हाम्रो सबै अचल सम्पत्तिको भाउ दलालीको हातमा छ। एउटै जग्गा पचास पटक बेचाउने दलालीहरु यहीँ छन्। तिनीहरुले राज्यलाई कर तिरेका होलान् त? पक्कै तिरेका छैनन्।
एउटा जग्गा बेच्यो, आएको कमिसनले गाडी चढ्यो, अर्को बेच्यो फेरि त्यो कमिसनले गाडी फेर्यो। यस्ता दलालीहरु त तपाईंकै वरिपरि छिमेकमा देख्नु भएकै होला। जे हुन हुँदैन नि, त्यही हो आलुवाद।
यहाँ डिग्री पास गरेकाको तलब २० हजार होला र असाक्षर नेताले २० लाख कमाउँछन्। अझ कम योग्यताको दलालीले कति कमाउला, त्यो माथि नै सविस्तार गरिसकियो।
यहाँ वृद्ध वृद्धाले रोइ-रोइकन कृषि सम्हाल्छन्, युवाहरु भने विदेशमा पसिना बेचिरहेका छन्। अनि हाम्रा नेताहरु डलरमा इज्जत बेचिरहेका छन। जे हुन हुँदैन, त्यही भइराछ। यही हो आलुवाद।
यहाँ किसानको उब्जनीको मूल्य व्यापारीले निर्धारण गर्छन्, अनि दोब्बर, तेब्बर, चौब्बरभन्दा डबल बढीमा बेच्छन्। किसानले १० रुपैयाँ पाउँदा उस्को उब्जनी १०० रुपैयाँमा बजारमा बिक्री हुन्छ।
त्यो बीचको ९० रुपैयाँ कता गयो? त्यही भएर गीत बन्यो- बिर्कोमा लाको चिनीमा कसरी पस्यो कमिला? हो, अब बुझ्नु भयो के रहेछ आलुवाद?
यतिसम्म कि व्यापारी आफै कानुन हुन्, कानुन बनाउने नै व्यापारीले हो यहाँ। तपाईंले सोच्नु भयो होला, कानुन त हाम्रा प्रतिनिधिले बनाउँछन्। हो, यही त भ्रम छ तपाईंमा। हाम्रा प्रतिनिधि नै व्यापारीले बनाउँछन। अनि भएनन् त उनीहरु आफै कानुन?
बुझ्नु भएन होला। फेरि एक पटक पढ्नुस् माथिको वाक्य। जे होस्, जनता खुरुखुरु मान्छन्, यहाँ सरकारलाई पनि आलुवाद फापेकै छ। बिउ के रोपियो र कस्तो रोपियोसँग सम्बन्ध हुँदैन यहाँ। वादको मात्रै कुरा हुन्छ। फलिफापको मात्रै कुरा हुन्छ। हो, त्यही हो आलुवाद।
एउटाले मार्क्सवाद रोप्छ, उपलब्धिमा आलु नै फल्छ, फलिरहेकै छ। अर्कोले माओवादको बिउ फाल्छ, अन्तत: आलुकै शरणमा बस्नु पर्यो। जस्ले जे रोप्यो, अन्त्यमा आलु नै फल्यो।
कि त बिउ नै आलु रोपियो र नाम अर्को दिइयो अथवा जे बिउ रोपेपनि आलु नै फल्ने नयाँ प्रविधि विकसित भयो। दुईमा एक त भयो भयो। नयाँ-नयाँ कला जो हामीसँग छ।
सबैजना मिलेर विधि विधानका साथ समाजवाद रोपेर आलु नै फल्यो, यसमा पनि आलुवाद हौसिएको तपाईं हामी सबैले देखेकै छौं। किनकि हामीलाई हाम्रो आलुवाद खुबै प्यारो छ।
यहाँ चल्ने भनेकै इतिहासका लागि कालुवाद, प्रेमका लागि मायालुवाद, बिहारमा लालुवाद
र कपालका लागि तालुवाद हो। जो चलिरहेकै छ। सार्वभौमिकता त खोक्रा नारा हुन् यहाँ।
सार्वभौमिकता त केबल खोक्रा नारा हुन् यहाँ। आलुवादको भाषण नै बिक्छन् यहाँ। चल्ने भनेकै केबल आलुवाद हो यहाँ।
आलुवाद भन्या आलुवाद नै हो यहाँ। सफल हुन हाम्रा मास्टरसापहरु आलुलाई गोलभेँडा बनाउन खोज्छन्। आलुले कहिल्यै गोलभेँडाको ल्याकत राख्न सक्दैन भन्ने थाहा नै छैन उनीहरुलाई।
आलुलाई आलु नै रहन दिनुपर्छ। आलुको कहिल्यै वंशनाश नगरेकै राम्रो। आलुवादको विशेषता नै यही हो।
गुन्द्रुकमा आलु, काउलीमा नि आलु, अचारमा त झन् आलु, आलुमा समेत आलु। जताततै आलु। आलु नै सर्वमान्य छ यहाँ। भैरव अर्यालले त आलुवादलाई ठालुवाद माने भने तपाईं हामीले किन नमान्ने हो र?
यहाँ सबै आलु हुन्। तराईदेखि हिमालसम्म फल्ने कुनै बिउ छ भने त्यो मात्र आलु हो। जता पनि सर्वमान्य छ आलु। त्यसैले त भनेको आलुवाद।
इतिहासमा आलुलाई दौरा-सुरुवाल वा सारी-चोलोमा सजाइएकै थियो। अहिले आलुलाई कोट, सर्ट, पाइन्टमा सजाइन्छ। यत्ति त हो फरक। कहिले आलुलाई विदेश पुर्याइन्छ‚ कहिले रत्नपार्क, माइतीघरमा नाङ्गेझार पारिन्छ।
कहिले बानेश्वरतिर कहिले हानेश्वरतिर‚ बिहान थानेश्वरतिर‚ बेलुकी तानेश्वरतिर पुर्याएर आलुको धर्म परिवर्तन गराइन्छ। भो! अब त अत्ति भो‚ आलुलाई आलु बाहेकका वादबाट स्वतन्त्र गरियोस्।
आलु छुट्टै सिद्धान्त हो‚ आलु आफैंमा आदि र अन्त्य हो। बिग्रे पनि बिगारे पनि आलु आलु नै हो। सप्रे पनि सपारे पनि आलु आलु नै हो। त्यसैले एक स्वरमा भनौं 'आलुवाद जिन्दावाद!'
(लेखक टेलिभिजन कार्यक्रम निर्माता तथा प्रस्तोता हुन्।)