नवनियुक्त महान्यायाधिवक्ता सविता भण्डारीले आफू जतिसक्दो राम्रो काम गर्ने दृढता व्यक्त गरेकी छन्।
प्रधानमन्त्री सुशीला कार्कीबाट आइतबार साँझ महान्यायाधिवक्ता नियुक्त भएकी भण्डारीसँग सेतोपाटीले भर्खरै संक्षिप्त कुरा गरेको थियो।
सेतोपाटीसँगको कुराकानीमा उनले भनिन्, 'म जतिसक्छु राम्रो काम गर्छु, नराम्रो काम गर्दिनँ।'
उनले अगाडि भनिन्, 'म कुनै पनि किसिमको फट्याइँ काम गर्दिनँ। सबैबाट सहयोग पाउने आशा गरेको छु।'
जेन–जी आन्दोलनको दबाबमा अन्तरिम सरकार प्रधानमन्त्री भएकी कार्कीले सबितालाई महान्यायाधिवक्ता नियुक्त गरेकी हुन्। उनी ९९ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन्।
सबिता नेपालको इतिहासकी प्रथम महिला महान्यायाधिवक्ता हुन्।
यसअघि रमेश बडालले महान्यायाधिवक्ता पदबाट राजीनामा दिएका थिए। राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकृत गरिसकेका छन्।
त्यस्तै, प्रधानमन्त्री कार्की आजै पाँच जना मन्त्री नियुक्त गर्ने तयारीमा छिन्। आइतबार बिहानदेखि नै कार्कीले मन्त्रीमण्डल गठनलाई तीव्रता दिँदै पाँच जना व्यक्तिसँग छलफल सुरू गरेकी हुन्।