उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालका विभिन्न विमानस्थलमा हवाई उडानको संख्या वृद्धि गर्न सिचुवान एयरलाइन्सका पदाधिकारीसँग आग्रह गरेका छन्।
सिचुवान एयरलाइन्सका अध्यक्ष श्र चुइसँग शुक्रबार भएको भेटमा उनले छेन्दुबाट काठमाडौंमा उडान संख्या बढाउन तथा पोखरा र भैरहवा विमानस्थलमा नियमित उडान गर्न आग्रह गरेका हुन्।
सम्पर्क सञ्जालको बढोत्तरीसँगै दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले भने, 'यसअघि छेन्दु–ल्हासा–काठमाडौं उडान थियो। अहिले छेन्दुबाट काठमाडौं सिधा उडान भएको छ। छेन्दु–काठमाडौंको उडान संख्या वृद्धि तथा छेन्दुबाट भैरहवामा नियमित उडान गर्न सकियो भने कनेक्टिभिटी बढाउँछ, यसले दुई देशबीचको सम्बन्ध थप प्रगाढ हुन्छ।'
नेपाल र चीनबीच आर्थिक तथा सांस्कृतिक सम्बन्ध निकै प्रगाढ रहेको उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले दुई देशबीचको सम्बन्ध अझ मजबुत बनाउन हवाई सम्पर्क सञ्जालको निकै महत्वपूर्ण भूमिका हुने बताए।
'नेपालले कृषि, जलस्रोतका अतिरिक्त पर्यटनलाई उच्च महत्त्व दिएको छ। नेपालमा चिनियाँ पर्यटक भित्र्याउन हवाई सम्पर्क सञ्जाल विस्तारले सहयोग गर्न सक्छ। यसका लागि सिचुवान एयरलाइन्सले भूमिका खेल्न सक्छ,' उनले भने।
सो क्रममा एयरलाइन्सका अध्यक्ष चुइले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना सिचुवान एयरलाइन्सको चार्डड उडानमार्फत पोखरा विमानस्थलमा उत्रिएको स्मरण गरे। उनले एयरलाइन्सको बजार विस्तार गर्न आफूहरू तयार रहेको बताए।
सो अवसरमा उपप्रधानमन्त्री श्रेष्ठले सिचुवान एयरलाइन्सको अपरेसन सेन्टरको अवलोकन गरेका थिए।
रासस