चाडपर्व नजिकिँदै गर्दा विभिन्न बस्तु तथा सेवामा कृत्रिम मूल्य वृद्धि भएको भन्दै उपभोक्ता हित संरक्षण मञ्चले नियन्त्रण गर्न सरकारसँग माग गरेको छ।
कृत्रिम अभाव गर्ने, मूल्य बढाउने, गुणस्तरहीन तथा कम नापतौलमा बिक्री वितरण गर्ने अस्वच्छ ब्यापारीक क्रियाकलापहरु बढेको भन्दै उसले सरकारको ध्यानाकर्षण गराएको छ। चाडपर्व नजिकिँदै गर्दा दूधको मूल्य बढाइनु, तरकारीको भाउ अस्वभाविक रुपमा बढ्नु, यातायात व्यवसायीहरुले घट्नुपर्ने अवस्थामा भाडा बढाउन दवाव दिनु, हचुवाकै भरमा व्यवसायीको दवाव देखाएर पेट्रोलियम पदार्थको सिन्केज लस र स्टक लसमा भारी बृद्धि गर्नु, विद्युत महसुल बढाउने तयारी गर्नु लगायतका गतिविधि भएकोमा उपभोक्ता मञ्चले भत्सर्ना गरेको छ। यस्ता गतिविधि नियन्त्रण गर्न र दोषीलाई कारबाही गर्न मञ्चले सरकारसँग माग गरेको छ।
म्याद नाघेको कच्चा पदार्थ प्रयोगबाट बनेका गुणस्तरहीन फ्रुटीको विक्रि रोक्का गरी उपभोक्ताको स्वास्थ्य र सम्पत्तिको सुरक्षा गर्नुको साटो बजारमा खुलेआम बिक्रि गर्न दिइएको प्रति मर्माहित तुल्याएको मञ्चले जनाएको छ।
अनुभूतियोग्य अनुगमन तथा नियमनबाट कडा कानूनी दायरामा ल्याई स्वच्छ बजार कायम गर्न सरकार र सम्वद्ध सरोकारवाला पक्षलाई मञ्चले आग्रह गरेको छ। त्यस्तै बाढी पीडितको राहतका नाउँमा प्रभावित क्षेत्रमा म्याद नाघेका र कुहिएका खाद्यान्न वितरण भएको भन्दै उसले घोर भत्सर्ना गरेको छ।