हिमालले हिउँ बोकेर कहिले थाकेको देख्नुभएको छ र?
सागरलाई आफ्नै छालहरूले जति पिट्दा पनि उ पिटिई रहन्छ र मुस्कुराई पनि रहन्छ।
सागर रोएको कहिले देख्नु भएको छ र?
जीवन मुस्कुराउनु पनि एक दर्शन हो भन्ने लाग्छ मलाई।
केही क्षण मसँग हिड्नुहोस है।
यो तस्बिरमा बाल्टीन र गाग्री बोकेकी मेरी आमा हुनुहुन्छ। अनि त्यस पछाडि देखिएको छाप्रो - हाम्रो घर। यही घरमा आमा बाको चार जनाको परिवार बस्नु हुन्थ्यो रे। म आमाको पाठेघरमा मस्त खेलिरहेकी थिएँ रे।
हुन त अहिले म यो लेख्दै गर्दा मेरी आमाको मृत्यु भएको पनि १८ वर्ष भै सकेछ। अहिलेको मेरो उमेर भन्दा एक दुई वर्ष मात्र बढ्ता बाँच्न पाउनु भएकी मेरी आमामा सहनशीलताको खानी नै थियो।
जन्म पछिको मृत्यु पनि- यो पृथ्वी, यो आकाश र अनन्त ग्रह मध्ये चन्द्र सूर्य जत्तिकै सत्य हो।
मेरा बाबा–आमा पनि हिउँ बोकेको हिमाल जस्तै, छालहरूले पिटिएको सागर जत्तिकै दुःखले कैयौ पटक पिटिइरहनु भएको मैले महशुस गर्थें जब म बुझ्ने भएकी थिएंँ।
आकाशको अनन्त फैलावटलाई समेटेर मेरा बाबा–आमा जीवन संघर्ष गरिरहेको मैले देखेकी थिएँ।
म धेरै कुरा जान्दिन होला। धेरै कुरा बुझाउन नसकुँला तर समयसँग मिलेर घामका पाइतालाले बाटोमा टेकेर उभिँदा म पनि आफ्ना पाइताला समयको बाटोमा उभ्याउन चाहन्छु। सत्यमा टेक्न चाहन्छु कारण मेरा बाबा–आमालाई पनि सुखको सोख थियो होला त्यो सुखभोग गरेको मैले देख्न पाइनँ।
कहिलेकाहीँ म मेरै आफ्नैसँग दुख्न पुग्छु बाबा–आमाको काखमा हुर्कन नपाएकाहरूले बाबाआमाको महत्व पनि कम बुझ्ने रहेछन् भन्ने लाग्छ।
आज मेरी आमा अनन्त अज्ञात यात्रामा हुनुहुन्छ। कुनै एकदिन म पनि सोही यात्रा तय गर्नेछु। यो सत्य हो।
मृत्युका कुरा भो नगरौं।
जन्म र भोगाईका मिठा नमिठा सम्झनालाई थोरै भए पनि ताजा बनाउन मन लागिरहेछ र लेख्ने प्रयास गर्दैछु।
प्रेमको बयान गर्नुको अर्थ र सार कति होला थाहा छैन। मेरा बा र आमा एक अर्कालाई औधी प्रेम गर्नु हुन्थ्यो। मैले बुझ्ने भए देखि मैले मेरो बा–आमा ठूलो श्वरले बोलेको कहिल्यै सुनिनँ। एक अर्कालाई यति धेरै प्रेम गर्ने परेवा जोडी पनि भनिन्छ त्यही परेवा जोडी हुनुहुन्थ्यो उहाँहरू।
यति धेरै प्रेममा पनि कहिलेकाहीँ मेरी आमा दुख्नुहुन्थ्यो।
त्यसरी दुख्दा उहाँ कापीका पानामा कलमका निभले आँसु झार्नुहुन्थ्यो। ती कापिका कुनैकुनै पाना मैले भेटेर पढेकी पनि छु।
म सम्झन्छु त्यसरी दुख्दा पनि उहाँका ति पानामा प्रेमकै सम्बोधन हुन्थ्यो। दुखाईका घाउहरू पाना भरी छरिन्थे।
‘मेरो हृदयको देवता..’
‘मेरो प्राण...’
ती पत्रहरूमा यसरी सम्बोधन गर्नुहुन्थ्यो उहाँ।
मेरी आमा पनि एक अज्ञात साहित्यकार हुनुहुन्थ्यो भन्ने लाग्छ मलाई।
कलमका भाकामा पीडाको गीत गाउन खप्पिस साहित्यकार।
आँधीखोलाको सँगीत सुनेर बालापनमा नाचेको र युवती हुँदा यौवन पखालेको भएर होला उहाँ भन्नु हुन्थ्यो–‘नदीको संगीत मलाई मन पर्छ।’
प्रेम अन्धो हुन्छ भन्छन् नि। प्रेम अन्धो नै हुने रहेछ मेरी आमा मेरो बाबाको कान्छी श्रीमती हुनुहुन्थ्यो। प्रेमले डोर्यायो उहाँहरूलाई र सम्पूर्ण कुरा आफ्ना आफन्तदेखि सबै छोडी साथमा एउटा यसिका क्यामेरा र ५०० रुपैयाँ मात्र लिएर ४ जनाको परिवार बाबाका कान्छा भाइ र आमाकी दिदीकी छोरी लिएर उहाँहरू मधेश बर्दिया झर्नुभयो। सायद त्यो बेला पनि जिम्मेवारी र कर्तव्य थियो र उहाँहरू दुईजना मात्र हिँड्न पाउनु भएन।
उहाँहरूलाई प्रेमले डोर्याएर ल्यायो र जंगलको माझमा राखिदियो।
वि.सं. २०२९ साल तिर बर्दियामा सरकारले ऐलानी जग्गा बितरण गरेको थाहा पाएर आएका मेरा बा र आमा औलो (कालाज्वर) जस्तो महामारी र भारतीय सिमानासँग जोडिएको जंगल फाँडेर बस्न तयार हुनु भयो।
जंगललाई फाँडेर प्रेमको सिंगारले त्यसलाई सुन्दर बस्ती बनाउनु भयो। यी सबै कुरा सुन्दा, महशुस गर्दा मलाई यसको बोध भएको छ कि जीवन अनन्त छ। प्रेमले जीवन बाँच्ने ऊर्जा दिन्छ र प्रेमले दुःखलाई छलेर मन हावासँगै हलुंङ्गो भएर उडिदिन्छ।
बाबा–आमाले दुःखको पर्खाल भत्काउन प्रयत्नरत रहँदा म आमाको पाठेघरमा मस्त खेलिरहेकी थिएँ। सुतिरहेकि थिएँ रे। आमाको पेटको पर्खाल धकेल्दै परपर उछुट्ट्यिाउँदै आमाको पाठेघर भित्र म हुर्किरहेकी थिएँ रे !
बाहिर सानो खरले छाएको कुटी जस्तो घर अनि चार जनाको परिवार।
जंगल माझमा स्याल र सिमा पारीका चोरहरूले सताउँदा पनि बाबा–आमा एक अर्काका परिपुरक हुनुहुन्थ्यो।
एउटा चारपाई (जुटको डोरीले बाटेको खाटमा) ४ जनाको परिवार कहिले बाबा कुरुवा बस्ने कहिले आमा कुरुवा बस्ने गरेर रात कटाउनु हुन्थ्यो रे !
ती दिनहरू त भोग्नेलाई मात्र थाहा होला।
ती पलहरू भोग्नेलाई कति दुख्यो होला, त्यो कस्ले बुझ्ने?
सन्तान जन्मिएपछि हुर्काउने, पढाउने कर्तब्यले गर्दा आफूहरूले जस्तो दुःख नपाउन् भनेर उहाँहरू बर्दियाबाट नजिकको शहर पस्नुभयो नेपालगन्ज। खाली हात शहरको बसाई झन के सजिलो थियो होला र !
उहाँहरू तारताम्य मिलाउन भाइ भन्दा साना दुई वटी बहिनीलाई लिएर शहर पस्दा म आठ वर्षकी थिएँ हुँला, म पछिको भाइ ६ वर्षको थियो। गाउँकै एक महिलालाई रातीमा कुर्ने जिम्मा लगाएर उहाँहरू जानुभएको थियो।
म सम्झन्छु, हामी दिदीभाइ स्कुलबाट फर्किए पछि घर भित्र पस्न डर मान्थ्यौ। गाउँको धुलाम्मे बाटोमा खेलिरहन्थ्यौं। सबैको घरमा खाना पाकिसकेको हुन्थ्यो। साँझ बत्ति बलि सकेको हुन्थ्यो। हामी भने ती महिलाको पखाईमा बाटोको माटोसँग खेल्दै हुन्थ्यौं। खेल्दाखेल्दै कहिलेकाँही भाइ त्यहीँ निदाइदिन्थ्यो। म उसलाई हेर्दै बसि रहन्थें। ती महिला राती हातमा टर्चलाइट लिएर आइपुग्थिन्। अनि हामी पनि टर्चलाइट्को उज्यालोसँगै उज्यालिदै प्यारो घर भित्र छिर्थ्यौं।
हामीमा स्वाभिमान पनि थियो होला बा–आमाले दिएको संस्कार थियो होला, हामीलाई अरुले कुवचन बोलेको सहन सक्दैनथ्यौं।
बाबा–आमा नेपालगन्ज हुनुहुन्थ्यो। एकदिन हामी स्कुलबाट फर्कदै थियौ, भाइको साथी मेरो पनि भाइ नै भयो। उसले मलाई बाटोमा हिँड्दै गर्दा ‘दिदी खुकुरी भन त’ भन्यो मैले पनि खुरुक्क खुकुरी भनी हालें।
खुकुरी भन्न के भ्याएको थिएँ उसले ‘तेरी आमा पोइल दगुरी’ भन्यो।
बाबा–आमा टाढा भएकाले एक्ला थियौं। मेरो त मन भित्र नै खुकुरीले हाने झैँ भैहाल्यो। मैले उसलाई एक थप्पड हानेँ।
मैले एक थप्पड के हान्न भ्याएको थिएँ भाइले त मुक्का बर्साउन सुरु गरि हाल्यो। त्यो भाइको नाकबाट भल्भली रगत बग्न थाल्यो। अब हामीलाई आपत पर्यो। हामी दिदी भाइ दगुर्दै खोलाको किनारमा खरको झाडीमा लुक्यौं। घर आउनै डर लाग्यो त्यतिबेला पूर्णिमाको रात रहेछ क्यारे, आकाशमा जून देखिँदासम्म लुकिरह्यौं जूनको उज्यालोमा डराएको मनले रात परेको पनि थाहा नै पाएनछौं हामीले।
जब म बुझ्ने भएँ तब देख्थें आमा र बाबा रातीको एक दुई बजेसम्म मेशिन चलाएर स्वेटर बुन्नुहुन्थ्यो। स्वेटर त के भनौं सन्तानको भविष्य राम्रो होस भनेर आफ्नो निद, भोक, थकाईको डोरी त्यसैमा बुन्नु हुन्थ्यो। मैले बुझ्ने हुँदासम्म दुःखका पहाडले थिचिएर बाथ रोगले ग्रसित भैसक्नु भएको थियो आमा। खुट्टा हिँड्न नसक्ने भैसकेका थिए हातका औंलाहरू बांगिइसकेका थिए तर दुःख सकिएको थिएन, शरीरले साथ छोड्दै जाँदा पनि मेशिनले साथ छोड्न मानेको थिएन।
दुखाई कम गर्ने औषधि सेवन गर्दै मेसिनसँग आफ्ना गुनासा पोख्नु हुन्थ्यो।
त्यो कसले बुझ्ने?
ज्ञानले नै जीवनलाई सार्थक बनाउँछ भन्ने उहाँहरूले बुझ्नु भएको थियो। उहाँहरू दायित्व बोध गरेर पीडामा पनि कर्तव्य निर्वाह गरिरहनु भयो।
आमा कसैको चित्त दुखाउन चाहनु हुँदैन्थ्यो। आउनेहरूलाई आफूसँग जे जति छ दिएर खुवाएर पठाउनु हुन्थ्यो त्यति कोमल हृदयकी हुनुहुन्थ्यो। कमाउने हात–बाबा आमाको मात्र थियो। हामी ६ जना छोराछोरी मध्ये म बाहेक अरु सबै बोर्डिङ स्कुलमा पढ्थे। मेरी आमा मायाकी खानी हुनुहुन्थ्यो। कसैलाई नाईं भन्न सक्नु हुँदैनथ्यो।
एकपटक बाटोमा रुँदै हिँडेको एक युवक जो आफ्नै बाबुबाट प्रताडित रहेछ। त्यस्तो जवान केटो बाटोमा एक्लै रुँदै हिँडेको देखे पछि बोलाएर खाना खुवाएर उसको गन्तब्यसम्म जाने भाडाको जोहो समेत गरेर पठाउनु भएको मैले देखेकी छु।
म बन्द श्वासलाई क्रमबद्ध चलाउन चाहन्छु।
मेरो मस्तिष्कको मनिटरमा लिपिबद्ध सम्झनालाई निमेषभरका लागि भए पनि म तपाईहरूसँग हिँडेर प्रत्येक बिन्दुसम्म पुर्याउन चाहन्छु र भन्न चाहन्छु मान्छे भएर बाँच्न सजिलो छ मात्र संयमता सहनशीलता र ऊर्जाको खाँचो छ।
इन्द्रियहरूका अनुभवबाट मान्छे चलायमान र क्रियाशील हुन्छ। प्रेमको पारस्परिक भोगाई एउटा हतियार हो जसले दुःखलाई काट्छ।
प्रेमको सुम्सुम्याईले जीवन अघि बढ्न प्रेरित गर्छ।
मानिसका आआफ्नै दुःख छन् तर दुःखमा शिक्षा दिन जानेका हुनुहुन्थ्यो मेरा बाबा–आमा।
परिवार, घर अनि समाज हुदै देश बन्छ भन्ने कुरा बुझ्नु भएको थियो उहाँहरूले।
दुःखलाई कोखिल्लामा गाग्री च्यापे जस्तै आफ्नै पोल्टामा च्यापेर सन्तान शिक्षित तुल्याउन लागि पर्नु भयो।
शिक्षा विना जीवन अपुरो हुन्छ भन्ने लाग्छ।
कहिल्यै पनि जन्म मृत्युसँगको इतिहास अन्योलमा छैन। दिन उदाउनु, घाम अस्ताउनु कहिल्यै अन्योलमा छैन। अन्योलमा छ त केवल विचार छ। केवल बुझाई छ। आँखाको दृष्टिले परसम्म दृश्यावलोकन गर्न नसकिएला मस्तिष्कको आँखा खुलै राख्न सक्नु पर्छ। गोडाहरूले हिँड्न नसकिएला तर हिम्मतले हिँड्न सक्नु पर्छ। जीवन बाँच्नु मात्र नभएर सत्य अंगालेर बाँच्न सक्नु नै सफल जीवन हो।