म
हरेक दिन
मनको ऐना हेर्छु
र
थाहा पाउँछु
म कस्तो छु।
मनको ऐना हेरेर- थाहा पाउँछु
मैले बाचेको धरातल
जान्दछु
मेरो क्षमता र हैसियत
बुझ्दछु
म को हुँ।
मैले हेर्ने मनको ऐना
मेरो मनको कुनामै झुन्डिएको छ
र त
जब म विचलित हुन्छु
म त्यही मनको ऐना हेर्छु
जब उत्साहित हुन्छु
म त्यही मनको ऐना हेर्छु
जब म केही बोल्न खोज्छु
त्यही मनको ऐना हेर्छु
जब म केही लेख्न खोज्छु
त्यही मनको ऐना हेर्छु
जब म केही गर्न खोज्छु
त्यही मनको ऐना हेर्छु।
त्यही मनको ऐना हेरिसकेपछि
म आफूलाई
एक- सिकारु विद्यार्थी पाउँछु
एक- स्वाभिमानी नागरिक ठान्छु
एक- अपूर्ण मानव महसुस गर्छु
धर्तीको एक- पाहुना मान्छु
जो दुई दिन बिताएपछि बिदा हुनुपर्छ
अझै प्रस्ट भन्दा
म आफूलाई सत्य र स्पष्ट देख्छु
जसरी मेरो मनको ऐनामा मेरो चित्र स्पष्ट देखिन्छ।
तर म
जो कोही स्पष्ट देख्दिनँ
किनकि
ती बोल्छन् एउटा र गर्छन् अर्को
ती ठान्छन् आफू सबैभन्दा जान्ने अरू नजान्ने
ती सोच्छन् आफू असल अरू खराब
र लाग्छ
तिनीहरूले मनको ऐना कहिल्यै हेर्दैनन्।