सुन्दै आएकी छु
तीज एउटा पर्व हो
भोग्दै आएकी छु
तीज एउटा ‘पवित्र संस्कार’ हो।
रोदन र पीडाको
आँसु र हाँसोको
मनको भारी बिसाउने
तीज एउटा चौतारी हो।
घाँसपात र वन कन्दरा चाहर्दा चाहर्दै
वर्ष बितेको थाहै हुन्थेन
राम्रो नाना मिठो खाना
किन हो कुन्नि भागमै परेन!
डाँडापारिको माइतीसँग
साइनो पनि खै, केही भएन
रुन्थेँ एक्लै, हाँस्थेँ पनि एक्लै
मन बुझाउने बाटो कहीँ थिएन।
न पीडा पोख्न पाइन्थ्यो
न हातमा मोबाइल हुन्थ्यो
आजको यो दुनियाँ जस्तो
हाम्रो दुनियाँ कहाँ थियो?
सासू, नन्द, देवरहरू
खै किन हो आफ्नो ठानिएन
पराई घर आफ्नो बनाउन
खै किन हो, हजुर जानिएन!
तर हजुर
आज संसार बदलिएछ
दुनियाँ निकै रङिन भएछ
के–के नामले हो आज त
नृत्य तिम्रो भाइरल भएछ।
अतः
संस्कार र संस्कृतिको
जगेर्ना पनि गर्नु पर्छ
सुख–दुःखमा हजुर
माइती हामी जानु पर्छ।
आफ्नैलाई भुलेर
चमक–धमक गर्नु हुँदैन
भाइरलको नाममा हजुर
मर्यादा पनि भुल्नु हुँदैन।
शुभकामना के दिऊँ भन
तिम्रो तीज होस्
हाम्रो तीज होस्
अनुशासनको मिठो
स्वाद पनि बनी होस्
अर्को वर्ष भन्दिनँ म
आज हाम्रो दुनियाँ बनोस्
गरिमा तीजको सधैँ रहिरहोस्।