कोरोना महामारीका कारण रोकिएको माथिल्लो त्रिशुली- ३बी जलविद्युत आयोजना निर्माणको काम पुनः सुरू भएको छ। यहाँ काम गर्ने चिनियाँ श्रमिकहरू बिदामा चीन गएपछि लामो समय काम रोकिएको थियो।
उनीहरू फर्किएसँगै काम सुरू भएको आयोजना प्रवर्द्धक त्रिशुली जलविद्युत कम्पनी लिमिटेडका प्रबन्ध–सञ्चालक मोहनप्रसाद गौतमले जानकारी दिए।
'एकातिर श्रमिक थिएनन्, अर्कातिर निर्माणका लागि आवश्यक सामग्री चीनबाट ल्याउन सकिएन। करिब १४ महिना काम ठप्प भएको थियो,' गौतमले भने, 'निरन्तरको प्रयासपछि आयोजनाको काम फेरि सुरू भएको छ।'
उनका अनुसार हाल आयोजनामा ६४ जना चिनियाँ र ८१ जना नेपाली श्रमिक खटिएका छन्। तर भन्सार नाका अझै पूर्णरूपमा नखुलेकाले चीनमा किनिसकेका सामान निर्माणस्थलसम्म ल्याउन सकिएकाे छैन। सामग्री ल्याउन नसकेकैले सुरू गरिएको आयोजनाको काम फेरि प्रभावित हुने सम्भावना देखिएको उनी बताउँछन्।
चीनबाट उपकरण आयातका विषयमा ऊर्जा, जलस्रोत तथा सिंचाइ, अर्थ मन्त्रालय लगायत निकायसँग आवश्यक समन्वय भइरहेको पनि गौतमले जानकारी दिए।
ठेकेदार चिनियाँ कम्पनी सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इञ्जिनियरिङले अहिले मुख्य सुरुङ, विद्युतगृह लगायत संरचना बनाइरहेको गौतमले बताए।
रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाटको उक्त आयोजना फागुन, २०७७ भित्र सक्ने लक्ष्य थियो। लामो समय काम रोकिएपछि समायावधि थपेर २०७९, चैतसम्म पुर्याइएको छ।
सिचुआन एएनएचई हाइड्रोइलेक्ट्रिक इञ्जिनियरिङसँग २९ माघ, २०७४ मा करिब एक अर्ब ९२ करोड रूपैयाँमा आयोजनाको ठेक्का सम्झौता भएको थियो। ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकल तर्फका सम्पूर्ण संरचना र उपकरण डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ।
हालसम्म आयोजनाको भौतिक प्रगति ४७ प्रतिशत रहेको उल्लेख छ। यसमा ३.८ किलोमिटर मुख्य सुरूङमध्ये १.८ किलोमिटर खनिएको छ। विद्युतगृहको पहिलो चरणको खन्ने र सर्पोटको काम क्रमशः ७६ र ३५ प्रतिशत सकिएको आयोजनाले जनाएको छ।
त्रिशुली- ३ एको विद्युतगृहबाट निक्लिएको पानी यो आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकेकाे छ। विद्युतगृहबाट निक्लिएको पानी आयोजनाको सुरुङसम्म ल्याउन आवश्यक पर्ने 'बक्स कल्भर्ट’ पनि बनाउन सुरू गरिएको छ।
आयोजनाबाट सुख्खायाममा (मंसिर १६ देखि जेठ १५सम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मंसिर १५ सम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुने अनुमान छ।
आयोजनाको विद्युतगृहबाट करिब तीन किलोमिटर प्रसारण लाइनमार्फत त्रिशुली-३बी हब सबस्टेसनमा पुर्याइ राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ।