उनी अबेला मात्र सुत्ने ओछ्यानमा पुगेकी हुन्छिन्। लोग्ने आधा रातमा मात्र घर आइपुगेका थिए।
'हाम्रो बैठक थियो, साथीहरूसँग थिएँ,' ढिलो हुनुको कारण ऊ बताउँछ।
लोग्ने आइपुग्दा छोराछोरी खाईवरी सुतिसकेका हुन्छन्। सासूआमालाई अलिक सन्चो छैन। साँझको खाना पनि खासै रुचेन उहाँलाई। पल्लो कोठमा सुत्नु भएको छ। बेलाबेला ख्वाक्क ख्वाक्क खोकी राख्नुहुन्छ। सायद निदाउनु भएको छैन।
गायत्रीले लोग्नेको बोलीबाट चाल पाइन्, आज पनि पिएर आएका रहेछन्। खाना खाऊ भन्दा पनि खान मान्दैनन्। सुत्नु पहिले लोग्नेको पाउ मसारिन्। 'भो भो पर्दैन। ढिला भैइसक्यो अब सुत' भन्दै थिए। तर उनले आफ्नो धर्म छोड्न मानिनन्।
हल्का थोरै भए पनि लोग्नेको पाउमा मालिस गर्नु, बिहान उठेपछि पाउमा शिर नुघाउनु आफ्नो धर्म र कर्तव्य मान्छिन्। उनको लोग्ने निदाउन थाल्छन्। उनको मनले सोच्छ अब सुत्छु। आफ्ना दुई आँखाहरू चिम्लेको हुन्छ तर मनका आँखाहरू कहाँ-कहाँ डुल्न पुग्छन्। फकाउँदै ल्याएर निद्रामा पार्न बल गर्छिन्।
तर मनका आँखाहरू कहिले बिरामी सासूआमाको मुहार देख्न थाल्छन्। कहिले ब्याउने भएको काली भैंसीको ज्यान देख्न थाल्छन्। कहिले छोराछोरीको अनुहारहरू दौडेर उनको काखभरि झुम्मिन आइपुगेको देख्छन्। उनी विस्तारै उठेर छोराछोरी सुतेको कोठातिर पुग्छिन्।
लहरै सुतिरहेका उनीहरूको अनुहार नियाल्छिन्। आनन्दले निदाइरहेका छन्। लहरै ठूली छोरी बिनिता, छोरा आर्यन र कान्छी विद्या। ओढ्ने मिलाइदिइन्। पलङको छेउमा एकछिन बसिन्। छोराछोरीलाई हेर्दै मन बहलाउन थालिन्।
मनमनै भनिन्- 'तिमीहरूको उमेरमा मलाई पनि यस्तै निन्द्रा लाग्ने गर्थ्यो। गायत्री छिटो उठ भनेर आमाले बोलाउनु हुँदा पनि 'एकछिन न आमा, अलिकति सुत्न दिनु न' भनेर आमालाई अटेरी गरेर लाडिएर बोल्दै फेरि सुतिदिन्थेँ। अचेल रात गुज्रिसकेको हुन्छ। सुत्छु भनेर निदाउन प्रयास गर्छु। निन्द्रै लाग्दैन कहिलेकाहीँ। सुत मेरा प्यारा मुटुका टुक्राहरू। यही उमेरमै हो हाँस्ने, रमाउने, खेल्ने, सुत्ने, सिक्ने। मन लागेको कुरा बाआमासँग जिद्धी गरी गरी मागेर लिने दिन। पछि त कति कुरा चाहेर पनि जिद्धी गरेर पाउन मुस्किल हुन्छन्। कति चाहनाहरू लुकाएर बस्नु पर्छ।'
सुत्ने कोठामा उनी फर्केर आउँदा उनको लोग्ने मस्त निन्द्रामा भेटाउँछिन्। मोबाइलको टर्चलाइट बाल्छिन्। उसको मुहारतिर नजर डुलाउँछिन्। विवाह नहुँदा देखेको सपनाको राजकुमार र विवाहपछि पाएको लोग्नेबीच काल्पनिक रुपमा तुलना गर्छिन्। मेरो भाग्यमा लेखेकै यही लोग्ने रहेछ। सपनामा देखेको जस्तो सबै कहाँ मिल्छ र? आफूले पाएकोमा सन्तुष्ट भएर जिउन जान्नु पर्छ। कहिलेकाहीँ पिएर दु:ख दिए पनि सोझो हुनुहुन्छ, इमान्दार हुनुहुन्छ। यसैलाई भाग्यमानी मान्नु पर्छ।
मनलाई नियन्त्रण गर्न खोज्छिन्। लोग्नेको छेउमा गएर निदाउन प्रयास गर्छिन्। रात धेरै गुज्रिसकेको हुन्छ।
बिहान सबेरै भालेको डाँकोसँगै ब्युँझिन्छिन्। कहिलेकसो भाले बास्न भुल्ने भएर मोबाइलमा अलार्म पनि सेट गरेको हुन्छ।
निदाएको लोग्ने घुरिरहेको छ। विस्तारै उठ्छिन्। निदाएको मान्छेलाई हल्ला नहोस् सोच्छिन्। तर सारीको सप्को हाल्दा दुवै नाडीमा लगाएको हरियो चुराहरू ठोक्किएर छरङ्ग छिरिङ्ग आवाज आउँछ। लोग्नेको खुट्टातिरको सिरक हलुका तानेर शिर झुकाउँछिन्। दीर्घायुको कामना गर्छिन्।
बाहिर सिमसिम पानी परिरहेको छ। भान्छा कोठामा गएर आगो सल्काउनु छ। राति खाना खाएपछि ताउलोमा कुँडो हालेर काठका ठुँटाहरू ठोसेर गएकी थिइन्। बिहानसम्ममा निभिसकेछ। लाइटर खोजेर आगो बाल्न सुर गर्छिन्।
त्यसपछि गायत्रीको दैनिकी सुरु हुन्छ। घर आँगनको सफाइ, लिपपोत, चुलो चौको, चिया, नास्ता। गाईभैंसीको गोबर, भकारो सफाइ, कुँडो हाल्ने। छोराछोरीलाई नास्ता। सासूआमालाई दबाइसँगै मनतातो पानी। खाना बनाउनु। सबैलाई खुवाएपछि आफूले पनि खाएर केही समय भए पनि दिउँसोको मेलो जानु आदि।
गर्नुपर्ने कामहरू सक्काइन्। बिरामी आमाको कोठामा गएर एक नजर लगाउँछिन्। आमा निदाइरहनु भएको देखेर नबोली तल ओर्लिन्। उनी छोराछोरीलाई चिया नास्ता दिन लागेकी हुन्छिन्।
'गायत्री! ए गायत्री...! एकैछिन माथि आऊ न,' लोग्नेले बोलाउँछन्।
'राति म कतिखेर आएछु? मेरो पर्स देख्यौ? ल्याऊ त कता राखेछ्यौ?,' पर्स खोज्छन्।
'मैले त देखिनँ त! हजुर आधा रातमा आउनु भाथ्यो। नखानुस् भन्दा मान्ने हैन। छोड्छु भन्नुहन्छ, छोड्न सक्ने हैन। बाहिरै कतै त खसेन?,' अनविज्ञ हुँदै बोलिन्।
'साँच्चै नदेखेकै हौ त? कि मजाक गर्दैछ्यौ?' अझै आशातीत भएर बोल्छ।
'भगवान कसम! मैले त देखेको छैन। पैसा कति थियो नि पर्समा?'
'धेरै थिएन। पाँच जति थियो कि!'
'सय कि हजार?'
'हजारको।'
'तीज आको छ। नन्दहरूलाई लिन जानुपर्छ। सामानहरू किन्नु छ। पैसा धेरै मासेर हिँड्ने हैन है भन्दिएकी छु। माइतीले दोहोरेन भनेर चेलीहरूबाट बेइज्जती नहोस् फेरि।'
'आमा! आमा!' बिनिताले बोलाइन्।
'के भयो बिनिता? म आएँ।'
'बाबाको पर्स...!'
'कहाँ भेट्टायौ भन त?'
'दिनेशले ल्याइदिएको। साइलो अंकलको घरमा खसाल्नु भएको रहेछ।'
कहाँ खसेको रहेछ बल्ल थाहा हुन्छ।
'यहाँ ल्याइदेऊ त बिनिता। तिम्रो बाबाको यही बानी नराम्रो। कहाँ छोडेको थाहा हुँदैन। घरमा आएर खोजिरहनु हुन्छ।'
'बिनिताकी आमा...! ए गायत्री....! यहाँ आऊ बा!' आमाले बोलाइन्।
'नास्ता पस्केर भाइबहिनीलाई देऊ। तिमी पनि खाऊ' भनेर बिनितालाई अह्राइन् र उनी सासूआमा सुत्ने कोठातिर लागिन्।
आमा पलङमा टुक्रुक्क बसेको देख्छिन्।
'खोई आमा ज्वरो कतिको छ?,' निधारमा हात राख्छिन्।
'हिजोभन्दा विशेक लागेको छ। दिउँसो के हुन्छ फेरि! कृष्ण कहाँ छ? राति कतिखेर आयो? तीजकै मुखाँ मलाई सन्चो भएन। दुइटी छोरीहरूलाई लिन जानुपर्छ। तँलाई पो माइत पठाउन सक्छु सक्दिनँ यसपालि तीजाँ!,' बिरामी परेकी आमा मलिन स्वरमा बोलिन्।
'हजुर सन्चो नभए म कसरी छोडेर जान सकूँला र आमा! हजुरलाई निको भएपछि कुनै दिन जाम्ला नि। मेरो पीर नगर्नुस् आमा! पहिले हजुर सन्चो हुनुपर्यो। दूध र पानी लिएर आउँछु। त्यसपछि नास्ता खाएर दबाइ खानुपर्छ है,' आफ्नो कर्तव्यमा कमी नहोस् चाहन्छिन् उनी।
आमालाई नास्ता लिएर आमा सुत्ने कोठातिर जानै लाग्दा नित्यकर्मपछि लोग्ने आइपुग्छन्।
'आमालाई कस्तो छ गायत्री?'
'हिजोभन्दा ज्वरो कम छ। विशेक होला कि। नास्ता खाएपछि दबाइ खुवाउनु छ। हिँड्नुस् न जाम माथि!'
दुवैजना आमा भएतिर लाग्छन्। नास्ता खाएर छोराछोरी पढ्न थाल्छन्।
'आमा! कस्तो छ हजुरलाई? अलिक नै भए अस्पताल जानुपर्ला?' आमासँग विचारविमर्श गर्न खोज्छ।
'अहिले नै अस्पताल जानु पर्दैन। गायत्रीले दबाइको जोहो गरिछे। खाँदै छु। धार्जे विशेक होला। हिजो राति कहाँ गथ्यौ? यसो सकेको काममा घरकालाई सहयोग पनि गर्नुपर्छ कृष्ण। गायत्रीलाई मात्रै काम बढी भएको छ। यसको पनि ख्याल गरेस्,' छोराको चाल र बुहारीको गुन देखेर आमाले बोलेकी हुन्छिन्।
'भैहाल्छ नि आमा! तपाईं चिन्ता नलिनस् न। बिरामी मान्छे धेरै सोचेर नबस्नुस् क्या!' सहमति जनाउँदै बोल्छ।
'तीज नजिकिँदै छ। दर खाने दिन बिहान सीमालाई लिन बरभञ्याङ जाऊ। फर्केर आएपछि दिउँसो रक्षालाई आधा बाटोसम्म लिन जानुपर्छ। अस्ती नै फोनमा कुरा गर्दा रक्षाले भनेकी छे। दर खाने दिन मलाई लिन आधा बाटोसम्म दाइलाई पठाउनु।'
'होइन आमा, नानीको घरमै पुग्नु पर्छ। अरुले के भन्लान्? उहाँलाई फुर्सद नभए मै जाम्ला नि रक्षा नानीलाई लिन। एक बिहानको बाटो त हो। फेरि उताकाले माइती भएर पनि तीजमा लिन आएनन् भनेर कुरा काट्लान्,' इज्जत र जिम्मेवारी सोचेर उनले भनिन्।
'कुरा पनि ठिकै हो तर रक्षाले बुझेकी छे। ज्वाइँ पनि अरुजस्तो अप्ठ्यारो खालको हुनुहुन्न। आधा बाटोसम्म उतैका कोही लाउलान्। रक्षाले मनाउँछे। गायत्रीलाई पनि तीजमा माइतीघरको आँगन टेक्न रहर हुन्छ। माइतीलाई पनि चेली देख्न, दर खुवाउन मन हुन्छ। खोई! मलाई सन्चो भयो भने त साँझ एकबास बस्ने गरी पठाम्ला। सन्चो भएन भने पो के गर्ने यिनलाई?,' खुइया सुस्केरो हाल्छिन्।
'यसलाई तीजपछि पठाम्ला नि। तपाईं सन्चो भएपछि बरु हप्तादिन बस्ने गरी।'
लोग्नेको कुरा सुनेर लोग्नेलाई हेर्दै मुखको संकेतले 'उम् खुबै! दिनु भयो नि हप्ता दिनसम्म माइत बस्न!' इशाराले बोलिन्।
तीजको दिन नजिकिँदै छ। सासूआमाको स्वास्थ्यमा पनि सुधार हुँदैछ। गायत्रीले सोच्छिन्, तीजमा माइत जान त यस्तै होला। तर तीजपछि एकचोटि पुग्छु। मनमा योजना बुन्छिन्। माइतीतिर फोन गर्दा बाबाआमासँग पनि त्यही कुरा बताउँछिन्। उनकी बहिनी सरलालाई 'तीजको दिन माइती आँगन शून्य नहोस्, तिमी तीजमा जसरी पनि बाबाआमासँग हुनुपर्छ' भनेर सन्देश छोड्छिन्।
तीजको लागि चाहिने सामानहरू किन्ने काम लगभग सकिएको हुन्छ। रोटी बनाउने, अचार बनाउने कामहरू दर खाने दिन बिहानदेखि बनाउने योजना बनाउँछन्। भैंसीको बच्चा ब्याउने दिन पनि नजिकिँदै छ।
तीज पनि आयो। दर खाने दिनको बिहान लोग्नेलाई नन्द सीमालाई लिन पठाइन्। बिनिता र आफू चाहिँ रोटी पकाउन, अचार बनाउनतिर लागिन्। दिउँसो भान्जाभान्जी लिएर सीमा आइपुग्छिन्। साँझ रक्षालाई आधा बाटोसम्म गएर लिएर आउँछन्। काखकी छोरी साथमा ल्याएकी थिइन्। छोरीहरू माइती घरमा आइपुगेपछि उनीहरू त माइतीघरको मायाले यसै खुसी हुने स्वभाविकै हुन्। आफ्ना सन्तानलाई काखमा पाएपछि आमाको बिमारी पनि च्वाट्टै गराएजस्तो भयो।
आमाछोरी भएर सबै खाने परिकार तयार गर्छन्। सबै काम सकिएपछि साँझ पर्ने बेलामा दर खान सुरु हुन्छ। मिठा-मिठा परिकार बनाएर चेलीहरूलाई खुसी बनाउन कुनै कमी नराख्ने उनले प्रण गरेकी छिन्। जो चाहेकी थिइन् पूरा हुँदै गर्छन्। चेलीहरूको खुसीमा आफ्नो खुसी र आनन्द मिसाउँछिन्।
राति उनीहरूकै आँगनमा माइती आएका गाउँभरिका चेलीबेटीहरू जम्मा गराएर तीज गीत गाएर नाच्ने कार्यक्रम बनाउँछन्। रक्षा गीत गाउन र नाच्नमा औधी रुचि राख्छिन्। विवाह नहुँदा गाउँटोलमा हुने सांगीतिक कार्यक्रमहरूमा उद्घोषकको काम गर्ने गर्थिन्। नाच्न र गाउन अनि बोल्न जान्ने चेली भनेर आफ्नो चिनारी दिलाइसकेकी थिइन्।
पाहुनाहरूलाई खुवाउँदै थिइन्। रमाइलो माहोल चलिरहेको छ। गाउँका चेलीबेटीहरू बाटोमा आऊजाऊ चलिरहन्छ। मौसमले पनि निकै साथ दिइरहेको हुन्छ। न पानी दर्किन्थ्यो विगतमा जस्तो न चर्को घाम। नत्र भने भदौरे घाम चर्कियो भने टाउको फुटाउलाजस्तो तातो र पानीमा चोबिएको ज्यानजस्तो पसिनाले निथ्रुक्कै हुनु पर्थ्यो।
'गायत्री, कि पर्सि बिहान फर्किने गरी भोलि बिहानै माइत जान्छेस् त?,' सेलरोटी चबाउँदै सासूआमाले सोधिन्।
'भयो आमा! आज हो खास पुग्नु पर्ने। गाउँमा नाचगान रमाइलो हुने। फेरि काली भैंसी पनि ब्याउनै लाको छ। यसपालि यस्तै भयो।'
एक्ली बुहारी। आफ्नो जिम्मेवारीबाट चुक्न नचाहेर उनले नजाने मत राखिन्। सासूआमाले सक्दो मिलाउन कोसिसमा देखिन्थिन्। विवाह गरेर घर धानिरहेका महिलाहरूको मर्म बुझ्ने मन छ सासूआमासँग। बुहारीले आमाको मर्म बुझ्छिन्। सम्मान गर्छिन्। आमाले बुहारीलाई बुहारीको रुपमा मात्र नभई छोरीको दर्जामा राखेकी हुन्छ्नि्। त्यही सासूबुहारीको व्यवहार हेरेर गाउँलेहरूले नमुना सासूबुहारीको संज्ञा पनि दिएका छन्।
साँझ पर्दै जान्छ। उनीहरूको आँगन एक-एक गर्दै जम्मा भएर भरिन थाल्छन्। आँगन भरिएर पिँढीसम्म टन्नै मान्छे हुन्छन्। रात पर्दै गर्छ। तीजको भाका गाउँदै आँगनभरि नाच्नेहरूको भिड छ। चारैतिरबाट तालीको फोहोरा बजेको हुन्छ। गायत्री र रक्षा नन्दभाउजूको जोडी कम्मर मर्काई-मर्काई नाच्दै थिए गीत गाउँदै यी शब्दहरूमा-
'सासू पाएँ आमाजस्तै, बुहारी बनेँ छोरी झैं
सम्झाए नि, गाली दिए नि, लाउँछ लोरी झैं
बुझ्नु पर्छ नारीले नै, पीर र मर्का नारीको
आमाछोरी जस्तै नाता, सासू बुहारीको!'
००
'भाउजू हुन् आमाजस्तै, छोरी हुन् नन्द नि
नारीले नै नारी दबाउँछन्, पुरुषले भन्दा नि
नारी पुरुष बराबरी, कहाँ छ फरक रगतले
आधा आकाश ओगाटेछन्, नारी जगतले!'
जति खुलेरै नाचे पनि गायत्रीको मनलाई भने माइतीघरको यादले खिचिरहेको हुन्छ। आफ्नै घरको आँगनमा नाच्दै गर्दा माइतीघर र बालापनमा खेलेको माइतीघरको आँगन नजरमा डुलिरहेको देख्छिन्। सानोमा खेलेको आँगनमा नाचिरहेको आभास हुन्छ। नाचगान हेरेर पिँढीमा बसिरहेका वृद्धवृद्धाहरूको अनुहारमा आफूलाई जन्म दिने बाआमाको अनुहार आएर छपक्कै टाँसिएको देख्छिन्।
उनी सोच्न थाल्छिन्- 'विवाहित चेलीहरूलाई माइती र माइतीघरको माया सदैव रहिरहन्छ। त्यसमध्ये पनि पर्वले अझैं महत्व राख्दो रहेछ। जसरी पुरुषलाई भाइटीकामा र नारीलाई तीज पर्वमा!'