विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रमा एकै महिना झन्डै ९ हजार पर्यटक भ्रमणका लागि पुगेका छन्।
गत असोजमा आठ हजार ९०२ जना पर्यटक भ्रमणका लागि खुम्बु पुगेका सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चे सोलुखुम्बुले जनाएको छ।
जसबाट निकुञ्जले रु दुई करोड ३ लाख ४८ हजार ५५३ राजस्व संकलन गरेको निकुञ्जका कर्मचारी विवेक श्रेष्ठले जानकारी दिए।
उनका अनुसार निकुञ्जले प्रतिपर्यटक नेपाली एक सय, सार्क मुलुक एक हजार ५ सय र अन्य मुलुक तीन हजार प्रवेश शुल्क लिने गरेको छ।
चालु आर्थिक वर्ष २०८१/८२ को साउनमा १२५ तथा भदौमा एक हजार ३३१ पर्यटकले सगरमाथा क्षेत्रको भ्रमण गरेका छन्।
सो महिनामा तीन लाख ४५ हजार ९७५ र भदौमा ३२ लाख ३६ हजार ६९६ राजस्व संकलन भएको कर्मचारी श्रेष्ठले बताए।
'यतिबेला यहाँ पर्यटक ‘सिजन’ चलिरहेकाले पर्यटकको संख्या धेरै छ, सगरमाथासहित धेरै हिमाल निकुञ्ज क्षेत्रमै पर्छ। पर्यटक आवगमन बढेपछि उनीहरूसँग शुल्क र अभिलेख सङ्कलनमा हामी व्यस्त छौँ,' श्रेष्ठले भने।
सगरमाथा क्षेत्र भ्रमणका लागि पर्यटक काठमाडौँ र रामेछापको मन्थलीबाट जहाज तथा हेलिकप्टरमार्फत लुक्ला पुग्ने गर्छन्भने कतिपय काठमाडौँबाट सडकमार्गमार्फत सल्लेरी हुँदै लुक्ला पुग्ने गर्छन्।
फागुन १५ देखि जेठ १५ गतेसम्म र असोज, कात्तिक, मङ्सिर महिनालाई मुख्य पर्यटकीय सिजन मानिन्छ भने त्यसबाहेकका समयलाई ‘अफसिजन’ मानिन्छ।
सिजनमा दैनिक एक हजार जनाभन्दा बढी पर्यटक प्रवेश हुने सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेले जनाएको छ। सगरमाथा क्षेत्र विशेषगरी हिमाल आरोहण, वन्यजन्तुको अवलोकन र साहसिक पर्यटनका लागि धेरैको रोजाइमा पर्ने गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताए।
विसं २०३२ मा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्ज एक हजार १४८ वर्ग किमी क्षेत्रफलमा फैलिएको छ।
पू्र्वी नेपालको सोलुखुम्बु जिल्लामा रहेको यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित ६ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयू, ल्होत्सेसार, पुमोरी, आमादब्लम, थामसेर्कुजस्ता हिमचुचुरासमेत छन्। यस निकुञ्जभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको थियो।
सन् १९७९ देखि यस निकुञ्जलाई विश्व सम्पदा सूचीमा समावेश गरिएको हो। यो निकुञ्ज एक हजार आठ सय मिटरदेखि आठ हजार ८४८ मिटरसम्मको उचाइमा छ।
यहाँ कस्तुरी मृग, थार, घोरल, लङ्गुर बाँदर, मोनाल, हाँइटे, हर्न लार्क, टिबेटन स्नो कक, चुग आदि पक्षी पाइन्छन्।