'साढे दुई वर्षअघिसम्म हिमाल चढ्ने केही सोच नै थिएन। जब मनास्लु चढेँ, त्यसपछि हिमालले मलाइ तानिरह्यो,' १८ वर्षीय निमा रेन्जी शेर्पा भन्छन्।
निमाले हालै विश्वका आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमालको सफल आरोहण गरेर सकेका छन्। केही दिनअघि मात्र चौधौं अग्लो हिमाल शिशापाङ्माको चुचुरो पुगेर उनले यो विधामा कान्छा पर्वतारोहीको कीर्तिमान राखे।
'शिशापाङ्मा चढ्न लामो समय पर्खिनुपर्यो। ढिलै भए पनि सफल भएँ,' निमाले सेतोपाटीसँग भने, 'यो मेरा लागि मात्र नभई परिवार र देशकै लागि ठूलो उपलब्धि हो।'
निमाको उमेर हाल १८ वर्ष पाँच महिना हो। उनले हिमाल यात्रा गर्न थालेको अढाई वर्ष मात्र भयो। सानै उमेरमा हिमाल चढ्न तम्सिएका उनी परिवारबाटै प्रेरित भएको बताउँछन्।
उनका बुबा टासी लाक्पा शेर्पा कीर्तिमानी आरोही हुन्। साथै सेभेन समिट ट्रेक्सको भगिनी कम्पनी, फोर्टिन पिक्स एक्सपिडिसनका सञ्चालक पनि हुन्। टासीले नै सानै उमेरदेखि निमालाई व्यावसायिक आरोहण सम्बन्धी तालिम दिए। निमाका मामा र काका पनि आरोहणमै सक्रिय छन्। आरोहणमा जाँदा निमा उनीहरूको साथमै जान्छन्।
'हाम्रो परिवारका सबै हिमाल रूचाउँछन्,' निमाले भने, 'म सानो हुँदा पनि बुबा हिमाल चढेर फर्किँदा खुसी हुँदै अनेक प्रश्नहरू सोध्थेँ। अनुभवहरू सुन्थेँ। कुरा सुन्दा मलाई पनि हिमाल चढ्ने रहर जाग्थ्यो।'
स्कुले जीवनमा निमालाई खेलकुद मनपर्थ्यो। एड्भेन्चर फोटोग्राफी पनि मन पराउँथे। १५ वर्षको उमेरमा पहिलो पटक आमादब्लम आधार शिविरसम्म एक्लै ट्रेक गएका थिए। क्यामरा बोकेर हिँडेका उनको रहर ट्रेकिङ क्रममा देखिएको प्रकृति र मनोरम दृश्य कैद गर्नु थियो।
आधार शिविरसम्म पुगेर आफूले आँखाले भ्याउन्जेलसम्मका फोटा खिचेको उनी बताउँछन्। उनी यसमै रमाए। पहिलो ट्रेकिङले नै उनको मन लोभ्यायो।
'अनि पो पर्यटकहरू नेपालको पदयात्रा र पर्वतारोहणमा लाखौं खर्च गरेर आउने रहेछन् भन्ने त्यो बेला महसुस गरेरँ,' निमाले भने, 'पहिलो ट्रेकिङ नै अविस्मरणीय भयो। यो क्षेत्रमा ठूलो सम्भावना पनि देखेँ।'
यो ट्रेकिङ भ्याइसकेपछि उनी त्यतैबाट बुबा टासीसँग खुम्बु भ्याली हुँदै लोबुचेसम्म पुगेर फर्किए। यो ट्रेकिङ भने चार साताको थियो।
निमाका अनुसार उनी त्यसरी हिँडेको देखेर उनका बुबा समेत छक्क परेका थिए। सधैं घरमा बस्ने छोरो डाँडापाखा, उकाली, ओरालीमा हिँडेको देखेर टासीलाई अचम्म लागेको थियो।
यो क्रममा निमाले थुप्रै हिमाल आरोहीहरू पनि भेटे। उनीहरूका तस्बिर खिचे। उनलई आरोहणतिर रूचि जाग्यो। आफूलाई हिमाल चढ्ने रहर भएको कुरा उनले बुबालाई सुनाए। हिमाल आरोहण गर्न १६ वर्ष पुगेको हुनुपर्छ। त्यति बेला निमा १५ वर्षका मात्र थिए। त्यसैले एक वर्ष पर्खेर नागरिकता बनाउने र त्यसपछि आरोहणमा जाने सल्लाह भयो।
एसइई दिँदासम्म निमाले बुबासँग आरोहणबारे थुप्रै तालिम लिए। प्रक्रियाहरूबारे राम्रोसँग बुझे। आरोहणको तयारी गरे।
अनि सबै प्रक्रिया पूरा भएपछि, सन् २०२२ सेप्टेम्बरमा बाह्र दिन लगाएर निमाले मनास्लु आरोहण गरे।
‘पहिलो हिमाल आरोहण भएकाले निकै खुसी थिएँ। डर कतै थिएन। सोचेभन्दा बढी आनन्द मिल्यो। अनि त अझै चढ्ने रहर भयो। हिमाल चढुन्जेल जति गाह्रो र कठिन हुन्छ, फर्केर आइसकेपछि एउटा आदत नै बनिसक्छ। जान्नँ भन्नेहरू पनि फर्केरै जान्छन्। पेसा नै यस्तो रहेछ,' उनले हाँस्दै भने, 'मलाई पनि त्यही भयो। अर्को हिमालको तयारीमा लागेँ।'
उनले सन् २०२३ मा सगरमाथा आरोहण गरे। सोही वर्ष आठ हजार मिटरभन्दा अग्ला नौवटा हिमाल चढेर भ्याए। बाँकी यो वर्ष चढेर भ्याए।
परिवार नै यही क्षेत्रमा भएको र आर्थिक अवस्था बलियो भएकाले पनि कम समयमा धेरै हिमाल आरोहण गर्न सहज भएको उनी बताउँछन्।
तर उमेर कलिलो भएकाले कतिपय अवस्थामा निमाको स्वास्थ्यमा समस्या देखिन्थ्यो।
'शरीरको विकास हुन बाँकी छ भन्नुहुन्छ डाक्टरले पनि,’ निमाले भने, 'तर पहिलेदेखि खेल्ने र दौडिने भएकाले आरोहणमा बीचबाटै फर्किनुपर्ला भन्ने चाहिँ लागेन।'
साढे दुई वर्षको अवधिमा विश्वका १४ अग्ला हिमाल आरोहण गरेका निमा अब आरोहणलाई नै पेसा बनाउन चाहन्छन्। अनि विभिन्न कीर्तिमान राख्ने पनि लक्ष्य छ।
'शेर्पाको शक्ति र खुबीका रूपमा रहेको यो काममा अब युवा पुस्ता आउनुपर्छ। पढे-लेखेको पुस्ता भित्रिनुपर्छ,' उनी भन्छन्, 'मेरो अबको यात्रा हिमालमै हुनेछ।'