जिल्ला प्रशासन कार्यालय सुर्खेतले बुधबार पूर्वी सुर्खेतका तीन वटा बजारमा अनुगमन गर्यो। जामुने, बोटेचौर र छिन्चु बजारका २५ वटा पसलमा गरिएको अनुगमनका क्रममा करिब ३५ हजार रुपैयाँ मूल्य बराबरको म्याद गुज्रिएको दैनिक उपभोग्य सामग्री नष्ट गरियो।
चाडबाडका बेला बढी प्रयोगमा आउने दैनिक उपभोग्य सामग्रीहरूमा मसला, नरिवल लड्डु, दाल, सुजी, काजु, पेय पदार्थ, चिउरा लगायतका सामग्री म्याद गुज्रिएको पाइएपछि प्रशासनले नष्ट गरेको हो।
सोही दिन छिन्चुको बराल इन्टरप्राइजेजको गोदाममा रहेको ५० बोरा चामल समेत बिक्री गर्न रोक्का गरिएको छ। वीरगञ्जको मनोज खाद्य उद्योगबाट उत्पादन भएको ‘मेरो मयुर ब्राण्ड’ चामलमा उत्पादन मिति उल्लेख गरेको नपाइएपछि उक्त चामल बिक्री गर्न रोक लगाइएको हो।
त्यसको एक दिन अगाडि सुर्खेतको वीरेन्द्रनगरस्थित भुसालल अर्डर एण्ड सप्लायर्समा प्रशासन, उद्योग वाणिज्य संघ लगायतको टोलीले संयुक्त रुपमा गरेको अनुगमनका क्रममा १८६० प्याकेट चकलेट नष्ट गरियो।
अरु बेलामा कहिलेकाहीँ मात्र बजार अनुगमन गर्ने गरेको जिल्ला प्रशासन कार्यालयले दसैंको बेला भने अनुगमनलाई नियमित गरेको छ। हरेक अनुगमनको क्रममा पसलहरुमा त्रुटि पाइने गरेको छ।
‘अनुगमन त नियमित भइरहेको छ, तैपनि सबै पसलहरूमा गएर साध्य हुँदैन,’ सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले भने, ‘हामीले अनुगमन गरेको दिनमा लेबल नमिलेका, म्याद गुज्रिएका वस्तुहरू पाइएकै छ।’
शुक्रबार पनि जिल्ला प्रशासन कार्यालय सुर्खेत उद्योग वाणिज्य संघ, वाणिज्य तथा आपूर्ति कार्यालय लगायतको टोलीले संयुक्त रुपमा वीरेन्द्रनगर बजारमा अनुगमन गरेको छ।
यस क्रममा पनि २५ हजार मूल्य बराबरको खाद्य तथा उपभोग्य सामग्रीहरू नष्ट गरिएको छ। ती वस्तुहरू म्याद गुज्रिएको पाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ। जसमा सुजी, पेय पदार्थ, मसला, खाने तेल लगायतका सामग्री रहेका छन्।
शुक्रबार अनुगमनकै क्रममा वीरेन्द्रनगरका स्काई जनरल स्टोरबाट पाँच हजार रुपैयाँ समेत जरिवाना तिराइएको छ।
कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरको कर्णालीको सबैभन्दा ठूलो व्यापारिक केन्द्र हो। कर्णालीका अधिकांश जिल्लामा सुर्खेतबाट नै उपभोग्य सामग्रीहरू निर्यात हुने गरेको छ।
जिल्ला प्रशासनको परिपत्र अनुसार अरु केही निकाय संयुक्त अनुगमनमा सहभागी भए पनि मुख्य बजार क्षेत्र पर्ने वीरेन्द्रनगर नगरपालिकाले भने अहिलेसम्म चाडपर्व लक्षित बजार अनुगमन सुरू गरेको छैन।
प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको अनुगमन शाखाले पनि यसमा खासै चासो देखाएको छैन।
चाडबाडको बेलामा धेरै पसलहरूमा धेरै भिडभाड हुँदा ग्राहकहरू ठगिने सम्भावना पनि धेरै भएकाले अनुगमनलाई सबै क्षेत्रबाट निरन्तरता दिनुपर्ने प्रजिअ रिजालले बताए।
‘अरु छुट्टै अनुगमन समिति नै भएका निकायबाट पनि यस्तो बेलामा नियमित अनुगमन हुनुपर्छ, हामीले भने हाम्रो सर्कुलरबाट सहभागी हुन सक्ने निकायलाई लिएर दैनिक अनुगमन गरिरहेका छौं,’ रिजालले भने।
वीरेन्द्रनगर नगरपालिकाका उपमेयर मोहनमाया ढकालले अबलगत्तै चाडपर्व लक्षित अनुगमनलाई तिव्रता दिने तयारी गरिएको बताइन्। शुक्रबार नगरपालिकाको बजार अनुगमन तथा उपभोक्ता हित संरक्षण समितिको बैठक बसेर यसबारे छलफल गरेको उनले बताइन्।
‘भोलि वा पर्सीबाट अनुगमनलाई तीव्रता दिन्छौं, चाडपर्व केन्द्रित रहेर खाद्य पदार्थ, मासु, फलफूल, मिठाई पसलहरूमा बढी केन्द्रित भएर अनुगमन गर्छौं,’ ढकालले भनिन्।
सुर्खेत उद्योग वाणिज्य संघका अध्यक्ष धनबहादुर रावतले भने केही पसलहरूमा त्रुटि पाइए पनि सुर्खेतका बजारहरूमा उपभोक्ता ठग्ने मनस्थिति व्यवसायीको नभएको बताएका छन्। कतिपय सामग्रीहरू आयात गर्दा नै त्रुटि भएको हुँदा अनुगमनका बेला त्यो ठूलो विषय बन्ने गरेको उनले बताए।
‘कतिपय सामानहरू आउँदा उतैबाट स्टिकर नटाँसेको, म्याद गुज्रिएको आइदिन्छ। त्यो व्यापारीलाई थाह हुँदैन,’ अध्यक्ष रावतले भने, ‘नत्र भने अहिले खासै उपभोक्ताको स्वास्थ्यमा खेलबाड भइहाल्ने खालको अवस्था छैन, बरू अनुगमनको पाटोलाई व्यापक बनाउन भने जरुरी छ।’
नापतौल, मासुजन्य पदार्थ, मेडिकलजस्ता कुरामा पनि निकायले अनुगमनलाई केन्द्रित गर्नुपर्ने उनले बताए।
बाहिरबाट खसीबोको आयात गर्नुपर्दैन : सिडिओ रिजाल
सबैभन्दा धेरै मासु खपत हुने सुर्खेतको वीरेन्द्रनगर बजारमा यस वर्ष पनि प्रदेशका जिल्लाभन्दा बाहिरबाट खसीबोका ल्याउनुपर्ने अवस्था आएको छैन। सुर्खेत आसपासका गाउँ र जिल्लाबाट आयात भएको खसीबोका नै वीरेन्द्रनगर बजारका लागि पर्याप्त हुने प्रमुख जिल्ला अधिकारी रिजालले बताए।
‘मासुको खपत र आपूर्तिको कुरा सन्तुलनमै छ, सुर्खेत जिल्लाको हकमा बाहिरबाट ल्याउनपर्ने अवस्था छैन,’ उनले भने।
चाडबाडका बेला मासुजन्य वस्तु धेरै खपत हुने भएकाले अब यसमा पनि अनुगमन तीव्र पारिने उनले बताए।