थापाथली इन्जिनियरिङ कलेजका विद्यार्थीहरुले इभी अर्थात् बिजुली सवारी ‘इलेक्ट्रिकल भेइकल’ बनाएका छन्।
उनीहरुले यो इभी भेइकल मान्छे बोक्न वा सामान ढुवानी गर्न बनाएका होइनन्। आगामि सेप्टेम्बरमा आयोजना हुन लागेको विश्व प्रतिस्पर्धाका लागि बनाएका हुन्।
सेल इनर्जीले अमेरिका, युरोप र एसियाली मुलुकमा म्याराथन आयोजना गर्दै आइरहेको छ। जहाँ विद्युतीय, पेट्रोलियम र हाइड्रोजन फ्युलबाट चल्ने गाडीबीच प्रतिस्पर्धा हुन्छ। यो प्रतिस्पर्धामा थोरै इनर्जी खपत गरेर धेरै माइलेज दिने आविष्कार उत्कृष्ट ठहरिन्छ।
सिरेटो टीमले अहिले गाडीको चेसिस मात्र तयार पारेका छन्। कलेजको परीक्षाका कारण इभीको बाहिरी भाग (फ्रेम) बनाउने काम बाँकी रहेको उनीहरुको भनाइ छ।
उक्त टीमले बाहिरी भाग चाँडै बनाउने योजना लिएको छ। इभी भेइकल बनाउने टीमको नाम सिरेटो हो।
सिरेटो टीम सुन्दा अनौठो लाग्न सक्छ। उनीहरूले नयाँ कामको सुरुवातलाई मौसम परिवर्तन हुँदा चल्ने चिसो बतास (सिरेटो)सँग जोडेर नाम राखेका हुन्।
सिरेटो टाेलीमा स्नातक तेस्रो वर्षमा अध्ययनरत मेकानिकल, अटोमोबाइल, इलेक्ट्रिकल लगायत विभिन्न विधाका १० विद्यार्थी छन्।
जसमा मेकानिकल विषय पढिरहेका सौगात पाण्डे, धनप्रसाद प्रधान र ओजश्वी शर्मा, अटोमोबाइल विषय पढिरहेका अनिल खड्का, अमन श्रेष्ठ, युगेन महर्जन, भुवनेश्वर दाहाल र विवेक पौडेल र इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन विषय पढिरहेका स्वर्णिम श्रेष्ठ छन्।
उनीहरुलाई फ्याकल्टी एडभाइजर सुबोधकुमार घिमिरेले सल्लाह सुझाव दिदैँ आएका छन्।
यो गाडी बनाउन गोल्छा ग्रुपको पनि सहयोग छ।
इभी तयार पार्न करिब ४ लाख रुपैयाँ र प्रतिस्पर्धामा सहभागी हुन ५ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।