावरमार्फत खाडी मुलुक जाने निर्णय गरेँ र प्रोसेस गरेँ।
करिब तीन/चार महिनामा भिसा आयो। बाआमालाई फोन गरेँ। विदेश जानअगाडि घरमा भेटेर आउन मन थियो तर किन-किन जान सकिनँ। म साउदीतिर लागेँ। मेरा हरेक सपनाहरूलाई आहुती दिएर खाडी जान बाध्य भएँ।
सपना देख्नै छोडिसकेको थिएँ। मैले जे सपना देखेँ ती सपना कहिल्यै पूरा भएनन्। जब देश बनाउँछु, देश विकास गर्छु भनि राजनीति गर्न खोजेँ तब निष्ठावान देशलाई माया गर्ने गरिबले नसक्दा रहेछन् राजनीति गर्न र हारेँ।
लोक सेवा पढ्न प्रयास गरेँ क्षमतामा जितेर भाग्यमा हारेँ।
प्राइभेटमा जागीर खान पावर पनि थिएन अनि आफ्ना पनि थिएनन्। त्यहाँ पनि हारेँ।
देशमै केही गरौँ, लगानी गर्ने क्षमता छैन। लगानी गरौँ भने पनि बाले ऋण खोजेको पैसा डुब्यो भने के गर्ने?
कोरिया जान खोजेँ, खै केले रोक्यो रोक्यो त्यहाँ पनि हारेँ।
ठूलो-ठूलो देश जान मेरो हैसियतले सकेन। मसँग कुनै विकल्प थिएन। मलाई थाहा थियो मेरा बाआमा मेरो पछिल्लो निर्णयमा मबाट पटक्कै खुसी थिएनन्। तर पनि म विवश थिएँ। मेरो आशाहरू निराशामा परिणत हुँदै थिए।
आफ्ना र छिमेकीले कुरा काट्न थालिसकेका थिए रे- छोरोलाई राजधानी पढाउन पठाए, नेता बन्यो छोरो। सरकारी जागीरमा खुब नाम निकाल्यो भन्दै हावा फैलाए अहिले त्यत्रो मास्टर पढेको छोरो साउदी गयो रे। हेर लाजको कथा।
कोहीले पढ्दै नपढी केटीसँग लागेको रहेछ त्यही भएर अहिले खाडी गयो भन्थे रे।
मेरा कारण मेरो परिवारले अरुका वचन सहेर बस्न परेको थियो। मलाई हरेक दिन मेरा गलत निर्णयेले पोल्छ। आमा कसरी भनुँ म मलाई पछुतो लाग्छ ती दिन सम्झेर। तिमीले अनि बाले दुःख गरेर पठाएको पैसाले हरेक दिनजसो ‘ल मित्र’ भन्दै राजनीतिका कुरा गर्दा चिया खाजा खुवाएर सकेको। सायद त्यही पैसाले आज पोल्यो मलाई।
यी हात तिनै हुन जुन हातले मेरो देश शीर्षकमा निबन्ध लेख भनी आएको प्रश्नमा मेरो देश नेपाल मलाई प्राणभन्दा प्यारो लाग्छ, मैले मेरो देशमा नै पाखुरा बजार्ने छु भन्दै लेख्थेँ। तर आज अरुकै देशमा बेल्चा बजार्दैछु।
म मेरो देश नेपालमै पसिना बगाउने छु भन्ने सपना देखेको थिएँ, अहिले अरुकै देशमा पसिना बगाएको छु। आमा म विवश भएँ। क्षमता र योग्यता हुँदाहुँदै पनि धन नभएर, पावर नभएर देश बनाउन योग्य ठहरिइनँ।
आमा देशको लागि योग्य नेता देखिन भनौँ या देश प्रेमी देखिनँ। बाहिर एउटा जनप्रिय नाटक मञ्चन अनि भित्र भद्दा भनसुनमा लाग्नुपर्दो रहेछ। पोल्ने छ आमा मजस्ता हजार युवाहरूले खाडीमा बगाएको पसिना र आँसुले एकदिन ती भ्रष्ट नेताहरूलाई।
हरेक दिन बाकसमा फर्केर आएका ती लासहरूले पोल्ने छ ती दलाल, सामन्त प्रवृत्ति बोकेकाहरूलाई। म त खाडी आएँ, फर्किएर आफ्नै देश जाउँला तर विकसित मुलुकमा पढ्न, जागिर गर्न गएकाहरू के स्वदेश फर्केलान्?
क्षमता र बौद्धिकतालाई पलायन गराएर राज्य खै कुन तरिकाले देश विकासको मार्ग चित्र कोर्दैछ मलाई थाहा छैन।