'गौतम बुद्धको जन्मस्थल लुम्बिनी। विश्वका बुद्धमार्गीहरूको बुद्धदर्शन गर्ने मुख्य भूमि। बुद्धिस्टहरूको तपोवन नेपालको कपिलवस्तु जिल्लाको तौलिहवा तिलौराकोटमा पर्दछ। लुम्बिनी बुटवलदेखि नजिकै पर्छ।'
सरबाट विद्यार्थी जीवनमै सुनेको थिएँ। तर मलाई बुटवल कहाँ पर्छ के थाहा? कल्पना गर्थेँ यस्तो होला, उस्तो होला। हराउथेँ कल्पना जगतमा। कहिले पुग्न पाइएला? मनमनै प्रश्न गर्थें। मनको रहर अधुरै रहन्छन्।
धेरै वर्षपछिको अधुरो सपना पूरा गर्दै लुम्बिनी घुम्न पुगेको हुन्छु। मेरो साथमा छिन् जीवन संगिनी उनिसा।
फागुनको महिना, घाम धेरै चर्किसकेको थिएन। दिउँसोको मौसम सुन्दर र आकाश खुला थियो। लुम्बिनी विकास कोषको क्षेत्रभित्र सजिएका र सजाइएका बगैँचाहरूमा फूलहरूले बैँस हाल्दै देख्छु। बोटबिरुवाहरू भरेली देखिन्थे।
मेरो मनलाई त्यहाँको प्रकृतिले बढी लोभ्याइरहेको हुन्छ। हरियाली वनजङ्गल, चिरबिर-चिरबिर चराहरूको आवाज। आहा! मनलाई आनन्दित तुल्याउने ठाउँ त यो पो त!
मायादेवी मन्दिर नजिकैको पिपलको चौतारी। छेउमा तलाउ। चौतारीमा घुम्न पुगेकाहरूको भिड। चौतारीतिर पाइला सार्दै जान्छु। पिपलको पात हल्लाइरहेको हावा खाँदै चौतारीमा एकैछिन टहलिने चेष्टाले अगाडि बढ्छु।
हामीभन्दा पहिले नै पुगिसकेकी एक अर्धबैँसे महिलातिर नजर ठोकिन्छ। ठूल्ठूला आँखा। पिपलपाते ओठमा हल्का रातो लाली पोतेकी। हाँस्दा डिम्पल पर्ने गाला। उत्तरतिर हेर्दा देखिने हिमाल झैं मिलेको दन्त लहर।
कालो केशराशी घाँसको मुठो बाँधे झैं गर्धनतिर ठूलै एक मुठो चुल्ठो बाँधेकी। कम्मरसम्म पुग्ने कालो कपाल। गलामा लकेट सहितको सिक्री। जीउ र पाखुरीमा टमक्क कसिएर लगाएको गुलाबी र बैजनी रङ्गको ब्लाउज। त्यसमाथि बुट्टेदार सारीले पैतालासम्म ढाकेको छ।
रातो रङ्गको सानो साइड ब्याग लिएकी। अन्दाजमा पाँच फिट सात इन्च तल छैन। कसैको प्रतीक्षामा उभिएकी झैं लाग्ने।
नजिक पर्दै गएपछि मुस्कुराउँदै बोलिन्, 'बस्नु हुन्छ? आउनुस् यता बस्नुस्।'
आहा! मधुर बोली। जसरी उनको रुप र शरीरलाई सुहाउँदो खालकै। उनकै नजिक बस्ने इसारा गर्दै बोलिन्। धन्यवाद भन्दै केही क्षण खुट्टालाई विश्राम दिँदै बस्छु।
उनको छेउमा थिए एक किशोरी छोरी र दुई जना किशोर बाबुहरू। छोराछोरी पनि कति राम्रा। हुन त वंशज गुण पहिल्याउँछ नै। बाआमा नै राम्रा भएपछि!
हामी बसेपछि उनले पनि बस्ने ठाउँ हेर्छिन्।
'बस्नु हुन्छ दिदी?,' उनिसाले सोधिन्।
'हुन्छ बहिनी, म यहाँ बस्छु नि।'
उनी हाम्रै नजिक बसिन्।
'केटाकेटीको रहर मेटाउन घुम्न आएका हामी। आफ्नो दावलको साथी नपाएर अल्मलिरहेकी थिएँ,' मनको कुरा खोलिन्।
'सँगै घुमाउला नि दिदी। हामी पनि उहाँ र म मात्रै छौं,' मेरीले नजिकिँदै कुरा मिलाइन्।
'हो त नि। किन एक्लै जस्तो मान्नु हुन्छ र? सँगसँगै घुमाउला नि मेडम,' होमा हो थापिदिन्छु।
'भैहाल्छ नि, त्यसो गरे झनै राम्रो,' उनले स्वीकृति जनाउँदै बोलिन्।
'उहाँ अंकल र अन्टीसँग चिनजान गर्ने ल,' छोराछोरीलाई इसारा गर्दै आग्रह गरिन्।
पालैपालो नमस्कार गर्दै नाम भन्न थाल्छन्- भावना थापा, कक्षा दसमा पढ्छु। मेरो घर बुटवल खैरेनीमा पर्छ।
किरण थापा, कक्षा नौमा पढ्छु।
नरेश थापा सात कक्षामा पढ्छु।
धन्यवाद दिँदै हामीले पनि आफ्नो नाम भनेका थियौं।
मैले त भन्न पर्दैन होला भनेर उम्किन खोज्दै थिइन्, हाम्रो आग्रहले अलिक अप्ठ्यारो मान्दै 'मेरो नाम दिक्षा थापा' भनेकी थिइन्।
'अंकल र अन्टी पनि हामीसँगै घुम्नु हुन्छ है,' छोराछोरीलाई बताइन्।
उनीहरूले हुन्छ भन्दै मुस्कुराउँछन्।
एकछिन शीतल हावाको स्पर्शमा रमाएपछि अब छ जनाको टोली लुम्बिनीको रमणीय ठाउँहरू घुम्नको लागि पाइला बढाउँदै गयौं।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ लुम्बिनी। विभिन्न शैलीमा बनाएका बौद्ध बिहार, गुम्बा र मन्दिरहरू त्यत्तिकै आकर्षक छन्। कुरा गर्दै कहिले को अघि कहिले को गर्दै अगाडि बढ्दैछन्। कुरा पनि चलेकै छ।
धेरै ठाउँहरू अवलोकन गर्यौं। दिमाग र आँखामा देखेका जति हजार तस्बिरहरू कैद गरियो। मोबाइल सेटमा पनि केही थान कैद हुन्छन्। जुन तस्बिर हेरेर भविष्यमा अर्को पटक लुम्बिनी पुग्न नसके पनि मनलाई लुम्बिनीमा घुमाउन सक्नेछौं।
ज्यान थाकेको छ। तर अझैं राम्रा र नयाँ ठाउँहरू हेर्न आँखाहरू थाकेका छैनन्। मन थाकेको हुँदैन। रमाइलो मान्दै समय गएको थाहै पाइएन।
किरण र नरेशको पाइलाको चालबाट थाहा पाइन्छ, उनीहरू थाकिसके। उनीहरूको अनुहारले बताउँदैछ, अब योभन्दा धेरै हिँड्न नपरोस्। ज्यान गलिसक्यो।
'बाबुहरू! थकाइ लागेको हो? भोक लाग्यो?,' म प्रश्न गर्छु।
'पानी प्यास लाग्यो अंकल। हल्का भोक पनि लाग्न थालेको छ।'
'अब उनीहरूलाई धेरै हिँडाउनु छैन। ठूलाको चालमा धेरै हिँडाउनु सानालाई अप्ठ्यारो हुन्छ,' उनिसासँग यही भन्छु।
दिनभरिमा धेरै हिँडेको छ। शरीरले कतै शीतल ठाउँमा गएर बस्ने मन गर्छ। प्यास पनि लागेको छ।
'कतै बसौं न,' उनिसा भन्छिन्।
ठूल्ठूला रुखहरूको छहारी परेको एकान्त सुन्दर ठाउँ भेटिन्छ। एकछिन त्यही बस्ने सहमति हुन्छ। उनिसाले झोलाबाट पानीको बोटल निकाल्छिन्। एक बोटल पानीले सुकेको मुख भिजाउन मात्रै हुन्छ।
करिब पन्ध्र मिनेट पर पसल रहेछ। किरण र नरेशले पानी प्यास लागेको सुनाउँछ। हामी पसलतिर गएर बस्छौं मम्मी भन्न थाल्छन्। एकछिन बस्ने अनुरोध नमानेपछि ब्यागबाट केही पैसा निकालेर दिइन्।
'यिनीहरूको भरोसा छैन। भाइहरूसँगै जाऊ भावना। हामी एकछिनपछि आउँछौं,' छोरीलाई अह्राइन्।
भावनाको हातमा पाँच सयको नोट राखिदिएको थिएँ। नास्ता खाँदै गर्नू हामी आउँछौं भनेर पठाउँछु।
छोराछोरीहरू पसलतिर लागे। हामी शीतलमा ज्यानलाई विश्राम दिनतिर लागेका हुन्छौं। बसिबियालो गफ चल्दै गर्छ। शिरीशिरी हावाले उनको केही कपालहरू मुहारतिर ल्याएर फहराई दिन्छन्। उनको अनुहारको सौन्दर्य थप आकर्षक देखिन्छ।
मेरी उनिसाको नजर छलीछली उनको नजरतिर तीर हान्न थाल्छु। उनले पनि कहिले उनिसातिर, कहिले मैतिर नजरको वाण हानेकी छन्। नजर जुध्दा मन्द मुस्कुराउँछिन्।
उनको श्रीमान इन्डियन आर्मीको सुवेदार पोष्टमा बहालमै रहेछन्। पुर्ख्यौली घर गुल्मी अर्बेनी। बसाइसराईपछि बुटवल खैरेनीमा बसोबास छ।
'हजुर भुपू जस्तो लाग्यो नि सर?,' मुस्कुराउँदै उनले सोधिन्।
'कसको भुपू हजुर?' मैले अल्मलिएर प्रतिप्रश्न गर्छु। मेरो प्रश्नको उत्तर दिन नपाउँदै उनको मोबाइल बज्छ। भावनाले कल गरेकी रहिछ। खोई के सोध्दै थिई।
'मेरो...!' यताबाट उनी बोलिन्।
भुपू भनेपछि मेरो ध्यान पूर्व प्रेमी-प्रेमिका (भूतपूर्व) तिर खिचेका थिए।
'मेरो...!'
मैले सोधेको प्रश्नको उत्तरमा 'मेरो' भन्ने शब्द आएर प्रश्नले उत्तरको पूर्णता पाएको आभास गराउँछ। मेरो भुपू भनेकै हुन् कि भन्ने मनले ठम्याउँछ।
दिक्षाको भुपू हुन किन हतास भैरहेछ मेरो मन? उनको प्रेमी नभएरै कसरी भुपू हुन सक्छु? के म उनको रुप देखेर फिदा भैरहेछु? अन्तर्मनमा हलचल हुन्छ।
परीक्षा पत्र हातमा छ र मैले त्यही प्रश्न पढिरहेछु जस्तो। फेरि कतै हाँसो उठ्छ। कतै लाज लाग्छ पनि। त्यो प्रसङ्गलाई सम्झेर मनमा एक खालको युवा जोश जागरुक भएको महसुस हुन्छ। शरीरको भित्र-भित्र केही तरङ्ग सल्बलाएको भान गराउँछ।
कल्पनाको संसारमा हराउँदै उनको प्रेमी भएको। उनीसँगै रमणीय ठाउँहरूमा घुम्दै हिँडेको। बगैंचाको पुतलीजस्तै मन उडिरहेको। तिमीबिना एक्लै हुन्छु म भनेकी। जिन्दगीभरि सँगै हुनुपर्छ भनेकी। तर अन्तत: लाहुरे ज्वाइँ पाउने भएपछि बाआमाले मगनी स्वीकार गरेर नमानी-नमानी रूँदै विवाह गरेर अन्माएर पठाएको।
एउटा मुटु दुई टुक्रामा विभाजित भएको। हामी जिन्दगीको दुई ध्रुबमा अलग्गिन पुगेको र त्यसको धेरै वर्षको अन्तरालमा आज भेट भएको। यस्तै-यस्तै सिलसिलाहरू मनको नजरमा क्रमश: नाच्न आइपुग्छन्।
'किन नबोल्नु भएको?,' उनिसाले सोधिन्।
म खङ्ग्रङ्ग हुन्छु। केही होइन। त्यसै मन कता-कता पुगेछ। बहाना बनाउन थालेको थिएँ। मेरो हाउभाउ। बोलीचाली र लवाइ देखेर आर्मी कै भूतपूर्व जस्तो देखिन्छ भनेकी रहेछिन्।
'भर्ती हुन कोसिस गर्नु भएको रहेछ दिदी तर छनौटमा पर्न सक्नु भएनछ,' उनिसाले भनेकी थिइन्।
अनि मात्रै भूतपूर्व आर्मी हो भनेर प्रश्न सोधेको कुरामा स्पष्ट हुन्छ।
उनले सोधेको प्रश्नले प्रारम्भिक युवा उमेरमा भर्ती हुने चक्करमा भोगेका इतिहासको फेहरिस्तहरू मानसपटलमा ओइरो लागेर आउँछन्।
स्कुल पढ्ने बेलामा भरतपुर पेन्सन क्याम्पमा गोर्खा रेजिमेन्ट इन्डियन आर्मीको भर्ती टुरबाट शारीरिक अभ्यासहरू पूरा गरी सकेपछि आँखाको कमजोरी देखाएर छनौटबाट हटाइए। धेरै दिनपछि स्कुल फर्किँदा धेरै पढाइ छुटेको थियो।
अर्को पटक बुटवल फूलबारीमा आएको इन्डियन आर्मीको भर्ती टुरबाट छनौट भएर गेटपास (प्रवेश पत्र) पाउँदा फलानो भर्ती हुन्छ भनेर गाउँभरि हल्ला चल्यो। अन्तिम छनौटको लागि दसैंको मुखमा जिआरडी गोरखपुर पुगियो। त्यहाँ पनि आँखाकै कमजोरी देखाएपछि पुन: जाँचको लागि भारतीय सैनिक अस्पताल इलाहावादमा पुगेको थिएँ।
अन्ततः छनौटमा नपरेपछि चिन्तिति मन लिएर इलाहवाददेखि गोरखपुरसम्म रातारात रेलमा यात्रा गरेको पल। बुटवलबाट रामपुर जाने बसमा यात्रा गर्दा 'मलाई यो जिन्दगीले कहाँ पुर्यायो..' गीत बजाउँदा रामकृष्ण ढकालले मेरै लागि गीत गाइरहेको छ सोच्न पुगेको थिएँ। र आँखा रसाएको यादहरू ताजा बनिदिन्छन्।
***
'केको भुपू हुनु नि मेडम! भुपू भए त बसी-बसी पेन्सन खाँदै बस्न पाइन्थ्यो होला। नलेखेको रहेछ लाहुरे हुन। हामी दुवै स्कुलमा पढाउने शिक्षक। तर नेपालको जागिर घर खर्च र छोराछोरी पढाउँदा ठिक्क। छोरी स्टाफ नर्सको कोर्स गर्दैछे। छोरा एघार पढ्दैछ।'
मेरो गुनासो नसकिँदै उनिसाले थपिन्, 'उहाँ लाहुरे हुन नसक्नु उहाँको मात्रै होइन, मेरो पनि भाग्यमा नभएको लाहुरेनी हुनलाई।'
हाम्रो कुरा सुनेर उनी मुस्कुराइन्।
'मरी लानु के छ र सर? भोको पेट बस्नु पर्ने दिन नआओस्। बिरामी परेको बेला उपचार गर्ने पैसाको अभाव नहोस्। छोराछोरीलाई खुसी राख्न सकियोस्। त्योभन्दा अरु किन लोभ गर्नु छ र। हैन र बहिनी?'
सरल सोच थियो उनको। चाहेको त्यही हो दिदी उनिसाले सहमति जनाउछिन्।
उनले थपेकी थिइन्, 'लाहुरे-लाहुरेनी हुनुमा के भाग्यमानी भन्नु छ र बहिनी? बाहिरबाट देख्ने जीवन र भोग्ने जिन्दगीमा धेरै फरक छन्। देख्नेलाई लाहुरे लाहुरेनीको जिन्दगी आनन्द छ। पैसा आउँछ। मस्ती छ भन्ने लाग्दो हो। तर वास्तविकतामा त्यो मात्रै होइन रहेछ र मैले धेरै भोगेकी छु। तपाईंहरूको जिन्दगी देखेर लोभ लाग्यो मलाई त। नोकरी पनि एउटै क्षेत्रमा। साँझा बुझाइ पनि हुन्छ। भगवानले सदा आशीर्वाद दिइरहोस्।'
शुभेच्छा प्रकट गरिन्।
रुखको छहरीमुनि शीतलता लिँदै गफिरहँदा उनले आफ्ना भोगाइ र वेदनाहरू खोल्छिन्- 'हामी विवाह नहुँदै श्रीमान लाहुरे हुनु भएको रहेछ। हाम्रो विवाह भएको पनि करिब बाइस साल भैसक्यो।
दुई महिनाको छुट्टीमा आउँदा विवाह गरेर फर्किनु भयो। त्यहाँदेखि धेरैमा तीन महिनाभन्दा बढी छुट्टी पाएको रेकर्ड छैन। श्रीमान् र श्रीमती अलग्गै टाढा बस्नु पर्दाको छटपटी, एक्लोपन र आवश्यकताको अनुभूति कस्तो हुन्छ मलाई थाहा छ। सायद तपाईंहरूलाई परेको छैन।
बालबच्चाहरूलाई बालापनबाटै उनीहरूको बौद्धिक विकास गराउन, राम्रो संस्कार सिकाउन र माया ममता दिनको लागि बाबाआमा दुवैको साथ र सहयोगको खाँचो पर्छ। खोई कहाँ छ त्यो वातावरण?
लडाइँमा पर्दाको कहानी झन् दर्दनाक हुन्छन्। दुई चोटि लडाइँमा पर्नुभयो पाकिस्तानसँगको बोर्डरमा। नोकरी छोडेर तुरुन्त आउनुस् भनेकी। त्यस्तो बेला घर आउन कहाँ पाइयो र! 'शत्रु देखेर डराउनु कायरता हो। कसम खाएको छु। यस्तो बेलामा छोडेर हिँड्न मिल्दैन' भन्नुहुन्थ्यो।
हामी गाउँमा रोएर बस्ने शिवाय उपाय हुँदैनथ्यो। छोराछोरी बिरामी पर्दाको पीडाको पाटो उस्तै छन्। अर्बेनी गाउँमा हुँदा गाडी गुड्ने बाटो पुगेको थिएन। बिरामी पर्दा उपस्वास्थ्य चौकी बाहेक अरु अस्पताल थिएन। छोराछोरी बिरामी भैरहन्थे। आफूलाई दुखेको भन्दा सन्तानलाई दुख्दाको पीडा सहन धेरै गाह्रो हुने रहेछ।'
उनी बोल्दै गइन्, 'पैसा आउँछ, नमरी बचेर पेन्सन आउन पाए बाँचुन्जेल पेन्सन खाइएला राम्रो कुरा हो। तर पैसा मात्रै सबैथोक होइन रहेछ। कहिलेकाहीँ दुखेको बेलामा, दु:ख पीडा परेको बेलामा एउटा मिठो बोली मात्रै पाओस्।
एक अङ्गालो कसिलो अंकमाल मात्रै मिलोस्। म छु दु:ख नमान भन्ने भरोसायुक्त एक वचन मिलोस्। जिन्दगी जिउने ठूलो औषधि, त्यो जति अरु नहुँदो हो। यी यस्ता अवसरहरूबाट बन्चित हुन बाध्य छन् म र मजस्तै लाहुरेका परिवारहरू। यी कुराहरू सम्झिँदा लाग्छ पैसाले केही थान सामानहरू त पक्कै किन्न सकिन्छ। तर धेरै खुसी, इच्छा र रहरहरू मार्नु परेको कहानीहरू छन् बहिनी हामीसँग।'
उनको अनुहारले बादल मडारिएको दर्शाउँछ। आँखामा पानी रसाउन थाल्छन्। गोरो अनुहार रातो देखिन थाल्छ।
'जस्तो परिस्थिति आउँछ त्यसरी नै जिउन सिक्नु पर्ने रहेछ दिदी। आफूले पाएको जिन्दगीमै सन्तुष्टी मान्नु पर्ने हुन्छ। दु:ख मान्नु हुँदैन,' ढाडस दिँदै उनिसाले भनिन्।
'अब सरको पेन्सन आउने बेला पनि भएको रहेछ। तपाईंहरूको दु:खका दिन गए मेडम,' मैले यति बोलिदिएँ।
एकछिन सन्नाटा छाउँछ। मन मात्रै एक्लै बोल्न थाल्छ। जिन्दगीमा कहिलेकाहीँ आउँदारहेछन् सयौंको भिडमा एक्लै महसुस हुने दिन। हजारौं छन् तर त्यही भिडमा आफूले खोजेकै एक जना मान्छे नपाउने समय। उनको मनको वेदना सुनेपछि लाग्यो, देखेको जिन्दगी र भोगेको जिन्दगी बीचको फरक यही त रहेछ।
'जिन्दगीको कथा व्यथाहरू सबैका छन्। हामीले बाँचेको जिन्दगी राम्रो लाग्यो भन्नुभयो दिदीले। हाम्रो पनि होलान् नदेखेका अदृश्य घाउहरू। हजुरको कुरा सुनेपछि थाहा भयो लाहुरे जिन्दगीको सेतो र कालो भागहरू,' उनिसाले विचार राखिन्।
'त्यसैले त भन्छन् नि, बाहिरी आवरण हेरेर मात्रै पुस्तकको मूल्याङ्कन नगर्नू,' मैले थपिदिएँ।
'तपाईंहरूसँग भेट भएर आजको भ्रमण रमाइलो बन्यो,' उनले भनेकी थिइन्।
उनको अनुहारले हतारिएको संकेत गरेको बुझिन्थ्यो।
'तपाईंहरूसँग घुम्न पाउँदा हामीलाई पनि रमाइलो भयो मेडम। सम्झनालाई मोबाइलमा केही थान तस्बिरहरू छन्,' मैले यत्ति भनेको थिएँ उनिसाले मोबाइल नम्बर मागिहालिन्।
मोबाइलमा नम्बर डायल गरेर साटासाट गरिन्। पसलतिर आइपुग्दा छोराछोरीहरू पर्खिरहेका हुन्छन्। बाटो छेउको नास्ता पसले ग्राहक कुर्दैछन्। नास्ता गर्यौं।
घाम पश्चिमतिर ढल्किसकेको छ। समयले साँझ पर्न धेरै छैन भन्ने जनाऊ दिँदैछन्। चरीले बास खोजेझैं रात बिताउनलाई बासस्थान खोज्नु छ। यात्रा तय गरिन्छ भैरहवातिर।
माइक्रो बसले बुद्धचोक भैरहवामा ओरालिदिन्छ। अब साथ रहनेछ बुटवल चौराहासम्म र छुट्टिनुपर्छ दुई ध्रुवमा अगल-अलग गन्तव्यहरूमा। उनीहरू महेन्द्र रामजमार्ग हुँदै बुटवल खैरेनी। हामी सिद्धार्थ राजमार्ग हुँदै पाल्पातिर।
राति अबेला तानसेन बजार टेक्न आइपुगिन्छ। भोलि बिहान शिक्षा कार्यालयतिर केही काम फत्ते गर्नुछ। खानपिनपछि ओछ्यानतिर ढल्किन्छु।
दिनभरि हिँडियो। छिट्टै निन्द्रा लाग्नेछ। तर अहँ! निन्द्रा लाग्दैन। कोल्टे फेर्छु। बरु दिउँसो लुम्बिनीमा देखिएका दृश्यहरू नजरमा छाइरहन्छन्। भावना, किरण र नरेशका निश्चल अनुहारहरू। कति राम्रा छोराछोरी! कति ज्ञानी!
दिक्षालाई सम्झन पुग्छु। उनले सुनाएका वेदनाका लहरहरू मनमा ओहोरदोहोर गर्न थाल्छन्। 'हजुर भुपू जस्तो लाग्यो नि?' उनले सोधेको प्रश्नले दिमागमा अड्डा जमाउन थाल्छन्।
सोच्न थाल्छु, दिक्षालाई यति गहिरिएर नियाल्न सक्ने मेरा आँखाहरू इन्डियन आर्मीको छनौटमा देखाइएका कलर भिजनका अंकहरू किन देख्न सकिनँ? किन कमजोर ठहरिएँ?
मलाई छनौटमा नपार्ने खराब नियत थियो या दिक्षाप्रति हेर्ने मेरो नियत खराब छ? आफै प्रश्न गर्दै आफै उत्तर खोजिरहन्छु। तर उत्तर नपाउँदै कतिखेर भुसुक्कै निदाएछु।