स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिस प्रालिले संयुक्त रुपमा हिमालयन हाइड्रो एक्स्पो २०१८ आयोजना गर्ने भएका छन्।
आगामी पुस २१ गतेदेखि २३ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनीहलमा सञ्चालन हुने हिमालयन हाइड्रो एक्स्पो २०१८ मा ३ सयभन्दा बढी स्टल रहने छन्।
जलविद्युत प्रवद्र्धक, इक्युपमेन्टस् सप्लायर, लगानीकर्ता, बैंक, जलविद्युतमा नयाँ प्रविधि र निर्माणसँग सम्बन्धित स्टल राखिने भएको छ। ती स्टलमध्ये १ सय ५० भन्दा बढी विदेशी स्टल रहनेछन्।
राष्ट्रिय योजना आयोगले यस एक्स्पोलाई लाई संरक्षकत्व प्रदान गरेको छ भने नेपाल विद्युत प्राधिकरण, नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसनस, युथ कम्युनिटी फर नेपलिज कन्ट्राक्टर्सले सहयोग गरेका छन्।
नेपाल टनेलिङ एसोसिएशन, नेपाल जर्मन चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिज, नेपाल–भारत उद्योग बाणिज्य संघको पनि सहयोग रहेको छ। यस एक्स्पोको व्यवस्थापन इभेन्ट सोलुसन प्रालिले गर्न लागेको हो।
बुधबार आयोजित पत्रकार सम्मेलनमा स्वतन्त्र उर्जा उत्पादक संघका अध्यक्ष शैलेन्द्र गुरागाँइले एक्सपोमा टनेल खन्ने उपकरण सहित पछिल्ला टेक्नोलोजीको बारेमा जानकारी दिइने बताए।
एक्स्पोमा विदेशी स्टलका लागि पत्राचार भइरहेको र धेरै भन्दा धेरै बिदेशीहरु सहभागी हुनेमा आफू बिस्वस्त रहेको उनको भनाइ छ।
एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिका प्रबन्ध निर्देशक बिजय सागर प्रधानले चीनभन्दा १ वर्ष पहिला हाइड्रो पावर सुरु गरेको नेपालले सय वर्षमा १ हजार मेगावाट विद्युत पनि उत्पादन गर्न नसकेको भन्दै दुःख व्यक्त गरे।
चीनले एउटै योजना २२ हजार ५ सय मेगावाटको बनाएको प्रसंग उल्लेख गर्दै प्रधानले नेपालले पनि आधुनिक प्रविधिलाई आत्मसात गर्दै अगाडि बढ्नुपर्ने बताए।
स्वतन्त्रउर्जा उत्पादक संघका उपाध्यक्ष कुमार पाण्डेले बिदेशमा प्रयोगमा आइसकेको नयाँ प्रबिधीबाट विद्युत उत्पादन गरेमात्र सस्तो हुने बताए। पत्रकार सम्मेलनमा हाइड्रोपावर डेभलपर्स, उत्पादक, हाइड्रपावरका एक्सपर्ट र एक्स्पो आयोजकको उपस्थिति रहेको थियो।
जलविद्युत लगानीकर्ता, उत्पादक, इन्जिनियर लगायत यस क्षेत्रमा चासो दिने सबैका लागि यो एक्स्पो जानकारीको केन्द्र बन्ने विश्वास गरिएको छ। हालै नेपाल सरकारले घोषणा गरेको ७ वर्षमा १७ हजार मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्यलाई पनि यो एक्स्पोले साथ दिने विश्वास आयोजकले गरेकोछ।
साथै एक्स्पोमा इन्जिनियरिङ वेस भएका विद्यार्थीकाबीचमा विभिन्न प्रतिस्पर्धा पनि गरिनुका साथै हाइड्रोपावरका विषयमा विभिन्न जानकारी दिने स्टल पनि राखिने छ।