धौलागिरि हिमाल आरोहणका क्रममा मृत्यु भएका पाँच जना रुसी नागरिकहरूको शव काठमाडौं ल्याइएको छ।
सात हजार एक सय मिटर उचाइमा उनीहरू असोज २२ गते मृत फेला परेका थिए।
शव ९ दिनपछि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।
शव पोष्टमर्टमको लागि बुधबार काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल ल्याइएको छ।
एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेन समिट ट्रेकका सञ्चालक मिङ्मा शेर्पासहितको टोलीले शव उठाएर आधार शिविर झारेका थिए। आधार शिविरबाट शवलाई काठमाडौंस्थित शिक्षण अस्पताल ल्याइएको हो।
आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरू ७ हजार ६ सय मिटरको उचाइबाट असोज २१ दिउँसो ११ बजेदेखि सम्पर्कविहीन भएका थिए।
प्रहरीका अनुसार रसियाका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो।
हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण संकलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो। उद्धारकर्ता हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन्।
आइ एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रसियाका पुरुष पर्वतारोहीहरू धौलागिरी हिमाल आरोहणका लागि गएका थिए। दुई जनाले सफल आरोहण गरेका थिए। सात जना पर्वतारोहीहरूले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए।
यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो। संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ।
पर्यटन विभागका अनुसार चालु शरद्याममा रसियाका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए।