संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयको जिम्मेवारी सम्हालेको सय दिनभित्र गरेका कामहरू सार्वजनिक गरेका छन्।
जसमा मन्त्री पाण्डेले ऐन कानुन, भैरहवामा अन्तर्राष्ट्रिय उडानका लागि वायुसेवालाई उडान तालिका स्वीकृत, हवाई सेवा सम्झौता लगायतका विषयमा काम गरेको बताएका छन्।
बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रीले सय दिनको अवधिमा सोचेअनुरूप काम गर्न सफल भएको बताएका हुन्।
उनले नागरिक उड्डयन प्राधिकरणलाई नियामक र सेवा प्रदायक निकायको रूपमा छुट्याउन प्राधिकरणलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०८१ र हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक, २०८१ संघीय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेस गरिएको बताए।
त्यस्तै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न सहुलियत एवं प्रोत्साहन सहितको कार्ययोजना मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनमा रहेको मन्त्री पाण्डेले बताए।
लामो समयदेखि अन्तर्राष्ट्रिय उडान बन्द भएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट यही कात्तिक २४ गतेदेखि जजिरा एयरवेयजले हप्तामा तीन र फ्लाई दुबईले दैनिक एक अन्तर्राष्ट्रिय उडान गर्ने गरी कार्यतालिका स्वीकृत गरिएको छ।
आन्तरिक वायुसेवाले व्यहोर्नुपर्ने यात्रुको दायित्व तथा बीमालाई समयानुकुल वृद्धि गर्न हवाई यातायात सेवा सञ्चालन संस्थाको दायित्व तथा बीमा व्यवस्था गर्ने विधेयकको मस्यौदा तर्जुमा गरी स्वीकृतिको प्रकृया अघि बढाइएको मन्त्री पाण्डेले जानकारी दिए।
त्यस्तै, नागरिक उड्डयन प्रणालीलाई सुरक्षित एवं विश्वसनीय बनाउन यसअघिका सबै दुर्घटना जाँच तथा अध्ययन समिति एवं आयोगले गरेका सिफारिस समेत अध्ययन गरी सुझाव दिन सर्वोच्च अदालतका पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय अध्ययन तथा सुझाव समिति गठन भई कार्य प्रारम्भ भएको छ।
अविरल वर्षाका कारण गत महिना देशभरका सडकमार्ग अवरूद्ध हुँदा विमानस्थलहरूलाई बिहान साढे चार बजेदेखि रातिको १ बजेसम्म आन्तरिक उडानहरू सञ्चालन गर्ने व्यवस्था मिलाइएको साथै हवाई भाडादर न्यूनतम मूल्यमा लिन पनि निर्देशन दिएको लगायतका कामहरू उनले सय दिनको उपलब्धिमा राखेका छन्।
यसअवधिमा मन्त्री पाण्डेले नेपाल र फ्रान्सबीच सम्पन्न भएको द्विपक्षीय हवाई सेवा सम्झौता र समझदारी पत्र संशोधन गर्ने कार्य अगाडि बढाइएको बताएका छन्। साथै नेपाल र इन्डोनेशियाबीच द्विपक्षीय हवाई सेवा सम्झौता गर्ने प्रक्रिया अघि बढाइएको छ।
त्यसैगरी पर्यटन विधेयक, २०८१ संघिय संसदमा दर्ता गर्न स्वीकृतिको लागि मन्त्रिपरिषद्मा पेस गरिएको, क्यासिनो नियमावली, २०८१ स्वीकृतिको लागि मन्त्रिपरिषदमा पेस गरिएको, पर्वतारोहण सम्बन्धी नियमावली, २०५९ संशोधनका लागि मन्त्रिपरिषदमा पेस गरिएको उनले बताए।
मन्त्री पाण्डेले पर्यटन प्रवर्द्धनका लागि पाँच हजार ८ सयदेखि ६ हजार पाँच सय मिटर उचाइका थप ५७ हिमाल आरोहणको लागि खुला गरिएको उल्लेख गरे।