संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत रहेको पर्यटन विभागले तारे होटलमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थम रोक लगाएको छ।
पर्यटन विभागले प्रेस विज्ञप्ति जारी गर्दै तारे होटलहरू (चार तारे, पाँच तारे र पाँच तारे डिलक्स) सबै रिसोर्टहरू (डिलक्स र लक्जरी)हरूमा प्लास्टिकजन्य बोटलहरूमा रोक लगाएको हो।
विभागबाट तारे स्तरमा स्तरवर्गीकरण भई इजाजत प्राप्त गरी सञ्चालित होटल तथा रिसोर्टमा प्लास्टिकजन्य बोटलसहितका पेय पदार्थहरू प्रयोगमा आइरहेको जानकारी पाएपछि विभागले रोक लगाएको हो।
तत्काललाई कम्तीमा चार तारे वा सोभन्दा माथिल्लो स्तरका होटल तथा रिसोर्टहरूमा खानेपानीको लागि प्रयोगमा आउने प्लास्टिकजन्य बोटलमा रोक लगाएको पर्यटन विभागका महानिर्देशक सहसचिव डा. नारायण रेग्मीले जानकारी दिए।
प्लास्टिकजन्य बोटलको प्रयोगबाट मानव स्वास्थ्य तथा वातावरणमा समेत नकारात्मक प्रभाव पर्ने हुँदा प्लास्टिकजन्य बोटलको प्रयोगमा निषेध गरी काँचका बोटल तथा अन्य धातुको भाँडा प्रयोग गरी होटलका कोठा तथा रेष्टुरेन्टहरूमा पिउने पानीको व्यवस्था मिलाउन निर्देशन दिइएको महानिर्देशक रेग्मीले बताए।