भारतको नयाँ दिल्लीबाट काठमाडौंका लागि उडेको जहाजमा बमको सूचना पाएपछि अहिले नेपाली सेनाले ‘सर्च’ गरिरहेको छ।
भिस्तारा एयरवेजको जहाज अपराह्न साढे ४ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो।
नेपाली सेनाका प्रवक्ता एवं सहायक रथी गौरवकुमार केसीका अनुसार अहिले बम डिस्पोजल टोलीले विमानस्थलमा 'सर्च' गरिरहेको छ। तर अहिलेसम्म कुनै बमको संकेत पाइसकेको छैन।
पछिल्लो समय भारतका विभिन्न एयरलाइन्समा बमको थ्रेट आइरहेको समाचारहरू बाहिरिएका थिए। भ्रामक सूचना दिएर अहिले भारतका धेरैजसो उडानहरू नै प्रभावित भएका छन्। त्यहाँ एक दर्जन बढी जहाजहरूमा बम राखेको भ्रामक सूचना दिइएको थियो।
यसैबीच नयाँ दिल्लीबाट काठमाडौंका लागि उडेको जहाजमा पनि बम राखेको सूचना आएको हो।
नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार बमबारे सूचना भारतीय नम्बरबाट ह्वाट्स एपमार्फत् आएको थियो।
भारतीय नम्बरबाट भिस्ताराको ग्राउन्डमा सेक्युरिटी जाँच गर्ने कर्मचारीलाई भिस्ताराको दिल्ली-काठमाडौंको फ्लाइट नम्बर १५५ जहाजमा बम छ भन्ने सूचना आएको थियो।
उक्त सूचना दिल्लीबाट उडिसकेको एक घण्टापछि ह्वाट्स एपमा आएको थियो।
‘मेसेज गरेको रहेछ। सत्य हो कि होइन भनेर चेक गरिरहेका छन्। साढे ४ बजे अवतरण गराएपछि सुरक्षा मापदण्डअनुसार हामीले काम अघि बढायौं,’ उनले भने।
उनका अनुसार सूचना आएपछि यात्रुहरूलाई सामान त्यही जहाजमा छाड्न लगाएर यात्रुहरूको सुरक्षित अवतरण गराइएको थियो।
‘बाहिर आएपछि यात्रुका सबै ह्यान्डक्यारी जाँच भयो,’ उनले भने, ‘अब ब्यागेजहरू जाँच भइरहेका छन्। कुनै पनि शंकास्पद वस्तु भेटिए भने त्यो भ्रामक सूचना रहेछ भनेर घोषणा गरिन्छ। कुनै भेटिएछ भने सेनाले त्यसलाई डिस्पोज गर्नेछ।’
जहाजमा १५७ जना यात्रुहरू थिए। उक्त जहाजलाई अर्कै ठाउँमा राखिएको छ। अगाडि पछाडि कुनै जहाज वा अन्य गाडी राखिएको छैन। यद्यपि अन्य उडान नियमित रूपमा भइरहेको उनले बताए।
नेपाली सेनाले अहिले जाँच गरिरहेको छ।