प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि नियमित रूपमा अन्तर्राष्ट्रिय उडान हुने बताएका छन्।
बुधबार सरकारको १०० दिनमा भएका उपलब्धिहरू सार्वजनिक गर्दै फ्लाई दुबई र जजिरा एयरवेजले भैरहवामा उडान गर्ने उल्लेख गरेका हुन्।
कात्तिक २४ गतेदेखि उक्त विमानस्थलमा नियमित उडान हुन लागेको हो।
‘अब आउँदो कात्तिक २४ गतेदेखि दुबईदेखि भैरहवासम्म र काठमाडौं हुँदै भैरहवादेखि दुबईको उडान सुरू हुनेछ,’ उनले भने।
फ्लाई दुबईले सातै दिन दुबई-भैरहवा र काठमाडौं हुँदै भैरहवा-दुबई उडान भर्नेछन्।
त्यस्तै जजिरा एयरवेजले तीन दिन भैरहवा र कुवेत एवं कुवेत र भैरहवाबीच सिधा उडान भर्ने तालिका स्वीकृत भएको उनले जानकारी दिए।
उनले प्रयोगमा नआएका अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग बढाउन सरकारले ठोस कदम चालेको बताए।
‘राम्ररी सञ्चालनमा नआएका अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग बढाउन यस सरकारले ठोस कदम चालेको छ। भैरहवा र पोखरामा फ्लाइट आकर्षित गर्न भैरहवा र पोखराको लागि हवाई इन्धनको मूल्यमा प्रतिलिटर शून्य दशमलव ३७ डलर कम गरी अन्तर्राष्ट्रिय उडानको प्रबन्ध गर्न सफल भयौं,’ उनले भने।