'साथीमार्ट'ले १५ करोड बराबरको संस्थापक शेयर वृद्धि गर्दै कुल चुक्तापुँजी २५ करोड रुपैयाँ पुर्याउने लक्ष्य राखेको छ।
संस्थापक सेयर फ्रेन्चाइज पार्टनर तथा आन्तरिक टिमबाट परिपूर्ति गनिने साथीमार्ट इनकर्पोरेट प्रालिका संस्थापक सिइओ सागर पोख्रेलले बताए।
सेयर वृद्धि कम्पनीको टिम, टेक्नोलोजी, उत्पादन, सप्लाई चेन, स्टक, अनलाइन सपिङ, एफिलियट सिस्टम व्यवस्थापन र सुधार तथा आक्रामक बजार विस्तारको लागि गरिने बताइएको छ।
यो योजनामा धेरै कम्पनी तथा व्यक्तिहरू इच्छुक रहेको तर कम्पनीले आफ्ना स्टोर तथा सहकार्य गरी केही गरौं भन्ने सोचका व्यक्ति वा संस्थालाई मात्र प्रदान गर्ने पोख्रेलले बताए।
हाल न्यूनतम भ्यालुएसनमै रु १०० प्रति कित्ताको दरले १५ लाख कित्ता वृद्धि गरी पुँजी बढाउने निर्णय कम्पनीले गरेको छ।
यसपछि संस्थापक सेयर बन्द हुने र कम्पनी पब्लिक बनाई आइपिओमा जाने पोख्रेलको भनाइ छ।
कम्पनीले हाल ७० भन्दा बढी रिटेल स्टोर सञ्चालन गरेको छ भने आगामी दिनमा नेपालमै पहिलो पटक ओटुओ कर्मससहितको अनलाइन सपिङ नेपालभरि नै सुरू गर्दै छ। तीन वर्षभित्र १० लाखभन्दा बढी युवालाई साथी स्टार्टअप योजना अन्तर्गत स्वरोजगार बनाउने तथा नेपाली उत्पादनलाई निर्यात समेत गर्ने बताइएको छ।
२०७८/७९ आर्थिक वर्षमा २ सय करोड (दुई अर्ब) को टर्नओभर गर्ने लक्ष्य राखेको कम्पनीले २०८०/८१ बाट हजार करोडको टर्नओभर लक्ष्य राखेको छ भने आर्थिक वर्ष २०७९/८० सम्ममा कम्पनीको कुल भ्यालुएसन एक अर्ब पुर्याउने लक्ष्य राखेको छ।
गत भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको साथीमार्ट रिटेल चेनमा नेपालकै फास्टेस्ट ग्रोइङ रिटेल चेन हो जुन नेपालका प्राय ठुला सम्पूर्ण सहरमा ७० आउटलेट सहित फैलिएको छ ।
हाल स्टोर र कम्पनीमा ४ सय भन्दा बढी व्यक्तिहरू रोजगार छन् भने अप्रत्यक्ष ३ हजारभन्दा बढी रोजगारी सृजना गरेको पोख्रेलको भनाइ छ।
कम्पनीले विभिन्न खाद्यान्न वस्तुहरू चिया, कफी, दाल, चामल, ध्यु, पिठो, ड्राइफूड, अचार, साबुन, स्याम्पू, हेडवास जस्ता फूड र ननफूड गरी २ सय भन्दा बढी वस्तु आफैं उत्पादन गर्ने चरणमा रहेको बताइएको छ।
नेपालमा केही गर्छु भन्ने युवाको लागि साथीमार्टसँगको सहकार्य तथा लगानी सुनौलो अवसर भएको पोख्रेलको दाबी छ।
विभिन्न रिटेल उत्पादन तथा ठूला ईकमर्स कम्पनीका दशौं वर्ष अनुभव भएका युवाहरूको टिम भएकोले लक्ष्य प्राप्ति सहज रहेको पोख्रेलले विश्वास व्यक्त गरे।