झन्डै साढे ३ घण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाले 'सर्च' गरेपछि भिस्तारा एयरवेजमा बम राखिएको सूचना भ्रामक रहेको पुष्टि भएको छ।
मंगलबार अपराह्न दिल्लीबाट काठमाडौंका लागि उडेको भिस्तारा एयरवेजको उडान नम्बर १५५ जहाजमा बम रहेको सूचना प्राप्त भएको थियो।
भिस्तारा एयरवेजका ग्राउन्डमा कार्यरत कर्मचारीलाई दिल्लीबाट उडेको एक घण्टापछि ह्वाट्सएपमा भारतीय नम्बरबाट बम रहेको भ्रामक सूचना पठाइएको थियो।
सूचनापछि यसबारे नेपाली सेना, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय, नागरिक उड्डयन प्राधिकरण लगायत सम्बन्धित निकायलाई जानकारी दिइएको थियो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार भिस्तारा एयरवेजको जहाज साढे ४ बजे काठमाडौंमा अवतरण भएको थियो।
नेपाली सेनाको बम डिस्पोजल टोली पनि विमानस्थलमा तयारी अवस्थामै राखियो। यता कुनै सामान समेत ननिकाली सम्भावित दुर्घटना न्यूनीकरण गर्न यात्रुहरूलाई ह्यान्ड ब्यागेजसहित मात्रै सुरक्षित साथ ओरालिएको भुलले बताए। अन्य सामान भने भित्रै राखेर जाँच गरिएको थियो।
यात्रुले बोकेका सामान समेत जाँच गरेपछि उक्त सूचना भ्रामक रहेको खुलेको भुलले बताए।
'साढे ४ बजे अवतरण भयो। सवा ७ बजे सबै काम सकेर गलत सूचना भन्ने पुष्टि भयो,' उनले भने, 'अहिले उक्त जहाज दिल्ली उड्न तयार भइसकेको छ।'
पछिल्लो समय भारतका विभिन्न जहाजमा बमको गलत सूचना फैलाएर उडान तालिका नै प्रभावित बनाइरहेको छ। यस्ता दर्जनौं घटनाहरू भइरहेको भारतीय सञ्चारमाध्यमले लेखेका छन्। यसैबीच नेपाल उडेको भिस्तारामा पनि यो घटना देखिएको हो।