रूपन्देहीको बेलहिया भन्सार कार्यालयले चालु आर्थिक वर्ष २०७९/८० मा लक्ष्यको आधा पनि राजस्व संकलन नगर्ने सम्भावना देखिएको छ।
भन्सार विभागले बेलहिया कार्यालयलाई चालु आर्थिक वर्षमा १ खर्ब ५५ अर्ब ६० करोड ३८ लाख ७९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष्य तोकेको थियो।
गत साउनदेखि वैशाखसम्म १० महिनामा ६२ अर्ब, ३४ करोड ४ लाख ६५ हजार रुपैयाँ उठेको छ। यो रकम कुल लक्ष्यको ४० प्रतिशत मात्रै हो।
विभागले वैशाखसम्मका लागि १ खर्ब २७ अर्ब ५७ करोड ६३ लाख ५३ हजार रुपैयाँको लक्ष्य तोकेको थियो। संकलित रकम यो लक्ष्यको करिब ४९ प्रतिशत हो।
कुल लक्ष्य भेट्न दुई महिनामा ६० प्रतिशत राजस्व उठाउनुपर्नेछ।
बेलहिया भन्सार कार्यालयको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७८/७९ को वैशाखसम्मका लागि १ खर्ब ७ अर्ब १९ करोड ४४ लाख रुपैयाँ लक्ष्य तोकिएकोमा १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँ संकलन भएको थियो। यो रकम लक्ष्यको ९६ प्रतिशत थियो।
गत असोजदेखि राजस्व संकलन घटेको हो।
बेलहिया भन्सारले चालु आर्थिक वर्षको साउनमा लक्ष्यको करिब ७१ प्रतिशत र भदौमा करिब ६७ प्रतिशत राजस्व संकलन गरेको थियो।
असोजमा लक्ष्यको साढे ४१ प्रतिशत तथा कात्तिक र मंसिरमा साढे ३९ प्रतिशत मात्रै राजस्व संकलन भयो।
पुसमा लक्ष्यको साढे ४० प्रतिशत, माघमा करिब ४१ प्रतिशत, फागुनमा साढे ४६ प्रतिशत, चैतमा ५७ प्रतिशत र वैशाखमा करिब ५५ प्रतिशत राजस्व संकलन भएको भन्सार कार्यालयले जनाएको छ।
गत आर्थिक वर्ष १ खर्ब २७ अर्ब ४२ करोड रुपैयाँ संकलनको लक्ष्य लिएकोमा १ खर्ब १५ अर्ब ८७ करोड रुपैयाँ संकलन भएको थियो जो लक्ष्यको लक्ष्यको करिब ९१ प्रतिशत थियो।
गत आर्थिक वर्षमा साउनदेखि मंसिरसम्म लक्ष्यको ११३ प्रतिशतसम्म राजस्व संकलन भएकोमा चालु वर्षमा यी महिनामा लक्ष्यको ४५ प्रतिशतभन्दा कम मात्र संकलन भयो।
बेलहिया भन्सार कार्यालय प्रमुख मणिराम पौडेलका अनुसार मंसिरदेखि केही वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने र केही वस्तु आयातमा रोक लगाइएका कारण राजस्व घटेको हो।
सरकारले जिप, कार र भ्यान लगायतका वस्तु आयातमा अनिवार्य मार्जिन राख्नुपर्ने व्यवस्था गरेकोमा गत पुस १ गतेदेखि उक्त प्रावधान हटाएको थियो।
बेलहिया भन्सार कार्यालयमा सबैभन्दा धेरै राजस्व जिप, कार र भ्यान लगायतका वस्तु आयातबाट उठ्ने गरेको छ।
गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको वैशाखसम्म मूल्यका आधारमा आयात भएका मुख्य दस वस्तुहरूको तथ्यांक हेर्दा सबैभन्दा बढी राजस्व जिप, कार र भ्यानबाटै उठेको देखिन्छ।
त्यस्तै आर्थिक गत वर्षको तुलनामा चालु आर्थिक वर्षमा पेट्रोल, ग्लेज टाइल, हाइस्पिड डिजेल, एलपी ग्यास, मार्बल स्ल्याब र मोबाइल टेलिफोन लगायत केही वस्तुको आयात घटेको छ।
कार्यालय प्रमुख पौडेलका दुई महिनामा लक्ष्यको नजिक पनि पुग्न सक्ने देखिँदैन।
४२ प्रतिशत घट्यो इन्धन आयात
बेलहिया भन्सार कार्यालय हुँदै नेपाल आयल निगमको भलवारी डिपोमा आयात हुने इन्धनको परिणाम पनि घटेको छ।
गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्ममा ६२ हजार ४६६ किलोलिटर पेट्रोल आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १८ प्रतिशतले घटेर ५१ हजार ९३ किलोलिटर मात्र आयात भएको छ।
गत आर्थिक वर्षको वैशाखसम्ममा २ लाख ९ हजार २४९ किलोलिटर डिजल आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा १ लाख ४२ हजार ७९४ किलोलिटरमात्र आयात भएको छ। यो परिमाण करिब ३२ प्रतिशतले कम हो।
यस वर्ष एलपी ग्यास आयात पनि ४७ प्रतिशतसम्म घटेको छ। गत आर्थिक वर्षको दस महिनामा ७९ हजार १३६ मेट्रिक टन आयात भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा २३ प्रतिशतले घटेर ६१ हजार ७ मेट्रिकटनमात्रै आयात भएको छ।
निकासी बढ्यो
बेलहिया भन्सार नाकामा आयातको राजस्व ह्वात्तै घटे पनि निकासी केही बढेको छ।
मूल्यका आधारमा गत आर्थिक वर्षको साउनदेखि वैशाखसम्म निकासी भएका मुख्य दसवटा वस्तुबाट ५ अर्ब १२ करोड ९ लाख ४३ हजार राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षको सोही अवधिमा साढे २० प्रतिशत बढेर ६ अर्ब १७ करोड ४१ लाख ६३ हजार रुपैयाँ संकलन भएको छ।
निकासी भएका मुख्य दस वस्तुहरूमा सेन्थेटिक यार्न, खजुरको प्रशोधित तेल, खोटो रोजिन, पिना, चोकर, वनस्पति उत्पादन, सिमेन्टको क्लिंकर, रेजिन, चाउचाउ र अदुवा तथा सुठो छन्।