१४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको नदी फर्काउने, बाँधलगायतका पहिलो प्याकेजका संरचना निर्माण कार्यको जिम्मा नेपाली निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनको सयुक्त उपक्रम (जेभी)ले पाएको छ।
आयोजनाले न्यून कबोल गरेको भियतनामको सोङ्ग दा कर्पोरेसन र नेपालको कालिका कन्सट्रक्सनको जेभीलाई उक्त कामको जिम्मा दिने निर्णय गरेको हो।
आयोजनाले यो जेभीसँग आजै खरिद सम्झौता पनि गरिसकेको छ।
सम्झौतामा आयोजनाको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडका तर्फबाट प्रबन्ध–सञ्चालक प्रदीप कुमार थिके र सोङ्ग दा–कालिका जे.भी.का तर्फबाट आधिकारिक प्रतिनिधि बिक्रम पाण्डेले हस्ताक्षर गरेका छन्।
१६ अर्ब ६२ करोड रुपैयाँ (कर बाहेक)मा यो सम्झौता भएको हो ।
निर्माण कम्पनीले खरिद सम्झौता कार्यान्वयनमा आएको ४ वर्ष ९ महिनाभित्र निर्माण सक्नुपर्ने कम्पनीका प्रवन्ध–सञ्चालक थिकेले बताए।
आयोजनाको प्याकेज १ निर्माण कार्यको लागि निर्माण कम्पनी सिएमसी डि राभेना, इटालीसँग १५ असोज २०७५ मा सम्पन्न खरिद सम्झौता रद्ध भएपछि कम्पनीले १२ वैशाख २०७६ मा पुनः बोलपत्र आह्वान गरेको थियो।
कम्पनीले उक्त बोलपत्र प्रकृयामा प्राप्त कुनै पनि प्राविधिक बोलपत्रहरु सारभूत रुपमा प्रभावग्राही हुन नसकेकोले सबै बोलपत्रहरु अस्वीकृत गरी एसियाली विकास बैंकको खरिद निर्देशिका अनुरुप १६ फागुन २०७६मा दोश्रो पटक पुनः बोलपत्र आह्वान गरेको थियो ।
आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण कार्य जारी छ ।
आयोजनाको तेस्रो प्याकेज अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य भइरहेको छ ।
यो आयोजनाको कूल लागत ५० करोड ५० लाख अमेरिकी डलर अनुमान गरिएको छ। यसमा एडिबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।